३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रुट फर्कनु ‘इंग्लिस टिमलाई प्रेरणा’

एजेन्सी

लन्डन — इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट बिहीबार ओल्ड ट्राफोर्डमा सुरु हुँदैछ । त्यसमा कप्तान जो रुटको फर्काइ इंग्ल्यान्डका लागि प्रेरणा हुन सक्नेछ ।

रुट फर्कनु ‘इंग्लिस टिमलाई प्रेरणा’

इंग्लिस टिमका प्रमुख ब्याट्सम्यान रुटले साउथह्याम्पटनमा भएको पहिलो टेस्ट खेलेका थिएनन् । त्यसमा वेस्ट इन्डिज ४ विकेटले विजयी भयो । आफ्नो दोस्रो सन्तानको जन्मका कारण रुट त्यस टेस्टमा अनुपस्थिति रहेका थिए । उनको स्थानमा बेन स्टोक्सले टिमको नेतृत्व गरेका थिए ।

रुट फेरि टिममा फर्किसकेका छन् र अभ्यासमा व्यस्त छन् । उनी त्यतिबेला टिममा आइपुगेका छन्, जतिबेला वेस्ट इन्डिज ३२ वर्षयता पहिलोपल्ट इंग्लिस भूमिमा टेस्ट शृंखला जित्ने संघारमा छ । सिरिजका बाँकी दुई खेलमध्ये एकमा जित निकाले पाहुना टिमले यो दुर्लभ उपलब्धि चुम्नेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण बन्द रंगशालामा चलिरहेको शृंखलाको यो स्थिति इंग्ल्यान्ड र रुट दुवैका लागि नयाँ भने होइन । इंग्ल्यान्डले पछिल्ला १० टेस्ट सिरिजमध्ये आठमा पहिलो खेल गुमाएको छ । सन् २०१७/२०१८ को अस्ट्रेलियाविरुद्धको एसेज सिरिजदेखि यो क्रम जारी छ । पछिल्लोपल्ट दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्ट गुमाए पनि इंग्ल्यान्डले शृंखला ३–१ ले जितेको थियो । तर वेस्ट इन्डिजविरुद्धको सिरिजमा दुई खेलमात्र बाँकीको स्थितिमा इंल्यान्डसामु भूल गर्ने विकल्प धेरै कममात्र हुनेछ । सम्भवतः रुटका लागि जोए डेनलीले स्थान छाड्ने छन् । साउथह्याम्पटनमा दुवै अवसरमा प्रमुख ब्याट्सम्यान डेनली सस्तोमै आउट भएका थिए । यसले इंग्ल्यान्ड दबाबमा आएको थियो ।

इंग्ल्यान्डको दोस्रो इनिङ्समा अर्का ब्याट्सम्यान ज्याक क्रावलीले ७६ रन बनाए पनि टिमले ३० रनमा ५ विकेट गुमाएपछि हार सामना गर्न बाध्य भएको थियो । इंग्ल्यान्डले त्यस खेलमा अनुभवी पेसम्यान स्टुवार्ट ब्रोडलाई खेलाएको थिएन र यो निर्णय विवादास्पद साबित भयो । इंग्लिस टिमका प्रशिक्षक क्रिस सिल्भरउडले भनेका छन्, ‘हामी डेनलीले राम्रो गरेको हेर्न चाहन्छौं, तर उनी पहिलो टेस्टमा निकै आत्तिएको देखिए । क्रावलीको खेलमा भने धेरै सुधार आएको छ ।’

इंग्लिस विकेटकिपर जोस बटलरले वेस्ट इन्डिज ब्याट्सम्यान जेरेमी ब्ल्याकउडको क्याच छाडेका थिए र तिनै ब्याट्सम्यानले पहिलो टेस्टको पाँचौं तथा अन्तिम दिन निर्णायक साबित ९५ रन बनाए । बटलरले ब्याटबाट पनि राम्रो गर्न सकिरहेका छैनन् । सन् २०१८ यता उनले २३.२२ को औसतले मात्र रन बनाइरहेका छन् । उनले आफ्नो ७५ टेस्ट इनिङ्समा एकै शतकमात्र बनाउन सकेका छन् । तर इंग्ल्यान्ड टिम अझै बटलरलाई मौका दिने पक्षमा छ ।

त्यसैले अर्का विकेटकिपर बेन फोक्सले अझै कुर्नुपर्नेछ । सिल्भरउडले भनेका छन्, ‘हामी बटलरलाई थप मौका दिने पक्षमा छौं र उनी सफल भएको हेर्न चाहन्छौं । उनीमाथि पक्कै पनि ठूलो स्कोर खडा गर्ने दबाब छन् । उनी आफैंलाई पनि यो स्थितिबारे राम्रोसँग जानकारी छ ।’ अबका सात सातामा इंग्ल्यान्डले ६ टेस्ट खेल्दै छ । अबको शृंखला पाकिस्तानविरुद्ध छ । त्यसैले इंग्ल्यान्डले आफ्नो टिममा खेलाडी परिवर्तन गर्दै खेलाउने भनिसकेको छ ।

पहिलो टेस्टको जितमा सेनन ग्याब्रियलले ९ विकेट लिए र उनी म्यान द म्याच पनि भए । उनलाई कप्तान जेसन होल्डरले पनि बलिङमा राम्रो साथ दिएका थिए । वेस्ट इन्डिज प्रशिक्षक फिल सिमोन्स दोस्रो टेस्टअघि उत्साही छन् । उनी यसमा पनि आफ्नो टिमले राम्रो गर्नेमा विश्वस्त देखिएका छन् । प्रशिक्षक सिमोन्स मान्छन्, ओल्ड ट्राफोर्ड आफ्नो टिमका लागि घरेलु मैदानजस्तै हो । किनभने इंग्ल्यान्ड आएयता क्वारेन्टाइनको समयसँग अधिकांश अवधि वेस्ट इन्डिजले यसै मैदान र यसको छेउका होटलमा बिताएको छ ।

पहिलो टेस्टमा जितनिम्ति २ सय रन पछ्याइरहेको वेस्ट इन्डिज एक समय २७–३ को स्थितिमा थियो । प्रारम्भिक ब्याट्सम्यान जोन क्याम्पबेल रिटायर्ड हर्ट भइसकेका थिए । यही स्थितिमा ब्ल्याकउडले आफ्नो खेलजीवनकै एक महत्त्वपूर्ण इनिङ्स खेले । उनी आफ्नो टेस्ट शतकबाट ५ रनले मात्र चुके । उनले दोस्रो टेस्ट सुरु हुने संघारमा इंग्ल्यान्डलाई दबाबमा राख्ने रणनीतिअनुसार भनेका छन्, ‘क्रिजमा हुने बेला मेरो ध्यान रन बनाउनुमात्र हुने गर्छ ।’

प्रकाशित : श्रावण १, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?