स्वर्ण विजेतालाई कांग्रेसको सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले शुक्रबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका नेपाली खेलाडीलाई सम्मान गरेको छ । 

कांग्रेसको केन्द्रीय खेलकुद विभागले मंसिर १५ देखि २४ सम्म नेपालमै आयोजना भएको सागमा ५१ स्वर्ण जित्ने ७६ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले खेलाडीलाई सम्मान गरे । एक स्वर्ण जित्नेले १० हजार, २ स्वर्ण जित्नेले १५ हजार र ४ स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार

रुपैयाँ प्रोत्साहन पुरस्कार पाए । पुरस्कार समारोहमा गौरिकासहित आधाजसो खेलाडी उपस्थित थिएनन् ।

२८ खेल समावेश १३ औं सागमा नेपालका लागि १३ खेलका खेलाडीले स्वर्ण जितेका थिए । सागमा तेक्वान्दोबाट आयशा शाक्यको दोहोरोसहित १२ स्वर्ण जित्ने १६ जना, करातेबाट मन्डेकाजी श्रेष्ठको दोहोरोसहित १० स्वर्ण जित्ने १३ जना, गल्फबाट सुवास तामाङको दोहोरोसहित २ स्वर्ण जित्ने ४ जना, उसुबाट ५, साइक्लिङबाट ४, एथलेटिक्स र बक्सिङबाट ३–३, ट्रायथलन, भारोत्तोलन र जुडोबाट २–२ तथा कुस्तीबाट १ स्वर्णधारी खेलाडी सम्मानित भएका हुन् । स्वर्ण विजेता पुरुष फुटबल टिमका २० जना खेलाडी पनि सम्मानित भए । पौडीबाट गौरिका एक्लैले ४ स्वर्ण जितेकी हुन् ।

सागका रजत र कांस्य विजेता खेलाडीलाई पनि सम्मान गर्ने योजना भएकोमा हाल आर्थिक कारणले सम्भव नभएको आयोजक विभाग प्रमुख मोहनबहादुर बस्नेतले बताए । उनले नेपालको खेलकुद व्यावसायिक हुन नसकेकोमा चिन्तासमेत प्रकट गरे । ‘नेपालमा खेलकुदलाई व्यावसायिकीकरण गर्न सकिएको छैन । जोसुकै सरकारमा आए पनि खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो,’ उनले थपे, ‘खेलाडी उत्पादनदेखि उसलाई अन्तर्राष्ट्रियस्तरमा सफल बनाउन राज्यको प्रयास जरुरी छ । अब त्यसका लागि खेलकुद परिषद्लाई सहयोग गर्न कांग्रेस प्रतिबद्ध छ ।’

...

ऐनप्रति कांग्रेसको असन्तुष्टि

कांग्रेसले हालै कार्यान्वयनमा आएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा उल्लेखित व्यवस्थाप्रति असन्तुष्टि जनाएको छ । खेलकुद विभाग प्रमुख बस्नेतले नेपाल ओलम्पिक कमिटीलाई आवश्यकताभन्दा बढी स्वतन्त्र बनाएर भ्रष्टाचार र निरंकुशता बढाउने गरी ऐन जारी भएकोमा विरोध जनाए । भर्खरै लागू भएको ऐनमा ओलम्पिक कमिटीले विदेशबाट आएको आर्थिक सहयोग सरकारलाई जानकारी गराउन नपर्ने व्यवस्था गरिएको छ । ‘ओलम्पिकमाचाहिँ आर्थिक पारदर्शिता हुनुपर्दैन ? किन यस्तो निरंकुशता, किन यस्तो अपारदर्शिता ? ओलम्पिक कमिटी कुनै स्वर्गबाट ल्याइएको संस्था हो ?’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भने, ‘यस्तो व्यवस्थाले भ्रष्टाचार र निरंकुशतालाई प्रश्रय दिन्छ । यो ऐनले नेपाली खेलकुदको विकास गर्दैन, यो परिमार्जन हुनुपर्छ ।’

