कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

च्याम्पियन्स लिग फाइनल आज : दुई महारथीको भिडन्त

पीएसजी र बायर्न अहिलेसम्म एक-आपसमा आठ पल्ट भिडेका छन् । यी सबै खेल च्याम्पियन्स लिगकै हुन्, तर सबै लिग चरणमा । यसमा पीएसजी नै अगाडि छ, उसले पाँच खेल जितेको छ । बायर्नको भागमा भने तीन जित छ ।
हिमेश

काठमाडौँ — आज रातिको पौने एक बजे, हेर्न छुटाउनै नहुने खेल छ । त्यो भनेको युरोपेली च्याम्पियन्स लिगको फाइनल । उपाधि भिडन्तमा उत्रदै छन्, फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन च्याम्पियन बायर्न म्युनिक ।

च्याम्पियन्स लिग फाइनल आज : दुई महारथीको भिडन्त

विश्व क्लब फुटबल भनेपछि हामी इंग्ल्यान्ड, स्पेन र इटाली सम्झिहाल्छौं । तर, यसपल्टको फाइनलमा फ्रान्स र जर्मनीका टिम भिड्दै छन् । अनि खेलाडिको नाम लिँदा हामी प्राय: लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको नाम लिन्छौं ।

यो अर्थमा पनि फाइनल फरक छ । सम्भवत: हामी विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी मेसी र रोनाल्डोको युग सकिएको अनुमान गर्न सक्छौं र यसकै सूचकका रूपमा रहनेछ, यो फाइनल । यो फाइनल भनेको नेयमारविरुद्ध रोबर्ट लेवनडोस्कीको हो, अनि केयलिन एमबाप्पेविरुद्ध थोमस मुलर हो । त्यसो त नेयमार, लेवन्डोस्की अथवा मुलर नयाँ नाम होइनन, तर पनि अबको समय भने पुस्ता हस्तान्तरको हो । त्यसैले हुन सक्छ, अबको समय एमबाप्पेको हो । अनि के पनि हो भने विश्व क्लब फुटबलको समीकरण पनि फेरिँदैछ ।

जर्मन लिग बलियो थियो नै, अब फ्रान्सले पनि दाबी गर्न सक्छ- 'लिग फुटबलमा हामी पनि कम्तीका छैनौं ।' त्यो अर्थमा जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानका लागि फाइनल राम्रो न राम्रो प्रचारको विज्ञापन पनि हो । नत्र हामीमा पनि बानी छ, खालि इंग्लिस प्रिमियर लिग, स्पेनी ला लिगा र इटालीको सिरी ‘ए’ को नै बढी चर्चा गर्ने । साँच्चै हामीले बुन्डेसलिगा र लिग वानप्रति अन्याय त गरेका छैनौं ? जे होस, फाइनल गज्जबको हुनेछ, यसमा शंका नगरे हुन्छ, किनभने यी दुवै महारथी टिम नै हुन् । आ–आफ्नो घरेलु लिगमा यिनलाई बादशाह भने पनि हुन्छ ।

अनि दुवै टिम समान रूपमा निकै अब्बल दर्जाको लयमा पनि छन् । फ्रान्समा कोरोना भाइरस संक्रमणको महामारीबीच लिग रोकिँदा पीएसजी १२ अंकले अगाडि थियो । त्यही स्थितिमा लिग स्थगित गरियो र पीएसजीलाई विजेता पनि घोषित गरियो । यो पीएसजीले लिग वानको उपाधि जितेको पछिल्लो आठ वर्षमा सातौं पल्ट हो । बायर्नको प्रदर्शन पनि कम्तीको छैन, अझ बढी भन्दा हुन्छ । जर्मन बुन्डेसलिगामा बायर्नले लिग जित्दा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डभन्दा १३ अंकको अगाडि थियो ।

बायर्नले बुन्डे‍सलिगा जितेको यो लगातार आठौं पल्ट हो । च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा पनि बायर्नका लागि आरामदायी रह्यो र यसै क्रममा निस्केको हो, बार्सिलोनामाथि क्वाटरफाइनलमा प्राप्त ८–२ को जित । न कसैले बिर्सन सकेको छ, न यसले ल्याउने तरंग चाँडै रोकिने छ । पीएसजीले पनि फाइनलसम्मको यात्रा तय गर्न धेरै कठिन संघर्ष गर्नु परेको छैन, खाली एटलान्टाविरुद्ध अन्तिम समयमा भएको गोलको भर पर्नु परेको । बायर्नको आक्रमणको मुख्य अस्त्र हुन्, लेवनडोस्की ।

