लेवान्डोवस्कीले रोनाल्डोलाई उछिन्नेछन् ?- खेलकुद - कान्तिपुर समाचार

लेवान्डोवस्कीले रोनाल्डोलाई उछिन्नेछन् ?

एजेन्सी

बायर्न — रोबर्टो लेवान्डोवस्कीका लागि यो सिजन खुबै सुखद रहेको छ भन्दा हुन्छ । उनको बायर्न म्युनिक युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पनि पुगिसकेको छ । तर उनी के मान्छन् भने उनको नजर क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा छैन ।

पोल्यान्डका ३१ वर्षीय स्ट्राइकरले चेल्सीमाथि सप्ताहन्तमा प्राप्त जितमा दुई गोल गरे । यससँगै बायर्नले चेल्सीमाथि समग्रमा ७–१ को ठूलो अन्तरको जित निकाल्न सफल रहेको थियो । यसपल्ट च्याम्पियन्स लिगमा खेलेका सात खेलमा उनले १३ गोल गरिसकेका छन् ।

अब उनी रोनाल्डोको त्यो कीर्तिमान नजिक छन्, जुन सिजन पोर्चुगाली खेलाडीले सन् २०१३–२०१४ को सिजनमा रियल म्याड्रिड एक्लैका लागि १७ गोल गरेका थिए । यदि बायर्नले लिस्बनमा हुने फाइनलको यात्रा गर्छ भने अझै तीन खेल खेल्नेछ र यिनै खेलमा लेवान्डोवस्कीसामु रोनाल्डोको कीर्तिमान भंग गर्ने अवसर हुनेछ । लेवान्डोवस्की भन्छन्, ‘यो कीर्तिमान उछिन्ने मेरो उद्देश्य होइन । हामीले अझै नकआउट चरणका केही खेल खेल्ने छौं र यसमा सकेसम्म बढी गोल गर्न सफल रह्यौ भने त्यो मेरो लागि खुसी हुनेछ ।’

लेवान्डोवस्की एकै सिजन कोही खेलाडीले सबैभन्दा बढी गोल गर्ने कीर्तिमानको नजिक भएपनि समग्रमा रोनाल्डोले प्रतियोगितामा गरेको गोल संख्या भन्दा धेरै पछाडि छन् । रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् र उनले १ सय ३० गोल गरिसकेका छन्, लेवान्डोवस्की भने चौथो स्थानमा छन्, रोनाल्डोको भन्दा ६४ गोलले पछाडि । कम्तीमा चेल्सीमाथि दुई लेगमा प्राप्त जितमा लेवान्डोवस्कीले प्रमाणित गरे, उनी वास्तवमै कति अब्बल दर्जाका खेलाडी हुन् भनेर ।

पहिलो लेगमा उनले एक गोल गरे र अर्को दुई गोलमा सहयोगी भूमिका निभाए । दोस्रो लेगमा उनले दुई गोल गरे र दुई अवसरमा गोलको अवसर सिर्जना गरे । त्यसको अर्थ बायर्नका सात गोलमध्ये सबैमा उनको भूमिका रह्यो । उनले यो सिजन ५३ गोल गरेका छन् । यी गोल ३६ खेलमा सम्भव भएको थियो, ४४ खेलमध्ये । यो भनेको उनले आफूले खेलेका खेलमध्ये ८२ प्रतिशतमा गोल गर्न सफल रहे । कोही पनि फरवार्डका खेलाडीका लागि यो उच्च हो ।

प्रकाशित : श्रावण २७, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

स्वदेश फर्कनेले पाउलान् काम ?

