बक्सिङको किचलो

कुशल तिमल्सिना

काठमाडौँ — नेपाल बक्सिङ संघको विवाद यतिबेला उत्कर्षमा छ । चार वर्षदेखि अध्यक्ष राम अवालेले मनोमानी ढंगले संघ चलाएको, आर्थिक र नीतिगत रूपमा पारदर्शी नभएको आरोप महासचिव सविन भट्टाचार्यलगायत असन्तुष्ट समूहको छ । बक्सिङमा पछिल्लो विवादबारे चर्चा गर्नुपूर्व यसका अन्तर्वस्तुबारे कुराकानी गर्नुपर्ने हुन्छ ।

बक्सिङको किचलो

राजीव श्रेष्ठलाई प्रतिस्थापन गरी २०७३ जेठ २२ गते राम अवाले बक्सिङ संघको नेतृत्वमा आए । त्यसको केही समयपछि नै उनले आजीवन मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई ‘कोर कमिटी’ को संयोजक बनाएर आफू त्यही कमिटीमा सदस्य बसे । तत्कालै बसेको कार्यसमिति बैठकले अध्यक्षको निर्णय उल्ट्याएर कोर कमिटी भंग गरेको थियो । अध्यक्षको निर्णयको विरोध गर्नेमा भट्टाचार्य केन्द्रमा थिए ।

बक्सिङ संघको बैठक हरेक तीन महिनामा बस्ने प्रावधान छ । अवाले अध्यक्ष तथा गौतम सुखजु कोषाध्यक्ष चुनिएपछिको सुरुआती ३ बैठकमा आर्थिक प्रतिवेदन बहुमत सदस्यले पास गरिदिएन । त्यसपछि बैठकमा आर्थिक प्रतिवेदन पेस हुनै छाड्यो । चार वर्षको बीचमा एकपल्ट पनि वार्षिक साधारणसभा हुन सकेन । प्रतिवेदनमा अध्यक्ष हाबी हुने र कोषाध्यक्षले हस्ताक्षरमात्र गरिदिनुपर्ने परिपाटीको त्यतिबेलै विरोध भएको थियो ।

२०७५ साल भदौमा इन्डोनेसियामा भएको एसियाली खेलकुद तयारीका लागि १९ सदस्यीय बक्सिङ टोलीलाई थाइल्यान्डको बैंककमा बन्द प्रशिक्षण राखिएको थियो । बन्द प्रशिक्षणको खर्च निकासाका लागि कोषाध्यक्ष सुखजुलाई बारम्बार अनुरोध गर्दा आनाकानी र ढिलासुस्ती गरेका कारण राखेपको अनुमति लिएर संघले कार्यसमिति सदस्य राम गिरीलाई कार्यबाहक कोषाध्यक्ष नियुक्ति गरी बाधाअड्काउ फुकाएको थियो ।

त्यसयता आर्थिक क्रियाकलावमा गिरीकै हस्ताक्षर चल्ने गरेको छ । यो प्रकरणमा कोषाध्यक्ष सुखजुले भने अध्यक्ष अवालेले कार्यसमितिको निर्णयबिना चेकमा हस्ताक्षर गर्न भनेकाले आफूले नगरेको, प्रक्रिया पूरा गर्न अनुरोध गर्दा बाइपास गर्न खोजिएको प्रष्टीकरण दिएका छन् ।

बक्सिङ संघको चुनावका क्रममा सुखजुले डेढ लाख रुपैयाँ संघकै पैसा खर्च गरेका थिए । निर्वाचन भएको २ वर्षपछि भक्तपुरको भ्यू होटलमा आयोजित कार्यसमिति बैठकमा उक्त खर्च भएको पैसा अनुमोदनका लागि प्रस्ताव पेस गर्दा आर्थिक नियमावली बनाएर खर्च गरिने र हरेक खर्च कार्यसमितिबाट पास भएर गरिनुपर्ने राय अधिकांश सदस्यले राखेपछि सोहीअनुसार निर्णय भयो । तर लगत्तै एसियाली खेलकुदको बन्द प्रशिक्षणलाई खर्च निकासा गर्न अध्यक्ष अवालेले दबाब दिएपछि कोषाध्यक्षले मानेनन् ।

