३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बार्सिलोनाको प्रतिद्वन्द्वी बायर्न

एजेन्सी

पेरिस — युरोपेली च्याम्पियन्स लिग फुटबलको एउटा क्वाटरफाइनल बार्सिलोना र बायर्न म्युनिकबीच हुनेछ । यसमा सबैको नजर हुनेछ । दुई पूर्व विजेताबीचको खेल धेरैका लागि बहुप्रतीक्षित पनि हुनेछ ।

बार्सिलोनाको प्रतिद्वन्द्वी बायर्न

लियोनल मेसीको प्रेरणादायी उत्कृष्ट प्रदर्शन मद्दतमा बार्सिलोनाले अन्तिम १६ को दोस्रो लेगमा शनिबार नेपोलीलाई ३–१ ले हरायो । अन्तिम १६ को दोस्रो लेगको अर्को खेलमा रोबर्टो लेवान्डोवस्कीले दुई गोल गर्दै अर्को दुईमा अवसर सिर्जना गरेपछि बायर्नले चेल्सीमाथि ४–१ को जित हासिल गर्‍यो ।

बार्सिलोना पहिलो लेग १–१ खेलेपछि समग्रमा ४–२ ले अगाडि रह्यो । बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको यो लगातार १३ औं सिजन हो । अब सेमिफाइनल प्रवेशका लागि बार्सिलोनाले बायर्न म्युनिकको सामना गर्नेछ । नोउ क्याम्पमा प्राप्त दोस्रो लेगको जितमा बार्सिलानाका लागि क्लेमेन्ट लेनग्लेट, लियोनल मेसी र लुइस स्वारेजले गोल गरे । टिमको दोस्रो गोलका लागि मेसीले विपक्षी चार डिफेन्डर छलाएर बललाई घुमाउरो बाटो दिएका थिए ।

नेपोलीको तर्फबाट कप्तान लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए । खेलपछि बार्सिलोनाका प्रशिक्षक क्विक सेटिनले भने, ‘हाम्रो टिमले जस्तो प्रदर्शनको अपेक्षा राखेको थियो, त्यसको पहिलो पाइलाका रूपमा रहेको छ । अब प्रतियोगिताका बाँकी खेलमा पनि आजको जत्तिको प्रदर्शन आवश्यक हुन्छ । नेपोलीविरुद्ध हाम्रो प्रदर्शन वास्तवमै राम्रो रह्यो । नेपोली बलियो प्रतिद्वन्द्वी हो र उसको विरुद्ध यति राम्रो नतिजा निकाल्नु टिमले ठीक दिशातर्फ अग्रसर भएको देखाउने गर्छ ।’

एलिनाज एरिनामा प्राप्त दोस्रो लेगको जितपछि बायर्नले चेल्सीमाथि समग्रमा ७–१ को एकपक्षीय जित निकाल्न पनि सफल रह्यो । यो सिजन तीन उपाधिको अभियानमा रहेको बायर्नले यसअघि जर्मनीमा लिग र कप दुवै जितेको थियो । अब अन्तिम आठमा बायर्नको सामना बार्सिलोनासँग हुनेछ । उत्कृष्ट लयमा रहेको बायर्नका लागि सबै प्रतियोगिता गरेर यो लगातार १८ औं जित पनि रह्यो । स्टानफोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा बायर्न ३–० ले विजयी थियो ।

बायर्नका लागि इभान पेरिसिच र कोरेन्टिन टोलिसोले पनि गोल गरे । चेल्सीले गरेको सान्त्वना गोल टोमी अब्राहमको नाममा रह्यो । खेलपछि बार्सिलोनाविरुद्धको क्वाटरफाइनललाई लिएर प्रशिक्षक हान्सी फ्लिकले भने, ‘हामीले अब त्यो खेलका लागि तयारी सुरु गर्नेछौं र बार्सिलोनालाई पनि अन्य टिम जस्तै समान प्रतिद्वन्द्वी मान्ने छौं । हाम्रो ध्यान शतप्रतिशत खेलमा मात्र केन्द्रित हुनुपर्छ । लियोनल मेसीको बढी चिन्ता लिएर हुन्न ।’

अन्तिम १६ का सबै खेलको समाप्तिमा यो सिजनको युरोपेली च्याम्पियन्स लिगले अब ‘मिनी टुर्नामेन्ट’ को स्वप लिनेछ । नकआउटका रूपमा अगाडि बढ्ने प्रतियोगिता अब पोर्चुगलको लिस्वनमा हुनेछ । एउटा टिमले अर्को विरुद्ध एकै पटक मात्र खेल्नेछन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता पछाडि सरेर अहिलेको स्वरूप लिएको हो । अन्तिम आठका खेल अब बुधबार सुरु हुनेछ । फाइनल अगस्ट २३ मा हुने तालिका छ । क्वाटरफाइनलपछिका खेल पोर्चुगलको लिस्बोनमा हुनेछ ।

प्रतियोगिताको अन्तिम आठ पुगेका टिममा युरोपका प्रमुख पाँच लिगकै रहेका छन् । क्वाटरफाइनल पुग्ने टिममा स्पेनी ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानका दुई–दुई टिम छन् ।

यस्तै इंग्लिस प्रिमियर लिग र इटालीको सिरी ‘ए’ को एक–एक टिमको प्रतिनिधित्व छ । क्वाटरफाइनलमा बार्सिलोना र बायर्नसँगै एटलान्टाविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी), लाइप्जिगविरुद्ध एट्लेटिको म्याड्रिड तथा म्यानचेस्टर सिटीविरुद्ध लियोनबीच खेल हुनेछ ।

प्रकाशित : श्रावण २६, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?