कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

द बिटल्स, रेड कि ब्लु ?

द बिल्टस ब्यान्ड आफैंमा एभरटनको समर्थक थियो कि लिभरपुलको । अब भनिरहनुपर्दैन, रेडभन्दा लिभरपुल हो भने ब्लुभन्दा एभरटन ।
हिमेश

काठमाडौँ — लिभरपुल फुटबलका लागि मात्र चिनिने इंग्लिस सहर होइन, यो संगीतका लागि पनि नामुद छ । अझ पूरा विश्वमा यो सहरले फुटबललाई आफ्नो परिचय बनाउनु अगाडि संगीतबाट आफूलाई चिनाइसकेको थियो भन्दा हुन्छ । यो सहरका दुई प्रख्यात क्लब छन्, एभरटन र लिभरपुल ।

द बिटल्स, रेड कि ब्लु ?

धेरै अगाडिदेखि एभरटन थियो । पछि लिभरपुल छुट्टियो । अनि यही सहरमा जन्मेर हुर्केको हो, द बिटल्स पनि । ‘फ्याब फोर’ अर्थात् जोन लेनन, पाउल म्याकार्टनी, जर्ज ह्यारिसन र रिंगो स्टोर ।

यी सबै यही लिभरपुल सहरकै हुन् । धेरैले प्रश्न गर्ने गर्छन्, द बिटल्स रेड कि ब्लु ? यसको सांगीतिक अर्थ पनि लाग्छ, ब्यान्डका एल्बम यसरी पनि चिनिन्छन्, रेड र ब्लु भनेर । तर हाम्रो प्रश्न बेग्लै हो । यो प्रश्नले न त फुटबलबारे धेरै सोध्न खोज्छ, न त संगीतबारे । प्रश्नको सिधा अर्थ हो, द बिल्टस ब्यान्ड आफैंमा एभरटनको समर्थक थियो कि लिभरपुलको । अब भनिरहनुपर्दैन, रेडभन्दा लिभरपुल हो भने ब्लुभन्दा एभरटन ।

जतिबेला यो मर्सिसाइड सहर छिर्नुपर्छ, पहिलो प्रश्न यही हुन्छ रे, तपाईं रेड कि ब्लु ? द बिटल्सका चार सदस्यले साँच्चै कुन क्लबलाई समर्थक गर्दा हुन् ? भर्खरै लिभरपुलले इंग्लिस प्रिमियर लिग उपाधि जित्यो । त्यसको चर्चा अझै सेलाएको छैन । चर्चा अब फैलिएर त्यसमा अनेक आयाम थपिएका छन् । त्यसमध्ये एउटा चर्चा हो, द बिटल्सका सदस्यको फुटबलमा कति रुचि थियो अनि यो कुन मर्सिसाइड क्लबतर्फ ढल्किएको थियो त ?

द गार्डियनका केही पुराना समाचारमा यसबारे चर्चा गरिएको छ । त्यसकै सहयोगमा अहिलेसम्म पनि यसबारे बहस हुने गर्छ । खासमा यो निकै दोहोर्‍याएर सोधिने प्रश्न हो । यसको अहिलेसम्म ठ्याक्कै उत्तर छैन । रमाइलो त केमा पनि छभन्दा दुवै क्लबका समर्थक दाबी गर्ने गर्छन्, द बिटल्स त हाम्रो टिमको समर्थक हो । अलिक नरमाइलो तथ्य के छ भने द बिटल्सका सदस्य फुटबलमा मरिहत्ते गर्ने खालका थिएनन् । जस्तो यो सहरका अन्य सबैका लागि फुटबल भनेको सबथोक हो ।

