कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कान्छो ग्रान्ड मास्टरको नेपाल सम्बन्ध

विश्वकै एक उत्कृष्ट चेस खेलाडी हुन् अनिश गिरी । नेपाली बुबा र रसियन आमाका यी सन्तान १४ वर्षमै विश्वकै सबभन्दा कान्छो ग्रान्ड मास्टर बनेका थिए । नेदरल्यान्ड्सको प्रतिनिधित्व गर्दै आएका उनले गत साता अनलाइन चेसमा एकैपल्ट ३० नेपाली खेलाडीसँग प्रतिस्पर्धा गरे ।
राजु घिसिङ

काठमाडौँ — विराटनगरका सञ्जय गिरी सन् ९० को दशकको सुरुमै सिभिल इन्जिनियरिङ पढ्न रुसको सेन्ट पिटर्सबर्ग पोलिटेक्निक विश्वविद्यालयमा भर्ना भएका थिए । सँगै अध्ययनरत उतैकी ओल्गासँग उनको माया बस्यो । स्नातक सकिने बेला छोरा अनिश जन्मिए । यिनै अनिश गिरीले चेसमा विश्वकै सबैभन्दा कान्छो जीएम (ग्रान्ड मास्टर) को कीर्तिमान बनाए ।

कान्छो ग्रान्ड मास्टरको नेपाल सम्बन्ध

चेस खेलाडीलाई दिइने सबैभन्दा ठूलो उपाधिमा उनको कीर्तिमान (१४ वर्ष ७ महिना २ दिन) तोडिसक्यो । तर चेस बोर्डमा उनको चाल भने बेजोड बन्दै गइरहेको छ ।

अभिभावकसँगै रुसबाट जापान हुँदै नेदरल्यान्ड्स पुगेका अनिश उतैका भइसकेका छन् । जुलाई २०१६ को अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) को वरीयतामा तेस्रो स्थानमा पुगेका उनी यो महिना (जुलाई २०२०) मा दसौंमा छन् । उनी विश्वकै शीर्ष र आकर्षक पुरस्कार रहेका प्रतियोगितामा प्रतिस्पर्धा गर्न कहिले कता, कहिले कता यात्रा गरिरहन्छन् । यस्तो उडानलाई गत मार्चयता कोरोना भाइरसको महामारीले रोकिदिएको छ । त्यसैले उनी द हेगस्थित आफ्नो घरमै बसेर अनलाइन प्रतिस्पर्धा गरिरहेका छन् । अरू बेला आफ्नो युट्युब च्यानलमा विभिन्न कार्यक्रम लिएर आइरहन्छन् । गत साता उनी सिमुल्टेनियस चेस (एकैपल्ट धेरै खेलाडीसँग प्रतिस्पर्धा गर्ने) मा नेपाली खेलाडीसँग भिडेका थिए । अनलाइन प्रदर्शनी खेलमै भए पनि चेस विश्वकै उत्कृष्ट खेलाडीसँग नेपालीले भेटेको यो सबैभन्दा ठूलो अवसर हो ।

अनिशलाई याद छ दुईपल्ट नेपाल आएको । भन्छन्, ‘पहिलोपल्ट तीन वर्षको हुँदा र पछिल्लोपल्ट १२ वर्षको थिए ।’ उनी अहिले २६ वर्षका भएका छन् । बुबाको मातृभूमिको यात्रा स्मरण गर्दै उनले अनलाइन वार्तामा भने, ‘पहिलोपल्ट नेपाल पुग्दा धेरै सानो थिएँ । बाआमासँग घुमघाममै बितेको सुनेको छु ।’ त्यो यात्रामा राष्ट्रिय निकुञ्ज पुगे पनि त्यो स्थल कुन हो भन्ने उनले बिर्सिसकेको बताए । काकाको विवाह केन्द्रित दोस्रो आगमन पारिवारिक जमघटमै बित्यो । उनले सम्झिए, ‘विवाह धेरै परम्परागत भएको थियो । आमा (ओल्गा) ले साडी लगाउनुभएको थियो । मैले के लगाएँ भन्नेचाहिँ बिर्सिएँ ।’

बुबा सञ्जयका अनुसार अनिश पहिलोपल्ट तीन महिना नेपाल बसेका थिए भने दोस्रोपल्ट एक महिना । सन् २००६ को यात्रामा विराटनगरस्थित शान्तिचोकमा केही साथी पनि बनाएका थिए उनले । ‘केही आउटडोर खेलहरू पनि खेलेका थिए,’ हाल प्रदेश १ को राजधानी बसाइबारे उनले भने, ‘ब्याडमिन्टन खेलेको थिएँ । एमेच्योर खेलाडीहरूसँग चेस पनि आउटडोर नै ।’

