ब्रोडले लिए पाँच सय विकेट

एएफपी

म्यानचेस्टर — इंग्ल्यान्डका स्टुवार्ट ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने सूचीमा समावेश भएका छन् । ३४ वर्षे तीव्र गतिका बलर ब्रोडले मंगलबार वेस्ट इन्डिजका ओपनर क्रेग ब्रेथवेटलाई ओल्ड ट्राफोर्डमा तेस्रो तथा अन्तिम टेस्टको पाँचौं तथा अन्तिम दिनको खेलमा १९ रनमा एलबीडब्लू आउट गर्दै ५ सय विकेटको कोसेढुंगामा पुगेका हुन् ।

ब्रोडले लिए पाँच सय विकेट

यस टेस्टमा यसअघि नै ८ विकेट लिएर ४ सय ९९ विकेट संख्या पुर्‍याइसकेका ब्रोड सोमबार चौथो दिनको खेल वर्षाका कारण पूरै हुन नसक्दा चिन्तित हुन पुगेका थिए । मंगलबारको खेलको सुरुआती खेलमा वेस्ट इन्डिजले स्तरीय ब्याटिङ गर्दा ब्रोड झन् आहत हुन पुगेका थिए भने त्यसपछिको १६ मिनेट वर्षाले गर्दा खेलाडी मैदान छाड्न पुगेका थिए । १ सय ४० टेस्ट खेल्दै उनले यो सफलता पाएका हुन् ।

वर्षापछि पुनः खेल सुरु हुँदा ब्रोडको फुल लेन्थ बल ब्रेथवेटको प्याडमा लागेको थियो । आफू स्पष्ट एलबीडब्लू आउट भएको संकेत पाएपछि ब्रेथवेटलेअम्पायर माइक गफको निर्णयमा रिभ्यु लिने प्रयास गरेनन् । संयोग के रह्यो भने ब्रोडका लामो समयदेखि इंग्ल्यान्डका तीव्र बलर जोडी जेम्स एन्डरसनले पनि २०१७ को सेप्टेम्बरमा लर्डस्मा ब्रेथवेटलाई नै आउट गर्दै ५ सय विकेटको आँकडा छोएका थिए ।

ब्रोडलाई साउथह्याम्पटनको पहिलो टेस्टमा विवादास्पद ढंगले टोली बाहिर राखिएको थियो, जुन टेस्टमा घरेलु टोलीले ४ विकेटको हार भोगेको थियो । ब्रोडले यस टेस्टमा मात्रै १० विकेट लिएका छन् । उनले पहिलो इनिङ्समा ३१ रन खर्चेर ६ विकेट लिएपछि वेस्ट इन्डिजको पहिलो इनिङ्स १ सय ९७ रनमा समेटिएको थियो । ब्रोडले २०१३ यता एकै टेस्टमा १० विकेट लिएको यो पहिलो अवसर हो ।

ब्रोड यस टेस्टमा खुबै छाएका छन् । उनले १० औं नम्बरमा ब्याटिङ गर्दै ६२ रन बनाएपछि इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ६९ रन बनाएको थियो । कोरोना भाइरसपछि अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गर्दा यस शृंखलामा जैविक परीक्षण गरेर खेलाइएको छ, जसका कारण यस टेस्टमा दर्शकलाई रंगशालाभित्र जान दिइएको छैन । तर उनका बुबा एवं इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान क्रिस ओल्ड ट्राफोर्ड मैदानमै थिए । म्याच रेफ्रीको भूमिकामा रहेका कारण क्रिसले आफ्ना छोरा स्टुवार्टको ५ सय विकेटको सफलता हेर्न पाएका हुन् ।

टेस्ट क्रिकेटमा ६ सयभन्दा बढी विकेट लिनेमा सबै स्पिनर छन् । श्रीलंकाका मुथैया मुरलिधरनले सर्वाधिक ८ सय विकेट लिएका छन् भने अस्ट्रेलियाका शेन वार्नको नाममा ७ सय ८ र भारतका अनिल कुम्बलेको नाममा ६ सय १९ विकेट रहेको छ । ब्रोडभन्दा बढी विकेट लिने तीव्र गतिका बलरमा एन्डरसनको ५ सय ८९, अस्ट्रेलियाका ग्लेन म्याकग्राको ५ सय ६३ र वेस्ट इन्डिजका कर्टनी वाल्सको ५ सय १९ विकेट रहेको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?