रहेनन् क्यामरुन फुटबलका पूर्वकप्तान- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् क्यामरुन फुटबलका पूर्वकप्तान

एजेन्सी

याउन्डे — क्यामरुनी फुटबल टोलीका पूर्वकप्तान स्टेफन टाटवको ५७ वर्षको उमेरमा निधन भएको छ । क्यामरुनलाई सन् १९९० को विश्वकपको क्वाटरफाइनलमा पुर्‍याएपछि चर्चित बनेका उनको निधनको कारण भने सार्वजनिक गरिएको छैन ।

अफ्रिकाको पहिलो टोली क्वाटरफाइनल पुग्ने क्रममा क्यामरुनले उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० ले पराजित गरी स्तब्ध पारेको थियो । त्यसपछि क्यामरुनले रोमानिया र कोलम्बियामाथि जित हात पारेको थियो ।

त्यसको चार वर्षपछि अमेरिकामा अर्को विश्वकप खेल्न आउँदा क्यामरुनको त्यो सान रहेन । समूह चरणबाटै बाहिरिएको क्यामरुनलाई रुसले ६–१ ले पराजित गरेको थियो । रुसको ओलेग सालेन्कोले विश्वकपमा एकै खेलमा ५ गोल गर्ने कीर्तिमान बनाएका थिए ।

टाटवले क्लब फुटबल क्यामरुनको टोली टोनेरे याउन्डे र ओलम्पिक एमभोल्येबाट खेलेका थिए । जापानमा टोसु फ्युर्च्सबाट खेल्दै उनले आफ्नो खेलजीवन टुंगाएका थिए ।

प्रकाशित : श्रावण १९, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा विसर्जनको बाटामा ?

कार्यकर्तामा नेताकेन्द्रित र व्यक्तिपूजा प्रवृत्ति हुनुको अर्थ हो– आफूलाई उनीहरुले राजनीतिकर्मी होइन, पार्टीको दासका रुपमा उभ्याउनु ।
मल्ल के. सुन्दर

युगोस्लाभिया त्यतिखेर सर्बियाका रूपमा चिनिन्थ्यो । त्यहाँका एक राजा एकदमै अहंकारी, आत्मकेन्द्रित र आत्मप्रशंसक थिए । आफैंलाई सर्वोच्च ठान्थे । दरबारिया धुपौरे तथा चाटुकारहरूलाई दायाँबायाँ राखेर हिँड्ने उनको स्वभाव थियो ।

बाटामा तिनलाई रोकेर रूखतिर औंल्याउँदै सोध्ने गर्थे, ‘लौ भन, यो सल्लाको रूख सोझो छ कि बांगो ?’ वास्तविकताको कुनै अर्थ हुँदैनथ्यो । बांगै भए पनि राजाले रूख सोझो छ भनेर हुकुम भए सबैले होमा हो मिलाउनुपर्थ्यो । कुनै तर्क–वितर्क, यथार्थको अर्थ हुन्नथ्यो । ती राजा एक बिहान घुम्दै साभा नदीको किनारमा पुगे । नदीमा भेल बढेको थियो । तर्न सक्ने अवस्था थिएन । राजालाई चाटुकारहरूले सल्लाह दिए, ‘हजुर त, सम्राट् हो ! सर्वोच्च व्यक्ति ! शक्तिशाली ! हजुरको अधीनस्थ भूमिभित्र सबैले हजुरको आज्ञापालन गर्नुपर्छ । साभा नदी सर्बिया भूमिअन्तर्गत बग्ने भएकाले यसले पनि हजुरको आज्ञापालन गर्नुपर्छ । महाराजबाट नदीलाई शान्त हुन हुकुम होस् । नदी नियन्त्रणमा आइहाल्छ ।’

