कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नेपालको एकदिवसीय यात्रा र सन्दीपको सफलता

विनोद पाण्डे

काठमाडौँ — दुई वर्षअघि नेपाली क्रिकेटको नेदरल्यान्ड्स यात्रा धेरै कारणले विशेष थियो । मुख्य कारण अरु केही नभएर यहींबाट नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय यात्रामा प्रवेश गर्दै थियो । जिम्बावेमा २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बनिसकेको थियो ।

नेपालको एकदिवसीय यात्रा र सन्दीपको सफलता

हरारेमा नेपालले मार्च १५ मा भएको निर्णायक खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको थियो र त्यसको ठिक साढे चार महिनापछि अगस्ट १ मा एमस्ट्राडममा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्‍यो । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय यात्राले शनिबार दुई वर्ष पूरा गरिसकेको छ ।

सन्दीप लामिछानेका लागि अझ यो यात्रा विशेष बनिसकेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुअघि नै उनी इन्डियन प्रिमियर लिग (आईपीएल), बंगलादेश प्रिमियर लिग, पाकिस्तानी प्रिमियर लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ‘ग्लोबल स्टार’ बन्दै थिए ।

एमस्ट्राडामको स्टेलभिन्समा उनले नेदरल्यान्ड्सका ओपनर स्टेफन माइबर्गलाई बोल्ड गरेर नेपाललाई पहिलो खेलमै विजयको आशा देखाएका थिए । तर, नेपालले त्यो खेलमा विजय हात पार्न सकेन । जे भए पनि एकदिवसीय अन्तर्राष्ट्रियमा गरेको ‘डेब्यु’ बाट तरंगित भएका सन्दीपले भोलिपल्ट आफ्नो जन्मदिन विशेष बनाउन पाएका थिए । आइतबार आफ्नो २० औं जन्मदिन मनाइरहँदा सन्दीप पहिलो एकदिवसीय यात्रालाई लिएर अझै रोमाञ्चित हुने गर्छन् ।

‘नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्नु र त्यही बेला मैले फ्रेन्चाइज लिगहरु खेल्न पुग्नुले सकरात्मक पक्ष भयो । राम्रो मिहेनेत गर्‍यो भने हामी र नेपाली खेलकुदमा राम्रो सम्भावना छ भन्ने देखायो । यसले एक-अर्काकोमा विश्वास बढ्न पुग्यो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बनेपछि फ्रेन्चाइज क्रिकेट लिगमा खेल्न जाँदा सबैको प्रतिक्रिया राम्रो नै थियो । तिमीमा, नेपाली खेलाडीमा क्षमता छ भनेर भन्थे धेरैले भनेका छन्,’ सन्दीपले कान्तिपुरसँग भने ।

नेदरल्यान्डसँगको दोस्रो तथा अन्तिम खेल १ रनको रोमाञ्चक विजयसँगै नेपालले शृंखला बराबरी गर्न सक्यो । अर्थात् नेपालले दोस्रो खेलमै एकदिवसीय अन्तर्राष्ट्रियको विजयको स्वाद चाखेको थियो । कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतक बाहेक नेपाललाई विजय दिलाउनेक्रममा सन्दीपले सर्वाधिक ३ विकेट लिएका थिए । नेपालले त्यसयता खेलेको सबै १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेमा सन्दीपसहित कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आरिफ शेखमात्र छन् ।


सन्दीपले यी १० खेलमा नेपालबाट सर्वाधिक २३ विकेट लिइसकेका छन् । अमेरिकाविरुद्ध १६ रन खर्चेर ६ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । यही प्रदर्शनमा अमेरिका फागुनमा त्रिवि क्रिकेट मैदानमा ३५ रनमै अलआउट भएको थियो । सो खेलमा नयाँ बल लिएर आएका सन्दीपको धारिलो बलिङलाई झेल्न नसकेपछि अमेरिका एकदिवसीय अन्तर्राष्ट्रियको अहिलेसम्मकै न्युन स्कोरमा समेटिएको थियो ।

