३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘बुझ्न नसकिएका’ एनेल्का

निकोलस एनेल्काले इंग्लिस प्रिमियर लिग दुई फरक क्लबका लागि जिते अनि चार पल्ट एफए कप । तर उनको बखान यतिमै मात्र सकिन्न । उनी फ्रान्सेली राष्ट्रिय टिम र वेस्ट ब्रुम दुवैबाट बर्खास्तगीमा पनि परे । यसै क्रममा उनी विरोधमा उत्रे, बहिष्कार गरे अनि प्रतिबन्ध झेले ।
सिरान भार्ली

लन्डन — नेटफ्लिक्सको नयाँ वृत्तचित्र आएको छ, ‘एनेल्का मिसअन्डरस्टुड’ । अर्थात् बुझ्न नसकिएका निकोलस एनेल्का वा बुझ्न भूल भएका एनेल्का । यसै साता रिलिज भएको वृत्तचित्रलाई लिएर उनका साथी थिएरी हेनरीले भनेका छन्, एनेल्काबारे अरू सबैले जे बुझ्छ, मेरो विचारमा त्योभन्दा उनी निकै फरक छन् । मैदानमा उनी गतिला खेलाडी थिए नै । त्यसैले उनले युरोपेली च्याम्पियनसिप जिते, च्याम्पियन्स लिग पनि जिते ।

‘बुझ्न नसकिएका’ एनेल्का

त्यतिमात्र होइन, इंग्लिस प्रिमियर लिग दुई फरक क्लबका लागि जिते अनि चारपल्ट एफए कप । तर उनको बखान यत्तिकै मात्र सकिन्न । उनी फ्रान्सेली राष्ट्रिय टिम र वेस्ट ब्रुम दुवैबाट बर्खास्तगीमा पनि परे । यसैक्रममा उनी विरोधमा उत्रे, बहिष्कार गरे अनि प्रतिबन्ध झेले ।

अब कथा भन्ने पालो, तिनै ४१ वर्ष पुगेका फ्रान्सेली खेलाडी एनेल्काको । उनले आफ्ना उपलब्धि, काण्डबारे पछाडि फर्केर भन्ने प्रयास गरेका छन् ।

रियललाई घृणा गर्छन् एनेल्का

सन् १९९७ मा आर्सेन वेंगरले एनेल्कालाई अनुबन्ध गर्दा उनी भर्खर १७ वर्षका थिए । उनको प्रदर्शन मद्दतमा आर्सनलले सन् १९९७–९८ को सिजन प्रिमियर लिग र एफए कप दुवै जित्यो । वेंगरसँगको सम्बन्धलाई लिएर उनले भनेका छन्, ‘मलाई लाग्छ, मलाई चाहिएको बेला वेंगर मेरो पछाडि हुनेछन् ।’ तर सन् १९९९ मा उनले आर्सनल छाडे । लागे उनी रियल म्याड्रिडतिर । त्यतिबेला उनको मूल्य थियो, दुई करोड ९७ लाख पाउन्ड ।


उनी भन्छन्, ‘कोही पनि खेलाडीका लागि रियलबाट खेल्नुको अर्थ के हुन्छ, सबैलाई थाहा छ । तर म रियललाई घृणा गर्छु ।’ उनले आफूले रियलका लागि खेल्दा त्यहाँ कस्तो स्थिति थियो, त्यसको वर्णन गरेका छन् । उनले भनेअनुसार, ‘चेन्जिङ रूममा कतै बस्दा पनि कोही आएर भन्थ्यो, यो त मेरो ठाउँ हो ।’ त्यसैले रिसमा एनेल्काले रियलमा अभ्यासका लागि उत्रन पनि अस्वीकार गरे । उनको भनेका छन्, आफूलाई त कुकुरको जस्तो व्यवहार गरिएको थियो । एनेल्का के पनि मान्छन् भने सफल खेलाडी हुन धेरै त्याग गर्नुपर्ने रहेछ ।