दम्भले विवेकशून्य राजा नदीको नजिकै गए । दरबारिया धुपौरे र चाटुकारहरूले उनलाई पछ्याए । एउटा ढिस्कोमा चढेर राजाले नदीलाई रोकिन भन्दै चर्को स्वरमा आदेश जारी गरिरहे । एकै क्षणमा नदीको धार बढ्दै गयो र राजालाई सोत्तर पारिदियो । दायाँबायाँका अरूलाई पनि आफैंसँग लग्यो त्यो भेलले । विश्वमा विशिष्ट इतिहास रचेको सोभियत संघले सय वर्ष पनि काटेन; नवौं दशकसम्म पुग्दा बालुवाको महलजस्तै छिन्नभिन्न भयो । नेतृत्वपंक्तिमा विकसित आत्ममोह, दम्भ अनि सर्वसत्तावादी व्यवहारका कारण अन्ततः धूलो चाट्यो । शक्तिशाली सत्ता थियो, स्रोतसाधनको अभाव थिएन । सुस्पष्ट राजनीतिक सिद्धान्तले निर्दिष्ट गरेको थियो । तर पनि सत्ता आम नागरिकको सरोकारभन्दा पर हुँदै जाने र नेताहरूले आफूलाई जनताको मालिक ठान्ने प्रवृत्ति प्रबल बन्यो । कुनै समय अग्रगामी कार्यकर्ताहरूको संगठन कहलिएको सोभियत कम्युनिस्ट पार्टी केही नवसामन्त र चाप्लुसहरूको स्वार्थसिद्धिको माध्यममा रूपान्तरित भयो । नेतृत्व तहको स्खलन र विचलनलाई रोक्न र छेक्न पार्टीपंक्ति चुक्दै गयो ।

मार्क्सवादी–लेनिनवादी पार्टीको संगठन सञ्चालनको आधारभूत पद्धति जनवादी केन्द्रीयता कतै रहेन । आखिर २५ डिसेम्बर १९९१ सम्म आइपुग्दा हँसिया–हथौडा र ताराअंकित लाल झन्डा रुसको आकाशबाट लोप भयो । नेतृत्व पंक्तिको सर्वसत्तावाद अनि पार्टी तहमा नेतृत्वका कमी–कमजोरीलाई लिएर आलोचना गर्ने साहसको कमीले गर्दा पूर्वी युरोपभित्रका सम्पूर्ण कम्युनिस्ट सत्ता विसर्जनको अवस्थामा पुगे । युगोस्लाभियामा मार्सल टिटोको शासनसत्ता होस् वा रोमानियामा चाउचेस्कु र अल्बानियामा अनवर होक्साको, शक्तिकेन्द्रप्रतिको अन्धभक्ति र त्रुटि–कमजोरीमा औंला ठड्याउने अभ्यासको अभावमा सबैले राजनीतिक त्रासदी बेहोर्नुपर्‍यो ।

कम्युनिस्ट पार्टीको कार्यकर्ता पंक्तिलाई अग्रगामी शक्ति सम्झने गर्थे लेनिन । माओ पनि जनवादी केन्द्रीयतालाई पार्टीको आधारशिला ठान्थे । सांस्कृतिक क्रान्तिकालमा त पार्टीको शुद्धीकरणका लागि ‘हेडक्वाटरमाथि नै प्रहार गर’ भनेर तल्लो तहका कार्यकर्ताहरूलाई हौस्याएका थिए उनले । सायद त्यसैले होला, लिन प्याओ, च्याङ चिङजस्ता शीर्ष नेतामा देखिएको विचलनले पनि चिनियाँ कम्युनिस्ट पार्टीको संरचना भत्काउन सकेन । त्यसैले चीनमा आजसम्म कम्युनिस्ट पार्टीको नेतृत्व कायम रहन सकेको छ ।

अहिले नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ, जसलाई जनताले बहुमत दिएर संसद्मा पुर्‍याएका हुन् । नीतिनिर्माण र कार्यान्वयनमा कुनै अवरोध छैन । पाँच वर्षसम्मको कार्यकाल निर्बाध सञ्चालनका लागि वैधानिक अनुमोदन प्राप्त छ । फेरि पनि, सत्तारूढ नेकपा केही समययता आन्तरिक विवादमा यसरी अल्झिएको छ, उसले प्रभावकारी तरिकाले राज्य सञ्चालन गर्न सकिरहेको छैन । जनताको अपेक्षा सम्बोधन गर्न सकिरहेको छैन । समृद्धि, विकास र स्थिर सरकार भन्ने नेकपाको चुनावी नारा सत्य साबित हुन सकिरहेको छैन । यस अतिरिक्त आर्थिक विचलन, न्याय प्रत्याभूतिमा अक्षमता, सुशासनको अभावका कारण मुलुकमा राज्यसत्ताको प्रभावकारितामा गम्भीर प्रश्न उठिरहेको छ ।

