झापा-११ ले आफ्नै एकेडेमी चलाउने

‘क्लबसँग पैसा छैन । समर्थक र दाताहरुबाट सहयोग जुटाएर एकेडेमी सञ्चालनमा ल्याउन लागेका हौं’
अर्जुन राजवंशी

बिर्तामोड — मोफसलको चर्चित फुटबल क्लब झापा–११ ले आफ्नै प्रशिक्षण प्रतिष्ठान एकेडेमी सञ्चालन गर्ने भएको छ ।क्लबले एकेडेमी सञ्चालनका लागि प्रक्रिया सुरु गरिसकेको छ । प्राविधिक, प्रशिक्षक, खेलाडी एवं सरोकारवाला पक्षसँग आवश्यक छलफलपछि एकेडेमी सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

झापा-११ ले आफ्नै एकेडेमी चलाउने

नेपाली फुटबलमा झापाको उपस्थिति थप मजबुत बनाउन एकेडेमी अनिवार्य आवश्यक भएको गुरुङको भनाइ छ । पहिलो वर्ष एकेडेमीका लागि पूर्वाधार निर्माणको काम अघि बढाउने उनले बताए । औपचारिक निर्णय भइसकेकाले एकेडेमीका लागि उपयुक्त हुनेगरी डेढ बिघा जमिनको खोजी कार्य भइरहेको शनिबार क्लबले पत्रकार सम्मेलन गरी जानकारी दियो ।

एकेडेमी सुरु गर्न कम्तीमा ५ करोड रुपैयाँ आवश्यक पर्ने गुरुङको भनाइ छ । ‘क्लबसँग पैसा छैन । समर्थक र दाताहरूबाट सहयोग जुटाएर एकेडेमी सञ्चालनमा ल्याउन लागेका हौं,’ उनले भने । एकेडेमीका लागि कम्तीमा ५ वटा खेल मैदान, भवन, घेराबारालगायतका पूर्वाधार निर्माण गर्नुपर्नेछ । एकेडेमीका खेल मैदान अन्तर्राष्ट्रिय मापदण्डका हुने गुरुङले दाबी गरे । एकेडेमीमा प्रशिक्षकद्वय प्रवेश कटुवाल र झापा-११ फुटबल क्लबले आफ्नो छुट्टै एकेडेमी सञ्चालन गर्नेबारे शनिबार जानकारी गराउँदै क्लबका अध्यक्ष जलकुमार गुरुङ (उभिएका) ।

युगलकिशोर राईले प्रशिक्षण दिने छन् । उनीहरूलाई झापा–११ का खेलाडी कर्ण लिम्बू, दिलेन लोक्तामलगायतले सहयोग गर्ने छन् ।

‘नेपाली फुटबलमा झापाको जुन पहिचान र नाम छ । त्यसलाई परिष्कृत र थप उचाइमा पुर्‍याउन चाहन्छौं,’ प्रशिक्षक युगलकिशोर राईले भने, ‘नेपालमा अहिले भइरहेको फुटबल खेलको संरचना परिवर्तन गर्न जरुरी छ । हामी त्यो परिवर्तन एकेडेमीमार्फत नयाँ खेलाडी उत्पादन गरेर गर्ने कोसिसमा छौं ।’ उनले एकेडेमीबिना उत्कृष्ट खेलाडी उत्पादन गर्न नसकिने जिकिर गरे । झापा ११ लाई एउटा स्थापित क्लबका रूपमा अघि बढाउन पनि खेलाडी उत्पादन गर्न जरुरी रहेको उनको भनाइ छ । ‘फुटबल खेल्ने मात्र होइन । हाम्रो टिमको छुट्टै अस्तित्व बनाउन चाहन्छौं,’ राईले भने ।

प्रशिक्षक प्रवेश कटुवालले एकेडेमी सञ्चालन भएपछि झापा–११ को फुटबल थप मजबुत हुने दाबी गरे । ‘हाम्रो एकेडेमी निजी हुन्छ । हामी स्वयं खेलाडी उत्पादन गर्छौं खेल्छौं र नयाँ नयाँ रणनीति बनाएर अघि बढ्छौं । यसले नेपालको फुटबल विकासमा झापा–११ को छुट्टै स्थान र महत्त्व स्थापित गराउँछ,’ उनले भने । उनले झापामा प्राविधिक, प्रशिक्षक, खेलाडी, समर्थक एवं सहयोगदाताको कमी नभएकाले एकेडेमी सञ्चालनमा कुनै समस्या नहुने विश्वास व्यक्त गरे । झापा–११ सँग सिनियर र जुनियर गरी दुइटा फुटबल टिम छन् । सिनियर टिमले राष्ट्रिय लिगसमेत खेलिसकेको छ भने जुनियर टिम ‘सी’ डिभिजन खेल्ने तयारीमा छ ।

मैदान स्तरोन्नति गरिँदै

मध्यबर्खामा झापा–११ ले आफ्नो ‘होम ग्राउन्ड’ को स्तरोन्नति गर्ने कार्य सुरु गरेको छ । बिर्तामोड नगरपालिका–३ बिर्ता बजारस्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि स्तरोन्नतिको काम सुरु गरेको हो । क्लबले महिला कामदार लगाएर रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्न थालेको छ । हतार नगरी मिहिनेतका साथ महिला कामदारमार्फत साउन महिनाभर लगाएर रंगशालाको झार उखेल्ने क्लबका अध्यक्ष एवं रंगशाला संरक्षण समितिका संयोजक जलकुमार गुरुङले बताए । उनले भने, ‘भदौदेखि खेल मैदानलाई चाहिने ‘चेप्टे’ घाँस रोप्ने काम सुरु गर्छौं ।’

लकडाउनलगायत कारणले केही महिनादेखि रंगशालाको रेखदेख गर्न नसक्दा अनावश्यक झार आएको उनले बताए । नयाँ सिजनमा मैदान तयार हुने गरी स्तरोन्नतिको काम बेलैमा सुरु गरेको उनको भनाइ छ । ‘गोल्डकप हुने बेलामा हतारहतार गरेर रंगशाला बनाउने चलन हटाउन समय छँदैदेखि स्तरोन्नतिको काम सुरु गरेका हौं,’ उनले भने । रंगशालामा अनावश्यक झार उखेल्ने, नयाँ घाँस लगाउने, दुइटा डिभिटल गेट निर्माण गर्ने, आवश्यक लाइट जडान गर्ने र घेराबारालाई थप बलियो बनाउने काम सुरु गरेको उनले बताए ।

रंगशाला स्तरोन्नतिमा बिर्तामोड ३ नम्बर वडा कार्यालयले ५ लाख सहयोग गरेको छ । अध्यक्ष गुरुङले डोमालाल राजवंशी रंगशाला संरक्षणमा ३ नम्बर वडाबाहेक बिर्तामोड नगरपालिकाले कुनै सहयोग नगरेको आरोप लगाए । वडाध्यक्ष भोजराज सिटौलाले झापाकै गौरवका रूपमा रहेको डोमालाल रंगशाला मर्मत एवं स्तरोन्नतिमा नगरपालिकाले चासो नदिनु दुःखद भएको टिप्पणी गरे ।

प्रकाशित : श्रावण ४, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?