लिभरपुलमा बस्न चाहन्थे

सन् २००२ मा एनेल्का लिभरपुल आए । उनका त्यतिबेलाका प्रशिक्षक थिए, अर्का फ्रान्सेली जेरार्ड हुलियर । उनी मान्छन्, उनका लागि लिभरपुल सबैभन्दा उपयुक्त क्लब थियो । तर उनी लामो समय लिभरपुलमा टिक्न सकेनन् । खासमा हुलियर आफैं खुसी थिएनन्, विशेषतः उनका दाइको व्यवहारका कारण । ती दाइ एनेल्काको व्यक्तिगत व्यवस्थापक थिए ।

लिभरपुलमै रहेर पनि उनी एनेल्काका लागि नयाँ क्लब खोजिरहेका थिए । यसले गर्दा उनको हुलियरसँगको सम्बन्ध राम्रो हुन सकेन, त्यसैले ती व्यवस्थापकले उनलाई क्लबमा राख्नुभन्दा अन्यत्र पठाउनु नै ठीक माने । पूरा घटनाक्रमलाई लिएर भने एनेल्कालाई केही न केही अपसोच भने छ । उनी भन्छन्, ‘अधिकांश लिभरपुल समर्थक के मान्छन् भने मैले क्लब छाड्न चाहेको थिएँ, तर सबै भित्री कुरा त्यतिमात्र पनि थिएन । खासमा जे जस्तो भयो, त्यो पछाडि अर्कै कथा छ र यसलाई म दुखद मान्छु । लिभरपुल त्यस्तो क्लब थियो, जहाँ म बस्न चाहन्थें ।’


यहुदी विरोधी भएको अस्वीकार

एनेल्काको जीवनको सबैभन्दा ठूलो काण्ड भने वेस्ट ब्रुममा रहेका बेला भयो । जतिबेला उनलाई यहुदी विरोधीको आरोपमा ८० हजार पाउन्डमात्र जरिवाना गरिएन, ५ खेलको प्रतिबन्ध पनि लगाइयो । अहिले एनेल्काले पूरा घटनालाई लिएर भनेका छन् कि आफू यहुदी विरोधी थिएनन्, बरु जुन पुरातन सोच छ, त्यसको विरोधी भने हुन् । त्यही क्रममा उनको क्लब व्यवस्थापक स्टिभ क्लार्कसँगको सम्बन्ध पनि बिग्रियो । एनेल्का नभएको खेलमा वेस्ट ब्रुम लगातार पराजित रह्यो र क्लार्क आफैं बर्खास्तगीमा परे ।

प्रशिक्षककी आमाको बेइज्जत नगरेको दाबी

त्यो घटनाको चार वर्षपछि एनेल्का उत्तिकै ठूलो काण्डमा फसेको थियो । सन् २०१० को विश्वकपमा फ्रान्सको टिमले प्रशिक्षण नै बहिष्कार गरेको थियो, त्यसै क्रममा फ्रान्सेली फुटबल संघले एनेल्कालाई प्रतियोगिताकै क्रममा घर फर्काइदियो । एनेल्का मान्छन्, जे जति भयो राम्रो थिएन । तर आफूले प्रशिक्षक रेमन्ड डोमिनेचकी आमाको बेइज्जत गर्ने काम भने नगरेको मान्छन्, भलै फ्रान्सेली पत्रकार उनीमाथि यस्तै आरोप लगाउने गर्छन् ।


यो आरोपलाई लिएर एनेल्काले अहिले पनि भनेका छन्, ‘मलाई जतिले नजिकबाट चिनेका छन्, ती सबैलाई थाहा छ, म जे भन्छु, त्यसको पूरा जिम्मेवारी पनि लिने गर्छु । जे भनेको छैन, म त्यसबारे कहिले पनि जिम्मेवारी लिन्न ।’ के त्यो भए, सबैले एनेल्कालाई बुझ्न नै सकेनन् त ? कि कसैले पनि बुझ्ने पनि प्रयास गरेनन् ? यसको यही हो भनेर उत्तर दिन भने गाह्रोमात्र छैन, असम्भवजस्तै छ । एनेल्कालाई कसरी लिने हो, त्यो सबैको आ–आफ्नो व्यक्तिगत धारणा हुन सक्छ ।– बीबीसी

प्रकाशित : श्रावण २६, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?