कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेस्ट क्रिकेटका सर्वाधिक सफल ६ बलर

कान्तिपुर संवाददाता

काठमाडौँ — इंग्ल्यान्डका फास्ट बलर स्टुवार्ट ब्रोडले मंगलबार आफ्नो पाँच सय टेस्ट विकेटको कोसेढुंगा उपलब्धि पूरा गरे । उनको उत्कृष्ट प्रदर्शनकै कारण इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्ट मात्र जितेन, तीन टेस्टको सिरिज नै हात पार्न पनि सफल रह्यो । इंग्ल्यान्डका लागि १ सय ४० टेस्ट खेल्दै उनले लिएको विकेट संख्या पुगेको छ, ५ सय १ ।

टेस्ट क्रिकेटका सर्वाधिक सफल ६ बलर

उनी टेस्ट क्रिकेटमा पाँच सय विकेट लिने सातौं बलर मात्र हुन्, त्यसमा पनि फास्ट बलरमध्ये चौथो । उनको यो प्रदर्शनपछि सबैको कौतुहलता बढेको छ, टेस्ट क्रिकेटका सर्वाधिक सफल बलर को-को हुन त ? ब्रोड अगाडि पाँच सय विकेट लिने ६ जना बलर रहेका छन् र त्यसमध्ये सबैभन्दा शीर्ष स्थानमा रहेका छन्, श्रीलंकाका मुथैया मुरलिधरन । ती ऐतिहासिक ६ बलर यसप्रकार छन् ।

मुथैया मुरलिधरन

टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिएको कीर्तिमान मुथैया मुरलिधरनको नाममा छ । श्रीलंकाका यी अफ स्पिनरले आठ सय विकेट लिएका छन् । उनी आठ सय विकेट छुने एक मात्र बलर हुन् । यसका लागि उनले १ सय ३३ टेस्ट खेले ।

अहिले सन्यास लिइसकेका मुरलिधरन आफ्नो बलिङ शैलीका कारण पनि धेरै पल्ट विवादमा परे । तर श्रीलंकाली क्रिकेटले सन् १९९० यता लिएको प्रगतिमा उनी एक निर्णायक खेलाडी हुन् । तमिल मूलका खेलाडी भएका हुनाले पनि उनको महत्त्व बढी रहेको छ, श्रीलंकाली क्रिकेटमा ।

शेन वार्न

विश्व क्रिकेटले देखेका अहिलेसम्मकै सबैभन्दा महान खेलाडीमा शेन वार्नको नाम पनि आउने गर्छ । भलै उनको व्यक्तिगत जीवन निकै विवादपूर्ण रह्यो । तर मैदानमा उनी गज्जबका खेलाडी थिए र लेग स्पिन बलिङ आक्रमणको पुनर्जागरणमा उनको सबैभन्दा ठूलो हात छ ।

उनले अस्ट्रेलियाका लागि १ सय ४५ टेस्ट खेले र हात पारे, ७ सय ८ विकेट । उनको उत्कृष्ट प्रदर्शनको मदतले अस्ट्रेलियाले विश्व क्रिकेटमा प्रभुत्व जमाएको थियो ।

अनिल कुम्बले

टेस्ट क्रिकेटमा सार्वधिक विकेट लिने बलर सूचीमा स्पिनरकै प्रभुत्व छ र यसैक्रममा तेस्रो स्थानमा आउने गर्छन्, भारतका अनिल कुम्बले । मुथैया मुरलिधरन र शेन वार्न दुवै उनका समकालीन खेलाडी हुन्, कुम्बले अझ केही सिनियर खेलाडी हुन् ।

आफ्नो समयमा भारतीय बलिङ आक्रमणको मुख्य अस्त्र रहेका कुम्बलेलाई लेग स्पिनर होइन भनेर विवाद गर्ने पनि उत्तिकै छन् । उनले १ सय ३२ टेस्टमा ६ सय १९ विकेट लिएका छन् र यसले पनि देखाउँछ, उनी कत्तिको बलर हुन् भनेर ।

जेम्स एन्डरसन

तीन स्पिन बलरपछि टेस्ट क्रिकेटमा सर्वाधिक सफल सूचीमा आउने पहिलो फास्ट बलरको नाम हो, जेम्स एन्डरसन । उनले इंग्ल्यान्डका लागि भर्खरै १ सय ५३ औं टेस्ट खेले र यसक्रममा हात पारेका छन्, ५ सय ८९ विकेट ।

सर्वाधिक विकेट लिने बलर सूचीको शीर्ष ६ बलरमध्ये अहिलेसम्म पनि खेलिरहेका एक्ला बलरमा पर्छन्, उनी । उनले कहिले सन्यास लिने हो, त्यसबारे केही भनेका छैनन्, सम्भवत: उनी अनिल कुम्बलेलाई उछिन्न चाहन्छन् ।

ग्लेन म्याकग्रा

अस्ट्रेलियाले टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको प्रभुत्व तोड्दै आफ्ना वर्चश्व सुरु गर्दाका खेलाडी हुन्, ग्लेन म्याकग्रा । यी दायाँ हाते बलरमा खुबै विविधता थियो र प्रत्येक समय उनी नयाँ फरक आक्रमण बन्नु सक्षम हुन्थे । यस्तै उनको बलिङ आक्रमण निमयति रूपमा अनुशासित हुन्थ्यो ।

उनले कुल १ सय २४ टेस्ट खेलेका छन् र यसक्रममा लिएका छन्, ५ सय ६३ विकेट । उनले लामो समय आफ्नो देशका लागि प्रारम्भिक बलरको भूमिका निभाए र त्यसमा सफल पनि रहे ।

कर्टनी वाल्स

वेस्ट इन्डिजले झण्डै दुई दशक भन्दा बढी समय विश्व क्रिकेटमा आफ्नो एकछत्र प्रभुत्व जमायो । टेस्ट क्रिकेटमा त उसलाई चुनौती पेस गर्न सक्ने टिम नै थिएन् । यही टिमको अन्तिम पुस्ताका खेलाडी हुन्, कर्टन वाल्स ।

उनको सटिक फास्ट बलिङ आक्रमणको मदतले वेस्ट इन्डिज सन् नब्बेको अन्त्यसम्म उत्तिकै बलियो टिम थियो । निकै भलाद्मी खेलाडी मानिने वाल्सले कुल १ सय ३२ टेस्ट खेल र यसमा हात पारे, ५ सय १९ विकेट ।

प्रकाशित : श्रावण १४, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?