३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

करातेलाई अवसर गुम्‍ने डर

कोरोनाकै कारण संसारकै नियमित दैनिकी प्रभावित हुँदा ओलम्पिक पनि एक वर्षका लागि सारिएको छ । सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म तय भएको विश्व खेलकुदको महामेला पछिल्लोपल्ट निर्धारित समयमा पनि आयोजना हुनेप्रति संशय छ ।
कुशल तिमल्सिना

काठमाडौँ — करिब चार दशकको इतिहासमा नेपाली करातेले थुप्रै अन्तर्राष्ट्रिय सफलता चुमेको छ । दक्षिण एसियामा अझै पनि नेपाल ‘पावर हाउस’ का रूपमा छ । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा करातेबाट नेपालले १० स्वर्ण जितेर रवाफ कायमै राखेको थियो । कराते खेलाडीका लागि सधैं खड्किने कुरा भनेको ओलम्पिकमा यस खेललाई समावेश नगरिनु नै हो ।

करातेलाई अवसर गुम्‍ने डर

ग्रीष्मकालीन ओलम्पिकको शताब्दी लामो इतिहासमा अहिलेसम्म करातेलाई समावेश गरिएको छैन । कराते आफ्नै देशबाट सुरु भएका कारण जापानले आसन्न ओलम्पिकमा यसलाई समावेश गरेको छ । विश्वभरका खेलाडीहरू पहिलोपल्ट ओलम्पिक खेल्न उत्साही छन् । कोभिड–१९ (कोरोना भाइरस) ले विश्वव्यापी महामारीको रूप नलिएको भए टोकियो ओलम्पिक शुक्रबारदेखि सुरु भइसकेको हुन्थ्यो ।

कोरोनाकै कारण संसारकै नियमित दैनिकी प्रभावित हुँदा ओलम्पिक पनि एक वर्षका लागि सारिएको छ । सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म तय भएको विश्व खेलकुदको महामेला पछिल्लोपल्ट निर्धारित समयमा पनि आयोजना हुनेमा संशय छ ।

कोरोनाको महामारी कम नहुनु, खोप पत्ता नलाग्नु र संक्रमितको संख्याले दिनहुँ नयाँ कीर्तिमान कायम गर्दै जाँदा एक वर्षपछि ओलम्पिक आयोजना हुने निश्चित नभएको हो । अहिलेसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक जापानले निर्धारित समयमै प्रतियोगिता आयोजना हुने बताइरहेका छन् । जापानी सञ्चारमाध्यमको पछिल्लो सर्वेक्षणले २३ प्रतिशत जनतामात्रै अर्को वर्ष ओलम्पिक आयोजना हुनेमा ढुक्क रहेको पाइएको छ ।

अमेरिका, चीन, बेलायत, रुस, ब्राजिलजस्ता शीर्ष देश अहिले पनि भाइरसको चपेटामै छन् र त्यहाँका खेलाडीहरूले प्रशिक्षण सुरु गर्न पाएका छैनन् । २०२१ मा पनि ओलम्पिक आयोजना हुन सकेन भने इतिहासमा तेस्रोपल्ट ओलम्पिक खेलकुद रद्द हुने निश्चितजस्तै छ । यसअघि दुई विश्वयुद्धका क्रममा ओलम्पिक रद्द भएको थियो । त्यसमध्ये सन् १९४० को टोकियो ओलम्पिक पनि हो ।

जापानले बलपूर्वक समावेश गरेको कराते खेल २०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकबाट हटाइसकिएको छ । यसपल्ट ओलम्पिक रद्द भयो भने कराते खेलाडीका लागि जीवनमा एकपल्ट आएको अवसर गुम्नेछ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता तथा वर्तमान राष्ट्रय टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पनि कराते खेलाडीले पाएको स्वर्णिम अवसर कोरोनाकै कारण गुम्नेमा चिन्ता व्यक्त गरे । ‘ओलम्पिकमा कराते यसअघि कहिल्यै समावेश गरिएन । मैले आफ्नो खेलजीवनमा पूरा गर्न नसकेको सपना यो पुस्ताका खेलाडीले पूरा गर्नेछन् भन्ने विश्वास थियो,’ उनले आशंका गरे, ‘जापानले बलपूर्वक कराते समावेश गरेर आशा जगाएको थियो तर कोरोनाले प्रतियोगिता नै रद्द हुन्छ कि भन्ने चिन्ता बढेको छ ।’