नेपाल ओलम्पिक कमिटीको सत्ताधारी नेकपाका सांसद तथा प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत खेलकुद उपसमिति सभापति जीवनराम श्रेष्ठले नेतृत्व गरिरहेका छन् । असार १७ गतेदेखि लागू भएको ऐनको धारा ३७ को उपधारा ६ (घ) मा नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाहेक अन्य संघसंस्थासँग सहयोग लिनुपरे मन्त्रालयमार्फत सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ । बस्नेतले यही व्यवस्थाप्रति आक्रोश व्यक्त गरेका हुन् । नेता बस्नेतले राखेपमा झन्डै दुई दशकदेखि कर्मचारीको समायोजन हुन नसकेकामा पनि असन्तुष्टि व्यक्त गरे । ‘राखेपमा १३ देखि २४ वर्षसम्म करारमा कर्मचारी राखिएको छ । उनीहरूको स्थायी प्रक्रिया हुन सकेको छैन । आफ्नो जीवनको ऊर्जाशील समय खेलकुदमा बिताएका उनीहरूका लागि राज्यले हेर्नुपर्छ,’ उनले थपे । सभापति शेरबहादुर देउवाले राष्ट्रका लागि योगदान दिएका खेलाडीलाई राज्यले हेर्नुपर्ने बताए । उनले खेलाडीको सुविधा र भत्ता बढाउन पहल गरिने आश्वासन पनि दिए । करिब ४ मिनेटको मन्तव्यमा अधिकांश समय उनले संक्रमितको संख्या दिनदिनै बढिरहेकाले कोरोना भाइरसबारे सचेत हुन अनुरोध गरे ।

प्रकाशित : श्रावण १७, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

यसरी हुँदै छ क्रिकेटको प्रशिक्षण

कीर्तिपुर मैदानमै आवासीय सुविधा, बाहिर जान र आउन बन्देज
नेपाल क्रिकेट संघ (क्यान) ले सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनअनुसार भदौ १ गतेदेखि नेपाली पुरूष राष्ट्रिय टोलीको प्रशिक्षण सुरू गर्न लागेको हो ।
विनोद पाण्डे

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गर्न ठूलै परीक्षण पार गर्नुपर्‍यो । मंगलबार सम्पन्न इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको तीन टेस्ट शृंखलासँगै एक महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा फर्किएको हो । शृंखला आयोजना गर्न के–के मात्र भएन । 


पहिलो पटक जैविक रूपमा सुरक्षित बनाई क्रिकेट आयोजना गरियो । इंग्ल्यान्ड पुगेपछि वेस्ट इन्डिजको टोलीलाई मैदान नजिकैको होटलमा क्वारेन्टाइन राखिएको थियो । मैदान र होटलबाहेक अन्यत्र जान निषेध गरिएको छ । यी सबै कोरोनाले महामारीको रूप लिएपछि अपनाइएको सावधानीका कारण थिए । यही मोडल अहिले अन्य देशका क्रिकेट फर्काउन अपनाइँदै छ ।

भदौ १ गतेदेखि नेपाली क्रिकेटको प्रशिक्षणलाई पनि यस्तै तालिका बनाइएको छ । चारमहिने लकडाउनपछि भदौ १ बाट सरकारले खेलाडीलाई प्रशिक्षण गर्न अनुमति दिएको छ । सोहीअनुरूप नेपाल क्रिकेट संघ (क्यान) ले सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनअनुसार नेपाली पुरुष राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न लागेको हो ।

नेपाली टोली प्रशिक्षणका लागि आएपछि पहिला पीसीआर परीक्षण गरिनेछ । त्यसपछि दुई साता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै क्वारेन्टाइनमा बस्नेछन् । क्युरेटर, मैदानका कर्मचारी सबैको पीसीआर परीक्षण गर्न लागिएको छ । आईसीसीको निर्देशनअनुरूप खेलाडीका लागि त्रिवि मैदान हाताभित्रै आवासीय व्यवस्था मिलाउन लागिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताएका छन् । उनका अनुसार दुई सातापछि पुनः खेलाडीको अर्को परीक्षण हुने र त्यसपछि एउटा लयमा प्रशिक्षण सुरु गरिनेछ ।

