कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बोर्ग ‘एक रहस्य’

बियोन बोर्गर्ले सन् ७० को सुरूवात र सन् ८० को अन्त्यको जुन समय छ, त्यसको ठ्याक्कै प्रतिनिधित्व गर्छन् । चाहे, त्यो टेनिसले होस् वा व्यक्तित्वले । केही लामो सुनौलो कपाल अनि त्यसलाई सुहाउँदा हेयरब्यान्ड । उनी खुबै ‘स्टाइलिस्ट’ खेलाडी थिए । खेल त भयो नै । उनको व्यक्तित्व पनि कसैलाई मोहित पार्न पर्याप्त थियो । तर उनी एक दिन यसरी एकाएक हराए कि त्यसको कारण कसैले थाहा पाउन सकेका छैनन् । द गार्डियनका टिम लेविसले ती दिन सम्झने प्रयास गरेका छन् : 
द गार्डियन

लन्डन — सन् १९८१ सेप्टेम्बर १३ । यूएस ओपन टेनिसको फाइनलमा स्वीडिस खेलाडी बियोन बोर्ग अमेरिकी प्रतिद्वन्द्वी जोन म्याकन्रोको हातबाट नराम्रोसँग माथ खाए ।

बोर्ग ‘एक रहस्य’

यी दुई खेलाडीले धेरैपल्ट सम्झनलायक खेल खेलेका छन्, भरपूर रोमाञ्चले भरिएका । तर त्यो चार सेटको फाइनल त्यस्तो पटक्कै थिएन । न्युयोर्कको कोर्टमा खुसीले म्याकन्रोले आफ्नी आमालाई म्वाइँ खाँदा बोर्ग कतै हराइसकेका थिए । सुरुमा उनलाई सात सादा सुरक्षाकर्मीबीच देखिएको थियो । उनी खेलपछि ट्रफी दिने औपचारिक कार्यक्रममा पनि थिएनन् ।

भनिन्छ, फ्लसिङ मेडोजको एक भान्साघरको झ्यालबाट उनी बाहिर निस्के, नजिकैको भोल्भो चढे र सिधै निस्के विमानस्थलका लागि । उनी त्यतिबेला पनि आफ्नो खेल्दाको जर्सीमै थिए । बोर्गले फेरि दोहोर्‍याएर एकल ग्रान्ड स्लाम टेनिस खेलेनन् । जतिबेला उनको उमेरले २५ वर्ष मात्र छोएको थियो ।

अचेल विश्व खेलकुदमा सबथोक आफूमै सीमित कहाँ राख्न सकिन्छ र ? तर, उनले खेल्न छाडेको पनि ४० वर्ष भइसकेको छ । तर बोर्ग अझै रहस्यमय छन् । बोर्ग एक रहस्य हुन् । उनले किन खेल्न छाडे ? किन पुनरागमनका लागि प्रयाससम्म गरेनन् ? उनी के सोच्थे र के गर्थे ? अहिलेसम्म पनि यसको उत्तर कोहीसँग छैन । केही यसलाई लिएर अनुमान फ्याँक्छन् । तर तय छ, हामीले बोर्गबारे सबथोक कहिले पनि बुझ्न सक्ने छैनौं । उनको खेलजीवनको जसरी अन्त्य भयो, त्यस्तो पनि हुनेछ भनेर कसैले पनि अनुमान गरेका थिएनन् । फेरि बोर्गले विश्व टेनिसमा त्यस्तो प्रभुत्व जमाएका पनि थिए, जुन अहिलेसम्म कसैले सकेका छैनन् ।

उनले छपल्ट फ्रेन्च ओपन जिते अनि लगातार पाँचपल्ट विम्बल्डन । डेविस कपमा उनले सन् १९७३ देखि १९८० बीच लगातार ३३ खेल जितेका थिए । उनी पूरा कोर्ट छाएर खेल्थे । उनले नै विश्व टेनिसमा व्यावसायिकता भित्र्याएभन्दा हुन्छ, जसमा ग्ल्यामरको प्रचुर मात्रा थियो । उनी ५ घण्टा निर्धक्क भएर एकोहोरो अभ्यास गर्न सक्थे, फिटिक्कै थकान महसुस नगरी । आराम गर्दा उनको मुटुको चाल ह्वेल माछाको जस्तो हुन्थ्यो भनिन्छ । एक मिनेटमा खाली २९ धड्कन मात्रै ।