‘मैले प्रक्रिया पूरा गरेपछि मात्र रकम निकासाका लागि हस्ताक्षर गर्ने अडान राख्दा म विदेश भएको मौकामा कार्यसमिति बैठक बोलाएर अर्कैलाई कार्यवाहक कोषाध्यक्ष बनाएपछि यो समस्या भएको हो,’ कोषाध्यक्ष सुखजुले कान्तिपुरसँग भने । बक्सिङ संघको यो कार्यसमितिको चारवर्षे कार्यकाल जेठ २१ गते सकिसकेको छ । कोरोना भाइरस महामारीका कारण देशव्यापी लागू गरिएको लकडाउन र संघको विधानमा पनि ६ महिनासम्म कार्यकाल थप्न सकिने प्रावधानका कारण नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छैन ।

यस्तैमा साउन १५ र १६ गते काठमाडौंमा बसेको संघको कार्यसमिति बैठकमा आर्थिक प्रतिवेदनबारे छलफल हुँदै थियो । बैठकमा बेरुजु फर्स्योट, आर्थिक प्रतिवेदन, सुशासन र विविध गरी चार एजेन्डा पेस भएका थिए । १५ गतेको बैठकमा बेरुजु फर्स्योटबारे छलफल भयो । अघिल्लो कार्यसमितिको २२ लाख बेरुजु रहेको र त्यसको फर्स्योटका लागि सदस्य श्याम अवालेको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनाइयो । १६ गते आर्थिक प्रतिवेदनबारे छलफल भयो । अध्यक्ष अवालेले सुरुमै अडिट रिपोर्टसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरी कोषाध्यक्ष सुखजुलाई हस्ताक्षर गर्न भने । बैठकको माइन्युट गरिरहेका महासचिव भट्टाचार्य र कोषाध्यक्ष सुखजुले प्रतिवेदन अध्ययन गरेर मात्र हस्ताक्षर गर्न भन्दै केही दिनको समय माग गरे ।

राखेपबाट दबाब आएकाले तत्कालै प्रतिवेदन पास गर्नुपर्ने अडान अध्यक्षलगायतको थियो । कोषाध्यक्षलाई थाहै नदिई तयार पारेको प्रतिवेदनको अध्ययन नगरी हस्ताक्षर नगर्ने भनेपछि सदस्य दीपक महर्जनले अपशब्दसहित चर्को स्वरमा गाली गरेको र महासचिव नभए पनि संघ चल्ने आशयबाट प्रस्तुत भएपछि विवादले उग्ररुप लिएको भट्टाचार्यको दाबी छ ।

संघका सदस्यले चर्को स्वरमा महासचिवलाई गाली गर्दा अध्यक्ष मौन बसेपछि बैठकबाट बाहिरिएको उनले बताए । त्यसपछि प्रेस विज्ञप्ति जारी गर्दै उनले संघको नेतृत्व विधानसम्मत् नचलेको, आर्थिक अनियमितता गरेको तथा मनोमानी प्रवृत्ति देखिएको आरोप लगाए । साथै राखेप कर्मचारीले संघको कार्यसमिति बैठकमा पदाधिकारीलाई गालीगलौज गरेकोबारे पनि असन्तुष्टि जनाए ।

नयाँ खेलकुद ऐन जारी भएसँगै राखेपको कर्मचारी संघमा बस्न नपाउने नियम बनेको छ । असार १७ गते ऐन लागू भएपछि सदस्य महर्जनले दुईमध्ये एक संस्थाबाट राजीनामा दिनुपर्ने थियो । तर उनी बैठकमा उपस्थित भए पनि माइन्युटमा हस्ताक्षर नगरेको महासचिवको भनाइ छ । महर्जनले साउन २२ गते बक्सिङ संघको सदस्यबाट राजीनामा गरेका छन् ।