कोरोनाका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केकालाई पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको विकासमा परिचालन गर्ने व्यवस्था गरिएको छ ।
होम कार्की

काठमाडौँ — साउदी आराम्को कम्पनीमा कार्यरत सिरहाको लहान–१३ का ३० वर्षीय दीपेन्द्र साहले मासिक ५४ हजार रुपैयाँ कमाउँथे । आराम्को कम्पनीमा उनी सहायक सेफ्टी अफिसर थिए । उनलाई एमएस अल सुवान्दी होल्डिङ कम्पनीले आराम्को कम्पनीमा सप्लाई गर्ने काममा पठाइयो । आराम्को साउदीमा तेल प्रशोधन गर्ने सरकारी कम्पनी हो । 

‘सिधै आराम्कोमा काम गर्न पाएको भए रोजगारी जाने थिएन होला । सप्लाई कम्पनीमार्फत काम गर्न गएको थियो,’ उनले भने, ‘हाम्रो कम्पनीले बिनातलब बस्न इच्छुक भएकालाई राख्न थाल्यो । जो बिनातलब बस्न इच्छुक छैन, उनीहरूलाई निकाल्न थाल्यो । मेरो साउदीबाट निस्कनु रहर होइन बाध्यता थियो ।’

उनीसँगै सुवान्दीले झन्डै दुई सय जना नेपालीलाई स्वदेश पठाउने तयारी थालेको छ । ‘लेबरमा गएको मान्छे निकै दुःख गरी सहायक सेफ्टी अफिसर बन्न पुगेको थियो । अब थप अवसर आउने बेला जागिरबाट हात धुनुपर्‍यो,’ उनले भने, ‘यहाँ कमाउने पैसा नेपालमा कमाउने अवस्था छैन । मैले जे काम गर्छु, त्यही काम नेपालमा नपाउन सकिन्छ । अरू त्यस्तै हो, अब मैले दुई बच्चालाई पढाउन भने निकै कठिन हुन्छ ।’ उनले दुई बालबच्चालाई पढाउन महिनाको १२ हजार रुपैयाँ जोहो गर्नुपर्ने बताए । विदेशबाट फर्किने नेपालीलाई स्वदेशमै कस्तो अवसर मिल्छ भन्ने साहलाई जानकारी छैन । ‘जतिखेर पनि नेताहरू जुधेर बसिरहेको मात्रै समाचारमा देख्छौं । हाम्रा लागि भने सोच्ने भए किन यसरी परदेशी भूमिमा पसिना बगाउनुपर्दथ्यो र,’ उनले भने ।

कोभिड महामारीपछि प्रमुख गन्तव्य मुलुकमा रोजगारी खुम्चिएको छ । खाडीबाट मात्रै नेपाल फर्किन चाहने एक लाख जनाको सूची तयार भइसकेको छ । हजारौं रोजगारी दिने कम्पनीहरू थला पर्दैछन् । साउदीको कास इन्टरनेसनल कम्पनीमा १८ वर्षदेखि कार्यरत इटहरीका ५७ वर्षीय चन्द्रमणि राईले आफ्नो कम्पनीमा एक हजार कामदारले रोजगारी गुमाइसकेको बताए । ‘पहिला यो कम्पनीको सानै अर्को थियो । १२ सयभन्दा बढी कामदार थिए । अहिले दुई सय मात्रै छन् । हाम्रो साइडमा ४५ जनाले काम गर्थे । अहिले त्यही काम १५ जनाले गर्नुपरेको छ,’ उनले भने, ‘म पनि फर्किने पक्षमा छु । तर नेपाल गएर के गर्ने भन्ने चिन्ता छ । यो बूढो शरीरलाई कसले पत्याउला र !’

ओमनमा एक दशकदेखि कार्यरत झापाका दीपक श्रेष्ठले निराश भई स्वदेश फिर्नेहरू धेरै रहेको बताए । ‘काम छैन । कामबेगर क्याम्पमा बस्नुभन्दा बिदा लिई परिवारकै साथ मनाउन जानेहरू त्यत्तिकै छन् । महामारीले गर्दा आफू बसेको देशमा बिरामी भएमा कसैलाई देख्न पाइँदैन । साथीहरू पनि भेट्न पाइँदैन भन्ने छ । परिवारले शव पनि देख्न नपाइने भन्ने छ । मर्नुपरे पनि नेपालमै मर्छु भन्ने छ । अहिलेको अवस्थामा पैसाको महत्त्व देखेन । परिवारलाई महत्त्व देख्न थालेको छ,’ उनले भने, ‘बाँच्यौं भने फेरि काम गर्न विदेशमै आउला भन्नेहरू धेरै छन् । तर स्वदेश गइसकेपछि फेरि रोजगारीको अवसर पाउला जस्तो स्थिति छैन ।’

