कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भिडन्त ग्वार्डिओलाविरुद्ध जिदान

क्वाटरफाइनलयता च्याम्पियन्स लिगले नकआउट प्रतियोगिताको ढाँचा लिनेछ । सबै खेल तटस्थ भूमिका रुपमा पोर्चुगलको लिस्बनमा हुनेछ, त्यो पनि दर्शकविहीन बन्द रंगशालामा ।
एजेन्सी

लन्डन — पेप ग्वार्डिओला बार्सिलोनामा त्यति साह्रो सफल हुँदैनथे त जिनेदिन जिदान पनि रियल म्याड्रिड आउने थिएनन् । तर तिनै ग्वार्डिओला अचेल तिनै जिदानको पदचिह्न पछ्याउने क्रममा छन्, म्यानचेस्टर सिटीलाई युरोपमा सफल बनाउन । जिदानको रियल शुक्रबार सिटीको भ्रमणमा निस्कनेछ । रियलको उद्देश्य हुनेछ पहिलो लेगमा २–१ ले पछाडि परेको स्थिति उल्टाउने ।

भिडन्त ग्वार्डिओलाविरुद्ध जिदान

युरोपेली च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेग फेब्रुअरीमा भएको थियो । त्यसपछि त कारोना भाइरस संक्रमणको महामारी सुरु भइहाल्यो । सबथोक अवरुद्ध भयो । बेर्नाबेउमा भएको त्यो खेलयता विश्व फुटबलमा धेरथोक परिवर्तन भइसकेको छ । दोस्रो अवसरमा रियल सम्हालिरहेका जिदानले बार्सिलोनाको घरेलु वर्चस्व तोडेका छन् र लगातार १० खेल जितेर स्पेनी ला लिगा पनि हात पारिसकेका छन् । स्पेनमा फुटबल जुनयता फर्केको थियो । रियलका लागि पछिल्लो समय युरोपेली सफलताभन्दा घरकै उपाधि ठूलो भएको छ ।

त्यसैले अहिले जिदानको काँधमा धेरै ठूलो बोझ छैन । तर उनी चाहन्छन्, च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी रहोस् । उनको नेतृत्वमा रियलले तीनपल्ट च्याम्पियन्स लिग जितेको छ, सन् २०१६ देखि २०१८ बीच । जिदान त्यस्ता प्रशिक्षक हुन्, जसले रियलका लागि युरोपमा बाहिरिएको स्थिति बेहोर्नुपर्ने छैन । ग्वार्डिओला पनि मान्छन् । जिदानले त्यो काम गरेका छन्, जुन यसअघिका रियल प्रशिक्षकले गर्न सकेका छैनन् ।

ग्वार्डिओला भन्छन्, ‘लगातार तीनपल्ट च्याम्पियन्स लिग जित्नु, बार्सिलोनालाई पन्छाएर ला लिगा उपाधि जित्नुले देखाउने गर्छ, जिदान कत्तिको अब्बल दर्जाका प्रशिक्षक हुन् भनेर । उनी रियलका हुन्, त्यसैले केही राम्रो बोल्दा मलाई विश्वास पनि नगर्न सक्छन् । तर उनको सफलताका लागि म खुसी छु । यो विश्व फुटबलका लागि राम्रो हो, उनी जत्तिको प्रशिक्षक सफल हुनुपर्छ ।’

रियलले जिदानलाई प्रशिक्षक बनाउँदा बार्सिलोनाकै बाटो पछ्याएका थिए । त्यसो भनेको आफ्नै टिमका खेलाडी, जसले मिडफिल्डमा खेल्ने गर्थ्यो अनि जसले आफ्नो युवा टिम पनि हेरेको होस् । ग्वार्डिओला क्याम्प नोउमा छँदा बार्सिलोनाले सन् २००८ देखि २०१२ बीच १४ उपाधि जितेको थियो, जसमा दुई च्याम्पियन्स लिगको उपाधि पनि पर्छ ।

