जीवन फेरिएको प्रशिक्षणको काम- खेलकुद - कान्तिपुर समाचार

जीवन फेरिएको प्रशिक्षणको काम

त्यो टिमले अहिलेसम्म विदेशी प्रशिक्षकको मुख देख्न पाएको थिएन । त्यसमाथि कोल्सलाई पाकिस्तानको मुस्लिम संस्कृतिबारे केही पनि थाहा थिएन । त्यति मात्र कहाँ हो र ? कोल्स आफैंले पनि कुनै विदेशी टिमलाई प्रशिक्षण दिएका थिएनन् । लाहोर आएको भोलिपल्ट उनका अगाडि ३० महिला खेलाडी थिए, त्यसमध्ये केहीले पटक्कै अंग्रेजी बुझ्दैनथे ।
एजेन्सी

लाहोर — सिट नम्बर ५४ एफ । अकल्यान्डबाट दुबई जाने उडानमा मार्क कोल्सले पाएको सिट त्यही थियो, विमानको पछाडितिर । केहीका लागि लामो न लामो उडान साहसिक काम जस्तै हुने गर्छ । कोल्सका लागि त्यसैमा डर थियो ।

जति बेला उनी ‘चेक इन’ भए, निकै आत्तिएका थिए । काउन्टरमा रहेका महिलालाई आफ्नो नाम पनि भन्न सकेनन्, कोल्सले । विमानमा प्रवेश गरेयता उनले आफैंले आफैंलाई प्रश्न गरे, कोल्स के पो गरिरहेका छौ ?

दुबईबाट उनी लाहोर लागे, पाकिस्तानको दोस्रो ठूलो सहर । विमानस्थलबाट बाहिर निस्केयता टोयाटा हायस समाते । मध्यरातको समय थियो, तर पनि चर्को गर्मी थियो, ३५ डिग्री सेल्सियस । अँध्यारो थियो, उनलाई गाडीले उनलाई एउटा घरमा छोड्यो, जसको शीर्ष भागमा ठूलो फलामे ढोका थियो । त्यो घरको सुरक्षाकर्मीले उनलाई कोठासम्म पुर्‍याए । कोठमा एउटा खाट थियो, जोडिएको शौचालय । सँगै टीभी पनि । त्यसमा बजिरहेका ३७ च्यानलमध्ये दुई मात्र अंग्रेजी भाषामा थिए ।

खाटमा पल्टिनेबित्तिकै उनले सोचे, ‘म किन यहाँ आएँ होला, के मैले चाहेको यही हो त ? अब घर जाने दिन पनि चाँडै आउने छैन् । म त कतै नराम्रोसँग फसें कि ?’ क्रिकेट इन्स्ट्रक्टरका रूपमा उनी लहोर पुगेका थिए र उनले पाएको जिम्मेवारी निकै ठूलो थियो । उनलाई पाकिस्तानी महिला टिमको मुख्य प्रशिक्षक बनाइएको थियो । सन् २०१७ को कुरा थियो, पाकिस्तानी टिम महिला विश्वकप खेलेर फर्केको थियो, जसका सबै खेलमा टिम पराजित रहेको थियो ।

त्यो टिमले अहिलेसम्म विदेशी प्रशिक्षकको मुख देख्न पाएको थिएन । त्यसमाथि कोल्सलाई पाकिस्तानको मुस्लिम संस्कृतिबारे केही पनि थाहा थिएन । त्यति मात्र कहाँ हो र ? कोल्स आफैंले पनि कुनै विदेशी टिमलाई प्रशिक्षण दिएका थिएनन् । लाहोर आएको भोलिपल्ट उनका अगाडि ३० महिला खेलाडी थिए, त्यसमध्ये केहीले पटक्कै अंग्रेजी बुझ्दैनथे । गर्मीले कोल्सको चस्मा क्षणक्षणमा बाफले अवरोध गरिरहेको थियो, पसिनाले निथ्रुक्क भिजेका थिए ।

