बोर्ग ‘एक रहस्य’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोर्ग ‘एक रहस्य’

बियोन बोर्गर्ले सन् ७० को सुरूवात र सन् ८० को अन्त्यको जुन समय छ, त्यसको ठ्याक्कै प्रतिनिधित्व गर्छन् । चाहे, त्यो टेनिसले होस् वा व्यक्तित्वले । केही लामो सुनौलो कपाल अनि त्यसलाई सुहाउँदा हेयरब्यान्ड । उनी खुबै ‘स्टाइलिस्ट’ खेलाडी थिए । खेल त भयो नै । उनको व्यक्तित्व पनि कसैलाई मोहित पार्न पर्याप्त थियो । तर उनी एक दिन यसरी एकाएक हराए कि त्यसको कारण कसैले थाहा पाउन सकेका छैनन् । द गार्डियनका टिम लेविसले ती दिन सम्झने प्रयास गरेका छन् : 
द गार्डियन

लन्डन — सन् १९८१ सेप्टेम्बर १३ । यूएस ओपन टेनिसको फाइनलमा स्वीडिस खेलाडी बियोन बोर्ग अमेरिकी प्रतिद्वन्द्वी जोन म्याकन्रोको हातबाट नराम्रोसँग माथ खाए ।

यी दुई खेलाडीले धेरैपल्ट सम्झनलायक खेल खेलेका छन्, भरपूर रोमाञ्चले भरिएका । तर त्यो चार सेटको फाइनल त्यस्तो पटक्कै थिएन । न्युयोर्कको कोर्टमा खुसीले म्याकन्रोले आफ्नी आमालाई म्वाइँ खाँदा बोर्ग कतै हराइसकेका थिए । सुरुमा उनलाई सात सादा सुरक्षाकर्मीबीच देखिएको थियो । उनी खेलपछि ट्रफी दिने औपचारिक कार्यक्रममा पनि थिएनन् ।

भनिन्छ, फ्लसिङ मेडोजको एक भान्साघरको झ्यालबाट उनी बाहिर निस्के, नजिकैको भोल्भो चढे र सिधै निस्के विमानस्थलका लागि । उनी त्यतिबेला पनि आफ्नो खेल्दाको जर्सीमै थिए । बोर्गले फेरि दोहोर्‍याएर एकल ग्रान्ड स्लाम टेनिस खेलेनन् । जतिबेला उनको उमेरले २५ वर्ष मात्र छोएको थियो ।

अचेल विश्व खेलकुदमा सबथोक आफूमै सीमित कहाँ राख्न सकिन्छ र ? तर, उनले खेल्न छाडेको पनि ४० वर्ष भइसकेको छ । तर बोर्ग अझै रहस्यमय छन् । बोर्ग एक रहस्य हुन् । उनले किन खेल्न छाडे ? किन पुनरागमनका लागि प्रयाससम्म गरेनन् ? उनी के सोच्थे र के गर्थे ? अहिलेसम्म पनि यसको उत्तर कोहीसँग छैन । केही यसलाई लिएर अनुमान फ्याँक्छन् । तर तय छ, हामीले बोर्गबारे सबथोक कहिले पनि बुझ्न सक्ने छैनौं । उनको खेलजीवनको जसरी अन्त्य भयो, त्यस्तो पनि हुनेछ भनेर कसैले पनि अनुमान गरेका थिएनन् । फेरि बोर्गले विश्व टेनिसमा त्यस्तो प्रभुत्व जमाएका पनि थिए, जुन अहिलेसम्म कसैले सकेका छैनन् ।

उनले छपल्ट फ्रेन्च ओपन जिते अनि लगातार पाँचपल्ट विम्बल्डन । डेविस कपमा उनले सन् १९७३ देखि १९८० बीच लगातार ३३ खेल जितेका थिए । उनी पूरा कोर्ट छाएर खेल्थे । उनले नै विश्व टेनिसमा व्यावसायिकता भित्र्याएभन्दा हुन्छ, जसमा ग्ल्यामरको प्रचुर मात्रा थियो । उनी ५ घण्टा निर्धक्क भएर एकोहोरो अभ्यास गर्न सक्थे, फिटिक्कै थकान महसुस नगरी । आराम गर्दा उनको मुटुको चाल ह्वेल माछाको जस्तो हुन्थ्यो भनिन्छ । एक मिनेटमा खाली २९ धड्कन मात्रै ।


