कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सागका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका पाकिस्तानी खेलाडीहरू डोपिङ परीक्षणमा असफल भएका छन् ।

सागका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित

डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना भएको सागमा पाकिस्तानबाट दुई स्वर्ण र एक कांस्य पदक जितेका ३ खेलाडीले डोपिङ परीक्षणमा प्रतिबन्धित औषधि सेवन गरेको भेटिएको थियो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएअनुसार सागमा स्वर्ण जितेका पाकिस्तानी खेलाडी मोहम्मद नइम, मेहबुब अली र कांस्य जितेका समी उल्लाहले प्रतिबन्धित औषधि सेवन गरेर प्रतियोगिता खेलेको पाइएको छ । नइमले १ सय १० मिटर हर्डल्स, अलीले ४ सय मिटर हर्डल्स र उल्लाहले १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

सागमा सहभागी खेलाडीको विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियमअनुसार डोपिङ परीक्षण गरिएको थियो । सहभागी खेलाडीको पिसाब परीक्षणको नमुना कतारको दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षण गर्दा पाकिस्तानी खेलाडीहरू नइम, अली र उल्लाहले विभिन्न प्रतिबन्धित औषधि सेवन गरेको पाइएको हो ।

वाडाको नियमअनुसार ती खेलाडीलाई ‘ए’ स्याम्पलबारे जानकारी गराइएको एनओसीले जनाएको छ । त्यस्तोमा खेलाडीले ‘बी’ स्याम्पलको परीक्षण गर्न पाउने हुन्छ । स्वर्ण पदक विजेता नइम र अलीले ‘बी’ स्याम्पलको परीक्षण गर्दा पनि प्रतिबन्धित औषधि सेवन गरेको पाइएको थियो । जसअनुसार दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियमबमोजिङ उनीहरूलाई चार वर्ष प्रतिबन्ध लगाइएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाएका छन् । उनीहरूको प्रतिबन्ध सन् २०२३ को डिसेम्बरमा सकिनेछ ।

प्रकाशित : श्रावण २९, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?