उनले खेलाडीलाई जम्मा गरेर भने, ‘हेर, यसअघि पाकिस्तानी महिला टिमले कसरी खेलेको थियो, त्यो मलाई केही पनि थाहा छैन । तर मैले टिमका केही खेल भने टीभीमा हेरेको छु । अब फेरि एक महिनाभित्र हामीले न्युजिल्यान्डको सामना गर्न लागेका छौं, हामीलाई त्यसका लागि तयारी गर्नुपर्नेछ । मेरो सबैलाई अनुरोध छ, सक्दो राम्रो खेल्ने प्रयास गर्नु । यस्तो गर्न सक्यौं भने हामीले जिते पनि हारे पनि विजय हाम्रो नै हुनेछ ।’

लाहोरको अभ्यास मैदान कत्ति पनि राम्रो थिएन, कहाँ त्यो वेलिङटनको हरियो न हरियो मैदान, कहाँ सुक्खा यो मैदान । सानो छँदा उनी आफ्ना बुबा माइकल कोल्ससँग वेलिङटनको मैदानमा क्रिकेट हेर्ने गर्थे । सन् सत्तरीतिर क्रिकेट सौखिन खेल नै थियो, यसका कमाउने भनेको केही पनि थिएन् ।

वेलिङटन टिमका यी फास्ट बलर कोल्स अरू बेला प्लास्टिक कारखानमा काम गर्थे, अनि सप्ताहन्तमा क्रिकेट खेल्थे । अथवा खेल्ने अवसर सार्वजनिक बिदाको दिन हुन्थ्यो । कोल्सका लागि आफ्ना बुबा सबथोक थिए । उनी एक्लो सन्तान पनि थिए । उनी आफ्ना बुबा जस्तै हुन चाहन्थे । उनलाई जतिले पहिलोपल्ट देख्थे, भन्थे, ‘तिमी त माइकल कोल्सका छोरा रहेछौं ।’ उनी उत्तर दिन्थे, ‘तर म त मार्क कोल्स पो हुँ ।’ जेहोस्, आफ्नो बुबाको छायामै हुर्के बढे, उनी । उनी आफैं फास्ट बलर हुन चाहन्थे र सपना देख्थे, ब्ल्याक क्याप्सका लागि खेलेको । तर उनको खेलाडी जीवन लामो चलेन, ढाड दुख्ने समस्याका कारण खेल्न छाड्नुपरेको थियो ।

यसै कारण उनलाई रक्सी खाने बानी पर्‍यो, रक्सी खानु राम्रो थिएन, तर त्यसलाई छोएपछि उनलाई लाग्थ्यो, ढाडको दुखाइ कम भएको छ, आत्मविश्वास बढेको छ । कोल्स २० वर्षको मात्र के भएका थिए, नराम्रैसँगै रक्सी खाने भइसककेका थिए । साथीहरूसँग लगातार १५/१५ घण्टा रक्सी खान्थे । पछि त कोल्सको रक्सी खाएको बेला पनि आत्मविश्वास हुन छाड्यो, उनले चारैतिर अन्धकार मात्र देखे । यसक्रममा उनले अनेक काम गरे, जस्तो– मास्क टेप बेच्ने काम ।

