च्याम्पियन्स लिग फाइनल : कोमनको कमाल

राजु घिसिङ

काठमाडौँ — किंग्सले कोमानको गोलमा बायर्न म्युनिख १-० ले पीएसजीलाई हराएर छैटौंपल्ट युरोपेली च्याम्पियन बन्यो । म्यान अफ द फाइनल चुनिएका उनले व्यावसायिक फुटबलमा हरेक सिजन घरेलु लिग जितेका छन् । यी हिरोको कथा :

च्याम्पियन्स लिग फाइनल : कोमनको कमाल

युरोपेली फुटबलको सुपरपावर बन्ने होडमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नौ वर्षयता खेलाडीकै लागि १ अर्ब २० करोड डलर खर्च गरिसक्यो । तर, पेरिसमा छँदा अपरचितजस्तै रहेका किंग्सले कोमानको गोलमै आइतबार पीएसजी क्लब फुटबलको सबभन्दा प्रतिष्ठित उपाधिबाट चुक्यो । र, छैटौंपल्ट च्याम्पियन बन्यो बायर्न म्युनिख ।

कोरोना भाइरसको महामारीले प्रभावित भए पनि पुनर्संरचना गरिएको युरोपेली च्याम्पियन्स लिगमा जर्मन महारथी उत्कृष्ट लयमै थियो । भलै उसले त्यस्तो आक्रामक रुपलाई आइतबार पोर्चुगलको लिस्बनमा भएको फाइनलमा देखाउन सकेन । कोमानले ५९ औं मिनेटमा जोसुआ किमिचको क्रसमा हेडर गोल गरेपछि भने बायर्नको प्रदर्शन उक्सिएको थियो । बायर्न क्वाटरफाइनलमा लियोनल मेसीको टिम बार्सिलोनालाई ८-२ ले हराउँदाको जस्तै ‘सुपरक्लब’ भने पीएसजीविरुद्ध देखिएन ।


बायर्नलाई युरोपेली क्लब फुटबलमा सँधै ठूलो टिम मानिन्छ । उसका टिम स्टार खेलाडीले भरिएको हुन्छ । अहिलेको टिममा पनि कुनै कमी छैन । यो सिजन युरोपमै सर्वाधिक ५५ गोल गरेका रोबर्ट लेवन्डोव्स्की र सेमिफाइनलमा लियोनविरुद्ध २ गोल गरेका सेर्गे जिनाब्री बायर्नको अग्रपंक्तिमा छन् । जिनाब्रीले सिजनमा २३ गोल गरिसकेका थिए । निक्कै छरितो थोमस मुलर त छँदैछन् । मैदानमा उनले कतिखेर के गर्छन् भन्ने धेरैलाई पत्तो हुँदैन । आक्रमण गर्नमात्रै होइन, बल खोस्न पनि खप्पिस इभान पेरिसिच पनि फर्ममा थिए । कोभिड १९ को प्रभावपछि पुन: खेल सुरु भएयता उनले चेल्सी र बार्साविरुद्ध गोल गर्न भ्याइसकेका थिए । त्यसैले पीएसजीविरुद्ध कोमानले पहिलो रोजाईमा मौका पाउने संभावना थिए ।

तर, प्रशिक्षक हान्सी फ्लिकले पेरिसिचलाई बेन्चमा राख्दै पहिलो रोजाईमा २४ वर्षीय कोमानलाई उतारे । फ्लिकको निर्णयले धेरैलाई अचम्ममा पारेको थियो । त्यो पनि विश्वकै खतरनाक मानिएको नेयमर, किलियन एम्बाप्पे र एन्जेल डि मारियाले अग्रपंक्ति सम्हालेको फ्रान्सेली च्याम्पियनविरुद्ध । कोभिड १९ को प्रभावयता फ्लिकले च्याम्पियन्स लिगको सुरुआती टिममा गरेको पहिलो फेरबदल पनि कोमानको ‘इन्ट्री’ नै हो । तर, यिनै कोमान लेवन्डोव्स्की, जिनाब्री, मुलर, नेयमर, एम्बाप्पे, डि मारियाजस्ता सुपरस्टारहरूको खेलमा हिरो सावित भए । फ्लिकको निर्णयले न्याय पायो । कोमानले फाइनलमा ३८ पल्टमात्रै बल छोए । पीएसजीको डिफेन्सलाई दुख दिइरहे ।