त्रिवि मैदान हाताभित्र रहेको भीआईपी प्यारापिट र स्कोर बोर्ड अपडेट गर्न बनाइएको भवनमा खेलाडीलाई आवासीय व्यवस्था मिलाउने तयारी सुरु गरिएको सिंहले बताए । सुरुवाती प्रशिक्षणमा २२–२४ खेलाडीसम्म बोलाउने, त्यसबाहेक प्रशिक्षक, व्यवस्थापक, फिजियो, नेट बलर गरी झन्डै ३० जनाका लागि मैदान हाताभित्र बस्ने व्यवस्था मिलाउन लागिएको हो । भीआईपी प्यारापिटतर्फ २१ जना र स्कोर बोर्ड रहेको भवनमा ८ जना बस्न मिल्ने तयारी भइरहेको छ । प्रशिक्षण सुरु भएपछि नेपाली टोलीसँग आबद्ध कोही बाहिर निस्कन पाउने छैनन् भने बाहिरबाट पनि कीर्तिपुर मैदान हाताभित्र छिर्न पाउने छैनन् ।

‘आईसीसीको निर्देशनअनुसार कीर्तिपुर मैदानभित्रै खेलाडीलाई खाने, बस्ने व्यवस्था गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न लागिएको छ । निकै चुनौतीमाझ हामीले यो व्यवस्था गर्न लागेका हौं, यहीं भएको संरचना उपयोग गरी प्रशिक्षण सुरु गर्ने सहमतिअनुसार हामीले यो निर्णय लिएका हौं,’ क्यान कोषाध्यक्ष सिंहले भने, ‘क्वारेन्टाइनका साथै खेलाडीले सामाजिक दूरी राखेर प्रशिक्षण सुरु गर्नुपर्नेछ । परिस्थितिअनुसार प्रशिक्षण अगाडि बढ्नेछ ।’

मार्चयता अन्तर्राष्ट्रिय क्रिकेट कोरोनाका कारण ठप्प भएको थियो । मार्च पहिलो साता थाइल्यान्डमा ट्वान्टी–२० एसिया कपको छनोट खेलेयता नेपाली क्रिकेट टोली पनि मैदान उत्रिएको छैन । कोरोनाका कारण नेपालले विश्वकप लिग २ मा नामिबिया र स्कटल्यान्ड गएर खेल्नुपर्ने शृंखला रद्द भइसकेको छ । हाललाई नेपालले खेल्ने कुनै स्पष्ट तालिका नभए पनि स्थगित भएका लिग २ का खेलहरू नोभेम्बरको दोस्रो साता आईसीसीले एकै पटक यूएईमा गर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

कोरोनाका कारण गरिएको लकडाउनपछि टेस्ट क्रिकेट सुरु हुँदा बलरहरूलाई चोटलाई पन्छाउन २ देखि ३ महिनाको तयारी गर्नुपर्ने आईसीसीले जनाएको थियो । आईसीसीले आफ्नो निर्देशनमा टेस्ट क्रिकेट खेल्न ८ देखि १२ साता लाग्ने, त्यसमा अन्तिम ४–५ साता उच्च गतिको बलिङ लय हुनुपर्ने जनाउँदै टोलीमा बढी खेलाडीहरू प्रयोग गर्दै बलरलाई भार कम गर्न सचेत गराएको छ ।

आईसीसीले ५० ओभर र ट्वान्टी–२० मा फर्कन ६ साता तयारी आवश्यक भएको जनाएको छ । आईसीसीले आफ्ना सदस्य राष्ट्रहरूलाई सुरक्षितसाथ मैदान फर्किने योजना बनाउन चिकित्सक सल्लाहकार र बायो सेफ्टी नियुक्त गर्न भनेको छ । कोरोनाकै कारण आईसीसीले रिभर्स स्विङ गर्ने हेतुले बल चम्काउन थुक प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । खेलाडी र अम्पायरले सामाजिक दूरी पनि कायम गर्नुपर्नेछ । विगतमा जसरी खेलाडीले टोपी, गम्छा, चस्माहरू अम्पयार र आफ्ना खेलाडीलाई दिन पाउने छैनन् ।