एक दिन उनले क्रिकेट प्रशिक्षणको काम पाए, स्थानीय क्लबमा । त्यसपछि उनले लगातार १५ वर्ष प्रशिक्षककै रूपमा काम गरे । त्यसै क्रममा उनले अस्ट्रेलिया र भानुआटुमा महिला टिमलाई प्रशिक्षणको काम पनि गरे । अरू तथाकथित वयस्क मान्छेले जस्तै, जति बेला फुर्सद हुन्थ्यो, कोल्सको काम हुन्थ्यो, रक्सी खाने । यसले उनका केही निजी सम्बन्ध सधैंका लागि ब्रिगिन सक्ने स्थितिमा पुगेको थियो । अनि प्रशिक्षकका रूपमा पनि उनको काम राम्रो हुन सकेको थिएन । अब त उनी ४० वर्षका पनि भए, तर उनले खासै केही गर्न सकेका थिएनन् भन्दा हुन्छ । न्युजिल्यान्डका लागि खेल्ने सपना टुटेकोमा उनी अभैः मर्माहित थिए । सन् २०१७ तिर एक दिन कामको दबाबमा उनले पाँच घण्टा एउटा पबमा बिताए र सिधा घर गए । घरमा उनको प्रेमिका मेल थिइन्, अनि दुई हुर्कंदै गरेकी छोरी । उनले आफ्ना सात वर्षका छोरीलाई भने, ‘म धेरै टाढा जान लागेको छु, आमाले तिमीहरूलाई हेर्ने छिन् ।’ अनि कोठा बन्द गरेर उनले आफ्नी प्रेमिकालाई भने, ‘म मर्दै छु ।’

प्रेमिकाले उनलाई त्यस्तो केही पनि गर्न दिइनन् । बिहान जति बेला उनलाई चेत आयो, उनले आफैंले आफैंलाई सोधे, ‘तिमीले यो के पो गर्न लागेका थियौ ?’ उनी आफ्नी प्रेमीसँगको १२ वर्ष पुरानो सम्बन्ध टुटाउन चाहँदैन थिए । त्यसमाथि स्कुलमा पढ्दै गरेका उनका दुई छोरी पनि त थिए । कोल्स धेरै चिकित्सकीय परामर्शबाट गुज्रे । रक्सी खान कम गरे, राम्रा बानी बसाल्नेतिर लागे । तर उनले अब के गर्ने हो भनेर सोच्न सकेका थिएनन् ।

त्यसको चार महिनापछि उनी त्यही महिला विश्वकप घरमै हेरिरहेका थिए, न्युजिल्यान्डले पाकिस्तानलाई नराम्रोसँग हराएको थियो । सोचे, यही पाकिस्तानी टिमको प्रशिक्षक बन्न पाए ? सोधखोज गरे । एक दिन उनले फोनमा खबर पाए, पाकिस्तानी महिला टिमको प्रशिक्षक बन्ने प्रस्ताव । उनले मन मनै सोचे, क्रिकेट खेल्ने सपना टुटे पनि क्रिकेट प्रशिक्षक बन्नु पनि त खराब होइन ? त्यसमाथि पाकिस्तानी क्रिकेट बोर्ड उनलाई तलब दिन सक्ने स्थितिमा थिएन । उनले ३० सदस्यीय टिम पाएको थियो, जसको उमेर १८ देखि ३३ वर्षको बीचमा थियो । सन् १९९८ मै मात्र पाकिस्तानमा महिला क्रिकेट सुरु भएको थियो । पाकिस्तानी समाज रुढिवादी थियो, त्यसैले महिलाले पनि क्रिकेट खेलेको हेर्न नसक्ने खालेको थियो । समाज सोच्थ्यो, महिलाले पनि क्रिकेट खेल्छ र ? यो त समय र पैसाको बर्बादी मात्रै हो । खासमा पाकिस्तानी समाज महिला भनेपछि हुनसम्मकै लागि अनुदार छ, पाकिस्तानमा जत्तिको लैगिक विभेद अन्यत्र कमै हुन्छ ।

टिमका एक सदस्य कति गरिब थिइन् भने उनीसँग आफू अनुकूल लगाउने जुत्ता पनि थिएन । अर्को एक खेलाडी दुई घण्टा बस चढेर प्रशिक्षणका लागि आउने गर्थिन । एक दिन उनको परिवारलाई थाहा भयो, आफ्नो छोरी त क्रिकेट पो खेल्छिन् । परिवारले उनलाई क्रिकेट खेल्नबाट रोक्न सक्दो प्रयास गर्‍यो, तर पछि आफैं हार खान बाध्य रह्यो । अनि केही खेलाडी क्रिकेट बल किन्ने आर्थिक हैसियत नभएका कारण प्लास्टिक पगालेर बनाएको बलबाट खेल्छन् ।