उनी सन् १९९४ मा रुसको सुन्दर सहर सेन्ट पिटर्सबर्गमा जन्मिएका हुन् । नेपाली बुबा । रसियन आमा । सात वर्षको छँदा जापान पुगे । १२ वर्षको भएपछि नेदरल्यान्ड्स सरे । त्यसयता उनी समुद्री सतहमुनिको देशमै बस्छन्, डच भइसकेका छन् र नेदरल्यान्ड्सकै प्रतिनिधित्व गर्दै खेल्छन् ।

बुबा स्कुले छँदा क्लब क्रिकेटमा टिमको कप्तान भएको उल्लेख गर्दै अनिशले सुनाए, ‘मैले भने कहिल्यै क्रिकेट खेलेको छैन ।’ उनी स्कुल पढ्दा भने चेसबाहेक टेबलटेनिस र फुटबल बढी खेल्थे । भन्छन्, ‘क्लबहरूलाई पछ्याउँदिनँ । तर देशका लागि फुटबलको विश्वकप र महादेशीय च्याम्पियनसिप (युरो कप) मन पर्छ ।’ रुस, नेपाल, जापान, नेदरल्यान्ड्समध्ये कुन देशलाई समर्थन गर्ने ? हाँसेर जवाफ दिए, ‘मलाई छनोट गर्नका लागि धेरै देश छन् । तर एउटालाई होइन, चारै देशलाई समर्थन गर्छु ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो वान–डे इन्टरनेसनल (ओडीआई) नेदरल्यान्ड्समै खेलेको थियो २०१८ अगस्टमा । डच टिमविरुद्ध पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा ऐतिहासिक सफलता हासिल गर्दै सिरिज १–१ को बराबरी गरेको थियो । आफ्नो नजिकको पिचमा भएको त्यो क्रिकेटको जानकारी उनले लिइरहेका थिए । ‘दुवै टिमलाई सपोर्ट गरिनँ, जानकारी भने लिइरहें,’ उनले भने, ‘मैले क्रिकेट हेरेको छैन तर अमेरिकामा बस्ने नेपाली साथी क्रिकेट क्रेजी छन् । उनैले मलाई अपडेट गरिरहन्छन् ।’

उनी जनवरी २०२० मा टाटा स्टिल मास्टर्समा प्रतिस्पर्धा गर्न कोलकाता आएका थिए । ‘त्यतिबेला नेपाल आउने चाहना थियो,’ अनिशले भने, ‘त्यसअघि र पछि लगातार प्रतियोगिता भएकाले निकै व्यस्त थिएँ । त्यसैले नजिक पुगेर पनि नेपाल आउन पाइनँ ।’

उनले थपे, ‘पहिलादेखि नेपाल आउने चाहना राख्छु । तर समय मिलिइरहेको छैन । प्रतियोगितामै व्यस्त भएकाले नमिलेको हो । यतिबेला कोरोना भाइरसले गाह्रो छ, अरू बेला प्रतियोगिताले । एक दिन अवश्यै नेपाल आउनेछु ।’

‘वन्स इन अ लाइफटाइम’

गत बिहीबार (१ साउन) भएको सिमुल्टेनियस अनलाइन चेसमा अनिशले एकै समयमा ३० जना नेपाली खेलाडीविरुद्ध प्रतिस्पर्धा गरे, जुन उनको युट्युब च्यानलबाट लाइभ गरिएको थियो । उनले तीन घण्टा ४८ मिनेटसम्म नेपाली खेलाडीसँग बोर्डमा प्रतिस्पर्धा गरे । २६ बोर्डको नतिजा उनकै पक्षमा गयो । एफएम (फिडे मास्टर) क्षितिजकुमार भण्डारी, अर्का एफएम रूपेश जैसवाल, समित पन्त र महेश थापाले भने अनिशसँग बराबरी गरे ।

