स्पोर्ट्स कम्प्लेक्समा परिणत हुँदै इटहरी रंगशाला- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्पोर्ट्स कम्प्लेक्समा परिणत हुँदै इटहरी रंगशाला

३७ करोड लगानी, मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी
विनोद भण्डारी, सुम्निमा चाम्लिङ

इटहरी/सुनसरी — मुलुक कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर सामान्य अस्वस्थामा फर्किए अबको चार महिनापछि अर्थात् मंसिरदेखि सुनसरीको इटहरी रंगशाला (स्पोर्ट्स कम्प्लेक्स) सञ्चालनमा आउने छ । यो रंगशाला सञ्चालनमा आएपछि एकैपल्ट विभिन्न १५ खेलको प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न सकिन्छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चार वर्षदेखि तत्कालीन जुट विकास संस्थानको आठ बिघा जमिनमा समेटिएको यो रंगशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न ३७ करोड रुपैयाँ लगानी गरेको छ । सुनसरी जिल्ला खेलकुद समितिका निवर्तमान अध्यक्ष अनुरोध थापाका अनुसार स्पोर्ट्स कम्प्लेक्सको काम ९० प्रतिशत सकिएको छ ।

३७ करोडमा ३ हजार ५ सय दर्शक क्षमताको भीआईपी प्यारापिटसहित विभिन्न १५ खेलको नियमित प्रशिक्षण गर्ने र प्रतियोगिता समेत गर्ने सकिने पूर्वाधार निर्माण भइरहेको छ । अध्यक्ष थापाले भने, ‘भीआईपी प्यारापिट निर्माण कार्य अब दुई महिनामा सकिने छ ।’ चैत ११ देखि मुलुक लकडाउनमा नफसेको भए प्यारापिट असारभित्रमा निर्माण भइसक्ने थियो । प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पोस्ट म्याच कन्फ्रेन्स हल, भीआईपी लाउन्ज कक्ष, मेडिकल वार्ड, दुइटा चेन्जिङ रूम र रेफ्री रुम निर्माण गरिएको छ । थापाले बाँकी विभिन्न १५ खेलको आयोजनास्थल र प्रशिक्षणस्थलको निर्माण सम्पन्न भइसकेको बताए ।

उनका अनुसार प्यारापिटको काम सकिएपछि मैदानको लेभलिङ गर्ने र हाल निर्माण भएको चार सय मिटरको एथलेटिक्स ट्र्याकलाई सेन्थिटिक ट्र्याकमा परिणत गरेर रंगशालामा मंसिरदेखि खेलकुद प्रतियोगिता र दर्शकमय बनाउने लक्ष्य छ । जमिनको लेभलिङ र एथलेटिक्स ट्र्याकलाई सेन्थेटिक ट्र्याकमा परिणत गर्न आवश्यक पर्ने बजेटका लागि राखेप र प्रदेश सरकारलाई गुहार्ने तयारी निर्माण समितिको छ । प्रदेश सरकारको एक करोड बजेटमा रंगशालामा कम्पाउन्डवाल लगाइएको छ । प्रतीक्षा कन्स्ट्रक्सनले २४ करोडको लागतमा भीआईपी प्यारापिट निर्माण गरिरहेको छ । बाँकी १३ करोडको लागतमा विभिन्न १५ खेलको पूर्वाधार निर्माण भइसकेको राखेपका तत्कालीन राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए ।

‘आफ्नो कार्यकालमा इटहरी रंगशाला मुलुककै पहिलो र नमुना स्पोर्ट्स कम्प्लेक्स वनाउने लक्ष्य थियो,’ अघिल्लो असारमा कार्यकाल सकिएका विष्टले भने, ‘त्यो लक्ष्य पूर्णता नजिक पुगेको छ । यसमा खुसी हुने दिन आउँदैछ ।’ आफ्नो कार्यकालमा दाङमा १८ करोड, पोखरामा ५० करोड, नेपालगन्जमा १९ करोड र इटहरीमा २४ करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला निर्माण सुरु गरिएको र इटहरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको विष्टको दाबी छ ।

