कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इंग्ल्यान्डलाई अस्वाभाविक जितको बानी

एजेन्सी

म्यानचेस्टर — कप्तान जो रुटले इंग्ल्यान्डलाई अस्वाभाविक जित निकाल्ने बानी परेको दाबी गरेका छन् । उनले एकदिवसीय विश्वकपको सफलतापछि आफ्नो टिमलाई जुनसुकै स्थितिमा पनि जित प्राप्त हुन सक्ने विश्वास रहेको बताए ।

इंग्ल्यान्डलाई अस्वाभाविक जितको बानी

इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्टको चौथो दिन शनिबार तीन विकेटको यस्तै सनसनीपूर्ण जित निकालेको छ । जितका लागि २ सय ७७ रन पछ्याइरहेको इंग्ल्यान्ड एक समय ५ विकेट गुमाएर १ सय १७ रनको स्थितिमा थियो ।

चौथो दिनको खराब पिचमा इंग्ल्यान्डले त्यसयता संघर्ष गर्ने निश्चित जस्तै थियो, तर क्रिस वोक्स र जोस बटलरले टिमलाई जितसम्म दोहोर्‍याए । रुटले भने, ‘विश्वकपको त्यो फाइनलले हामीलाई धेरै आत्मविश्वास दिलाएको छ र कठिन परिस्थितिमा पनि राम्रो गर्न प्रेरणा दिएको छ । अब हामीलाई लागेको छ, जे–जस्तो नतिजा पनि सम्भव हुन सक्छ ।’ वोक्स ८४ रन बनाएर नटआउट रहे । उनले बटलरसँग मिलेर १ सय ३९ रनको ठोस साझेदारी गरेका थिए ।

बटलरले ७५ रनको योगदान दिए । टेस्टको तेस्रो दिनसम्म पनि बलियो स्थितिमा रहेको पाकिस्तानले त्यसयता खेलमा आफ्नो पकड गुमाएको थियो । पाकिस्तानको दोस्रो इनिङ्स सस्तोमा समेटेर इंग्ल्यान्डले जितको आधार तयार पारेको थियो । पाकिस्तानले आफ्नो इनिङ्समा १ सय ६९ रनमात्र बनाउन सकेको थियो । पाहुना टिम सुरुआती दुई इनिङ्सको अन्त्यमा १ सय ७ रनले अगाडि रहेको थियो र उसका सामु जित निकाल्न सक्ने बलियो आधार थियो ।

खेलपछि पाकिस्तानी कप्तान अजर अलीले इंग्ल्यान्डको जितको सबै श्रेय वोक्स र बटलरलाई दिन चाहे । उनले दुई इंग्लिस ब्याट्सम्यानबीचको साझेदारीलाई विशेष उपलब्धिको संज्ञा पनि दिए । उनले भने, ‘टेस्ट क्रिकेटको सबैभन्दा सुन्दर पक्ष भनेकै यस्तै हो, एउटा ठोस शतकीय साझेदारीले पूरा खेललाई अर्को मोड दियो र हामी पराजित रह्यौं । हामी वोक्स र बटलरलाई बधाई दिन चाहन्छौं । उनीहरूले नै हामीलाई हराउने काम गरे ।’

प्रकाशित : श्रावण २६, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?