उनी विश्व फुटबलले पाएका सबैभन्दा उत्कृष्ट नम्बर ९ खेलाडी हुन् । यी पोलिस स्ट्राइकरले यो सिजन ५५ गोल गरिसकेका छन् । अनि उनलाई आक्रमणमा साथ दिने अका दुई बेजोड खेलाडी छन्, मुलर र जिनब्रे । पीएसजीसँग भने नेयमार छ । तर पीएसजीको बढी भर गर्न खोज्ने खेलाडी हुन्, एमबाप्पे । साँच्चै पीएसजीले च्याम्पियन्स लिग जितेमा उनले दुर्लभ इतिहास आत्मसात् गर्नेछन् र यो हो, विश्वकप र च्याम्पियन्स लिग जितेका खेलाडीको सूचीमा प्रवेश । यो एक कारण नै उनलाई राम्रो खेल्न प्रेरित गर्न पर्याप्त छ ।

प्रशिक्षकको भनाइ के छ ?

थोमस टुचेल (पीएजी)

‘हामी फाइनल पुगेका छौं र अब उपाधि पनि जित्न चाहन्छौं । फाइनल हामी सबैको खेल जीवनमा सबैभन्दा ठूलो चुनौती हो । मनका भावना कस्तो छ, त्यो शब्दमा बयान गर्न सकिन्न । म तनावले थकित जस्तै छु, तर खुसी पनि छु ।’

हान्सी फ्लिक (बायर्न)

‘पीएसजीका खेलाडी निकै तीव्र गतिमा खेल्न माहिर छन् । त्यसैले हामीले त्यसै अनुसार रणनीति बनाउनु पर्छ । हाम्रो डिफेन्स मजबुत हुनु पर्छ ।’

हेड टु हेड

पीएसजी र बायर्न अहिलेसम्म एक आपसमा आठ पल्ट भिडेका छन् । यी सबै खेल च्याम्पियन्स लिगकै हुन्, तर सबै लिग चरणमा । यसमा पीएसजी नै अगाडि छ, उसले पाँच खेल जितेको छ । बायर्नको भागमा पनि भने तीन जित छ ।

फाइनलसम्मको यात्रा

पीएसजी

१.पीएसजी ३–० रियल म्याड्रिड

२. गालातासारे ०–१ पीएसजी

३. क्लब ब्रुग ०–५ पीएजी

४. पीएसजी १–० क्लब ब्रुग

५. रियल म्याड्रिड २–२ पीएजी

६. पीएसजी ५–० गालातासारे

७. बोरुसया डर्टमन्ड २–१ पीएसजी

८. पीएसजी २–० बोरुसिया डर्टमन्ड

९. एटलान्टा १–२ पीएसजी

१०. आरबी लेइपजिग ०–३ पीएजी

बायर्न

१. बायर्न ३–० रेड स्टार बेलग्रेड

२. टोटनहम २–७ बायर्न

३. ओलम्पियाकोज २–३ बायर्न

४. बायर्न २–० ओलम्पियाकोज

५. रेड स्टार बेलग्रेड ०–६ टोटनहम

६. बायर्न ३–१ टोटनहम

७. चेल्सी ०–३ बायर्न

८. बायर्न ४–१ चेल्सी

९. बार्सिलोना २–८ बायर्न

१०. लियोन ०–३ बायर्न

फाइनलमा सम्भावित टिम:

पीएसजी : रिको, केहरेर, थिएगो सिल्भा, किमपेम्बे, बेरनाट, भेराटी, मारक्विन्हो, हेरेरा, डि मारिया, नेयमार र एमबाप्पे ।

बायर्न : नोया, किमिच, बोएटेङ, अल्बा, डेभिस, गोरटेज्का, थिएगो, पेरिसिच, मुलर, जिनब्रे र लेवनडोस्की ।

अनुमान

एक प्रकारले दुवै टिम स्तरीयताको आधारमा बराबर छन्, तर पनि केही हदसम्म बायर्नकै हातमाथि छ । फाइनलमा कडा प्रतिस्पर्धा हुने निश्चित छ, अनि यो उत्तिकै अब्बल दर्जाको पनि हुनेछ । पीएसजीमा स्टार खेलाडीको कुनै कमी छैन, तर एउटा टिमका रूपमा बायर्न एक पाइला अगाडि छ ।

फुटबलमा जित्ने आखिर टिमले हो, व्यक्तिगत खेलाडीले होइन् । तर खेलकुदमा भनिने एउटा तर्क के पनि हो भने खेल अगाडि यसको पटकथा लेख्न सकिन्न । फुटबल प्रेमीको काम फाइनलको मज्जा लुट्ने नै हो ।

प्रकाशित : भाद्र ७, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?