कतारमा कार्यरत अमिना खानले स्वदेशमा २० हजार रुपैयाँसम्मको आम्दानीसमेत नभएपछि विदेश आउनुपरेको बताइन् । ‘कतारमा क्लिनिङ कम्पनीले महिलालाई अवसर दिएको छ । एउटा क्लिनिङ कम्पनीमा आउनेले महिनाको २० देखि ३० हजार कमाउँछन् । आफ्नो सुविधायुक्त जीवन चलाउन, बच्चाहरूको गर्जो टार्नका लागि यो आम्दानी प्रशस्त हुन्छ । उनीहरूले नेपाल छिटो फर्कन चाहेका छैनन्,’ नेपाली महिला समाज कतारका उपाध्यक्षसमेत रहेकी खानले भनिन्, ‘केही गर्छु भनेर भइरहेको रोजगारीबाट राजीनामा गरेर नेपाल गएको हुन्छ । घरमा गएर कम्तीमा ६ महिना पनि बस्न पाएको हुँदैन, उनीहरू फेरि फर्किन चाहन्छन् । हामीले उद्धार गरेर पठाएको मान्छे विदेशमा भन्दा नेपालीमा कठिन छ भनेर फर्केका हुन्छन् । बालबच्चालाई पढाउनका लागि हरदिन बिताउन कठिन छ भन्छन् ।’

उनले रेमिट्यान्स बिनाको जीवन आकाशपातालजस्तो फरक हुने बताइन् । ‘रेमिट्यान्सबिना पारिवारिक कलह आउँछ । एउटा गुणस्तरीय जीवन चलिरहेको हुन्थ्यो । उनीहरूको जीवन शैली एक्कासि तल झर्छ । त्यसपछाडि परिवारलाई सुख दिन नसकेपछि पारिवारिक कलह सुरु हुन्छ । बच्चाहरूको दिमागमा असर पर्छ,’ उनले बताइन्, ‘अब बाँच्ने र बचाउने काम मात्रै भयो । गाउँ छाडेर सहरमा राखेर बच्चालाई पढाइरहेको छ । उनीहरूलाई धेरै कठिन छ । उनीहरू कि छाडेर गाउँमै जानुपर्छ । कि त्यहीं संघर्ष गर्नुपर्छ ।’ संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत श्याम पाठकले आफूहरूले कहिल्यै स्वदेश फिर्तीको योजना नबनाउँदा संकट देखिएको बताए । ‘हामीले एउटा गल्ती गरेका छौं । हामीले कहिल्यै पनि एक्जिट प्लान बनाएनौं । यूएई त एकदिन छोड्नुपर्दथ्यो । तर, हामीले कहिले फर्किने भन्ने प्लान बनाइएन । हामीले माइक्रो व्यवस्थापन गरेनौं,’ उनले भने, ‘हामीले ज्ञान, सीप र थोरै पुँजी लिएर त जाँदै छौं । तर, हामी जुन भूगोलमा गएर काम गर्दै छौं, हामीसँग फिजिविलिटी रिपोर्ट छैन । अब यस्तो रिपोर्ट दिने गरी राज्यले प्राधिकरण बनाउनुपर्छ । राज्यले तुरुन्तै ब्रेन गेन भएका श्रमिकलाई राज्यको निर्माणमा कहाँ–कहाँ लगाउने भन्ने योजना बनाउनुपर्छ । यस्तो नीति छैन ।’

कोरोनाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीको अवसर कम भएपछि सरकारले नेपालमा काम गर्ने विदेशी श्रमिकको स्थानमा नेपालीलाई नै दक्ष बनाएर अवसर दिने नीति लिएको छ । यसका लागि विदेशी श्रमिकलाई श्रमस्वीकृति नलिई रोजगारी दिन नपाइने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारको तयारी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले बताए ।

