१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बार्सिलोनालाई घरेलु असफलता बिर्साउने अवसर

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगमा नेपाली समयअनुसार शनिबार राति पौने एक बजे अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले नेपोलीको सामना गर्दैछ । पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । त्यसैले दोस्रो टाइमा बार्सिलोना आफ्नै घरमा खेल्दा क्वाटरफाइनल पुग्नका लागि बलियो प्रत्यासी हुनेछ ।

बार्सिलोनालाई घरेलु असफलता बिर्साउने अवसर

ला लिगाको उपाधि होडमा रियल म्याड्रिडसँगको दौडमा पछि परेको बार्सिलोनाले अब आफू युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको कल्पना पनि गर्न सक्दैन । एक प्रकारले यो अन्तिम १६ को टाइमा बार्सिलोना सुरक्षित पनि छ । उसले नेपोलीको मैदानमा खेलेको बराबरीमा एक घर बाहिरको गोलको उपलब्धि हात पारेको थियो ।

ड्रिस मार्टेन्सको गोलका विरुद्ध बार्सिलोनाका लागि एन्टोन ग्रिजमनले बललाई सफलतापूर्वक पोस्टको दिशा दिएका थिए । तर बार्सिलोनाका लागि समस्या कहाँनिर छ भने क्याम्प नुमा सबथोक राम्रो भइरहेको छैन । प्रशिक्षक क्विक सेटिन चर्को दबाबमा छन् । अन्तिम पटक पाँच वर्ष अगाडि युरोपेली च्याम्पियन भएको बार्सिलोना छैटौं उपाधि जित्ने अभियानमा छ ।

पहिलो लेगको खेल भएयता लियोनल मेसी आफै पनि ३३ वर्षका भइसके । उनका लागि फेरि एकपल्ट युरोपेली उपाधि उचाल्ने सम्भावना समयका आधारमा झन झन कमजोर हुँदैछ । त्यसैले मेसी स्वयं च्याम्पियन्स लिगमा राम्रो गर्न प्रेरित रहनेछन् ।

नेपोलीले भने यस सिजन इटालियन कप जितिसकेको छ, त्यो पनि युभेन्टसलाई पन्छाएर । त्यसैले उसले पेस गर्ने चुनौती पनि बार्सिलोनाका लागि कम हुने छैन ।

प्रकाशित : श्रावण २४, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?