उनी कस्ता खेलाडी थिए, सन् १९८० को विम्बल्डन फाइनल हेरे पुग्छ । म्याकन्रोविरुद्धकै त्यस फाइनलको चौथो सेट बर्गले १८–१६ को टाइब्रेकमा गुमाए । पाँचौं तथा निर्णायक सेटमा अझ फूर्तिला भएर निस्के र त्यसलाई जिते ८–६ ले । तर बोर्गको नाकैमा रिस हुन्थ्यो, उनी थामिनसक्नु आवेग हुन्थ्यो । भर्खर १२ वर्षका छँदा कोर्टमा झगडा गरेको आरोपमा स्विडेनको अदालतले उनलाई ६ महिना खेल्नबाट रोकेको थियो । उनले त्यही बेला भन्थे, रिस लुकाउने कला सिक्नु छ ।

तर उनी भावनात्मक खेलाडी थिए । त्यति मात्र नपुगेर, उनी गज्जबका अन्धविश्वासी थिए । खेल्ने बेला जति प्रकारका नियमित काम हुन्थ्यो । सधैं एकै प्रकारले, एकै तरिकाले गर्थे । खेल्ने बेला जहिले पनि एकै ‘लकर’ मात्र प्रयोग गर्थे । बिर्सेर पनि दोस्रोमा आँखा लगाउँदैन थिए । खेल्दा जतिवटा रुमाल बोक्थे, त्यसको संख्याका कहिले पनि तलमाथि भएन । अझ उनी प्रतियोगिता सुरु भएदेखि नसक्दासम्म न त दाह्री काट्थे, न यौनसम्पर्क राख्न हुनेमा विश्वास गर्थे ।

चुपचाप खाली खेल्थे मात्रै । तर खेलमा सबै प्रकारका मसला हुन्थ्यो । बोर्गर्ले कहिले पनि धूमपान गरेनन्, न त मदिरा नै छोए । उनी कोही महिलासँग लामो सम्बन्धमा रहेनन् । किशोर अवस्थामा उनी आइस हक्कीका पनि राम्रै खेलाडी थिए । पछि टेनिसमा मात्र केन्द्रित हुन त्यसलाई छाडे । टेनिसकै लागि भनेर उनले स्कुल पनि छाडे । विम्बल्डनको घाँसे मैदान उनका लागि उपयुक्त थिएन । उनको खेल त्यहाँ सुहाउँदो थिएन, तर उनले लगातार त्यहाँ जिते ।

फ्रेन्च ओपनको रातो माटोको कोर्ट उनको खेललाई खुबै सुहाउँथ्यो । उनी त्यसमा नाचे जस्तै गरी खेल्थे । बोर्ग आएपछि टेनिस कहिले पनि नीरस रहेन, उडन्ते गफबाट मुक्त रहेन । प्रश्न त्यही, सन् १९८१ को त्यो न्युयोर्क फाइनलपछि के भयो त ? सायद बोर्गले आफ्ना भावनालाई बग्नबाट रोक्नै सकेनन् । उनी भावनात्मक रूपमा टाट पल्टिएका थिए । रोलान्ड ग्यारोस र विम्बल्डनमा उपाधि त सजिलै जित्थे, तर यही काम न्युयोर्कमा गर्न सकेनन् । यूएस ओपनमा चारपल्ट फाइनल खेले, चारैपल्ट पराजित रहे । तर पूरा कथा यत्तिकैमा सकिँदैन । बोर्ग हार पटक्कै नरुचाउने खालका खेलाडी थिए, अझ आफूभन्दा पछिका कान्छा खेलाडीसँग हार्नु उनलाई पटक्कै स्वीकार्य थिएन । अनि फाइनलपछि न्युयोर्कमा बोर्गलाई पुलिसको सुरक्षाचक्र किन चाहिएको थियो त ? भनिन्छ, उनलाई कसैले मार्ने धम्की दिएको थियो, यूएस ओपन जितेको खण्डमा । सेमिफाइनलमा उनले जिम्मी कोनर्सलाई हराएका थिए । लगत्तै फोनबाट उनलाई मार्ने धम्की आएको थियो । त्यतिले नपुगेर फाइनल अगाडि पनि उनलाई यस्तै धम्की आएको थियो ।


