१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

क्रिकेटको प्रशिक्षण पछि धकेलियो

हाललाई नेपालको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर केही नभएकाले भदौ १ गते सुरु हुने भनिएको प्रशिक्षण एक महिनासम्म धकेलिन सक्ने भएको छ ।
विनोद पाण्डे

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण एक महिना पछाडि धकेलिने भएको छ । तत्कालका लागि नेपालको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर केही नभएकाले भदौ १ गते सुरु हुने भनिएको प्रशिक्षण एक महिनासम्म धकेलिन सक्ने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ ।

क्रिकेटको प्रशिक्षण पछि धकेलियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई २०२१ को जनवरी अगाडिसम्म नेपालको कुनै पनि खेलतालिका नभएको बताएपछि विश्व क्रिकेटको उच्च निकायको मागनिर्देशनअनुरूप नै नेपाली क्रिकेटको प्रशिक्षण असोजसम्म सार्न लागिएको जनाइएको छ ।

भदौको अन्तिम सातादेखि असोज पहिलो सातासम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने भनिएको छ ।कोभिड–१९ (कोरोना भाइरस) ले महामारीको रूप लिएपछि नेपाली क्रिकेट टोली मार्चयता मैदान प्रवेश गरेको छैन । नोभेम्बरमा दुबईमा कुनै शृंखला आयोजना गर्ने आशामा भदौ १ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आवासीय सुविधासहित क्यानले प्रशिक्षणलाई आवश्यक तयारी सुरु गरेको थियो ।

नेपालले विश्वकप लिग २ मा अप्रिलमा नामिबिया, जुनमा पपुवा न्युगिनी र जुलाईमा स्कटल्यान्डमा गएर खेल्ने कार्यक्रम कोरोना भाइरसका कारण स्थगित भइसकेको छ । नामिबियामा नेपालले नामिबिया र स्कटल्यान्ड, पपुवा न्युगिनीमा पपुवासँग र युएई तथा स्कटल्यान्डमा स्कटल्यान्ड र नामिबियासँग २–२ गरी १२ खेल खेल्ने तालिका थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेपछि विश्वकप लिग २ मा रहेको नेपालले ४ खेल खेलिसकेको छ र २०२२ सम्म गरी गरी नेपालले थप ३२ खेल खेल्न बाँकी रहेको छ । क्यान स्रोतका अनुसार नेपालले अब २०२१ मा ७ त्रिकोणात्मक शृंखला खेल्न सक्नेछ । निर्धारित तालिकाअनुसार नेपाल २०२१ को जवनरीमा ओमान जानेछ र त्यहाँ ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । फेब्रुअरीमा यूएई र पपुवा न्युगिनी काठमाडौं आएर नेपालसँग खेल्ने तालिका छ । नोभेम्बरमा नामिबिया र स्कटल्यान्ड पनि नेपाल आउने छन् । यसबीचमा अगस्टमा अमेरिका गएर नेपालले अमेरिका र ओमानसँग खेल्नेछ ।

नेपालको नामियिबा, स्कटल्यान्ड र पपुवा न्युगिनी भ्रमण पनि २०२१ मै मिलाइने सम्भावना छ । सन् २०२२ को जनवरीमा यूएई गएर यूएई र नामिबियासँग खेलेपछि नेपालको विश्वकप लिग २ को यात्रा टुंगिने छ । नेपालले यसै वर्षको मार्चमा अमेरिका र ओमानसँग कीर्तिपुरमा खेल्दै विश्वकप लिग २ को यात्रा सुरु गरेको हो । त्यसमा अमेरिकासँगको दुवै खेल जिते पनि ओमानसँगका दुवै खेल हारेको थियो ।

चारमहिने लकडाउनपछि भदौ १ गतेबाट सरकारले खेलाडीलाई प्रशिक्षणका लागि अनुमति दिएको थियो । सोहीअनुरूप क्यानले नेपाल सरकार र आईसीसीको गाइडलाइन अनुसार नेपाली पुरुष राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न लागेको थियो ।

नेपाली टोली प्रशिक्षणका लागि आएपछि पहिला पीसीआर परीक्षण गर्ने र त्यसपछि दुई साता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्वारेन्टाइनमा बस्ने, क्युरेटर, मैदानका कर्मचारीहरू सबैको पीसीआर परीक्षण गरिने तयारी गरेको थियो 

आईसीसीको निर्देशनअनुरूप खेलाडीका लागि त्रिवि मैदानको हाताभित्रै आवासीय व्यवस्था मिलाउन लागिएको थियो । त्रिवि मैदान हाताभित्रको भीआईपी प्यारापिट र स्कोर बोर्ड अपडेट गर्न बनाइएको भवनमा खेलाडीलाई आवासीय व्यवस्था मिलाउने तयारी गरेको क्यानले असोजमा प्रशिक्षण धकेलिएपछि हाल रहेको जिम भवनमा आवासीय सुविधा बनाउने विकल्प पनि अगाडि ल्याएको बताइएको छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?