१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शूरवीरको नेतृत्वमा ओलम्पियाड टिम

काठमाडौँ — नेपाल बुद्धिचाल संघले साउन ७ देखि १५ गतेसम्म हुने अनलाइन टिम चेस ओलम्पियाडका लागि पूर्वनेपाल च्याम्पियन शूरवीर लामाको नेतृत्वमा १३ सदस्यीय टिम घोषणा गरेको छ ।

शूरवीरको नेतृत्वमा ओलम्पियाड टिम

टिममा नेपालका शीर्ष वरीयताका खेलाडी विवेक लामा, नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, महिलातर्फ राष्ट्रिय च्याम्पियन सुजना लोहनी, शीर्ष वरीयताकी रन्जु भट्ट, फिडे मास्टर मनीष हमाल, रूपेश जैसवाल, मिलन लामा, युवराज पौडेल छन् । अन्य खेलाडीमा सिन्दिरा जोशी, शान्ति धिमाल, अनिशा न्यौपाने र स्नेहा यादव छन् । विश्वका १ सय ८८ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा प्रत्येक टिममा ३ पुरुष र ३ महिलाको टिम हुनेछन् । ६ वैकल्पिक खेलाडी हुनेछन् ।

तीन चरणमा सम्पन्न हुने खेलमा पहिलो चरणमा विभिन्न देशलाई पाँच समूहमा विभाजन गरी अन्तिम १६ का लागि दुई टिम छनोट गरिनेछ । बाँकी ६ वटा टिम प्लेअफको माध्यमबाट छनोट हुनेछ । कोरोना महामारी नभएको भए चेस ओलम्पियाड रुसमा हुने तय थियो ।

नेपालीले अनिशसँग खेल्ने

यसैबीच नेपालका बुद्धिचाल खेलाडीले विश्व वरीयतामा उत्कृष्ट १० औं स्थानमा रहेका खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाइँ, पहिलो वरीयताका विवेक लामा, फिडे मास्टर मनीष हमाल, महिला च्याम्पियन सुजना लोहनीलगायत शीर्ष वरीयताका १५, विभिन्न उमेर समूहका १० र छैटौं राष्ट्रियका ५ महिला खेलाडीसहित ३० खेलाडीले भाग लिने भएका छन् ।

नेपाल बुद्धिचाल संघले साउन १ गते गर्ने अनलाइन प्रतियोगितामा नेपाली चेस खेलाडीले विश्वको टपटेन वरीयतामा रहेका नेपाली मूलका अनिश गिरीसँग पनि प्रतिस्पर्धा गर्नेछन् । अनिश नेदरल्यान्डसबाट खेल्ने गर्छन् । उनका बाबु सञ्जय गिरी लामो समयदेखि नेदरल्यान्ड्समा बस्दै आएका छन् । उनकी आमा रसियन हुन् । सन् २०१४ मा १४ वर्षकै उमेरमा नै ग्रान्ड मास्टर बनेका अनिश २०१६ मा विश्व वरीयताको तेस्रो स्थान पुगेका थिए । उनी अहिले १० औं स्थानमा छन् ।

प्रकाशित : असार ३१, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?