१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बायर्नको नजर क्वाटरफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग खेलमा आज बायर्न म्युनिकले चेल्सीको सामना गर्दा जर्मन विजेताको नजर क्वाटरफाइनलमा हुनेछ । बायर्न ३–० ले अगाडि छ र क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रत्यासी भएको छ । खेल नेपाली समय अनुसार आज शनिबार राति पौने एक बजे सुरु हुनेछ ।

बायर्नको नजर क्वाटरफाइनलमा

धेरै अर्थमा यो खासै औपचारिक महत्त्व नभएको खेल हो, किनभने पहिलो लेगमा बायर्नले चेल्सीलाई उसकै घर र समर्थकमाझ तीन गोलले पराजित गरेको थियो । त्यति बेला सर्जी जेनब्रेले दुई गोल गरेका थिए भने अर्को गोल रोबर्ट लेवनडोस्कीको नाममा थियो । त्यही खेलले देखाउँथ्यो, वास्तवमै बायर्न कति बलियो छ भनेर ।

त्यसैले त उसले फेरि फुटबल सुरु भएयता लगातार ११ खेल जितेको छ र मध्य मे महिनामै लिग पनि जित्यो । त्यसयता कप जितेर उसले लिग डबल्स पनि गरिसकेको छ । समग्रमा हान्सी फ्लिकको बायर्नले खेल फेरि सुचारु भएयता १७ खेल जितेको छ र यो टिम डिसेम्बरयता २६ खेलमा अपराजित छ ।

लेवनडोस्कीले सबै खाले प्रतियोगितामा ५१ गोल गरिसकेका छन् । घरेलु लिग र कपमा धेरै राम्रो गरेपनि बायर्नले पछिल्ला केही सिजनयता च्याम्पियन्स लिगमा भने राम्रो गर्न सकिरहेको छैन, यो नै टिममाथि रहेको सबैभन्दा ठूलो दबाब हुनेछ । चेल्सीका लागि सम्मानजक स्थितिमा यो टाइ टुंग्याउनु नै महत्त्वपूर्ण हुनेछ ।

लन्डन क्लब घरेलु लिगको शीर्ष चारमा रहन सफल रह्यो र यससँगै अर्को सिजनका च्याम्पियन्स लिगमा छनोट पनि भइसकेको छ । चेल्सी भर्खरै मात्र एफएकप फाइनलमा आर्सनलसँग पनि पराजित रहेको छ । यो सबै पृष्ठभूमिमा फ्रायन्क लाम्पार्डको ध्यान बायर्नविरुद्धको खेलमा भन्दा अर्को सिजनमा बढी हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?