‘निर्वाचित भएर आएपछि केही समय हाम्रो सहकार्य राम्रो थियो । तर अध्यक्ष मनोमानी ढंगले चल्न थालेपछि कोषाध्यक्षले सुरुमा विरोध गर्नुभयो । त्यसपछि किचलो सुरु भएको हो,’ महासचिव भट्टाचार्यले कान्तिपुरसँग भने, ‘थाइल्यान्ड प्रशिक्षणमा गएका खेलाडीको खर्चका लागि अध्यक्षले खाली चेकमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई दबाब दिएपछि उनीहरूको नियत बुझियो । पछि राखेपकै स्विकृतिमा कार्यबाहक कोषाध्यक्ष बनाएर मनोमानी गर्न थालियो । राखेप र मन्त्रालयमा पटक–पटक निदेवन दिँदा पनि सुनुवाइ भएन ।’

उनका अनुसार राखेपका तत्कालीन सदस्य–सचिव केशवकुमार विष्ट र राखेपकै केही कर्मचारीसँगको मिलेमतोमा अध्यक्ष अवालेले आफूखुसी संघ चलाइरहेका थिए । त्यसपछिका प्रतियोगिता तथा कार्यक्रममा पनि कोषाध्यक्षलाई थाहै नदिई रकम खर्च गरिएको र अहिले प्रतिवेदनमा हस्ताक्षर गर्न लगाउँदा पूरा विवरण माग गरेको उनको भनाइ छ । ‘यो विवादबाहेक मेरो व्यक्तिगत स्वार्थ छैन । म अबको चुनावमा अध्यक्षको उम्मेदवार पनि होइन । मलाई अध्यक्ष बन्नु नै छैन । मेरो एकमात्र स्वार्थ के हो भने नेपालमा बक्सिङ खेलको विकास हुनुपर्छ । अन्तर्राष्ट्रियस्तरमा स्तरीय खेलाडी उत्पादन हुने गरी कार्यक्रम आउनुपर्छ र यो हामी सबैको एउटै स्वार्थ हुनुपर्छ,’ भट्टाचार्यले हेटौंडाबाट टेलिफोनमा भने ।

विधानमै नभएको मानार्थ अध्यक्षका रूपमा विष्णुगोपाल श्रेष्ठलाई मनोनीत गरी आफूभन्दा धेरै अधिकार दिएर राखेको, सक्रिय जिल्लालाई सदस्यता नदिएर आफूअनुकूलका जिल्लामा भोटको राजनीति गरेको, कार्यसमितिबाट निर्णय नगराई अन्तर्राष्ट्रिय बक्सिङ महासंघ र एसियाली बक्सिङ महासंघको सदस्यमा उठेको लगायतका आरोप भट्टाचार्यले आफ्ना अध्यक्षमाथि लगाएका छन् । बक्सिङ संघको आधिकारिक लेटरप्याडमा मानार्थ अध्यक्षको हस्ताक्षर प्रयोग गरी एसियाली महासंघका अध्यक्षलाई पत्र लेख्नु पनि विधान र प्रचलनविपरीत भएको भट्टाचार्यको दावी छ । सन् २०१७ को जुलाईमा एसियाली अध्यक्ष तथा विश्व बक्सिङ महासंघका उपाध्यक्षलाई सम्बोधन गरी लेखिएको पत्रमा संघका अध्यक्ष अवाले र मानार्थ आजीवन अध्यक्ष श्रेष्ठको हस्ताक्षर छ ।

‘संघको लेटरप्याडमा अध्यक्ष र महासचिवको हस्ताक्षर हुनुपर्ने हो । राखेपले नै मानार्थ अध्यक्षलाई प्रयोग गरी अन्तर्राष्ट्रिय सम्पर्क स्थापित नगर्न सचेत गराइसकेको अवस्थामा अध्यक्षले मनोमानी गरेका थिए,’ उनले थपे, ‘अध्यक्षले संघका पदाधिकारीको कुरा नसुन्ने, फरक मत राख्नेप्रति रिस गर्ने, आफू पनि उचित निर्णय गर्न नसक्ने, अरुको राय पनि लिन नसक्ने परिपाटी उहाँमा देखियो ।’

