कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

घरमा रियल ‘राजा’

कारोना भाइरस संक्रमणको महामारीपछि फेरि सुरू भएको लिगमा रियलको प्रदर्शन ठोस, सुदृढ र परिपक्व सबै रह्यो । त्यसैले रियल खेलेका सबै १० खेलमध्ये १० मै विजयी रह्यो । यी खेलको कुनै पनि अवसरमा रियल पछाडि पर्नुपरेको स्थिति बनेन ।
द गार्डियन

म्याड्रिड — प्रशिक्षक जिनेदिन जिदान खुलेरै भन्थे, यसपल्ट रियल म्याड्रिडको मुख्य उद्देश्य हो, ला लिगा जित्नु । घरेलु लिगको उपाधि उनका यसपल्ट युरोपेली च्याम्पियन्स लिगभन्दा बढीको महत्त्वको थियो । भलै त्यही च्याम्पियन्स लिगमा प्राप्त सफलताका लागि रियललाई सम्झिने गरिन्छ ।

घरमा रियल ‘राजा’

तर अब रियलले वास्तविकतामै घरेलु लिग जितेको छ । लिगमा एक चरणको खेल बाँकी छँदा भिल्लारियलमाथि प्राप्त जित लिग उपाधि दिलाउन पर्याप्त थियो ।

करिम बेन्जेमाले त्यसमा दुई गोल गरे । त्यसमध्ये एक गोल त पेनाल्टीबाट थियो । सर्जियो रामोसले सुरुमा त्यही पेनाल्टीबाट सिधै प्रहार नगरेर बेन्जेमालाई पास दिए । पछि त्यसलाई रेफ्री मान्यता नदिएपछि बेन्जेमा आफैंले प्रहार गरेका थिए । पछिल्लो १२ वर्षमा रियलले स्पेनिस लिग जितेको यो तेस्रोपल्ट मात्रै हो । यसैले पनि यसको महत्त्व बढेको छ । लगातार तीनपल्ट च्याम्पियन्स लिग जित्दाका प्रशिक्षक जिदानले यसपल्ट लिगबारेको सोचमा परिवर्तन ल्याए ।

यसले अन्त्य गरेको छ, स्पेनिस घरेलु फुटबलमा बार्सिलोनाको प्रभुत्व पनि । यसपल्ट लिगमा प्राप्त सफलता खासमा बेर्नाबेउमा प्राप्त भएको थिएन । टिमको अभ्यास मैदानमा चुलिएको सफलता रह्यो, त्यो पनि जम्माजम्मी तीन सय जनाको सानो हूलमा । अझ रियलले आफ्ना समर्थकलाई पारम्परिक रूपमा म्याड्रिडको मुख्य चोकमा जम्मा भएर खुसियाली नमनाउन भनेको छ । तर जसरी कप्तान रामोसले दोस्रो अवसरमा पेनाल्टी प्रहार गर्न बेन्जेमालाई नै मौका दिए, त्यसले देखाउँछ रियल यसपल्ट एकजुट छ अनि गम्भीर ।

खेलपछि फ्रान्सेली प्रशिक्षक जिदानले भनेका छन्, ‘च्याम्पियन्स लिग भनेको च्याम्पियन्स लिग नै हो तर यसपल्ट हामीलाई ला लिगाले खुसी दिएको छ । यसपल्ट हाम्रो उद्देश्य यही लिग जित्नु थियो । खेलाडीले यो कामका लागि निकै कडा मिहिनेत गरेका छन् । मैले यो सफलताको शब्दमा व्याख्या गर्न सकिरहेको छैन किनभने म निकै भावुक भएको छु ।’ रियलले जिदानको नेतृत्वमा पछिल्ला चार वर्षमा ला लिगा जितेको यो दोस्रोपल्ट हो ।

कप्तान सर्जियो रामोस ट्रफी चुम्दै ।तस्बिर : रोयटर्स

कारोना भाइरस संक्रमणको महामारीपछि फेरि सुरु भएको लिगमा रियलको प्रदर्शन ठोस, सुदृढ र परिपक्व सबै रह्यो । त्यसैले रियलले खेलेका सबै १० खेलमध्ये १० मै विजयी रह्यो । यी खेलको कुनै पनि अवसरमा रियल पछाडि पर्नुपरेको स्थिति बनेन । एक प्रकारले लिग संक्षिप्त लिगमा परिणत भएको थियो र यसले रियललाई अन्ततः फाइदा पनि गर्‍यो । लिगको दोस्रो अन्तिम चरणका सबै खेल एकै समय भएका थिए, त्यसमा निकट प्रतिद्वन्द्वी बार्सिलोना हार्नुले रियलको यो सफलता अझ स्वादिलो बनेको छ ।

