कर्णाली खेलकुद परिषद्‍मा सदस्य सचिव नियुक्ति प्रक्रिया सुरु

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिव छान्नका लागि प्रक्रिया सुरु भएको छ । फागुन सुरुमै आवेदन संकलन गरिए पनि सिफारिस समितिले भने नाम टुंग्याउन सकेको छैन ।सामाजिक विकास मन्त्रालयले मन्त्रालयका सचिवको संयोजकत्वमा धावक हरिबहादुर रोकाय र भलिबल खेलाडी चन्द्रकुमार गिरी सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

कर्णाली खेलकुद परिषद्‍मा सदस्य सचिव नियुक्ति प्रक्रिया सुरु

समितिले फागुनमा १० वटै जिल्लाबाट आवेदन माग गरेको थियो । प्राप्त आवेदनमध्ये १० जनाको नाम ‘सर्ट लिस्ट’ गरिएको छ । समितिले तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्ने र मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले एक जना सदस्य सचिवमा नियुक्त गर्नेछ । सामाजिक विकासमन्त्री दल रावलले समितिले अहिलेसम्म नाम सिफारिस नगरेको बताए । सरकारसँग आवश्यक परामर्श गरेर समितिले नाम सिफारिस गर्ने उनको भनाइ छ । २०७६ असोज ९ गते प्रदेशसभाबाट पारित भएको ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन’ मा सदस्य सचिवको योग्यता स्नातक तह उत्तीर्ण भई खेलकुदको क्षेत्रमा अनुभवप्राप्त भएको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

मन्त्रालय स्रोतका अनुसार सदस्य सचिवको दौडमा नेकपा नेताहरू ऋषि गिरी, घनश्याम पाण्डेका साथै पूर्वखेलाडी रवीन्द्र चन्द, सरोज शाहीलगायत छन् । गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतका पूर्वअध्यक्ष र फुटबल संघका पूर्वउपाध्यक्ष हुन् । पाण्डे भने खेलकुद गतिविधिमा अनुभव र खासै सम्बन्ध नभएका व्यक्ति हुन् । यद्यपि उनले आवेदनमा विभिन्न खेल प्रतियोगितामा व्यवस्थापनको काम गरेको उल्लेख गरेका छन् ।

सामाजिक विकासमन्त्रीको अध्यक्षतामा गठन हुने ९ सदस्यीय प्रदेश खेलकुद परिषद्मा उपाध्यक्ष रहने व्यवस्था भए पनि उसलाई कार्यकारी अधिकारी दिइएको छैन । ऐनमा उपाध्यक्षसहित सदस्यको काम, कर्तव्य र अधिकार पनि तोकिएको छैन । २५ वर्ष उमेर पुगेको र खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई मन्त्रिपरिषद्ले उपाध्यक्ष र सदस्यमा नियुक्त गर्ने उल्लेख छ । मन्त्रालयका सचिव, समावेशी सिद्धान्तका आधारमा चार जना र अपांगता भएका एक जना गरी ५ जना सदस्य तथा एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

केन्द्रमा पनि राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव छान्नका लागि मन्त्रालयका सचिवको अध्यक्षतामा बनेको सिफारिस समितिले तीन जनाको नाम छानेको छ । त्यसमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, लीलबहादुर थापा मगर र अञ्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा पठाएको छ ।

प्रकाशित : श्रावण १२, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?