‘बी’ डिभिजन लिग कहिले ?

राजु घिसिङ

काठमाडौँ — कोरोना भाइरसको महामारीका कारण फुटबल प्रतियोगिताहरू पनि नराम्ररी प्रभावित भयो । फ्रान्सको लिग वानमा रोकिनुअघिकै नतिजाको आधारमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरियो र घटुवामा पर्ने टिमको पनि छिनोफानो गरियो ।

‘बी’ डिभिजन लिग कहिले ?

जर्मनीको बुन्डेसलिगा, इंग्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको सिरी ‘ए’ लगायत घरेलु प्रतियोगिता भने रोकिएकै अवस्थाबाट पुनः सुरु भए । बायर्न म्युनिकले बुन्डेसलिगा, रियल म्याड्रिडडले ला लिगा र लिभरपुलले प्रिमियर लिगको ट्रफी कब्जा गरिसकेका छन् भने इटालीमा युभेन्ट्स उपाधि नजिक पुगेको अवस्था छ । नेपालमा मध्यभागतिर पुगेर रोकिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग के होला त ?

ब्वाइज युनियन २–२ आरसीटी । सातदोबाटो १–१ झम्सीखेल । गत चैत ४ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यी दुई खेल भएपछि सहिद स्मारक ‘बी’ डिभिजन लिगलाई कोरोनाको महामारीले छोप्यो । राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदका गतिविधि रोक्न निर्देशन जारी गरेपछि उपत्यकाका क्लबहरू सहभागी बी डिभिजन लिगमात्रै होइन, मोफसलमा तयारी भइसकेका प्रतियोगिताहरू पनि रोकिए ।

चैत ११ देखि लागू गरेको लकडाउन सरकारले केही सीमा राख्दै साउन ७ मा खोल्यो । ‘अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेल’ सञ्चालन गर्न पाउने भए पनि ‘समूहमा हुने खेल र खेल मैदानमा हुने प्रस्तुति’ मा बन्देज कायमै राख्यो । ‘बी’ डिभिजन लिग पुनः सुचारु गर्न अन्योल कायमै रहे पनि दसैंअघि आयोजना गर्ने तयारी भइरहेको सरोकारवालाहरू बताउँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भने, ‘बी डिभिजन लिग हुन्छ, सरकारले स्वीकृति दियो भने असोजमा हुन्छ, विश्वकप छनोटभन्दा अगाडि सकाउँछौं । क्लबहरूसँग सल्लाह गरेर उनीहरूलाई एक महिनाको समय उपलब्ध गराएर लिग पुनः सुरु गर्नेछौं ।’

सरकारले प्रतियोगिता सञ्चालन गर्न पाउने निर्णय गर्‍यो भने मात्रै लिग पुनः सञ्चालन गरिने उनले बताए । भदौ १ सम्मलाई अन्तर्राष्ट्रिय खेलका लागि मात्रै सरकारले स्वीकृति दिएको अवस्थामा उनले भने, ‘भदौ १ पछि सरकारको के निर्णय आउँछ, त्यसैअनुसार गर्नेछौं ।’ क्लबहरूलाई तयारीका लागि एक महिना उपलब्ध गराउने भएकाले असोज नभएसम्म फुटबल गतिविधि सञ्चालन गर्न गाह्रै भएको पनि उनले बताए ।

यो साल दसैं कात्तिक पहिलो साता परेको छ । त्यसपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोटमा घरेलु भूमिमा तीन खेल खेल्दैछ । नेपालले असोज २२ मा चाइनिज ताइपेई र असोज २७ मा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ भने कात्तिक २७ मा जोर्डनको सामना गर्नेछ । त्यसैले बी डिभिजन लिग सुचारु गर्नका लागि क्लबहरूसँगै छिट्टै छलफल गर्ने एन्फाको लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले बताए ।