उनी कस्ता खेलाडी थिए, सन् १९८० को विम्बल्डन फाइनल हेरे पुग्छ । म्याकन्रोविरुद्धकै त्यस फाइनलको चौथो सेट बर्गले १८–१६ को टाइब्रेकमा गुमाए । पाँचौं तथा निर्णायक सेटमा अझ फूर्तिला भएर निस्के र त्यसलाई जिते ८–६ ले । तर बोर्गको नाकैमा रिस हुन्थ्यो, उनी थामिनसक्नु आवेग हुन्थ्यो । भर्खर १२ वर्षका छँदा कोर्टमा झगडा गरेको आरोपमा स्विडेनको अदालतले उनलाई ६ महिना खेल्नबाट रोकेको थियो । उनले त्यही बेला भन्थे, रिस लुकाउने कला सिक्नु छ ।

तर उनी भावनात्मक खेलाडी थिए । त्यति मात्र नपुगेर, उनी गज्जबका अन्धविश्वासी थिए । खेल्ने बेला जति प्रकारका नियमित काम हुन्थ्यो । सधैं एकै प्रकारले, एकै तरिकाले गर्थे । खेल्ने बेला जहिले पनि एकै ‘लकर’ मात्र प्रयोग गर्थे । बिर्सेर पनि दोस्रोमा आँखा लगाउँदैन थिए । खेल्दा जतिवटा रुमाल बोक्थे, त्यसको संख्याका कहिले पनि तलमाथि भएन । अझ उनी प्रतियोगिता सुरु भएदेखि नसक्दासम्म न त दाह्री काट्थे, न यौनसम्पर्क राख्न हुनेमा विश्वास गर्थे ।

चुपचाप खाली खेल्थे मात्रै । तर खेलमा सबै प्रकारका मसला हुन्थ्यो । बोर्गर्ले कहिले पनि धूमपान गरेनन्, न त मदिरा नै छोए । उनी कोही महिलासँग लामो सम्बन्धमा रहेनन् । किशोर अवस्थामा उनी आइस हक्कीका पनि राम्रै खेलाडी थिए । पछि टेनिसमा मात्र केन्द्रित हुन त्यसलाई छाडे । टेनिसकै लागि भनेर उनले स्कुल पनि छाडे । विम्बल्डनको घाँसे मैदान उनका लागि उपयुक्त थिएन । उनको खेल त्यहाँ सुहाउँदो थिएन, तर उनले लगातार त्यहाँ जिते ।

फ्रेन्च ओपनको रातो माटोको कोर्ट उनको खेललाई खुबै सुहाउँथ्यो । उनी त्यसमा नाचे जस्तै गरी खेल्थे । बोर्ग आएपछि टेनिस कहिले पनि नीरस रहेन, उडन्ते गफबाट मुक्त रहेन । प्रश्न त्यही, सन् १९८१ को त्यो न्युयोर्क फाइनलपछि के भयो त ? सायद बोर्गले आफ्ना भावनालाई बग्नबाट रोक्नै सकेनन् । उनी भावनात्मक रूपमा टाट पल्टिएका थिए । रोलान्ड ग्यारोस र विम्बल्डनमा उपाधि त सजिलै जित्थे, तर यही काम न्युयोर्कमा गर्न सकेनन् । यूएस ओपनमा चारपल्ट फाइनल खेले, चारैपल्ट पराजित रहे । तर पूरा कथा यत्तिकैमा सकिँदैन । बोर्ग हार पटक्कै नरुचाउने खालका खेलाडी थिए, अझ आफूभन्दा पछिका कान्छा खेलाडीसँग हार्नु उनलाई पटक्कै स्वीकार्य थिएन । अनि फाइनलपछि न्युयोर्कमा बोर्गलाई पुलिसको सुरक्षाचक्र किन चाहिएको थियो त ? भनिन्छ, उनलाई कसैले मार्ने धम्की दिएको थियो, यूएस ओपन जितेको खण्डमा । सेमिफाइनलमा उनले जिम्मी कोनर्सलाई हराएका थिए । लगत्तै फोनबाट उनलाई मार्ने धम्की आएको थियो । त्यतिले नपुगेर फाइनल अगाडि पनि उनलाई यस्तै धम्की आएको थियो ।


त्यसकै दबाबमा हो कि उनले फाइनलमा आफूले सक्दो पनि खेल्न सकेनन्, स्वयं म्याकन्रो मान्छन्, त्यो दिन उनी वास्तविक बोर्ग थिएनन् । यस्तो पनि हुन सक्छ र ? सन् ७० र ८० को समय नै यस्तै थियो, चारैतिर रहस्यले भरिएको । बोर्ग भर्खर १६ वर्षका थिए, पूर्णकालीन व्यावसायिक खेलाडी हुँदा । खेल्न छाडेपछि उनलाई सधैंजसो स्टकहोमका रात्रि क्लबमा भेटिन्थ्यो । त्यसैले उनी आर्थिक रूपमै पनि टाट पल्टेको स्थितिमा पुगे । बोर्ग साँच्चै एक रहस्य हुन्, कहिले पनि सुल्झाउन नसकिने ।

प्रकाशित : असार २८, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?