एकातिर कोभिड–१९ बाट सिर्जित रोग र भोकको चुनौती, अर्कातिर बाढीपहिरोबाट जनधनको क्षति, साथमा दक्षिणी छिमेकीसँगको सीमा विवादका कारण अवस्था अति संवेदनशील छ । सरकारमा बस्नेहरू गम्भीर बन्नुपर्थ्यो । त्यसैअनुरूप राज्य संयन्त्रहरूलाई चुस्तदुरुस्त पार्नुपर्थ्यो । तर, त्यसो भइरहेको छैन । अनियमितता, आर्थिक हिनामिना र भ्रष्टाचार व्याप्त छ । यिनै पृष्ठभूमिका कारण नेकपाभित्रैबाट वर्तमान पार्टी नेतृत्व र सरकार प्रमुखलाई जिम्मेवारीमुक्त गर्नुपर्ने प्रश्न उठिरहेको छ, जुन अस्वाभाविक पनि होइन । यसैबाट अनपेक्षित राजनीतिक जटिलता पनि सिर्जना भएको छ । यसै मुद्दामा अल्झेर नेकपाका अध्यक्षद्वयबीच अन्त्यहीन शक्तिसंघर्ष सुरु भएको छ । समर्थन र विरोधमा पार्टीपंक्ति स्पष्टतः विभाजित छ । अहिले घिनलाग्दो ढंगले छलकपट र षड्यन्त्रमा सिंगो पार्टी जाकिएको छ । थाहा छैन, पार्टीको भविष्य अब के हुने हो !

नेकपाले पनि जनवादी केन्द्रीयताको पैरवी गर्छ; जनवाद अनि लोकतन्त्रको कुरा पनि त्यत्तिकै गर्छ । फेरि पनि पार्टी अनिर्णयको बन्दी भएर पूर्णतया गतिहीन अवस्थामा छ । लाखौंको संख्यामा पार्टी सदस्य रहेको दाबी छ । पार्टीलाई ‘क्याडर–बेस्ड’ पनि भन्ने गरिन्छ । फेरि पनि यति विघ्न गम्भीर र जटिलतामा पार्टी फस्दै गरेका बेला सम्बन्धित मुद्दामा केन्द्रित भएर लोकतान्त्रिक मान्यताअनुसार पार्टीको तल्लो तहसम्मका कार्यकर्ता, समर्थक, सहयोगीमाझ छलफल किन चलाइँदैन ? यसबारे आम समुदाय र पार्टीपंक्तिको विचार के छ ? किन अभिमत बुझ्ने काम गरिँदैन ? जनपक्षीय भनिने पार्टी, जनताको तहसम्म संगठन/संरचना छ भनेर दाबी गरिरहने राजनीतिक शक्ति किन अहिलेको पेचिलो अवस्थामा खुला रूपमा छलफल चलाउन खोज्दैन ?

