१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

उदयश्रीलाई जिग्मे मेमोरियल कप

घनश्याम खड्का

म्याग्दी — उपल्लो मुस्ताङको लोमन्थाङमा सम्पन्न दोस्रो ‘छ्योग्याल जिग्मे मेमोरियल’ फुटबल र भलिबल प्रतियोगिताको दुवै कप उदयश्री युथ क्लबले जितेको छ ।

उदयश्रीलाई जिग्मे मेमोरियल कप

लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घिलिङको उदयश्रीले स्नोल्यान्ड युवा क्लब फुर्वालाई पराजित गरी ट्रफी उचालेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरीपछि अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि उदयश्रीले टाइब्रेकरमा ८–६ गोलले हराएर ७५ हजार रुपैयाँसहित कप, पदक र प्रमाणपत्र जितेको हो । स्नोल्यान्डले ५० हजार रुपैयाँसहित दोस्रो स्थान हात पार्‍यो ।

जनैपूर्णिमा (यार्तोङ चाड) को अवसरमा ४ हजार ५० मिटर उचाइको लोमन्थाङ गाउँपालिका–३ थिंकर गाउँमा माउन्टेन पासाङ युवा क्लबको आयोजना गरेको प्रतियोगितामा लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाभित्रका १४ युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

‘यो वर्षको फुटबल प्रतियोगिता विगतभन्दा बढी रोमाञ्चक रह्यो । लकडाउनले गर्दा सहरका सबै स्कुल कलेज बन्द भएकाले युवा विद्यार्थी गाउँमै रहेको हुँदा प्रतियोगिता बढी परिस्कृत रह्यो,’ आयोजक क्लबका कप्तान ढेण्डुक छिरिङ गुरुङले भने, ‘प्रतियोगिताको आर्कषण बढाउन प्रतिस्पर्धी टिमले दर्शकलाई आकर्षित गर्न खाना र खाजाको व्यवस्थासमेत गरेका थिए ।’

त्यस्तै भलिबल प्रतियोगितातर्फ पनि उदयश्री युथ क्लबले नै विजेता बन्यो । सोही गाउँपालिकाको चराङलाई पाँचौं सेटमा ३–२ सेटले पराजित गरी कप हात पारेको हो ।

उदयश्रीले ५० हजार र चराङ युवा क्लबले २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा विजयी खेलाडीलाई जिल्ला समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङले नगद, कप, पदक र प्रमाणपत्र प्रदान गरिन् । पुरस्कार वितरण कार्याक्रममा ‘छ्योग्यल जिग्मे फाउन्डेसन’ का पदाधिकारीसमेत रहेका लोमन्थाङका अध्यक्ष सुवर्ण विष्ट र लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट सहभागी भए ।

‘कोरोना महामारीको बीचमा पनि संक्रमणमुक्त क्षेत्र भएकाले हामीले उपल्लो मुस्ताङको प्रतिष्ठित फुटबल र भलिबल प्रतियोगिता सम्पन्न गराएका छौं,’ आयोजक क्लबका सचिव म्युच्योर गुरुङले भने ।

परम्परादेखि नै घोडादौड र सांस्कृतिक मेला लगाउने गरिएकोमा १४ वर्षदेखि उपल्लो मुस्ताङका घिलिङ, घमी, ढाकमार, चराङ, मराङ, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, लोमन्थाङ, नेन्योल, छोस्यार, न्याम्डो, किम्लिङ, थिंकर, फुवा, नाम्ग्याल समेतका गाँउमा पालैपालो फुटबल र भलिबल खेल समावेश गरी प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

पछिल्लो दुई वर्षदेखि लोमन्थाङका अन्तिम राजा जिग्मे परवल विष्टको सम्झनामा छ्योग्याल जिग्मे मेमोरियल खेल प्रतियोगिता नामकरण गरिएको हो ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?