‘पीसीआरको रिपोर्ट के–कस्तो आएको छ त्यसका आधारमा हामीले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नुपर्ने हुन्छ । पोजिटिभ आएमा ती खेलाडीलाई सेल्फ क्वारेन्टाइनमा राख्नुपर्छ । कम्तीमा १४ दिन सकेपछि फेरि अर्को पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ । त्यसबाट निर्क्योल हुन्छ । त्यसपछि कस्तो खाले प्रशिक्षण गर्ने हो त्यो सल्लाह हुन बाँकी छ,’ नेपाली क्रिकेट टोलीका फिजियो विक्रम न्यौपानेले भने, ‘खेलाडीहरू बाहिरबाट आउनेवाला छन्, खुम्चिएर बाध्यतामा प्रशिक्षण गर्नु र खुलेर प्रशिक्षण गर्नुमा फरक छ । त्यही भएर पहिलो एक साता खेलाडीको फिटनेस प्रशिक्षण गरेर सुरुवात गर्न सकिन्छ । त्यसका आधारमा खेलाडीको समूह छुट्टिन्छ । खेलाडीमा के–के कमी छ त्यसपछि योजना बनाएर जाने हो ।’

पूर्ण क्वारेन्टाइनमा प्रशिक्षण

विक्रम न्यौपाने, फिजियो

खेलाडीहरू पूर्ण क्वारेन्टाइनमा रहेर प्रशिक्षण गर्नुपर्नेछ । प्रत्येक दिन खेलाडीको रक्तचाप र तापक्रम दुईपल्ट परीक्षण हुनेछ । आईसीसीले पहिलो प्राथमिकतामा सरकारले तोकेको मापदण्डअनुसार गर्नु भनेको छ । क्यानले सरकारको अनुमति लिइसकेपछि खेलाडीहरू कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नै पर्नेछ । त्यसक्रममा आएको नतिजा आईसीसीलाई डाटा बनाएर पठाउनुपर्नेछ र आईसीसीले त्यसमा कस्तो प्रतिक्रिया दिन्छ त्यसलाई कुर्नुपर्नेछ ।

चुनौती निकै छ । लकडाउन अवधिमा तीन महिना खेलाडीसँग मेरो कुराकानी भइरहेको थियो । घरको वातावरण कस्तो छ त्यस अनुसार तयारी गर्नुस भनेको थिएँ । यदि घरमा खुला क्षेत्र छैन भने छतमा, छत छैन भने कोठाभित्रै ‘कोन’ भए त्यसमै र नभए कुनै सामान राखेर गर्नुस् भनेको थिएँ । यस्तो बेलामा विशेष गरी तीव्र बलरका लागि मोटाउने सम्भावना बढी हुन्छ । ब्याट्सम्यानका लागि त्यो रूपमा नजाला किनभने उसको त्यही खालको अभ्यास हुन्छ । त्यही भएर तीव्र बलरले कम्तीमा हाइजम्प, पुसअप, जिम गरेर बस्नु अनिवार्य थियो । नेपाली टोलीको क्वारेन्टाइन सुरु भइसकेपछि हामी फेरि त्यो परीक्षण गर्नेछौं । त्यो हामी हेर्नेछौं । खेलाडीले शतप्रतिशत दिइरहँदा उसको धड्कन कति छ हेर्नेछौं । तीव्र बलरमाथि अहिलेको अवस्थामा अलिकति केन्द्रित हुन जरुरी छ ।

खेलाडीहरू दुई महिना जतिमा खेल्न तयार हुन्छन् । त्यसै पनि हाम्रा खेलाडीले अभ्यास गरिरहेका छन् । राजधानीमा हुने खेलाडीले अभ्यास गर्दै आएका छन् । व्यक्तिगत समय मिलाएर समाजिक दूरीसाथ कीर्तिपुरमै प्रशिक्षण गर्दै आएका छन् । सोमपाल कामीले मैले भनेअनुरुप नै घरमा प्रशिक्षण गरिरहेका छन् । करण केसीले घर र मैदानमा गएर खेलिरहेको बताएका छन् । अविनाश बोहराले प्रत्येक दिन यहाँ अभ्यास गरिरहेका छन् । सातामा तीन कार्डिक वर्कआउट गर्छन् । त्यसका एक घण्टा दौड छ । जिम पनि गरिरहेको छ । कमलसिंह ऐरीले पनि व्यक्तिगत प्रशिक्षण गरिरहेका छन् र फिट छन् । त्यही पनि अलिकति डर तीव्र बलरमै छ ।

प्रकाशित : श्रावण १७, २०७७ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×