द बिटल्सबारे मात्र खोजेर, सोधेरे इतिहासकार भएका धेरै बेलायततिर पाइन्छ । त्यसमध्ये एक हुन्, रे ओ’ब्राइन पनि । उनकै शब्दमा भन्दा द बिटल्सलाई साँच्चै फुटबलमा उति साह्रो रुचि थिएन । यो ब्यान्डको सबैभन्दा चर्चित एल्बममा पर्छ, ‘सार्जेन्ट पेपर्स लोनली हार्टस ब्यान्ड’ । यो एल्बमको कभरमा धेरैको अनुहार छ । यसमध्ये एकै मात्र फुटबल खेलाडी परेका छन् । उनी हुन्, लिभरपुलका अल्बर्ट स्टबिन्स । आफ्नो समयमा उनी कहलिएकै खेलाडी थिए । भनिन्छ, उनको तस्बिर हाल्न जिद्दी गर्ने लेनन थिए । लेननको बुबा भने लिभरपुलका जबरदस्त समर्थक थिए । त्यसैले लेननले यो काम गरेका थिए भनिन्छ । तर लेननलाई जति फुटबलमा रुचि थियो, त्योभन्दा धेरै रुचि म्याकार्टनीमा थियो । यिनै दुई त हुन्, ब्यान्डका फ्रन्टम्यान । म्याकार्टनीले सानो छँदै रंगशालामै गएर धेरैपल्ट फुटबल हेरेका थिए र त्यो रंगशाला अरू नभएर गुडिसन पार्क थियो अर्थात् एभरटनको घर । उनका बुबा र काकाहरू एभरटन समर्थक थिए, त्यसैले फुच्चै म्याकार्टनीलाई पनि आफूसँगै गुडिसन पार्क लान्थे ।

म्याकार्टनीले सन् १९६५ मा वेम्बलीमा गएर पनि फुटबल हेरेका रहेछन् र यो एफए कपको फाइनल थियो । उनी सक्दो आफ्नो परिचय लुकाएर त्यहाँ गएका थिए । खेल थियो, लिभरपुलविरुद्ध लिड्स । मैदान छिर्न लाग्दा कसैले उनलाई देखेछन् र चिनेछन् । ती लिभरपुल समर्थकले उनलाई आफ्नो रातो स्कार्फ दिएछन् र म्याकार्टनीले पनि त्यसलाई खुसी खुसी आफ्नो घाँटीमा बेरेछन् । त्यसको अर्थ म्याकार्टनी लिभरपुलका समर्थक थिए कि ? त्यो फाइनलअगाडि द बिटल्सले लिभरपुललाई एउटा टेलिग्राम पनि पठाएको थियो । त्यतिबेला लिभरपुलका व्यवस्थापक थिए, प्रसिद्ध बिल स्यान्की । टेलिग्राममा लिभरपुलले उपाधि जितोस् भनेर शुभकामना दिइएको थियो । यो टेलिग्राफ स्यान्की होटलमा खुला रूपमा प्रदर्शनमा राखिएको छ ।

यो त पयर्टनका लागि पनि आकर्षण हुने गरेको छ । त्यसमा लेखिएको छ, ‘शुभकामना छ, केटा हो, हामी पनि यो खेल हेर्दै छौं । उही जोन, पाउल, जर्ज र रिंगो’ । स्वयं म्याकार्टनीलाई यो प्रश्न धेरैपल्ट सोधिएको थियो, रेड कि ब्लु भनेर । उनी प्रायः कूटनीतिक जवाफ दिन्थे र भन्थे, ‘हामी त दुवै क्लबलाई उत्तिकै माया गर्छौं । सफलता र प्रख्यातिको त्यो शिखरमा पुगेर द बिटल्सका कोही पनि सदस्य आफ्नो प्रशंसकलाई निराश पार्न चाहँदैनथे । उनीहरूलाई डर थियो, एउटा क्लबको नाम लिँदा अर्को क्लबका समर्थक निराश हुनेछन् ।

