कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पेरिस एफसीमा बहराइनको लगानी

एजेन्सी

पेरिस — पछिल्लो केही वर्षयता पेरिसको फुटबल शक्ति कतारको हातमा छ । कतारको स्वामित्वमा छ, फ्रान्सको अहिलेको सबैभन्दा ठूलो र सफल क्लब, पेरिस सेन्ट जर्मेन (पीएसजी) । पीएसजी किनेयता कतारले धेरै सपना देखेको छ, यसका लागि उत्तिकै खर्च पनि गरेको छ अनि त्यसलाई सुहाउने गरेर सफलता पनि हात परेको छ ।

पेरिस एफसीमा बहराइनको लगानी

यही क्रममा कतारले विश्व मञ्चमा आफ्नो छवि सुधारेको छ, दाग मेट्ने प्रयासका रूपमा आफ्नो अनुहार चम्किलो बनाएको छ ।

यसमा पनि अब कतारले चुनौती सामना गर्नेछ । अन्यत्र कतैबाट आउने होइन, खाडीबाटै आउने छ । भर्खरै बहराइनले पेरिस एफसी किनेको छ र फ्रान्सेली फुटबलमा प्रवेश गर्ने यो अर्को खाडी देश भएको छ । बहराइनको राजपरिवार पनि अब फ्रान्सेली फुटबल, विशेषतः पेरिसको फुटबलमा अब हर्ताकर्ता हुनेछ । त्यसो त पेरिस एफसी फ्रान्सको दोस्रो डिभिजनमा खेल्ने क्लब मात्रै हो । भर्खरैजस्तो घोषणा भएको हो, यसको स्वामित्व बहराइनले किनेको छ ।

बहराइनले सुरुमै कतारलाई उछिन्ने महत्त्वाकांक्षा देखाएको छैन । उसका उद्देश्य सामान्य जस्तै छन्, तय बढ्ने भने छ । पेरिस एफसीका लागि ठिक्कको लगानी गरेको छ । कतारले पीएसजी किने बेला जस्तो युरोपेली क्लब फुटबलको राजा हुने सपना बुनेको छैन । बहराइन चाहन्छ, सुरुमा पेरिस एफसी फ्रान्सको माथिल्लो डिभिजनमै पुगोस्, त्यो भनेको लिग वानमा । यस्तै पेरिस एफसीको महिला टिम पनि छ र बहराइन चाहन्छ, यसले भने सकेसम्म उपाधि नै जितोस् ।

तर सबैलाई बहराइनको भित्री उद्देश्य पनि थाहा छ, यो प्रस्टजस्तै छ । खाडीतिर बहराइन आफैं पनि चल्तापुर्जा देश हुन चाहन्छ । त्यो भन्दा पनि ठूलो बहराइनको राजपरिवार आफ्नो देशको छवि सुधार्न चाहन्छ, फुटबलको माध्यमबाट । अरबमा सुरु भएको स्वतन्त्रताको आन्दोलन बहराइन पनि पुगेको थियो र त्यसलाई नराम्रोसँग कुल्चिने काम भएको थियो । त्यो पनि राजपरिवारले नै । यसले बहराइनको छविमा पछिल्लो समय ठूलै धक्का पुगेको थियो । अब त्यो धक्का मेट्ने पालो आएको छ र बहराइन के सम्म चाहन्छ भने पेरिस एफसीको लोकप्रियता बढेपछि यसका समर्थकदेखि अरू पनि पयर्टनका रूपमा बहराइन पुगोस् । खाडीको निकै सानो देश हो बहराइन । क्षेत्रफल ७ सय ८० वर्गकिलोमिटर मात्रै छ । पेरिस एफसी पनि आफैं मख्ख छ अनि यसका समर्थक । आखिरमा आफ्नै प्रयासले फ्रान्सको माथिल्लो डिभिजनमा उक्लने छ र बलियो बन्न सक्ने त होइन नै, विदेशी लगानी आएन भने यो त सपनामै सीमित हुने सत्य हो ।

जब फ्रान्समा नयाँ लिग सिजन सुरु हुनेछ । पेरिस एफसीको खेलाडी मैदानमा उत्रनेछन्, तिनको जर्सीमा लेखिएको हुनेछ, ‘एक्सप्लोर बहराइन’ । अर्थात् बहराइनलाई बुझ्ने प्रयास गर्नु अनि यसलाई कतार र यूएईले रोजेको बाटो नै पछ्याएको काम पनि हो । कतार त पीएसजीको मालिक भयो नै । यूएईको स्वामित्वमा इंल्यान्डको म्यानचेस्टर सिटी पनि छ । अब त साउदी अरेबिया पनि कुनै न कुनै क्लब किन्ने तरखरमा छ । भलै, उसको न्युकासल किन्ने काममा अहिले व्यवधान आएको छ ।

सन् २०११ मा चलेको अरब आन्दोलनमा बहराइन पनि टाढा रहेन । त्यहाँ सिया समर्थक जनताको बाहुल्य छ, तर शासक भने सुन्नी हुन् । त्यसैले ती शासकले सियाबाट प्रेरित आन्दोलनलाई निर्ममतापूर्वक दमन गरेको थियो । यसक्रममा धेरैलाई मारियो वा विदेश पलायन हुन बाध्य पारियो । यसको जिम्मेवार बहराइनको राजपरिवार नै थियो । सन् २०१६ को फिफा चुनावका बेला पनि बहराइनबाट उम्मेदवारी प्रस्तुत हुँदा ठूलै विवाद भएको थियो ।

बहराइन खाडी राजनीतिमा अमेरिकाको नजिक रहेको छ । अहिले तत्काल बहराइन शान्त छ, किनभने जतिले पनि आन्दोलनमा आवाज उठाएका थिए । केही त मरे नै, धेरै विदेशमा छन् । बहराइनका राजपरिवारलाई लागेको हुनुपर्छ, समय यही हो । जहाँसम्म पेरिस एफसीको कुरा छ, यसको स्थापना भएको थियो सन् १९६९ मा । त्यसको तीन वर्षपछि त यसमा फुटबल आयो र दुई क्लब अस्तित्वमा आए । एउटा त यही पेरिस एफसी हो भने अर्को हो त्यही पीएसजी ।

प्रकाशित : श्रावण १८, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?