प्रदेश १ मा सागका पदकधारी पुरस्कृत : ८८ खेलाडीलाई ८० लाख पुरस्कार

देवनारायण साह

मोरङ — प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई बुधबार पुरस्कृत गरेको छ । सागमा ९८ पदक जितेका प्रदेश १ का ८८ खेलाडीलाई प्रदेश सरकारले कुल ८० लाख रुपैयाँबाट पुरस्कृत गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई पुरस्कृत गरे ।

प्रदेश १ मा सागका पदकधारी पुरस्कृत : ८८ खेलाडीलाई ८० लाख पुरस्कार

एकलतर्फ स्वर्ण विजेतालाई ३ लाख, रजत विजेतालाई २ लाख र कांस्य विजेतालाई १ लाख, डबल्स र टिमतर्फ खेलाडी संख्याका आधारमा स्वर्ण जित्नेलाई १ लाख र ७५ हजार ५ सय, रजत जित्नेलाई १ लाख र ६० हजार तथा कांस्य जित्नेलाई ५० हजार र ४१ हजारका दरले वितरण गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले जानकारी गराए ।

एकलतर्फ स्वर्ण विजेताले १८ लाख, रजत विजेताले ८ लाख र कांस्य विजेताले १० लाख गरी कुल ३६ लाख पाएका छन् । डबल्स र टिमतर्फ स्वर्ण विजेता १५ जनाले १२ लाख ३० हजार ५ सय, रजत विजेता २२ जनाले १३ लाख ६२ हजार ५ सय र कांस्य विजेता ४१ जनाले १८ लाख ७ हजार गरी ४४ लाख पाएका हुन् ।

एकलतर्फ स्वर्ण विजेता जुडोमा झापाकी देविका खड्का, तेक्वान्दोमा सुनसरीकी सिना मादेन लिम्बु र मोरङका भूपेन श्रेष्ठ, करातेमा उदयपुरकी अनुपमा मगर, उसुमा इलामकी जुनी राई र साइक्लिङमा सोलुखुम्बुका राजेश मगरले ३–३ लाख प्राप्त गरे ।

रजत विजेता जुडोमा पाँचथरकी मनिता श्रेष्ठ प्रधान र धनकुटाकी विनिता मगर, तेक्वान्दोमा भोजपुरकी अप्सरा कार्की र साइक्लिङमा संखुवासभाका राजीव राईले २–२ लाख पाए । कांस्य विजेता तेक्वान्दोमा खोटाङकी युनिशा राई, लन टेनिसमा मोरङकी प्रेरणा कोइराला, ब्याडमिन्टनमा भोजपुरका रत्नजित तामाङ, भारोत्तोलनमा उदयपुरकी संगीता राई र झापाकी राजलक्ष्मी थापा, बक्सिङमा झापाका अर्जुन सिगु, उसुमा मोरङका अशोक खालिङ र धनकुटाका चित्रसिंह ठकुरी, गल्फमा सुनसरीका शुक्रबहादुर राई र एथलेटिक्समा ओखलढुंगाका टंक कार्कीले १–१ लाख प्राप्त गरे ।

डबल्स र टिमतर्फ स्वर्ण विजेता तेक्वान्दोमा भोजपुरकी स्वस्तिका तामाङ, सुनसरीका नीता गुरुङ र सुशीला राई र करातेमा उदयपुरकी संगीता मगरले १–१ लाख र गल्फमा सुनसरीका शुक्रबहादुर राई, नीरज तामाङ र टंकबहादुर कार्की तथा फुटबलमा कप्तान धनकुटाका सुजल श्रेष्ठ, मोरङका विकास खवास र मिक्चेन तामाङ, झापाका अनन्त तामाङ र रेजिन सुब्बा, इलामका छिरिङ गुरुङ र सुनसरीका हेमन्त थापामगरले ७५ हजार ५ सयका दरले पुरस्कार थापे । टिमतर्फ रजत विजेता महिला फुटबलका ८ खेलाडी, महिला ह्यान्डबलका ७, महिला कबड्डीका २, महिला भलिबलका १, महिला बास्केटबलका २ जनाले ६० हजारका दरले पाउँदा महिला फेन्सिङमा झापाकी कमला श्रेष्ठले ६२ हजार ५ सय र आर्चरीमा खोटाङकी इमायुम राईले १ लाख पुरस्कार पाए ।

यस्तै, कांस्य विजेता पुरुष क्रिकेटमा मोरङका ललितनारायण राजवंशी, जुडोमा ३ जना, महिला क्रिकेटमा ६ जना, पुरुष खोखोमा १, टेनिसमा २, पुरुष बास्केटबलमा १, महिला र पुरुष ब्याडमिन्टनमा ४ पुरुष र ८ महिला, महिला टेबलटेनिसमा १ जनालाई ४१ हजारका दरले, तेक्वान्दोमा २, आर्चरीमा २, बीच भलिबलमा १, टेनिसमा ३, महिला बास्केटबलमा २, मिक्स डबल्स ब्याडमिन्टनमा २, गल्फमा १ र करातेमा १ जनालाई ५० हजारका दरले पुरस्कार पाए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले यस प्रदेशमा खेलकुद क्षेत्रलाई कहिले पनि छायामा र राजनीतिक प्रभावमा पर्न नदिने प्रतिबद्धता जनाए । उनले प्रदेश १ लाई खेलकुदको हब बनाउन प्रदेश सरकार सदैव तत्पर रहने बताए । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २ सय ६ पदक जितेको थियो । संघीय सरकारले स्वर्ण विजेतालाई ९, रजतलाई ६ र कांस्य विजेतालाई ३ लाखका दरले पुरस्कार प्रदान गरिसकेको छ ।

प्रकाशित : श्रावण १, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?