त्यसैले पनि द बिटल्सको मन पर्ने क्लबबारे यति साह्रो दुविधा भएको हो । एकपल्ट भने म्याकार्टनीलाई खुबै करकाप गरिएको थियो रे, साँच्चै कुन क्लब मन पर्छ त भनेर ? यस्तोमा म्याकार्टनीले भनेछन्, ‘अब दुईमध्ये एक क्लबलाई छान्नैपर्‍यो भने म एभरटनलाई छान्छु, किनभने मेरो परिवारका लगभग सबै सदस्य यही क्लबका प्रशंसक छन् ।’ त्यसैले नै होला, केही वर्षअगाडि खुबै हल्ला पनि चलेको थियो, म्याकार्टनीले एभरटन किन्दै छन् भनेर । एभरटनका समर्थकले त त्यही बेला यसबारे लहर नै चलाएका पनि थिए ।

म्याकार्टनीको पछि केनी डगलससँग राम्रो दोस्ती जमेछ । त्यतिबेला भने उनले भनेका थिए, ‘मैले त अब लिभरपुललाई मन पराउन थालेको छु ।’ डगलस लिभरपुलका लेजेन्डरी खेलाडी र प्रशिक्षक दुवै भए । म्याकार्टनी त लिभरपुल सहरमा फुटबलको इतिहासबारे धेरथोक जानकारी नि राख्छन् । त्यसैले उनले यस्तो पनि भन्ने गरेका छन्, लिभरपुलमा फुटबल संस्कृति गज्जब छ, एउटै परिवारमा श्रीमान् एभरटन समर्थक हुन सक्छन्, श्रीमती लिभरपुल । वा बुबा लिभरपुल समर्थक भने छोरा एभरटन ।

द बिटल्सका चार सदस्यमध्ये ह्यारिसनलाई भने फुटबलमा पटक्कै रुचि थिएन भनिन्छ, भलै उनले पनि एकपल्ट म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाबीचको खेल हेरेका थिए, रंगशालामै पुगेर । उनलाई पनि मुखमै एकपल्ट सोधिएको थियो, रेड कि ब्लु भनेर । त्यतिबेला उनले गज्जब उत्तर दिएका थिए र यो बढीभन्दा बढी अमूर्त थियो । उनले भनेका थिए, ‘लिभरपुलमा तीन क्लब छन्, म तेस्रो टिमलाई समर्थन गर्छु ।’

अब कसैले भन्न सकेन, यो तेस्रो क्लब हो चाहिँ कुन ?

हाकाहाकी उनी यही क्लबलाई समर्थन गर्छन् भनेर भन्न सकिने भने स्टोरलाई हो । द बिटल्सका यी ड्रमरको जीवनमा सबैभन्दा बढी प्रभाव कसैको थियो भने त्यो उनको सौतेली बुबाको थियो । यी बुबा लन्डनका रहेछन्, त्यसैले उनी आर्सनलका समर्थक रहेछन् । आफ्ना ती बुबासँग आर्सनल टिम लिभरपुलमा आउँदा बरोबर रंगशालामै गएर फुटबल हेर्न जान्थे, त्यसैले उनी पनि आर्सनलकै समर्थक बने । लिभरपुलका मान्छे अनि आर्सनलको समर्थक, यो समीकरण भने अचम्मको छ ।

एउटा तथ्य के हो भने लिभरपुल सहरमा एभरटन र लिभरपुलमध्ये कुन क्लबलाई समर्थन गर्ने हो, त्यसको कुनै राजनीतिक, धार्मिक र सांस्कृतिक कारण हुने गर्दैन । परिवारमा कुन सदस्यको प्रभाव पर्ने हो, त्यसैले निर्भर हुने गर्छ । एभरटनले भन्ने गर्ने जस्तै यसका समर्थक कुनै कारखानामा बन्ने होइन, जन्मेर बन्ने हो । यो सहरमा पहिलो जन्मेको क्लब यही एभरटन नै हो अर्थात् ब्लु । तर रेड अर्थात् लिभरपुल सन् ७० यता यति धेरै सफल रह्यो कि एभरटन ओझेलमा पर्‍यो, हराएको जस्तै भएर ।

प्रकाशित : श्रावण २१, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?