प्रदर्शनी खेलको नतिजाले खासै महत्त्व राख्दैन । तर नेपाली चेसका लागि भने अनिशसँगको प्रतिस्पर्धाले धेरै अर्थ भने बोक्छ । नेपाल चेस संघका सचिव धरम लामा भन्छन्, ‘विश्व चेसकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् अनिश । उनलाई हामीले चेस ओलम्पियाडमा थुप्रैपल्ट भेटेका छौं । पहिलादेखि नै उनलाई नेपालमा ल्याउन प्रयासरत छौं । तर मौका मिलेको छैन । बुबा सञ्जयसँग अनुरोध गरेपछि अनिशसँग सिमुल्टेनियस अनलाइन चेसमा नेपालीले प्रतिस्पर्धा गर्ने अवसर जुरेको हो । अनिशबाट नेपाली खेलाडीलाई उत्साह र प्रेरणा मिल्छ । उनीसँग खेल्न पाउनु गर्वको कुरा हो, साथै नेपाली खेलाडी र नेपाली चेसको प्रवर्द्धन पनि ।’

अनिशले हालै एफएम उपाधि पाएका क्षितिजसँग बराबरीमा टुंग्याएको खेललाई लिएर भनेका थिए, ‘करिब करिब मैले हारिसकेको खेल हो । उनको समय कम भएकाले बराबरी भयो ।’ त्यस खेलबारे फिडे रेटिङ १९८४ का क्षितिजले भने, ‘विश्वकै शीर्ष दसका खेलाडीसँग यसरी खेल्न पाउनु भनेको ‘वन्स इन अ लाइफटाइम’ जस्तै हो । हाम्रा लागि एकदमै गर्विलो क्षण हो ।’ अनिश २७६४ फिडे रेटिङका खेलाडी हुन् । क्लासिकल रेटिङमा उनी २७९८ सम्म पुगेका थिए । फिडे रेटिङमा सबैभन्दा अगाडि रहेका नेपाली विवेक थिङ (२२२२) हुन् ।

विश्व चेसको सर्वोच्च संस्था फिडेले हरेक दुई वर्षमा आयोजना गर्ने चेस ओलम्पियाड देशको टिमले प्रतिस्पर्धा गर्ने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा सन् २०१० देखि अनिशले डच टिमबाट निरन्तर खेलिरहेका छन् । चेस ओलम्पियाडमा नेपाली टिम पनि सहभागी हुने गर्छ । त्यसैक्रममा क्षितिजले मोनालिसा खम्बू, भूपेन्द्र निरौला, सजिन महर्जन, सुजना लोहनीलगायतसँगै अनिशलाई बाकु, अजरबैजानमा २०१६ मा भएको ४२ औं चेस ओलम्पियाडमा भेटेका थिए । ‘हामीले चेसको स्तरबारे २–३ मिनेट कुरा पनि गरेका थियौं,’ त्यस भेटबारे क्षितिजले सुनाए, ‘उनलाई जता गए पनि सँगै फोटो खिच्न चाहनेहरूले घेरिहाल्छन् ।’

‘चेस ओलम्पियाडमा नेपाली खेलाडीसँग नियमित भेट भइरहेको हुन्छ,’ पछिल्लोपल्ट २०१८ मा बातुमी (जर्जिया) मा भएको ओलम्पियाड सम्झिँदै अनिशले भने, ‘नेपालका केही खेलाडीले धेरै राम्रो खेलेका थिए । प्रगति भइरहेको देखेको छु । जीएम उपाधि नेपालले चाँडै पाउने विश्वास छ ।’ नेपाली खेलाडी र विराटनगरका साथीहरूको सम्झना आइरहे पनि नाम भने बिर्सिएको अनिशले बताए, ‘नाम र स्थानबारे मेरो स्मरण शक्ति खराब छ । चेसको स्मरणमात्रै राम्रो छ ।’

फिडे रेटिङमा नेपालका शीर्ष १५ खेलाडी, राष्ट्रिय प्रतियोगितामा महिला र पुरुषका उत्कृष्ट तीन स्थानका खेलाडीहरू, अनलाइन च्याम्पियनसिप (यू–१८, यू–२० र ५० वर्षमाथि) का विजेता तथा पुरुषतर्फ उमेर समूह (यू–१०, यू–१२, यू–१४, यू–१६, यू–१८, यू–२०) का शीर्ष खेलाडीहरूले अनिशसँग सिमुल्टेनियस अनलाइन चेसमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । करिअर सुरु गर्दाका अनुभव सुनाउँदै अनिशले प्रतिस्पर्धा सुरु गरेका थिए । नेपाली खेलाडीहरूको चालको विश्लेषण पनि गरेका उनले अन्त्यतिर ‘ब्याकग्राउन्ड’ मा नेपाली संगीत बजाइरहेका थिए ।