जेहोस्, यस्तै सदस्यले भरिएको टिमको प्रशिक्षण चल्यो, केही दिनको प्रशिक्षण पछि दुबईमा न्युजिल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि आइपुग्यो । त्यसको सुरुआती दुई खेलमा पाकिस्तान पराजित भए पनि तेस्रो खेल जितिहाले । त्यसपछि त कोल्सलाई पारिश्रमिक पनि दिन सुरु भयो । सन् २०१८ र २०१९ त गज्जब नै भयो, पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो भने दक्षिण अफ्रिकासँगको शृंखला बराबरीमा ल्याउन सक्यो । त्यही वर्ष उनलाई न्युजिल्यान्ड फर्कनु नै पर्‍यो, परिवारका कारण ।

पाकिस्तान र उसका महिला खेलाडीबाट उनलाई बिदाइ हुन कम्ती गाह्रो भएको थिएन । अचेल उनी विरलै रक्सी खाने गर्छन्, यसो सामाजिक हुन, बियरसम्म खान्छन् । अब त उनले मेलसँग विवाह पनि गरिसके । यिनै मेल भन्छिन्, कोल्स दुई वर्ष के पाकिस्तानमा बसे, उनी त पूरा फेरिएका छन् । खासमा उनी मात्र फेरिएका छैनन्, फेरिएको त पाकिस्तानी महिला क्रिकेट पनि छ । उनी अझै पनि पाकिस्तानी महिला क्रिकेटमा के भइरहेको छ भनेर बुझ्ने प्रयास गर्छन् ।

उनलाई ती पाकिस्तानी महिला खेलाडीले फेरि आफ्नो देशमा आउन अनुरोध पनि गर्छन् । तर उनी चाहँदैनन् । यसैक्रममा उनले एउटा सपना भने पूरा गरेका छन्, न्युजिल्यान्डका लागि क्रिकेट खेल्न नपाए पनि कुनै अन्तर्राष्ट्रिय टिमको प्रशिक्षक त बनियो । प्रशिक्षक जीवन त अझै पनि चलिरहेको छ । यसमा उनलाई खुबै गर्व लाग्छ । उनी भन्छन्, अबको केही वर्षमा आफूले सिकाएका पाकिस्तानी महिला खेलाडी पनि बुढी हुनेछन् र भन्नेछन्, ‘हाम्रा गोरा प्रशिक्षकले हामीलाई क्रिकेट खेल्न सिकाएका थिए ।’

(न्युजिल्यान्डको स्टफ अनलाइनमा छापिएको सामग्रीको स्वतन्त्र अनुवाद)

प्रकाशित : श्रावण २७, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

सीटीईभीटीको सम्बन्धन अब प्रदेशबाटै 

सुदीप कैनी

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) केन्द्रले प्राविधिक शिक्षालाई सम्बन्धन अधिकार प्रदेश परिषद्लाई दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षमा बसेको केन्द्रको बैठकले सीटीईभीटी केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँटको निर्णय गरेको हो ।

शिक्षामन्त्री केन्द्र परिषद्को अध्यक्ष रहने व्यवस्था छ । परिषद्को निर्णय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

प्रदेशमा सामाजिक विकासमन्त्रीको अध्यक्षतामा प्रादेशिक परिषद् गठन गर्ने व्यवस्था गरिएको छ । उक्त परिषद्ले राष्ट्रिय मापदण्डका आधारमा प्रदेशभित्र प्राविधिक शिक्षालय, बहुप्राविधिक शिक्षालय र तालिम केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी काम गर्न सक्नेछ । मुलुकको संघीय संरचनाअनुसार सीटीईभीटीको काम, कर्तव्य र अधिकार छुट्याइएको सदस्यसचिव पुष्परमण वाग्लेले बताए । ‘संघीयताअनुसार सीटीईभीटीको ६८ प्रतिशत बजेट र काम प्रदेश सरकारको जिम्मामा पुगेको छ । त्यहीअनुसार जिम्मेवारी पनि बाँडफाँट गरिएको हो,’ उनले भने ।