‘एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतापछि हामीले गरेको प्रदर्शनको मूल्याङ्‍कन गर्ने अहिले ठाउँ नै छैन किनभने अहिले हामीले धेरै खेल खेलेकै छैनौं । मलाई आफ्नो टिम र खेलाडीहरु प्रति धेरै विश्वास छ, त्यसका लागि धेरैभन्दा धेरै खेल खेल्न जरुरी छ,’ उनी द्विपक्षीय शृंखलाहरु नेपालले खेल्नु पर्ने संकेत गर्छन् ।

विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय यात्रामा रहँदा नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथीको निलम्बन फुकुवा गरेको ९ महिनामात्र भएको छ । नेदरल्यान्ड्सको क्रिकेट यात्रा डच क्रिकेट बोर्डको निमन्त्रणपछि सम्भव भएको थियो । नेपालले दुबईमा गएर युएईसँग खेलेको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि इमिरेट्स क्रिकेट बोर्डको निमन्त्रणापछि मात्र हो । युएईसँगको अर्को एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल एसिया कप छनोट प्रतियोगिताले जुराएको थियो ।

फागुनमा नेपालले विश्वकप लिग २ को यात्रा सुरु गरेको थियो । त्यहीं नेपालले अमेरिका र ओमानसँग २–२ खेल खेलेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेपछि विश्वकप लिग २ मा रहेको नेपालले ४ खेल खेलिसकेको छ र २०२२ सम्म गरी गरि नेपालले थप ३२ खेल खेल्न बाँकी रहेको छ ।

सन्दीप भन्छन्, ‘नेपालले यो दुई वर्षमा धेरै खेल खेल्न पाएन, त्यो हाम्रो धेरै ठूलो त्रुटि नै हो । एक वर्ष त नेपाल क्रिकेट संघ निलम्बनमै थियो, त्यसले पनि धेरै कुरा गुमाउन पुग्यौं, धेरै खेल खेल्न पाएनौं । १० खेलको सट्टामा २० वा २५ खेल खेलेको भए कसैको क्षमतालाई मूल्याङ्‍कन गर्नु हुन्थ्यो, जुन यो हामीले अहिले गर्न सक्दैनौं । २०–२५ खेल खेल्न पाएको भए हामीले धेरै कुरा सिक्न पाउथ्यौं, धेरै कुरा राम्रो बनाउन सक्थ्यौं ।’

त्यही पनि नेपालले यो २ वर्षमा जति खेल खेल्न पायो त्यसमा उनी सन्तुष्ट हुने प्रयास गर्छन् । ‘यो दुई वर्षको यात्रा मलाई लाग्छ ५०–५० नै रह्यो । तर, धेरै थोरै खेल्न पुग्यौं । अबका दिनमा जेजस्तो त्रुटि भयो त्यसलाई घटाउँदै जाने र सकरात्मक पक्षलाई बढाउँदै जाने सोचिरहेको छौं,’ उनी आशावादी छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप शनिबार जमैका पुगिसकेका छन् । अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म क्यारेबियनमा हुन लागेको प्रतियोगितामा उनी यसपटक कीर्तिमानी रकममा जमैका तलावाजबाट सीपीएल खेल्दै छन् । सीपीएलका लागि सन्दीपले आफ्नो रकम ९० हजार डलर तोकेका थिए र उनलाई जमैका तलावाजले पहिलो ड्राफ्टमै लिएको थियो ।

सन्दीपले विश्वव्यापी फ्रेन्चाइज लिग खेलेर लिन लागेको यो सबैभन्दा ठूलो पारिश्रमिक रकम हो । यसै वर्ष इंग्ल्यान्डमा हुने भनिएको ‘द हन्ड्रेड’ मा सन्दीपले एक लाख पाउन्ड लिएर खेल्नेवाला थिए । तर, कोभिड १९ (कोरोना) को महामारीका कारण पहिलोपटक हुन लागेको उक्त प्रतियोगिता रद्ध भइसकेको छ । सन्दीपले २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट ५ हजार डलरमा तथा गत वर्ष बार्बाडोस ट्राइन्डेट्सबाट ७० हजार डलर लिएर खेलेका थिए ।

प्रकाशित : श्रावण १८, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?