विष्टको कार्यकालमा इटहरी र धरानमा मात्रै खेलकुद पूर्वाधार विकासमा ४३ करोडभन्दा बढी लगानी भएको छ । उक्त रकममध्ये इटहरी रंगशलामा ३७ करोड र धरान–१६ को रंगशालामा पटक–पटक गरेर ६ करोड खर्च भएको छ । इटहरी रंगशलामा फुटबल, भलिबल, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, आर्चरी, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, क्रिकेटलगायतका १५ खेलको एकैपटक प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न सकिन्छ ।

त्यसका लागि हाल पाँचवटा कोर्ट भएको र एक हजार दर्शक अटाउने इन्डोरसहितको कभर्डहल, मार्सल आर्टका सबै स्पर्धाको प्रशिक्षण र प्रतियोगिता गर्न सकिने १२ सय दर्शक अटाउने इन्डोर प्यारापिटसहितको भवन, इन्डोर क्रिकेट हल, कराते, उसु र तेक्वान्दोका प्रशिक्षण र प्रतियोगिता हल, टेबलटेनिस हल, भलिबलको दिवा र रात्रिकालीन खेल खेलाउन सकिने दुइटा कोर्ट र १५ सय दर्शक अटाउने इन्डोर प्यारापिटसहित योग भवन र ज्येष्ठ नागरिक खेलकुद भवन निर्माण भइसकेको सुनसरी खेलकुद समितिका निवर्तमान अध्यक्ष थापाले बताए ।

सुनसरी जिल्ला फुटबल संघका पूर्वअध्यक्ष दिलीप राई यो रंगशालाले इटहरीलाई मुलुककै खेलकुदको हबमात्र बनाएन पहिचान नै फेरिदिएको मान्छन् । आफ्नो कार्यकालमा हरेक पटक गृहनगर आउँदा तत्कालीन सदस्यसचिव विष्ट केही न केही खेल पूर्वाधार विकासको योजना लिएर आउँथे । राईले भने, ‘पाँचवर्षको कार्यकालमा १५ पटक इटहरी आउँदा विष्टले विभिन्न १५ खेलको आवश्यक भौतिक पूर्वाधार इटहरी रंगशलामा बनाएरै छाडे ।’ इटहरी आउटडोर र इन्डोर रंगशालालाई मूर्तरूप दिन विष्टले भीआईपी प्यारापिट पनि बनाएरै छाडे ।

धरान–१५ को खोरिया बस्तीमा प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानलाई तारजालीले घेरेर ड्रेनको काम पनि सकिएको छ ।तस्बिर : सुम्निमा चाम्लिङ

विष्टकै कार्यकालमा धरान–१६ मा रहेको रंगशालाको मैदान मर्मत र स्टेडियम निर्माणका लागि ६ करोड रुपैयाँ उपलब्ध गराए । प्रदेश सरकारको लगानीमा हाल धरान–१७ को २० बिघा क्षेत्रफलमा प्रदेश १ को खेलकुद हब बनाउने उद्देश्यसहित धरानमा खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

ग्रिड कन्सल्टेन्सी काठमाडौंले गत आर्थिक वर्षदेखि आयोजनाको विस्तृत अध्ययनको काम गरिरहेको छ । धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले खेलग्रामको डीपीआर बनाउन लागेको हो । डीपीआरको काम आगामी असोजसम्म पूरा हुने समितिले जनाएको छ ।

प्रदेश सरकारले चालु वर्षमा खेलग्राम निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । गत वर्ष प्रदेश सरकारले खेलग्राम निर्माणका लागि उपलब्ध गराएको ४ करोड ५० लाख रुपैयाँ फ्रिज हुँदा धरानको खेल क्षेत्रको महत्त्वाकांक्षी योजना मानिएको खेलग्राम निर्माणको काम अघि बढ्न सकेन । सुरुआती चरणमा धरान रंगशालालाई खेलग्राम बनाउने निर्णय भएको थियो । यद्यपि पछिल्लो समय धरान–१७ साउने बस्तीमा खेलग्राम निर्माणका लागि प्रस्ताव गरियो । साउने बस्ती र धरान रंगशालामा बनाउने विषयमा पार्टीगत गुटबन्दीका कारण बजेट फ्रिज भएको स्रोतको भनाइ छ ।