केन्द्रले हाल सञ्चालन गर्दै आएका आंगिक, सामुदायिक विद्यालयमा सञ्चालित, साझेदारीमा चलेका र निजी लगानीमा खुलेका प्राविधिक तथा बहुप्राविधिक शिक्षालयको नियमन, व्यवस्थापन तथा सञ्चालन गर्ने जिम्मा प्रदेश परिषद्लाई दिइएको छ । शिक्षालय सञ्चालनका लागि केन्द्र परिषद्ले निर्धारण गरेका राष्ट्रिय मापदण्ड भने पालना गर्नुपर्नेछ । प्रदेश परिषद्ले केन्द्रको स्वीकृति लिएर नयाँ शिक्षालय स्थापना गर्न सक्ने सदस्यसचिव वाग्लेले बताए । सीटीईभीटी केन्द्रले सामुदायिक विद्यालयमा प्रि–डिप्लोमा, आंगिक, सामुदायिक र निजी लगानीमा डिप्लोमा पढाइ हुने शिक्षण संस्था सञ्चालन गर्दै आएको छ । लामो तथा छोटो अवधिको तालिम पनि दिने गरिएको छ । निजी शिक्षण संस्थालाई सम्बन्धन बाँड्न चलखेल हुने गरेको आरोप केन्द्रलाई थियो ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपको राष्ट्रिय नीतिअनुकूल प्रादेशिक नीति निर्माण गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी विधेयकको मस्यौदा तयार पारिसकेको छ । ऐन जारी नहुँदासम्मका लागि केन्द्र परिषद्ले अधिकार छुट्याएको हो । चालु आर्थिक वर्षमा प्राविधिक शिक्षा र व्यावसायिक तालिमका लागि प्रदेश तहमा नै बजेट विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागिसमेत केन्द्रको अधिकार प्रदेशमा हस्तान्तरण गर्नु अनिवार्य बनेको थियो । केन्द्रले हाल सञ्चालन गरेको प्रदेश कार्यालयलाई प्रदेशको सचिवालय बनाइने भएको छ ।

संघीय सरकारको प्रत्येक प्रदेशमा एक/एक वटा नमुना प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रमलाई समेत प्रदेश परिषद्ले अघि बढाउनुपर्नेछ । नयाँ खोल्न सकिने वा हाल सञ्चालनमा नै रहेका प्राविधिक शिक्षालयलाई नमुनाका रूपमा विकास गर्न सकिने विकल्प दिइएको छ । प्रदेश परिषद्ले केन्द्रले गर्दै आएको सीप विकास तथा तालिम प्रदायक निकायको स्थापनासम्बन्धी मापदण्डसमेत तय गर्न सक्नेछ । अन्तर प्रदेश, अन्तर स्थानीय तह समन्वय र सहजीकरण गर्ने जिम्मा पनि प्रादेशिक परिषद्ले पाएको छ । प्रदेशका लागि वित्तीय स्रोतको व्यवस्था र बाँडफाँटसमेत गर्नेछ ।

प्रि–डिप्लोमा, डिप्लोमा र लामो अवधिको तालिमका लागि भने प्रदेशले केन्द्रको पाठ्यक्रम नै लागू गर्नुपर्नेछ । प्रादेशिक परिषद्ले छोटा अवधिको तालिमका लागि आफैं स्थानीय आवश्यकताअनुसार पाठ्यक्रम बनाएर लागू गर्न सक्नेछ । राष्ट्रिय मापदण्डका आधारमा प्रशिक्षक तयारी र विकास गर्नसमेत पाउनेछ । प्रदेशभित्र सञ्चालित यससम्बन्धी कार्यक्रमको अनुगमन, मूल्यांकन, समीक्षा प्रादेशिक परिषद्ले नै गर्नेछ । ‘केन्द्र परिषद्को परीक्षा नियन्त्रण कार्यालयको नीति निर्देशन तथा समन्वयमा परीक्षा व्यवस्थापन तथा सञ्चालन कार्य गर्न गराउन सक्नेछ,’ प्रदेश परिषद्को कामको सूचीमा भनिएको छ । प्राविधिक धारका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्थासमेत प्रदेश तहबाटै हुनेछ ।