रानीपोखरी कर्नर टिम (आरसीटी) का अध्यक्ष सुरेशकाजी शाक्यले भने, ‘हामी रोकिएको स्थानबाट लिग खेल्न तयार छौं, एन्फालाई प्रतिबद्धता दिइसकेका छौं । सरकारले लकडाउन खुकुलो गरेपछि सजिलो पनि भएको छ । ट्रेनिङ थाल्नेबारे सल्लाह गर्दैछौं । सबै खेलाडीलाई फिट हुनका लागि तयारी गर्न भनिसकेका छौं । तर लिगकै भने ठेगान भइसकेको छैन ।’

६ पल्टको ‘ए’ डिभिजन लिग च्याम्पियन हो आरसीटी । २०७० सालमा रेलिगेसनमा परेको आरसीटीले फेरि उच्च श्रेणीमा फर्किने योजना बनाएको थियो । तर सातौं स्थानमा रहेको आरसीटीले ६ खेल (१ जित, २ बराबरी, ३ हार) बाट ६ अंकमात्रै जोडेको छ । टोली शीर्षस्थानको सातदोबाटो युथ क्लबभन्दा १० अंक पछाडि परिसकेको छ ।

‘ए डिभिजनमा उक्लिने लक्ष्य राखेरै यसपालि राम्रो खेलाडी आबद्ध गरेका थियौं, खर्च पनि राम्रै गरेका थियौं, तैपनि नतिजा राम्रो भएन । खेलमा भाग्य पनि हुनुपर्ने रहेछ,’ अध्यक्ष शाक्यले भने । प्रशिक्षक सुलभजंग राणाले सम्हालेको टिमका लागि लिग सकिँदासम्म ४० लाख रुपैयाँ बढी खर्च हुने पनि उनले बताए । ‘कोभिड–१९ ले पनि खर्च बढायो,’ उनले भने, ‘हाम्रा २८ जना खेलाडी नै उपत्यकाबाहिरका हुन् । फेरि लिग सुचारु हुँदा उनीहरूलाई बोलाउनैपर्‍यो । २०–२५ दिन भए पनि ट्रेनिङ दिनैपर्‍यो ।’

खुमलटारले लिगमा ३३ खेलाडी दर्ता गरेको छ र यसमध्ये चार खेलाडीमात्रै उपत्यकाबाहिरको भएको क्लबका अध्यक्ष मणिराज विष्टले बताए । लगभग २८ लाख खर्च लाग्ने बताइएको यस टिमबारे उनले भने, ‘ए डिभिजनमा उक्लिने लक्ष्यसाथ लिगअघि तीन महिना ट्रेनिङ गरिएको थियो । अब फेरि सुचारु हुँदा एक महिना तयारी अवधि चाहिने एन्फालाई भनिसकेका छौं ।’ दोस्रो स्थानमा रहेको खुमलटारले ४ जित र १ हारको नतिजा निकालेको छ ।

‘बी’ डिभिजन लिगको च्याम्पियन टिममात्रै ए डिभिजनमा उक्लिनेछ । कोभिड–१९ को कारण लिग रोकिनुअघि सातदोबाटो युथ क्लब (६ खेलबाट १६ अंक) शीर्षस्थानमा छ । सातदोबाटोलाई खुमलटार युथ क्लब (५ खेलमा १३ अंक) र बाँसबारी (५ खेलमा ११ अंक) ले पछ्याइरहेका छन् । नयाँबस्ती, ब्वाइज युनियन र टुसालले ८–८ अंक जोडेका छन् । यसमा ब्वाइज युनियनले एक खेल बढी खेलेको छ । गत वर्ष बढुवा र घटुवारहितको लिगमा पुछारका दुई स्थानमा रहेकाले बाँसबारी र नयाँबस्तीको १–१ अंक यसपालि घटाइएको हो । झम्सीखेल (६), श्री भगवती (५), श्री कुमारी (३), पुल्चोक (१) र मध्यपुर युथ (१) छन् र यसबाट एक टिम रेलिगेसनमा पर्नेछ ।

प्रकाशित : श्रावण १०, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?