१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बायर्नको अद्वितीय यात्रा : लिग, कप र च्याम्पियन्स लिग

हिमेश

काठमाडौँ — बायर्न म्युनिकले यो सिजन तय गरेको यात्रालाई के मात्र भन्ने ? ऐतिहासिक, सनसनीपूर्ण अथवा रोमाञ्चक । सायद एक शब्दमा बयान गर्दा यसका लागि ‘अद्वितीय’ प्रयोग गर्नु ठीक हुनेछ, किनभने यस्तो उपलब्धि विरलै मात्र दोहरिएर आउने गर्छ ।

बायर्नको अद्वितीय यात्रा : लिग, कप र च्याम्पियन्स लिग

त्यसैले यसलाई कोशेढुंगा प्रदर्शन भन्दा पनि हुनेछ । कारोना भाइरस संक्रमणको महामारीबीच बायर्नले जर्मन बुन्डेसलिगा मात्र जितेन्, उसलाई जर्मन कप मात्र जितेर पनि पुगेन, अब त यो क्लब युरोपेली च्याम्पियन पनि भएको छ ।

युरोपेली च्याम्पियन्स लिग उपाधिका लागि बार्यनले आइतबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हरायो । यो खेल जर्मन लिग विजेताविरुद्ध फ्रान्सेली च्याम्पियनको थियो । स्कोर भयो, १–० । यही स्कोरले पनि देखाउँदा फाइनल जस्तो अपेक्षित थियो, त्यति साह्रो भएन । धेरै अपेक्षा गरिएको खेल प्राय: यस्तै हुने गर्छ । तर यसमा बायर्नलाई चिन्ता नै किन हुनु पर्छ र ? एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए, किंग्सली कोमन ।

उनले ५९ औं मिनेटमा गोल गरे । संयोग कस्तो भने उनी फ्रान्सेली खेलाडी थिए, अझ कुनै समय पीएसजीकै खेलाडी । तिनकै गोलले क्लब स्थापनाको ५० वर्षमा पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्न असफल रह्यो, टिम उपाधिको नजिक त पुगेको थियो, तर अन्त्यमा देखियो, टिम अझै यसबाट टाढा छ । च्याम्पियन्स लिग जस्तो प्रतियोगितामा इतिहासले पनि धेरै फरक पार्छ । बार्यन मबजुत इतिहास बोकेको क्लब हो र यसले जितेको च्याम्पियन्स लिग उपाधिको संख्या पनि अब ६ पुगेको छ ।

एक समय सबैलाई लागेको थियो, यसपल्टको च्याम्पियन्स लिग हुने छैन, जताततै महामारीको स्थिति थियो । तर जति बेला प्रतियोगिताले यसपल्ट पूर्णविराम पाएको छ, सबैलाई लागेको छ, बायर्न उपाधिका लागि पूरापूर हकदार छ । सायद यसपल्ट यो जत्तिको यो उपाधि जित्ने हक लागेको टिम अरू छैन । घरेलु लिग र कप जित्नु, अनि च्याम्पियन्स लिग पनि जित्नुले बायर्न वास्तवमै कति बलियो छ भनेर प्रस्ट देखाएको छ । यो कमै मात्र सुन्न पाइने ‘ट्रेबल’ उपलब्धि हो ।

उपाधिसम्मको यात्रामा बायर्नले केही अन्य दुर्लभ उपलब्धि पनि हात पारे, जस्तो फाइनलसँगै बायर्नले यसपल्टको प्रतियोगितामा लगभग सबै खेल जित्न सफल रह्यो । बराबरी समेत खेलेन । यसमध्ये एक खेल त त्यही बार्सिलोनाविरुद्धको पनि रह्यो, ८–२ को जित । क्लबको यो यात्राको धेरै श्रेय प्रशिक्षक हान्सी फ्लिकलाई पनि जान्छ । नोभेम्बरमा मात्र उनले क्लबको जिम्मा पाएका थिए । त्यस अगाडि बायर्नले निको कोभाचलाई बर्खास्त गरेको थियो ।

प्रशिक्षक हान्सी के आए, बायर्नमा राम्रा दिन पनि फर्के । यी प्रशिक्षक फेरि उत्तिकै भलादमी पनि छन् । उनले यो सफलताको श्रेय पनि लिन चाहेनन र भनेका छन्, ‘खेलाडी छन् त हामी पनि छौं ।’ उनी के मान्छन् भने अहिलेको बायर्न म्युनिक टिम वास्तवमै बलियो छ । यो टिम युवा पनि छ । तर टिमका यस्ता केही प्रमु्ख पुराना खेलाडी पनि छन्, जसले टिमलाई मज्जाले अगाडि बढाइरहेका छ, जस्तो, गोलरक्षक म्यानुएल नोयादेखि रोबर्ट लेवनडोस्की र थोमस मुलर । उनकै भाषामा मुख्य कुरा, बायर्न युरोपेली च्याम्पियन हुन पूरा हकदार छ ।

सबै तस्बिर : रोयटर्स

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ८, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?