यसपल्ट रियलका लागि निर्णायक साबित खेलाडी बेन्जेमा रहे र विशेषतः लिग फेरि सुरु भएयता उनी कति धेरै छाएका थिए भन्नेको सबैभन्दा राम्रो उदाहरण त भिल्लारियलविरुद्ध उनका दुई गोल नै रहे । उनले पूरा लिगमा गरेको गोल संख्या २१ पुगेको छ । यी सबै गोल फरक–फरक १७ खेलमा मिलेको सफलता हो । रियल यो खेलमा जिततर्फ अग्रसर भइरहँदा भने नोउ क्याम्प सुनसानजस्तै थियो । बार्सिलोना हारतर्फ अग्रसर थियो, जसले क्लबका सबैलाई निराश मात्र पार्‍यो ।

बार्सिलोनाकै चर्को आलोचक मेसी

जतिबेला डिफेन्डिङ च्याम्पियनका रूपमा बार्सिलोनाले त्यो हैसियत गुमाएको थियो, क्लबको सबैभन्दा चर्को आलोचक भएर निस्केका छन्, लियोनल मेसी । ओसासुनाविरुद्ध बेहोरेको हारमा उनी आफैं स्तब्ध थिए । उनलाई यो तथ्य स्विकार्न पटक्कै गाह्रो भएन, बार्सिलोना त कमजोर मात्र छैन, खेल्नै बिर्सेको स्थितिमा पुगेको छ । ओसासुनाविरुद्धको हारमा बार्सिलानोका लागि मेसीले एक गोल पनि गरे । त्यो फ्रि–किकमा सम्भव सुन्दर गोल थियो ।

तर त्यसको खासै अर्थ भएन । बार्सिलोना १० खेलाडीमा सीमित ओसासुनाविरुद्ध हार आत्मसात् गर्न बाध्य रह्यो । त्यसैले खेलपछि मेसीका सबै रिस पोखिएका थिए । मेसीले भने, ‘आजको खेलमा हामीले जसरी खेल्यौं र हार बेहोर्‍यौं, त्यसले पूरा सिजन हाम्रो प्रदर्शन कस्तो रह्यो भनेर देखाउँछ । नोउ क्याम्पमा खेल सकिँदा खेलाडी मात्र होइन, पूरा रंगशाला नै चुपचाप शान्त देखिएको थियो । मेसीले रिसको कारण टिमको खराब प्रदर्शनसँगै रियलको सफलता पनि थियो ।

उनले भने, ‘रियलले लिग सुरु भएयताका सबै खेल जित्न सफल रह्यो । यो उसको राम्रो प्रदर्शन हो । तर हामीले पनि रियललाई लिग जित्न सहयोग गरेका छौं । हामीले जसरी खेल्यौं, त्यसको आलोचना आवश्यक छ, विश्लेषण गर्नु जरुरी छ । यो आलोचना खेलाडीबाट सुरु हुनुपर्छ र पूरा क्लबको माथिल्लो तहसम्म नै पुग्नुपर्छ । धेरैले भन्ने गर्छन्, रियलले राम्रो खेलेर लिग जित्यो तर मेरो दृष्टिकोणले हामीले किन हार्‍यौं भने हामीले राम्रो खेल्न सकेनौं ।’

मेसीले अगाडि थपे, ‘हामी सबैको अनुभव के हो भने खेलाडीले प्रयास गरेको नै हो । तर यत्तिको मिहिनेतले पनि पुगेन । आजकै खेलमा पनि ओसासुनाविरुद्ध हामीले सक्दौ खेल्यौं तर राम्रो गर्न सकेनौं । यो नै पूरा सिजनको कथा हो । हामीले आफ्नो प्रतिद्वन्द्वीलाई पनि सम्मान गर्नुपर्छ ।’

रियलको जित र बार्सिलोनाको हारले सबैभन्दा बढी दबाब भने प्रशिक्षक क्विक सेटिनलाई भएको छ । त्यही बुझेर मेसीले थपेका छन्, ‘अबको केही दिनमा राम्रो गर्ने हो भने ठूलै परिवर्तन चाहिन्छ ।’

प्रकाशित : श्रावण ३, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?