यो सिजन बुन्डेसलिगा, डीएफबी पोकल र च्याम्पियन्स लिग गरी दुर्लभ तीन उपाधि बायर्नले जित्यो । यसअघि यस्तो बायर्नले सन् २०१३ मा मात्रै गरेको थियो । यसपालीको सफलतामा लेवन्डोव्स्की, जिनाब्री, मुलरको जति योगदान थियो पक्कै पनि त्योभन्दा कम नै हो कोमानको प्रदर्शन र प्रभाव । च्यााम्पियन्स लिगको फाइनलमा गोल गर्ने फ्रान्सका पाँचौं खेलाडी बनेपछि भने कोमानको चर्चा सुपरस्टारहरूको दाँजोमा पुगेको छ ।


कोमानले व्यावसायिक फुटबलको करिअर पनि पेरिसबाट सुरु गरेका थिए । त्यो क्लब पनि पीएसजी नै हो । उनी त्यहाँको एकेडेमीबाटै हुर्किएका हुन् । जति बेला पीएसजीले स्टार खेलाडीको लागि आँखा चिम्लिएरै भाउ लगाउन थालेको थियो, त्यैबेला कोमान व्यावसायिक फुटबलका लागि भर्खरै तयार भइरहेका थिए । त्यसैले उनले पीएसजीमा बसिरहन ठिक ठानेनन् र रोज्न पुगे इटालियन महारथी युभेन्टस् । त्यो पनि फ्रि-ट्रान्सफरमा ।

टुरिन क्लबमा पनि कोमानलाई मैदानमा मौका पाइरहन सजिलो थिएन । दुई सिजन संघर्ष गरेपछि ‘लोन’मा म्युनिख पुगे । विस्तारै बायर्नमा स्थापित हुँदै गएपछि स्थायी स्थानान्तरण गरे । तैपनि उनी अझै बायर्नका मुख्य खेलाडीहरूमा पर्दैनन्, पहिलो रोजाईमा खेल्न प्रतिस्पर्धा गर्नैपर्छ । प्रशिक्षक फ्लिक पनि यो सिजनबाटै कोमान बायर्नमा फ्रयांक रिबेरी र आर्जेन रोबेनको छाँयाबाट उक्सिएको मान्छन् ।

म्युनिखको ट्रेनिङमा सहकर्मीहरूबाट ‘द किङ’ नामले बोलाइने कोमान भाग्यमानी पनि हुन्, जसले व्यावसायिक फुटबलको हरेक सिजन नै घरेलु लिगको उपाधि जितेको छ । फुटबलरको करिअरमा यस्तो दुर्लभ हुन्छ । उनले १६ वर्ष ८ महिना ४ दिनको छँदा व्यावसायिक फुटबलमा डेब्यू (फेब्रुअरी २०१३/लिग वानमा सोसेक्सविरुद्ध) गरेका थिए । उनको त्यो उमेर अझै पनि पीएसजीका सबभन्दा कान्छो खेलाडीको रुपमा कायमै छ । उनी छँदा पीएसजीले दुवै सिजन लिग वानको उपाधि जित्यो । तर, उनले दुई सिजनमा जम्मा ३९ मिनेटमात्रै खेल्न पाए । अनि उनले पेरिस छाडेका थिए ।

कोमानले युभेन्टसमा २०१४-१५ को सिरि ए उपाधि जिते, कप पनि चुमे । अर्को सिजन पनि युभेन्टस् लिग च्याम्पियन बन्यो तर उनी एक खेल खेलेपछि म्युनिखतिर लागे । त्यसैले त्यो एक खेल सिरि ए च्याम्पियनको पदक पाउन पर्याप्त भएन । बायर्नमा कोमानले यसैपाली लगातार पाँचौंपल्ट बुन्डेसलिगा जितेका हुन् । यसबीच ‘कप डबल’ (घरेलु लिग र कप) जितिसकेका थिए । यसैपाली ‘ट्रिबल’ (घरेलु लिग, कप र च्याम्पियन्स लिग) को स्वाद पनि लिए । महादेशीय उपाधिपको होडमा सुपरस्टारहरूलाई उछिन्दै म्यान अफ द फाइनल नै चुनिए ।

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित : भाद्र ८, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?