कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

रोकिएको न्युकासल बिक्री

प्रिमियर लिगको चमकधमक खुबै तेजिलो छ, यसको पहुँच पनि पूरा विश्वभर छ । त्यसैले विश्वका केही निकै धनीका लागि प्रिमियर लिगको क्लब किन्नु सानको उपलब्धि हुने गरेको छ । त्यसैले त अहिले पनि इंग्लिस क्लबमा कोही अमेरिकी धनाढ्य मालिक छन् भने कहीं रुसी उद्योगपति अनि केहीमा चिनियाँ कम्पनी । 
तारिक पान्जा

लन्डन — आखिरमा साउदी लगानीमा इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको किनबेच नहुने नै भयो । एउटा अर्को इंग्लिस क्लब विदेशीको स्वामित्वमा जान रोकियो । साउदी लगानीकर्ताले यो क्लब किन्न निकै लामो प्रक्रिया चलाए, तर हार खाए ।

रोकिएको न्युकासल बिक्री

केही पनि न्युकासल साउदी लगानीकर्तालाई बेच्नु हुन्न भन्ने पक्षमा थिए र त्यसकै पछाडि लागिरहेका थिए । तिनले पनि लामै समयदेखि दबाब सिर्जना गर्ने काम गरिरहेका थिए ।

सबै कामकुरो बिग्रेपछि साउदी लगानीकर्ताले सिधा–सिधा प्रिमियर लिगको आलोचना त गरेका छैनन् तर भनेको छ, किनबेचको प्रक्रिया लामो र झन्झटिलो थियो नै, त्यसमा देखिने नदेखिने तत्त्व पनि उत्तिकै थिए । साउदी लगानीको मुख्य संस्था थियो, त्यहाँको पब्लिक इन्भेस्टमेन्ट फन्ड । अप्रिलयता न्युकासलको सम्भावित किनबेचमा गम्भीर नजर लगाइरहेको प्रिमियर लिग आफैंले भने केही भनेको छैन, चुपचाप जस्तै छ । यो साउदी प्रयासमा एक इंग्लिस व्यवसायी महिला पनि छन् । उनको नाम हो, अमन्डा स्टाभेली । उनीसँग बेलायतकै सम्पत्ति बेचबिखन गर्ने कम्पनी पनि थियो । तर मूल लगानी भने साउदी अरेबियाबाटै हुनेवाला थियो । यसक्रममा ती खरिदकर्ताले क्लब र यसले प्रयोग गर्दै आएको रंगशाला किने हुन्थ्यो, ४० करोड डलर तिरेर । सन् २००७ यता भने न्युकासल माइक एस्लीको स्वामित्वमा छ । उनी क्लबका समर्थकमाझ निकै अलोकप्रिय छन् । समर्थक चाहन्छन्, यिनले क्लब बेचेको भए कति राम्रो हुने थियो ।

एस्ली खेलकुदमा प्रयोग हुने सामानका ठूलै व्यापारी हुन् । प्रिमियर लिगको चमकधमक खुबै तेजिलो छ, यसको पहुँच पनि पूरा विश्वभर छ । त्यसैले विश्वका केही निकै धनीका लागि प्रिमियर लिगको क्लब किन्नु सानको उपलब्धि हुने गरेको छ । त्यसैले त अहिले पनि इंग्लिस क्लबमा कोही अमेरिकी धनाढ्य मालिक छन् भने कहीं रुसी उद्योगपति अनि केहीमा चिनियाँ कम्पनी । पछि त्यसमै यूएईको लगानी पनि थपियो । यसबीचमा थपिनसक्ने थियो, साउदी अरेबिया पनि ।

तर साउदी अरेबियाको संलग्नता हुने कुनै काम हुने भयो भने त्यसमा हजार विरोध निस्कने गर्छन् । मानव अधिकारीवादी त अगाडि हाइहाल्छन् अनि हिसाब खोज्ने काम हुन्छ, हत्या गरिएका पत्रकार जमल खसोगीको । उनका पत्नीले प्रिमियर लिगका कार्यकारी निर्देशक रिचर्ड मास्टर्सलाई सिधै साउदी अरेबियाको लगानीकर्ताले न्युकासल किन्न काम रोक्नुपर्छ भनेर पत्र नै लेखिन् । पब्लिक इन्भेस्टमेन्ट फन्डमा साउदी शासककै लगानी छ । अझ स्पष्टभन्दा हुन्छ, राजकुमार मोहम्मद विन सलमानको । साउदीले किन्न खोज्दा रोक्ने प्रयासमा अरू पनि थिए । जस्तो प्रिमियर लिगकै उच्च पदाधिकारीहरू अनि कतारी लगानी रहेको बीइन मिडिया समूह । यो समूह प्रिमियर लिगका खेलको प्रत्यक्ष प्रसारणमा रहेको सबैभन्दा ठूलो संस्था हो । यसले के भन्छ भने पछिल्लो तीन वर्षमा साउदी अरेबियाले आफ्नो देशमा गैरकानुनी रूपमा प्रिमियर लिगका खेल देखाइरहेको छ । साउदीसँग प्रिमियर लिग देखाउने एउटै उपाय त्यही कतारी कम्पनीमा भर पर्नु थियो ।