‘वैदेशिक रोजगारीबाट फर्केकालाई कृषि कार्यका लागि चाहिने जग्गा उपलब्ध गराउना भूमि बैंकको स्थापना गरिएको छ,’ उनले भने, ‘कोरोनाका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारबाट फर्केकालाई पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको विकासमा परिचालन गर्नका लागि बजेटमा व्यवस्था गरिएको छ । वैदेशिक रोजगार रोजगारी कल्याणकारी कोषलाई समेत रोजगारी सिर्जनामा प्रयोग गरिने नीति छ । यो नीतिअनुसार कार्यक्रमको ढाँचा बनाइरहेको छ ।’

सरकारले स्थानीय तहमा बेरोजगार पहिचान गरी रोजगारी दिलाउनका लागि रोजगारदातासँग समन्वय गर्न भन्दै स्थानीय तहमै रोजगार सेवा केन्द्र खोलेको उनले बताए । ‘रोजगार सेवा केन्द्रलाई श्रम सूचना बैंकमा उपयोग गर्ने सरकारको नीति छ । यसमा विदेशबाट कसले केसम्बन्धी सीप बोकेर ल्याएको छ भन्ने पहिचान गर्नेछ,’ उनले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका श्रमविज्ञ गणेश गुरुङले सरकारले अल्पकालीन रोजगारी सिर्जनालाई केन्द्रित गरेको नीतिहरू देखिए पनि कार्यान्वयन गर्ने बलियो संयन्त्र नभएको बताए ।

युनाइटेट अरब इमिरेट्स युनिभर्सिटीका सहायक प्राध्यापक डा.शशिधर बेल्बासेले बाहिर बसेकाहरूको समस्या लम्बिँदै गएकाले नकारात्मक भावना सिर्जना भएको बताए । ‘देशप्रति, सरकारप्रति नकारात्मक भावना जाग्नु राम्रो होइन । सरकारले यो समयमा अत्यन्त बुद्धिमत्तापूर्ण भूमिका खेल्नुपर्छ । बाहिरबाट नेपाली फर्काउनु भनेको अवसर हो । नेपालबाट बाहिर जाँदा के स्किल लिएर जानु भएको थियो ? अनि बाहिरबाट नेपाल आउँदा कस्तो स्किल लिएर आउनुभयो भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने, ‘त्यसबाट नेट स्किल फरकलाई हामीले प्रयोग गर्नुपर्छ । स्किल प्रोफाइल बनाउनुपर्छ । बाहिरबाट नेपाल आउनु भनेको रोग लिएर आउने होइन । समस्या मात्रै लिएर पनि आउने होइन । एउटा अवसर पनि लिएर आउने हो । जो–जो हामी जहाँ–जहाँ बसेर जे–जे काम गरेका थियौं । त्यो धेरै राम्रो सीप सिकेका छौं ।’

उनले स्किल प्रोफाइल बनाएर प्रक्षेपण गर्न सकिने बताए । ‘नेपालमा कस्तो किसिमको मानवस्रोत छन् र बाहिरबाट कस्तो स्रोत आएको छ भनेर फरक छुट्याउन सकिन्छ,’ उनले भने, ‘यो सबै कुरा रेमिट्यान्समा गएर जोडिन्छ । रेमिट्यान्सलाई स्थायी सोलुसनका रूपमा लिनु हुँदैन । यो अस्थायी हो । नेपालमा भित्रिने नेपाली दक्ष जनशक्ति हो । नेपाल फर्किनेबित्तिकै एयरपोर्टमै स्किल प्रोफाइल तयार गर्नुपर्छ । प्रोजेक्ट बनाउन प्रोत्साहित गर्नुपर्छ । यसमा स्थानीय, प्रदेश र संघीय सरकारले सहजीकरण गर्नुपर्छ । मानव संसाधन सबैभन्दा ठूलो सम्पत्ति हो । यसलाई स्थानीय, प्रदेश र संघीय सरकारमा जोड्नुपर्छ । बाहिरबाट फर्किने थ्रेट होइन । यसलाई अवसरका रूपमा लिनुपर्छ ।’

प्रकाशित : श्रावण २७, २०७७ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×