कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जतिबेला एनफिल्डको आकाश रंगियो

ट्रफी उचालेसँगै लिग उपाधिका लागि लिभरपुलको ३० वर्ष लामो प्रतीक्षा पनि सकिएको छ ।
फिल म्याकनल्टी

लिभरपुल — योर्गन क्लोपको छेउमै लिभरपुलका खेलाडीले इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका पनि थिएनन्, आकाश आतिशबाजीले भरिसकेको थियो । यो लिभरपुलका लागि खुसी मनाउने रात थियो तर त्यसमा समर्थक थिएनन् । 

जतिबेला एनफिल्डको आकाश रंगियो

लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकालेको थियो र यो कुनै नाटकीय खेलभन्दा कम थिएन । एनफिल्डमा लिभरपुलको अपराजित यात्राले तेस्रो वर्ष छोएको छ । यही मैदानमाथिको आकाश रातो न रातो भएको थियो ।

कप्तान जोर्डन हेन्डरसनले ट्रफी उचाले, छेउमै व्यवस्थापक योर्गन क्लोप पनि थिए अनि उनका सहयोगी सबै । त्यही विशेष दिनका लागि भनेर आकर्षक मञ्च पनि बनाइएको थियो । र, हेन्डरसनले ट्रफी उचालेसँगै लिग उपाधिका लागि लिभरपुलको ३० वर्ष लामो प्रतीक्षा पनि सकिएको छ, औपचारिक रूपमै ।

मीठो संयोग कस्तो भने त्यो ट्रफी प्रतीकात्मक रूपमा हन्तान्तरण गर्ने थिए, सर केनी डेल्गिस । भलै कोरोना भाइरस संक्रमणको डरले समर्थक थिएनन् तर त्यो क्षण कम महत्त्वको थिएन ।

बुधबारको रात प्राप्त चेल्सीमाथिको जित किन पनि विशेष रह्यो भने यो त्यस्तो टिममाथिको सफलता थियो, जसले अझै पनि युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन प्रयास गरिरहेको थियो । तर रात आफैंमा धेरै कारणले विशेष थियो । लकडाउन सुरु हुनुअगाडिसम्म लगभग तय जस्तै देखिएको थियो, लिभरपुलले लिग आफ्नै मस्त खुसीसहित दर्शकसामु उचाल्ने थियो । तर भाग्यको खेल त्यस्तो भएन । लिभरपुलले बन्द रंगशालामा उपाधि जितेको खुसियाली मनाउन चाहेको पनि थिएन ।

यही क्षणमा पनि फेरि भन्नुपर्छ, गर्व र खुसी दुवै हुनेछ । दु:ख केमा पनि छ भने लिभरपुलका समर्थक एनफिल्डको छेउछाउ खुसी मनाउन सडकमा उत्रिहाले, भलै क्लोपदेखि डेल्गिस सबैले त्यसो नगर्न अनुरोध गरेका थिए । मैदानभित्रको खुसियाली भने लिभरपुलले सन् १९७० र १९८० तिर हात पारेको भन्दा कम पक्कै थिएन । त्यो जमानाकै खेलाडी पछि व्यवस्थापक पनि रहेका डेल्गिसले नै खेलाडीलाई पदक वितरण गरे ।

मञ्चमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड थिए, उनले फेरि गज्जब खेले । तय छ, उनले अबको केही लामै समय लिभरपुलका लागि खेल्नेछन् । मञ्चमा एडम लालाना पनि थिए, उनी अन्तिमपल्ट एनफिल्डको पक्षमा खेलिरहेका थिए । उनले पनि खुबै जोसले विजेता पदक थापे । एक प्रकारले भन्दा त्यो मञ्चमा लिभरपुलको वर्तमान, भविष्य र भूत सबै थियो । हेन्डरसनले ट्रफी डेल्गिसको हातबाट लिए । उनी त्यही मान्छे हुन् जसले यी कप्तानलाई सन्डरल्यान्डबाट सन् २०११ मा भित्र्याएका थिए ।

जतिबेला ट्रफी उचालियो, पूरा एनफिल्ड रातो प्रकाशबाट घेरिएको थियो । सँगै कर्णप्रिय धुन थियो अनि आतिशबाजी । क्लोप सधैंभैंm पृष्ठभूमिमा थिए, बेसबल क्यापमै । उनको अनुहारमा उही चिरपरिचित हाँसो पनि थियो । खेलाडी बिस्तारै मञ्चतिर अगाडि बढ्दा उनी पनि उत्तिकै जोसिएका थिए । सन् २०१५ मा उनी लिभरपुलमा आए र टिम बनाउन थाले । उनलाई पनि केही समय लागेको थियो, गत सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन ।

त्यसअगाडि लिभरपुल च्याम्पियन्स लिगकै फाइनलमा पराजित रहेको थियो । त्यो पनि रियल म्याड्रिडको हातबाट । अझ त्यसभन्दा अघि युरोपा लिगको फाइनलमा पराजित थियो अनि गत सिजन लिग पनि निकै झिनो अन्तरले गुमाउनुपरेको थियो । तर यस्तै असफलताले सफलताको आधार तयार पार्ने गर्छ । अहिलेको टिम हेर्दा अनि कोर्टियस जोन्स र नेको विलियम्स जस्ता केही युवा खेलाडीको अनुहार नियाल्दा लाग्छ, यो पुस्ताको टिम अझै केही समय टिक्नेछ ।

कसैले पनि लिभरपुलले सन् १९९० मा डेल्गिसको नेतृत्वमा लिग जित्दा सोचेका पनि थिएनन् । फेरि अर्को लिग उपाधिका लागि ३० वर्ष कुर्नुपर्छ भनेर । जतिबेला एनफिल्डमा धूवाँ उडेर आकाशमा सफलता ढाकिसकेको थियो । फेरि एकपल्ट बज्न थाल्यो त्यही गीत, ‘यू विल नेभर वक एलोन’ । फुटबलमा अब के हुन्छ, त्यसबाट पटक्कै भविष्यवाणी गर्न सकिन्न । खाली कल्पना मात्र गर्न सकिन्छ । अबको कल्पना हो, क्लोपको नेतृत्वमा लिभरपुलले अर्को लिग उपाधिको सफलताका लागि धेरै कुर्नुपर्ने छैन । –बीबीसी

सबै तस्बिरहरु : एपी

प्रकाशित : श्रावण ९, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?