अध्यक्ष अवालेले भने महासचिवलगायत असन्तुष्ट पक्षको आरोपको सिधै खण्डन गरेका छन् । उनले कपोकल्पित आरोप लगाएर बक्सिङको विकास देख्न नचाहनेहरू अन्तरघाती भएकोसमेत दाबी गरे । ‘बक्सिङको झन्डै आधा शताब्दीको इतिहासमा सबैभन्दा उल्लेख्य सफलता हाम्रो कार्यकालमा भएको छ । साथीहरू बक्सिङको विकास र यसले सफलता हासिल गरेको देख्न चाहनुहुन्न,’ कान्तिपुरसँगको टेलिफोन कुराकानीमा अध्यक्ष अवालेले भने, ‘मनै धमिलो छ भने त्यस्ताले कुनै कुरा पनि राम्रो देख्दैन । अधिकांश सदस्यले सहयोग गरी सम्पन्न हुन लागेको कामहरूमा उहाँहरू विरोधमात्र गर्नुहुन्छ ।’

एसियाली खेलकुदको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने खर्च निकासाका लागि बारम्बार अनुरोध गर्दा कोषाध्यक्ष सुखजुले अटेर र आलटाल गरेका कारण बाधाअड्काउ फुकाउका लागि कार्यबाहक कोषाध्यक्ष बनाएको उनले स्विकारे । ‘१९ जनाको टिमलाई थाइल्यान्डमा प्रशिक्षणमा राखिएको थियो । त्यतिबेला कोषाध्यक्षले हस्ताक्षर गर्न आलटाल गर्नुभयो । लामो समयसम्म काम गर्न आनाकानी गर्दै आलटाल गर्न खोजेपछि संघ त चलाउनुपर्‍यो, अन्तर्राष्ट्रिय इज्जत त जोगाउनुपर्‍यो भनेर हामीले

बाधाअड्काउ फुकाएका हौं,’ अध्यक्ष अवालेले भने, ‘उहाँहरूले संघ र नेपाली टिम असफल होस् भन्ने सोच राखेको हामीले पायौं । उहाँ कताबाट सञ्चालित हुनुहुन्थ्यो थाहा भएन । हामीले महासचिवलगायत पदाधिकारीहरू अलिकति बेलाइनमा जानेबित्तिकै स्पष्टीकरण सोधेका थियौं । कोषाध्यक्षको हकमा भाइ हो सुध्रिएर जाला भन्ने सोचेका थियौं । तर ऊ सुध्रिएन र संघलाई नै धरापमा पार्नेगरी अगाडि बढेपछि के गर्नु र ?’

अवालेले विष्णुगोपाल श्रेष्ठलाई आफूभन्दा अघिल्लो कार्यसमितिले नै आजीवन मानार्थ अध्यक्ष बनाएको बताए । तर अन्तर्राष्ट्रिय रूपमा श्रेष्ठको अनुभव प्रयोग गरी बक्सिङ विकासका लागि सहयोग जुटाउन सकिन्छ भन्ने मनसायले कोर कमिटी गठन गरेको र पछि कार्यसमितिले नै निर्णय उल्टाएको स्विकारे । ‘अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्नका लागि विष्णुदाइको अनुभव प्रयोग गर्न सकिन्छ भनेर मैले निर्णय गरेको थिएँ । तर पछि कार्यसमितिबाटै विरोध भएपछि हटेको हो,’ उनले थपे ।

लामो समयदेखि कार्यवाहकबाटै काम चलिरहेकोमा अहिले कोषाध्यक्षलाई प्रतिवेदनमा हस्ताक्षर किन गराउनुपरेको ? भन्ने प्रश्नमा उनले भने, ‘त्यतिबेला बाधा अड्काउ फुकाउका लागि कार्यबाहक बनाइएको हो । हामीले हाम्रो कार्यकालको आम्दानी खर्चका सम्पूर्ण हिसाबकिताब अडिट गराएर प्रक्रिया पूरा गरेर प्रतिवेदन तयार गरेका हौं ।’

प्रकाशित : श्रावण २९, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?