टोकियो ओलम्पिकमा करातेका ८ स्पर्धा समावेश छन् । कातातर्फ २ र कुमुते (फाइट) तर्फ ६ तौलसमूहमा स्पर्धा हुनेछ । करातेको ओलम्पिक छनोट विधि भनेको अन्तर्राष्ट्रिय कराते फेडेरेसनबाट मान्यता प्राप्त प्रतियोगिताको प्रदर्शनका आधारमा हासिल हुने वरीयता नै हो । यो वरीयतामा कुनै पनि नेपाली खेलाडीले ओलम्पिक खेल्ने हैसियत बनाएका छैनन् । त्यसकारण नेपाली खेलाडीको ओलम्पिक सहभागिता वाइल्ड कार्डमै भर पर्नुपर्छ । टोकियो ओलम्पिकका लागि करातेको वाइल्ड कार्ड कोटा विश्वभरबाट दुई पुरुष र दुई महिलाको मात्र छ । नेपाल कराते महासंघले नेपालका दुई खेलाडी अनु अधिकारी र नवीन रसाइलीलाई सम्भावित वाइल्ड कार्डका लागि नेपाल ओलम्पिक कमिटीसमक्ष सिफारिस गरेको छ । नेपालले वाइल्ड कार्ड पाएको अवस्थामा यी खेलाडीले ओलम्पिकमा प्रतिनिधित्व गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले करातेसहित अन्य खेलबाट सिफारिस भएका खेलाडीलाई ओलम्पिकमा सहभागी गराउन अन्तर्राष्ट्रिय रूपमा उच्च प्रयास गरिने बताए । ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), आयोजक देश र सम्बन्धित खेलकुदको अन्तर्राष्ट्रिय महासंघसम्मिलित आयोगले वाइल्ड कार्ड वितरण गर्छ । हामीले हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं र सकारात्मक पनि छौं,’ महासचिव श्रेष्ठले थपे, ‘हाम्रो प्रयास भनेको प्रस्तावित सबै खेलका खेलाडीलाई समावेश गराउने हो । त्यसका लागि हाम्रो सम्बन्ध र पहुँच भएको ठाउँमा अनुरोध गरेका छौं । हामीले आईओसीसँग पनि समन्वय गरिरहेका छौं ।’ ओलम्पिक खेल्ने तीनवटा विधि छन् । छनोट चरण पार, वाइल्ड कार्ड र नियमित सहभागिता हो । आसन्न ओलम्पिकका लागि छनोट पार गर्ने कुनै नेपाली खेलाडी छैनन् । नियमित सहभागिताका आधारमा पौडीबाट २ (गौरिका सिंह र एलेक्स शाह) र एथलेटिक्सबाट १ (नाम सिफारिस भई नसकेको) कोटा निश्चित भइसकेको छ । त्यसबाहेक वाइल्ड कार्डका लागि ७ खेलबाट १२ जना खेलाडी सम्बन्धित संघबाट छनोटसहित सिफारिसमा परेका छन् । नेपालमा अहिलेसम्म तेक्वान्दोबाट संगीना वैद्य (सन् २००४) र दीपक विष्ट (सन् २००८)ले मात्र छनोट पार गरेर ओलम्पिक खेलेका छन् ।

‘कोभिडकै कारण ओलम्पिक १ वर्ष सारिएको छ । अहिलेको स्थितिमा २०२१ मा प्रतियोगिता आयोजना गर्न आईओसी र आयोजक देश तयार छन् । मेरो विचारमा पछिल्लोपल्ट निर्धारण गरिएको मितिमै जापानले ओलम्पिक आयोजना गर्नेछ । किनभने त्यसका लागि उसले ठूलो लगानी गरेको छ,’ एनओसीका महासचिव श्रेष्ठले भने, ‘यति हुँदाहुँदै पनि अमेरिकालगायत विश्व खेलकुदका शीर्ष देशहरूमा कोरोना महामारी व्याप्त छ । त्यतिबेलासम्म महामारी नियन्त्रणमा आएन भने ओलम्पिक पुनः सारिँदैन, रद्द नै हुन्छ ।’ कोरोना भाइरस संक्रमणको पछिल्लो तथ्यांक हेर्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट आमजनतालाई खुसी हुने सन्देश आएको छैन । विश्वभर १ करोड ५० लाखभन्दा धेरै संक्रमित छन् । संक्रमितको संख्या दिनमै ३ लाख हुने गरेको छ । पछिल्लो समय अमेरिका, ब्राजिल र भारत संक्रमणको मुख्य चपेटामा छन् ।

प्रकाशित : श्रावण १२, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?