पटकपटक एउटै कुरा गरिन्छ— ‘पार्टीको वर्तमान समस्यालाई लिएर दुई अध्यक्षबीच छलफल गरी टुंगोमा पुग्न लगाउने,’ ‘अध्यक्षद्वयले सहमति खोज्ने,’ ‘समाधानका लागि दुई जनाले प्रयास गर्ने,’ ‘छलफलमा समय दिने,’ ‘दुई अध्यक्षबीच कुरा नमिलेसम्म पार्टी बैठक नबस्ने’ ... । सञ्चारमाध्यममा अहिले यही कुरा छ । पार्टीपंक्ति यिनै कुरामा नतमस्तक देखिन्छ । महिनौंसम्म, वर्षौंसम्म पार्टी दिशाहीन भइरहँदा पनि जनवाद र लोकतन्त्रको दाबी गर्ने राजनीतिक दलले सिंगो पार्टीको भविष्य निर्माण गर्ने कामलाई किन दुई व्यक्तिको आवेगमा छाडा छाडिरह्यो ? के नेकपाभित्र यावत् राजनीतिक समस्या समाधानका विधि, पद्धति, संहिता र सिद्धान्त छैनन् ? समस्या समाधानको आधार व्यक्ति हो कि विचार ? द्वन्द्वात्मक भौतिकवादको पक्षधर भनिने पार्टीमा अहिले किन विचारप्रधान कुरा भइरहेको छ्रैन ? व्यक्तिविशेषप्रति मोहित बन्ने र कसैको साखुल्ले हुनेलाई सही वा गलत भन्न लगाउने पद्धति आखिर व्यक्तिपूजाकै अर्को रूप होइन र ? सिद्धान्त, विधि, पद्धति र संहितालाई एकातिर पन्छाएर व्यक्तिविशेषप्रति ‘त्वं शरणम्’ गर्ने अभ्यास सामन्तवादी संस्कार होइन र ? सर्वसत्तावादको अर्को रूप होइन र ? सारतः यो नेतृत्वलाई सर्वसत्तावादी र निरंकुश बनाउँदै लग्ने चाटुकार प्रवृत्ति मात्र हो । यसले पार्टीपंक्तिमा कार्यकर्ताहरूको भूमिकालाई निषेध र निस्तेज पार्नेछ; माथिको निर्णय र आदेशलाई तामिल गर्ने टहलुवाको जमातमा रूपान्तरण गर्नेछ । त्यसको अर्थ हो— पार्टीलाई पूर्णतया विसर्जनको खाल्टोमा जाक्नु । नेकपा अहिले यही बाटोतिर उन्मुख छ ।

यस्तोमा जे गर्लान् नेताले नै गर्लान्, नेताले जे गर्छन् त्यो नै सही हो, नेताले गरेको निर्णय नै हाम्रो पनि निर्णय हो भन्ने प्रवृत्ति नेकपाका संघर्षशील र अग्रगामी कार्यकर्ताहरूलाई सुहाउँदैन । नेताकेन्द्रित र व्यक्तिपूजा प्रवृत्तिको अर्थ हो— कार्यकर्ताहरूले आफूलाई राजनीतिकर्मीका रूपमा होइन, पार्टीको दासका रूपमा उभ्याउनु । शक्तिशाली सोभियत संघको सत्ता, पूर्वी युरोपका साम्यवादी सरकारहरू अन्ततः विर्सजनको दुर्गतिमा पुग्नुमा नेतृत्व तहमा रहेका राजनीतिक व्यक्तिहरू मात्र जिम्मेवार थिएनन्, उनीहरूका वरपर रहेर शक्तिकेन्द्रको पूजा र प्रशंसामा रमाउने चाटुकारहरू पनि त्यत्तिकै दोषी थिए । अन्धभक्ति र चाटुकारिताले सर्बियाका राजालाई मात्र साभा नदीमा बगाउने काम गरेन, उनीसँगै ती चाटुकारहरू पनि डुबे । नेकपाको पार्टी पंक्तिसमक्ष मुलुकको यक्ष प्रश्न छ— इमानदार, सिद्धान्तनिष्ठ र अग्रगामी कार्यकर्ता भएर पार्टीपंक्तिको रक्षाका लागि भूमिका निर्वाह गर्ने कि नगर्ने ? जनवादी केन्द्रीयताको विधि, पद्धतिअनुसार पार्टी समस्या समाधानका लागि आम कार्यकर्ता तहमा बहस चलाउने कि नचलाउने ? अथवा, नेतृत्व तहका केही व्यक्तिका हातमा पार्टीलाई थान्को लगाएर नेकपालाई पनि सोभियत कम्युनिस्ट पार्टीजस्तै विसर्जनको बाटामा घिसार्ने ?

प्रकाशित : श्रावण १९, २०७७ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×