कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लोमन्थाङमा फुटबलको रौनक, छैन कोरोनाको डर

घनश्याम खड्का

म्याग्दी — कोरोना महामारीका कारण चार महिनायता देशभित्र खेल गतिविधि ठप्पप्रायः छ । तर उपल्लो मुस्ताङको लोमन्थाङ क्षेत्रमा अहिले फुटबल र भलिबल खेल उत्सवको रौनक छाएको छ ।

लोमन्थाङमा फुटबलको रौनक, छैन कोरोनाको डर

जनैपूर्णिमा (यार्तोङ चाड) को अवसरमा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइको लोमन्थाङ गाउँपालिका–३ थिंकर गाउँमा माउन्टेन पासाङ युवा क्लबको आयोजनामा ‘छ्योग्यल जिग्मे मेमोरियल’ फुटबल र भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रतियोगितामा लोघेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकाभित्रका १४ युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । वर्षायाम भए पनि मुस्ताङमा सुक्खा भएकाले खेलकुदका लागि उपयुक्त मौसम छ । ‘यस वर्ष खिङ्गर (थिङ्गर) मा फुटबल र भलिबल प्रतियोगिता सञ्चालनमा छन्,’ प्रतियोगिता आयोजक क्लबका सचिव म्युच्योर गुरुङले भने ।

उनले मुस्ताङ जिल्ला कोरोना भाइरसमुक्त क्षेत्र भएको र बाहिरबाट खेलाडी तथा दर्शक आउन रोक लगाइएकाले बालुवाको पहाडमाथि सभ्य रूपमा फुटबल प्रतियोगिता भइरहेको बताए । जसले गर्दा दर्शकको बाक्लो उपस्थिति छ ।

प्रतियोगिता पहिलो पटक आयोजना गरिएको होइन । परम्परादेखि नै घोडा दौड र सांस्कृतिक मेला लगाउने गरिएकोमा १४ वर्षदेखि उपल्लो मुस्ताङका घिलिङ, घमी, ढाकमार, चराङ, मराङ, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, लोमन्थाङ, नेन्योल, छोस्यार, न्याम्डो, किम्लिङ, थिंकर, फुवा, नाम्ग्यालसमेतका गाउँहरूमा पालैपालो फुटबल र भलिबलको प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

पछिल्लो दुई वर्षदेखि लोमन्थाङका अन्तिम राजा जिग्मे परवल विष्टको सम्झनामा छ्योग्यल जिग्मे मेमोरियल खेलकुद प्रतियोगिता नामकरण गरिएको हो । ‘यो खेल प्रतियोगिता उपल्लो मुस्ताङको प्रतिष्ठित प्रतियोगिता हो । छिमेकी तिब्बत र विश्वका पर्यटकसमेत हिमाली खेल प्रतियोगिता हेर्न आउँथे तर यो वर्ष कोरोना भाइरस र लकडाउनका कारण उपल्लो मुस्ताङ प्रवेशमा रोक लगाइएकाले आउन पाएनन्,’ लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले भने, ‘खेल प्रतियोगिताको अवधि भने घटाएका छौं । दर्शकलाई सामाजिक दूरी कायम गर्न र टाढाबाट नआउन भनेका छौं । जिल्लामा कोरोना संक्रमण नदेखिएकाले युवाको मागलाई रोक्न सकिएन ।’

माटोको सहरमा धमाधम खेलग्राम बन्दै

त्यसैबीच संघीय सरकारको एक करोड रुपैयाँ लागतमा लोमन्थाङ गाउँपालिका–६ किमलिङमा सुविधायुक्त खेलग्राम निर्माण सुरु भएको छ ।

३ सय ८ मिटर लामो, १ सय २० मिटर चौडा खेल मैदानमा ९ लेनको एथलेटिक्सलाई सेन्थेटिक ट्र्याकसहित फुटबल, भलिबल र बास्केटबल कोर्ट निर्माण गरिँदै छ । त्यसमा २ हजार दर्शक अट्ने प्यारापिट निर्माण सुरु भएको उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले भने, ‘लोमन्थाङमा खेलग्राम निर्माणक्रममा छ । यो खेलमैदान हाइअल्टिच्युड खेलकुदको हब हुन सक्छ । हाम्रो प्रयास त्यसकै लागि भइरहेको छ ।’

तस्बिर सौजन्य : ढेन्डुक छिरिङ गुरुङ

प्रकाशित : श्रावण २१, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?