नेपालको निम्ति च्यारिटी

अनिश बेलाबेला ‘च्यारिटी इभेन्ट’ मा पनि सहभागी हुन्छन् । पाँच वर्षअघिको महाभूकम्पका पीडितलाई सहयोग गर्न उनले चेस खेल्दै रकम संकलन गरी पठाएका थिए । उनले नेपालका ग्रामीण क्षेत्रमा स्कुलको भवन निर्माणका लागि पनि २–३ पल्ट चेस खेलेरै रकम जुटाएर डच संस्थामार्फत सहयोग गरेका थिए ।

‘नेपालको चेसमा सहयोग गर्न चाहन्छु,’ उनले भने, ‘चेस महँगो खेल होइन । एउटा बोर्ड र सामान्य गोटी भए खेल्न सकिन्छ । अहिले अनलाइनले चेस खेल्न झनै सजिलो बनाएको छ । राम्रो खेलाडी बन्न भने प्रशस्तै अभ्यास गर्नुपर्छ । कोरोनाको महामारीको यो बेला पनि नेपालमा अनलाइन चेस थुप्रै भए । जोनल (एसियन) प्रतियोगिता र ओलम्पियाड हेर्दा नेपालमा चेसको विकास र प्रगति भइरहेको देखेको छु । खेल्दाखेल्दै मसँग धेरै समय हुन्न । तर चेसमा नेपाललाई केही गर्न चाहन्छु ।’

रसियन, इंग्लिस, डच मस्त बोल्ने उनी नेपाली, जापानिज र जर्मन हल्का बुझ्छन् । उनको पुस्तक ‘माई जुनियर इयर्स इन चेस’ (२०१४) पनि नेपाल प्रसंग पढ्न पाइन्छ । बुबा सञ्जय सेन्ट पिटर्सबर्गको जीवन सम्झन्छन्, ‘अनिश सानैदेखि चेस राम्रो खेल्थे । घरमा आमा (ओल्गा) सँग खेल्थे । उनले ६ वर्षको छँदा आमालाई पराजित गरेपछि सातामा दुई दिन चेस स्कुलमा सिकाउन थालेका थियौं ।’ सञ्‍जय–ओल्गाका दुई छोरी पनि छन् । जर्जियाली सोपिको गुरामिसभिलसँग ५ वर्षअघि विवाह गरेका अनिशका छोरा डानियल पनि छन् । सोपिको आफैं पनि महिला ग्रान्ड मास्टर हुन् ।

सञ्जयले सिभिल इन्जिनियरिङ सकेपछि ५ वर्ष पिटर्सबर्गमै काम गरे । हाइड्रोपावरमा स्नातकोत्तर गरे । यसबीच सोभियत संघ पनि विघटन भयो । उनी जलस्रोत र नदी विज्ञानमा पीएचडी गर्न जापानको होक्काइडो विश्वविद्यालय गए । जहाँ अनिश ८ वर्षको छँदै होक्काइडो (सापोरो) च्याम्पियन भए । त्यतिबेलै अनिश अनलाइन चेस खेल्थे/सिक्थे । नेदरल्यान्ड्स पुगेपछि अनिशले चेसका ठूला प्रतियोगितामा मौका पाउन थाले । त्यहाँ एक वर्षभित्रै उनी ग्रान्ड मास्टर बने, त्यो पनि विश्व कीर्तिमानसहित ।

खेलाडीले विश्व चेस महासंघको मापदण्ड पूरा गरेपछि फिडे मास्टर (एफएम), इन्टरनेसनल मास्टर (आईएम) र ग्रान्ड मास्टर (जीएम) उपाधि पाउँछन् । यसमा सबैभन्दा महत्त्वपूर्ण ग्रान्ड मास्टर हो । हालसम्म नेपालका सात खेलाडी एफएम भएका छन् । अनिशलाई भने ग्रान्ड मास्टरको उपाधि हासिल गर्न एफएमपछि आईएम हुनै परेन, सिधै ‘जम्प’ गरे । सन् २००८ मा नेदरल्यान्ड्स पुगेका उनी चारपल्ट डच च्याम्पियन भए । यसबीच उनले जीएम भ्लादिमिर चुचेलोभ (२००९–२०१२) र जीएम भ्लादिमिर तुक्माकोभ (२०१३ र २०१६) सँग ट्रेनिङ गरेका थिए ।