बायर्न म्युनिक गएपछि पनि उनले लिग र कप जितिरहे, यही क्रम सिटी आएयता पनि रह्यो । तर सन् २०११ देखि उनले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि भने जित्न सकेका छैनन् ।

इंग्ल्यान्ड आएयता ग्वार्डिओलाले ६ ठूला उपाधि जितेका छन्, जसमा दुई प्रिमियर लिगको सफलता पर्छ । यो सिजनको सुरुमै उनले के पनि भनिसकेका छन् भने यसपल्ट सिटीले च्याम्पियन्स लिग जित्न सकेन भने त्यसलाई आफ्नो असफलता माने हुन्छ । च्याम्पियन्स लिग खेल्नमा लागेको दुई वर्षको प्रतिबन्ध हटेपछि एक प्रकारले सिटीमाथिको दबाब धेरै हदसम्म कम भएको छ । कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीमाथिको प्रतिबन्ध उल्टाएको थियो ।

त्यसको अर्थ अबको तीन वर्षमा च्याम्पियन्स लिग जित्ने मौका यही महिना सकिन्छ भन्ने डर त रहेन । तर ग्वार्डिओला के पनि मान्छन् भने सिटीका लागि यो सिजन जत्तिको च्याम्पियन्स लिग जित्ने अवसर अरू बेला बिरलै आउने गर्छ । यसको कारण क्वाटरफाइनलयता च्याम्पियन्स लिगले नकआउट प्रतियोगिताको ढाँचा लिनेछ । सबै खेल तटस्थ भूमिका रूपमा पोर्चुगलको लिस्बनमा हुनेछ, त्यो पनि दर्शकविहीन बन्द रंगशालामा । बार्सिलोना र बायर्नमा प्रमुख रहिसकेका ग्वार्डिओला प्रायः के पनि गुनासो गर्ने गर्छन् भने सिटी समर्थकले च्याम्पियन्स लिगमा बिरलै मात्र त्यस्तो वातावरण बनाउने गर्छ, जस्तो अन्य क्लबका हेर्न पाइन्छ । युरोपका केही ठूला क्लब समर्थककै बलमा पनि खेल जित्ने वातावरण बनाउन सक्षम हुने गर्छन् । ग्वार्डिओला भन्छन्, ‘अब आउने सिजनमा हाम्रो सम्भावना मरेको होइन, तर यसपल्ट जस्तो सम्भावना फेरि दोहोरिएर आउने भने छैन ।’

सिटीले रियललाई हराउन सके त्यो अर्को दृष्टिकोणबाट ठूलै उपलब्धि हुनेछ, किनभने सिटीले अहिलेसम्म नकआउट चरणका आफूले खेलेका नौ सिजनमा कोही पनि युरोपेली पूर्व विजेतालाई पन्छाउन सकेको छैन । जिदान आफैं पनि के मान्छन् भने अहिले विश्व फुटबलमा उपलब्ध प्रशिक्षकमध्ये ग्वार्डिओला जत्तिको कोही छैनन् । फ्रान्सेली जिदानका लागि आफ्ना समकक्षी प्रतिद्वन्द्वी प्रशिक्षक विश्वकै सर्वाधिक उत्कृष्ट हुन् ।

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा च्याम्पियन लिभरपुलभन्दा सिटी १८ अंकले पछाडि रह्यो, जसलाई असफलता पनि मान्न सकिन्छ । युरोपेली ठूला क्लब घरेलु लिगमा हात पारेको असफलताको रिस च्याम्पियन्स लिगमा पोख्ने गर्छन्, त्यो पनि राम्रो गरेर । अब यही काम बार्सिलोनामा बलब्वाइदेखि खेलाडी र प्रशिक्षक सबथोक रहेका ग्वार्डिओलाले गर्नुपर्ने हुन्छ । ठूला–ठूला क्लब च्याम्पियन्स लिगमा यस्तै काम गर्न माहिर छन्, जुन सिटीले गर्न सकेको छैन ।

प्रकाशित : श्रावण २३, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?