संघीय तहको परिषद्ले भने प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको राष्ट्रिय नीति तथा दीर्घकालीन योजना तर्जुमा गर्नेछ । पाठ्यक्रमको प्रारूप तयार पार्ने काम पनि केन्द्र परिषद्को नै हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त प्रमाणपत्रहरूलाई समकक्षता दिने काम पनि केन्द्रबाट नै गरिनेछ । राष्ट्रियस्तरमा आवश्यक पर्ने प्राविधिक जनशक्तिको प्रक्षेपण पनि केन्द्रले गर्ने जनाएको छ । विद्यार्थीको रजिस्ट्रेसन, नतिजा प्रकाशन, प्रमाणपत्र जारी गर्ने काम भने पहिले जस्तै केन्द्रले नै गर्नेछ ।

प्राविधिक शिक्षा तथा तालिमका क्षेत्रमा सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रबीचको समन्वय केन्द्रबाट हुने सदस्यसचिव वाग्ले बताए । परीक्षा, प्रशिक्षक प्रशिक्षण अनुमतिपत्र, सम्बन्धन, अनुगमनको क्षेत्रका राष्ट्रिय मापदण्ड संघीय परिषद्ले नै तोकेअनुसार हुने व्यवस्था गरिएको छ । राष्ट्रिय व्यावसायिक योग्यता प्रारूपको कार्यान्वयन पनि केन्द्रबाट नै हुनेछ । नमुना प्राविधिक शिक्षालयको स्थापना, सञ्चालन र नियमन केन्द्र परिषद्बाट गरिने व्यवस्था गरिएको छ ।

प्रदेश परिषद्को संरचना

प्रदेशस्थित सामाजिक विकासमन्त्रीको अध्यक्षतामा बन्ने ९ सदस्यीय प्रदेश परिषद्मा प्रदेश योजना आयोगका शिक्षा हेर्ने सदस्य, सामाजिक विकास मन्त्रालयका सचिव, प्रदेशभित्रका नगरपालिका र गाउँपालिका प्रमुखहरूमध्येबाट नगरपालिका/गाउँपालिका महासंघबाट मनोनीत १/१ जना, उद्योगी, व्यवसायी, रोजगारदाताहरूमध्येबाट मनोनीत कम्तीमा एक महिलासहित दुई जना र विज्ञहरूमध्येबाट एक जना सदस्य रहने व्यवस्था छ । हालको प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यालयका निर्देशक परिषद्का सदस्यसचिव हुने व्यवस्था गरिएको छ । प्रदेश परिषद्को मातहतमा सचिवालय र त्यसअन्तर्गत ३ वटा महाशाखा रहने संरचना बनाइएको छ ।

केन्द्रमा भने परिषद्को सभा, परिषद्, उपाध्यक्ष, सदस्यसचिव ४ महाशाखा, परीक्षा बोर्ड, राष्ट्रिय सीप परीक्षण समिति र प्राविधिक प्रशिक्षण प्रतिष्ठान रहनेछ । स्थानीय तहलाई पनि प्राविधिक शिक्षा र व्यावसायिक तालिमको क्षेत्रमा आवश्यक संयन्त्र गठन गर्न सक्ने अधिकार दिइएको छ । विद्यालय तहमा सञ्चालित प्राविधिक धारको शिक्षामा स्थानीय तहले नियमन र व्यवस्थापन गर्न पाउनेछन् । स्थानीय तहभित्र सञ्चालित कार्यक्रमको अनुगमन, मूल्यांकन र समीक्षा गर्न सक्नेछन् । छोटो अवधिका केही तालिम सञ्चालन गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित : श्रावण २७, २०७७ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×