धरान–१७ मै खेलग्राम बन्ने पक्का भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुभाष राईका अनुसार १० वर्षे उक्त खेलग्राम योजनामा धरानको आवश्यकताअनुसार खेलका पूर्वाधारहरू निर्माण गरिने छ । उक्त खेलग्रामको डीपीआर र खेलकुद शीर्षकमा धरान उपमहानगरपालिकाले गत वर्ष १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर ९८ लाखमात्र खर्च भएर ७२ लाख रुपैयाँ फ्रिज भयो ।

डीपीआर तयार नहुँदा कतिवटा खेल अटाउने भन्ने टुंगो लाग्न नसकेको राईले बताए । समितिले कम्तीमा २९ वटा खेल संरचना बनाउने लक्ष्य राखेको छ । सबै खेल स्थानलाई कसरी लिंक गर्ने भनेर भौतिक योजना अघि बढाइएको छ । साहसिक खेलका लागि धरान–४ मा जग्गा खोजिसकेको छ । यस्तै विजयपुरगढीस्थित साइक्लिङ ट्र्याक, धरान–१६ मा रहेको रंगशाला, बीपी प्रतिष्ठानको गल्फ कोर्स, नेपाल प्रहरी स्कुलको ब्याडमिन्टन हल पनि डीपीआरमा समेटिने प्रयास भइरहेको राईले बताए ।

त्यसैगरी प्रदेश सरकारको लगानीमा धरान–१५ खोरिया बस्तीमा भक्तराजा कन्दङ्वा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणको काम भने अघि बढेको छ । मैदानवरिपरि तारजाली र ड्रेनको काम भर्खर सकिएको छ । उक्त मैदान निर्माणका लागि धरान उपमहानगर, सांसद र स्थानीयवासीले २०६५ देखि २०७५ सम्म ५० लाख रुपैयाँ खर्च गरेका थिए ।

प्रदेश सरकारले गत वर्ष डेढ करोड रुपैयाँ उपलब्ध गराएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ लाग्ने र उक्त रकम प्रदेश सरकारले क्रमागत रूपमा उपलब्ध गराउने क्रिकेट मैदान संरक्षण समितिका संयोजक आइन्द्रविक्रम बेघाले बताए । प्रदेश सरकारले चालु वर्ष प्रदेशको खेलकुदका लागि ३० करोड रुपैयाँ छुट्याएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

स्नातक तहमा खेलकुद व्यवस्थापन पढ्न पाइने

दीपक परियार

पोखरा — नेपालमै पहिलोपल्ट विश्वविद्यालयको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयमा अध्यापन हुने भएको छ । गण्डकी प्रदेशमा स्थापित गण्डकी विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्ट्स म्यानेजमेन्ट’ पाठ्यक्रम तयार गरेको हो ।

पाठ्यक्रम तयारी समितिले विश्वविद्यालयका कुलपति प्रा‍डा गणेशमान गुरुङलाई मस्यौदा बुझाइसकेको छ । चार वर्षमा आठ सेमेस्टरसहित ५२ वटा कोर्स रहने पाठ्यक्रमको मस्यौदामा उल्लेख छ ।

खेलकुद व्यवस्थापनको अध्यापनमा कुल १ सय ६२ घण्टा क्रेडिट आवर रहने प्रस्ताव गरिएको छ । समितिका संयोजक डा.प्रकाश प्रधानका अनुसार सैद्धान्तिकसँगै प्रयोगात्मक विषयमा अध्यापन हुने गरी पाठ्यक्रम तयार गरिएको छ । विभिन्न सेमेस्टरअन्तर्गत भलिबल, फुटबल, तेक्वान्दो, कराते, ह्यान्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, क्रिकेट, स्विमिङ, परम्परागत खेल आर्चरी, छेलोलाई समावेश गरिएको छ । स्पोर्ट्स म्यानेजमेन्टमा मार्केटिङ, म्यानेजमेन्ट अफ लिजर रिक्रिएसन, स्पेक्टेटर म्यानेजमेन्ट, स्पोर्ट्स इकोनोमिक्स, फन्डिङ इन स्पोर्ट्स, स्पोर्ट्स टुरिजम, स्पोर्ट्स इन ग्लोबलाइजेसन, स्पोर्ट्स इन मिडिया, स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डस्ट्रिज, एथलेटिक्स केयर एन्ड रिह्याबिलिटेसन रहेका छन् ।