उसले यस्तो गर्न चाहेन र बरू उल्टै अवैध ढंगले लिगका खेल देखाइरह्यो । केही दिन अगाडि मात्र पनि प्रिमियर लिगले अमेरिकी सरकारलाई पत्र नै लेखेको थियो, साउदी अरेबियामाथि नजर राख्न । यसको उद्देश्य थियो, कहींकतै साउदी अरेबियाले प्राज्ञिक सम्पत्तिमाथि अधिकारको नियम उल्लंघन त गरिरहेको छैन ? साउदी लगानीकर्ताले न्युकासल किन्न रुचि देखाएपछि सबैभन्दा बढी खुलेर त्यसविरुद्धमा लाग्ने त बीइन मिडिया समूहकै उच्च पदाधिकारी हुन् ।

उनीहरू हाकाहाकी प्रिमियर लिगमा साउदी प्रवेश चाहँदैन थिए । त्यसैले प्रिमियर लिगले पनि साउदी लगानीकर्ताले न्युकासल किन्न नसकोस् भनेर अनेक बहाना झिकिरह्यो । अबदेखि नयाँ लगानीकर्ता यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर अनेक व्यवधान पनि तेर्साइरहेको थियो । अहिलेसम्म प्रिमियर लिग क्लबको खरिदबिक्रीमा सरकारी हस्तक्षेप आवश्यक परेको छैन । साउदी लगानीकर्ता आफैंले न्युकासल निकै प्रक्रियाबाट आफूहरू पछाडि हट्यौं भनेपछि अब त्यो हस्तक्षेप पनि चाहिएन । ती साउदी लगानीकर्ताले प्रेस विज्ञप्ति निकाल्ने भनेको छ, अब न्युकासल किन्नुको व्यावसायिक अर्थ रहेन । खाली अब कुरा के रह्यो भने एस्लीले क्लब बेच्ने प्रक्रिया सुरु गरेयता साउदी लगानीकर्ताबाट लिएको दुई करोड डलर भने फिर्ता दिनुपरेन । यो फिर्ता नहुने धरौटीजस्तै थियो । अचेल प्रिमियर लिगका प्रत्येक खेल त्यो प्रतिस्पर्धा हुने रंगशालाबाट हजारौं किलोमिटर टाढा पनि उत्तिकै रुचि र उत्साहले हेरिन्छ, कुनै पनि अन्य प्रतियोगिता यत्ति पूरा विश्वमा लोकप्रिय छैन होला ।

सुरुआती दिनमा अधिकांश क्लबका मालिक बेलायती नै हुने गर्थे । अहिले तिनको स्थानमा विदेशी लगानीकर्ता आएका छन् र ती चारैतर्फबाट छन्, अमेरिकादेखि युरोप अनि एसियादेखि अफ्रिकासम्म । साउदी लगानीकर्ताले सुरुमै के पनि भनेको थियो भने यसलाई पाँच वर्षभित्र लिग उपाधिकै लागि प्रतिस्पर्धा गर्ने टिम बनाइने छ । यसैक्रममा क्लबको भौतिक पूर्वाधारमा पनि लगानी गरिनेछ । त्यो भनेको अझै थप ३२ करोड डलरको लगानी ।

यो लगानी आएको भए, प्रिमियर लिगमा खाडी देशको यो पहिलो प्रवेश पनि हुने थिएन । म्यानचेस्टर सिटीमा यूएईका राजपरिवारको लगानी छ । क्लब यही परिवारले चलाउने गर्छ । साउदी राजपरिवारको यस्तै इच्छा कम्तीमा अहिलेका लागि रोकिएको छ । तर यी सबै प्रक्रियाबीच सबैभन्दा बढी दुःखी भने न्युकासलका समर्थक भएका छन् । यी समर्थक अहिलेका मानिस एस्लीलाई पटक्कै मन पराउने गर्दैनन् नै । न्युकासल समर्थक पनि के चाहन्छन् भने आफ्नो प्रिय क्लब म्यानचेस्टर सिटीजस्तै होस् ।

उनीहरू चाहन्छन्, इंग्ल्यान्डभित्र पनि खुबै लोकप्रिय यो क्लबले लिग उपाधिका लागि दाबेदारी प्रस्तुत गर्न सकोस् । सन् ९० तिर न्युकासलले केही सिजन लिग उपाधिका लागि आफ्नो चुनौती पेस नगरेको पनि होइन, तर अहिले आएर क्लब खासै बलियो छैन । उसका लागि रेलिगेसनबाट बच्नु नै ठूलो हुन थालेको छ । हुन् पनि लिगले अन्तिम पटक एफए कप जितेको सन् १९५५ मा थियो अनि अन्तिम पटक लिग जितेको सन् १९२७ मा हो ।

– न्युुयाेर्क टाइम्स

प्रकाशित : श्रावण १८, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?