१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इमोबिललाई गोल्डेन बुट

एजेन्सी

मिलान — लाजियोका फरवार्ड सिरो इमोबिल इटालियन सिरी ‘ए’ को एकै सत्रमा सर्वाधिक ३६ गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । लाजियो शनिबार नेपोलीसँग ३–१ ले पराजित हुँदा इमोबिलले आफ्नो टोलीका लागि गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान छोएका हुन् ।

इमोबिललाई गोल्डेन बुट

इटालीका ३० वर्षे अन्तर्राष्ट्रिय खेलाडी इमोबिलले २२ औं मिनेटमा ट्यापिङ गर्दै अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिगुइनले नेपोलीबाट सन् २०१५–१५ को सत्रमा खेल्दा बनाएको ३६ गोलको कीर्तिमान बराबरी गरेका हुन् । इमोबिलले युरोपियन गोल्डेन बुट पनि हात पारे । युरोपको लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड दिइन्छ ।

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले यस सिजनमा सर्वाधिक ३४ गोल गरेको कीर्तिमान भने उनले नेपोलीको खेलअघि नै उछिनिसकेका थिए । रोमाका फ्रान्सेस्को टोट्टीले २००६–०७ मा जितेयता युरोपियन गोल्डेन सू ला लिगाका खेलाडीले नतिजा वा संयुक्त विजेता नभएको यो पहिलो अवसर हो । पछिल्लो तीन सिजनमा यो उपाधि बार्सिलोनाका लियोनल मेसीले जित्दै आएका थिए । यसपालि उनले स्पेनिस लिगमा २५ गोल गर्नमात्र सके । त्यही पनि त्यो ला लिगामा यस सत्रमा एकै खेलाडीले सर्वाधिक गोल हो ।

इमोबिलले ३६ मध्ये १४ गोल पेनाल्टीमा गरेका हुन् । उनको प्रयासमा लाजियोले चौथो स्थानमा रहेर च्याम्पिन्स लिगमा स्थान सुरक्षित गरिसकेको छ । इमोबिल इटालीमा शीर्ष गोलकर्ता भएको यो तेस्रो अवसर हो । उनले यो उपाधि पहिलो पटक २०१३–१४ मा पाएका थिए, जतिखेर उनले टोरिनोबाट खेल्दै २२ गोल गरेका थिए । २०१७–१८ को सिजनमा उनले लाजियोबाट खेल्दै इन्टर मिलानका माउरो इकार्डीसँगै समान २९ गोल गरेका थिए ।

इटालीमा पहिलो पटक सर्वाधिक गोल गर्ने अवार्ड जित्ने अवसर क्रिस्टियानो रोनाल्डोले भने गुमाउन पुगे । युभेन्ट्सले सिजनको अन्तिम दिनको खेलमा एएस रोमासँग खेल्दा उनलाई खेलाएको थिएन । युभेन्ट्सले सो खेल ३–१ ले गुमाउन पुग्यो । ३५ वर्षे पोर्चुगिज स्टार रोनाल्डो ३१ गोलसहित यस सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोल गर्ने सूचीमा दोस्रो स्थानमा रहे । इन्टर मिलानका रोमेलु लुकाकुले २२ गोल गरे ।

प्रकाशित : श्रावण १९, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?