लक्ष्य विश्व विजेता

अहिलेका वर्ल्ड चेस च्याम्पियनसिपका विजेता हुन्, म्याग्नस कार्लसेन । नर्वेका यी २८६३ रेटिङका जीएम सन् २०१३ मा पाँचपल्टका च्याम्पियन भारतका विश्वनाथन आनन्दलाई पराजित गर्दै विश्व विजेता बनेका थिए । त्यसयता उनले उपाधि जोगाइरहेका छन् ।

चेसमा विश्व च्याम्पियनलाई पराजित गरेमात्रै अर्को नयाँ विजेता निस्कन्छन् । विश्व च्याम्पियनलाई चुनौती दिने खेलाडीको छनोटमा फिडेले बेग्लै प्रतियोगिता (क्यान्डिडेट्स टुर्नामेन्ट) गर्दै आएको छ, जसको विजेताले विश्व च्याम्पियनविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्न पाउँछन् । यही क्यान्डिडेट्स टुर्नामेन्टसम्म पुगिसकेका छन् अनिश । उनले क्यान्डिडेट्स टुर्नामेन्टको डेब्यू (२०१६) मा सबै (१४) खेल बराबरी गरेका थिए । उनी २०१८ को छनोटमा पुग्न सकेनन् । फेरि फर्किए २०२० मा ।

क्यान्डिडेट्स २०२० रुसमा आठ खेलाडीबीच भइरहेको बेला ठीक आधा (सात चरण) समाप्तिपछि गत मार्चमा फिडेले कोभिड–१९ को कारण स्थगित गर्‍यो । बाँकी सात चरण यो वर्ष (२०२०) को अन्त्यतिर हुने अनुमान गरिएको छ । यससम्म अनिश ३.५ अंक जोड्दै चिनियाँ जीएम हाओ वाङसँगै संयुक्त चौथोमा छन् । र, यो शीर्ष खेलाडीभन्दा १ अंक पछाडि हो । ‘हाल क्याडिडेट्स टुर्नामेन्ट खेल्दैछु र यसमा सफल भइयो भने विश्व च्याम्पियनविरुद्ध प्रतिस्पर्धा गर्न पाइन्छ,’ अनिशले आफ्नो योजना सुनाए, ‘म यसैको प्रतीक्षामा छु, तयारीमा छु । विश्व च्याम्पियन बन्न चाहन्छु ।’

धेरैजसो ‘क्वीन्स ग्याम्बिट डिक्लिन’ ओपनिङ गर्ने अनिश ग्रान्ड मास्टरहरूको उच्च प्रतियोगितामै व्यस्त हुन्छन् । उनले सेन्जेन मास्टर्स, रिकजाभिक ओपन, रेजियो एमिलालगायत विश्व चेसका ठूला उपाधि कब्जा गरिसकेका छन् । टाटा स्टिल मास्टर्स २०१८ मा कार्लसेनसँगै पहिलो स्थानमा रहेका अनिश लन्डन चेस क्लासिक २०१५ को उपाधि होडमा जीएम म्याक्सिम भेचर–लाग्रेभसँग प्लेअफमा चुकेका थिए । हाल विश्व वरीयताको दसौं स्थानमा रहेका अनिशको विश्वविजेता बन्ने चाहना असम्भव देखिँदैन । किनभने उनले चारपल्टका विश्वविजेता कार्लसेनलाई पनि हार चखाइसकेका छन् ।

अनिशले कार्लसेनविरुद्ध ४२ खेलमा ५ जित, २७ बराबरी र १० हार खेलेका छन् । कार्लसेन पनि अनिशलाई एउटा कठिन प्रतिस्पर्धी मान्छन् । अनिशले गत अप्रिलमा २ लाख ५० हजार डलर पुरस्कारको अनलाइन प्रतियोगिता ‘कार्लसेन आमन्त्रण’ को पाँचौं चरणमा कार्लसेनलाई पराजित गरेका थिए । ‘यस्तो जितलाई सधैं कल्पना गर्न सकिँदैन,’ उनले भने । ५ जुलाईमा सम्पन्न अर्को अनलाइन प्रतियोगिता चेजेबल मास्टर्सको ‘ड्रिम फाइनल’ मा भने कार्लसेनले अनिशसँग बदला लिए । ४५ हजार डलरको खेलमा कार्लसेन डिफेन्सिभ भइसकेको अवस्थामा अनिशले एउटा सामान्य गल्तीको मूल्य चुकाउनुपर्‍यो । त्यसमा कार्लसेनलाई विश्लेषकहरूले भाग्यमानी भनेका छन् ।

प्रकाशित : श्रावण ७, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?