लिडरसिप इन स्पोर्ट्स, स्पोर्ट्स इन इभेन्ट म्यानेजमेन्ट, स्पोटर््स ल एन्ड रिस्क म्यानेजमेन्ट, स्पोर्ट्स फेसिलिटी म्यानेजमेन्ट, इन्टरप्रेनरसिप इन स्पोटर््स, करियर डेभलपमेन्ट, सस्टेनेबल डेभलपमेन्ट, इथिक्स इन स्पोर्ट्स, वुमन एन्ड स्पिसियबल स्पोर्ट्स, गभर्मेन्ट इन स्पोर्ट्सलगायतका छुट्टाछुट्टै विषयमा अध्यापन हुनेछ । मूलधारको विषयअन्तर्गत अंग्रेजी, स्ट्राटिक्स, कम्प्युटर एप्लिकेसनका विषय समावेश छन् । योगा साइन्सको विषयलाई समेत समेटिएको छ । ‘यो निकै महँगो विषय भएकाले कार्यान्वयनमा सबैको ध्यान पुग्न आवश्यक छ,’ स्पोटर््स साइन्समा जर्मनीबाट पीएचडी गरेका डा. प्रधानले भने, ‘मस्यौदामा समावेश भएका विषय दक्षिण एसियाली मुलुकमा समेत पाउन मुस्किल पर्छ ।’

उनले पोखरामा खेलकुदको विषयमा अध्यापन हुनु गौरवको विषय भएको बताए । ‘पोखरा आफैंमा खेलकुदका लागि निकै सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘जुन विषय हामीले तयार गरेका छौं, यो विश्व बजारमा बिक्ने विषय र अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरेका छौं ।’

यसअघि नेपालमा त्रिभुवन विश्वद्यिालयमा स्नातकोत्तर तहमा ऐच्छिक रूपमा स्पोटर््स साइन्स विषयको अध्यापन हुँदै आएको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ स्नातक तहमै यो विषय सुरु हुनु ऐतिहासिक रहेको बताउँछन् । पाठ्यक्रम मस्यौदा समितिका सदस्यसमेत रहेका उनले भने, ‘यो निकै नै खुसीको विषय हो । अब खेल क्षेत्रले ठूलो फड्को मार्छ ।’

स्नातक तह उत्तीर्ण गरिसकेपछि पनि स्नातकोत्तरमा अन्य विषय लिएर पढ्न सक्ने गरी पाठ्यक्रम तयार गरिएको उनले बताए । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ खेलकुद व्यवस्थापनको पढाइले रोजगारीको सम्भावनाको ढोका खुल्ने बताउँछन् । सधैं पछाडि परेको विषयलाई विश्वविद्यालयले अगाडि बढाएकाले आफू निकै उत्साही भएको उनले बताए । ‘पाठ्यक्रमसमेत निकै राम्रो बनेको छ । साथीहरूले यसमा निकै मिहिनेत गर्नुभयो,’ उनले भने, ‘यसले हाम्रा युवालाई राष्ट्रको समृद्धिमा लाग्न हौसला प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’ यस सम्बन्धमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको विशेष चासो रहेको उनले सुनाए । ‘हाम्रो उद्देश्य यो कोर्सलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनु हो ताकि विदेशी विद्यार्थी पनि आएर अध्ययन गर्न सकुन्,’ उनले भने ।

डा. प्रधानको संयोजकत्वमा गठित पाठ्यक्रम मस्यौदा समितिको सदस्यमा अग्रज खेलाडी तथा राखेपका पूर्वसदस्य खड्गबहादुर रानाभाट, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, क्षेत्रीय खेलकुदका प्रशिक्षण विभाग उपनिर्देशक कृष्ण तिमिल्सिना, स्पोर्ट्स साइन्स पीएचडी स्कलर मधुसुदन सुवेदी र आमन्त्रित सदस्य प्राडा ध्रुव कार्की छन् । समितिले ४२ दिनमा पाठ्यक्रम तयार गरेको हो ।

संघीय सरकारले पोखरा महानगरपालिका–३२ मा ३ सय ५१ रोपनी जग्गा गण्डकी विश्वविद्यालयको नाममा उपलब्ध गराएको छ । विश्वविद्यालयले विभिन्न १४ वटा विषयमा अध्यापन गराउनेछ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×