त्यसकै दबाबमा हो कि उनले फाइनलमा आफूले सक्दो पनि खेल्न सकेनन्, स्वयं म्याकन्रो मान्छन्, त्यो दिन उनी वास्तविक बोर्ग थिएनन् । यस्तो पनि हुन सक्छ र ? सन् ७० र ८० को समय नै यस्तै थियो, चारैतिर रहस्यले भरिएको । बोर्ग भर्खर १६ वर्षका थिए, पूर्णकालीन व्यावसायिक खेलाडी हुँदा । खेल्न छाडेपछि उनलाई सधैंजसो स्टकहोमका रात्रि क्लबमा भेटिन्थ्यो । त्यसैले उनी आर्थिक रूपमै पनि टाट पल्टेको स्थितिमा पुगे । बोर्ग साँच्चै एक रहस्य हुन्, कहिले पनि सुल्झाउन नसकिने ।

प्रकाशित : असार २८, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्

बैंकिङ सुरक्षामा नियामक तथा मौद्रिक नीति

बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ता र ऋणीहरूको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । कर्जाको ब्याजदर घटाई एक अंकमा झार्नुपर्छ ।
दुर्गा कँडेल

लकडाउनसँगै अन्य व्यवसायमा प्रत्यक्ष असर देखिएको छ । त्यो किनभने, ती अग्रपंक्तिमा छन् । तिनको असर अन्ततोगत्वा बैंक तथा वित्तीय संस्थामा ठोक्किने निश्चित छ । बैंक तथा वित्तीय संस्थाको कारोबार पारदर्शी छ ।

बैंकिङ व्यवसायमा घाटा हुँदा सर्वसाधारणको रकम डुब्ने हुन्छ भने, नाफा हुँदा लगानीकर्ताले डिभिडेन्ट र कर्मचारीले बोनस प्राप्त गर्छन् । निक्षेपबाट संकलित रकमलाई कर्जामा लगानी गरी प्राप्त हुने आर्जन नै मुनाफा हो । बैंकिङ व्यवसायले गर्ने मुनाफा पुँजी कोष र रिजर्भहरूको जोडको १० प्रतिशत हाराहारी छ । सर्वसाधारणमा भने बैंकहरू ऋणीहरूलाई निचोरेर मनग्य नाफा आर्जन गरिरहेका हुन्छन् भन्ने बुझाइ छ । वर्तमानमा १० प्रतिशत प्रतिफल सामान्य व्यवसायबाट पनि पाउन सकिन्छ । तर, तीन–चार वर्षयता तरलतामा अस्थिरता छ । बैंकको आम्दानी घटेको छ, डिजिटाइजेसनलाई बढावा दिनुपर्ने अवस्थाले सञ्चालन खर्च भने बढ्दो छ ।

नियमनकारी निकायको भूमिका

कोरोना महामारीमा अग्रपंक्तिमा रहेर बैंक तथा वित्तीय संस्थाहरूले सेवा प्रवाह गरिरहेकै कारण सर्वसाधारण बैंकिङ सेवामा कुनै सेवाबाट वञ्चित रहनुपरेन । तर, नियामक निकाय नेपाल राष्ट्र बैंक र सरकारका तर्फबाट अपर्झट चालिएका कदमबाट बैंक तथा वित्तीय संस्थामा केही जटिलता देखिए । सरकारले अपर्झट लकडाउन गरेयता कर्मचारीहरूलाई समयमा कार्यालय पुगेर सेवा दिन कठिनाइ भयो । सवारीसाधनमा जोर–बिजोर, वित्तीय संस्थाहरूमा एकतिहाइ कर्मचारीको व्यवस्था मिलाई सेवा दिने प्रावधान लगायतका कारण पनि सजिलै अत्यावश्यक सेवा दिन हम्मे पर्‍यो ।

अर्कातिर, राष्ट्र बैंकले तथ्यांक, फ्याक्ट र फिगरको विचार नगरी चैत मसान्तमा ब्याजमा १० प्रतिशत छुट दिन र चौथो त्रैमासमा सबैलाई २ प्रतिशत विन्दुले कम गरी ब्याज गणना गर्न भन्यो, जुन बैंकिङ व्यवसायका लागि चुनौती बनेको छ । तेस्रो त्रैमासमा ७० दिन व्यतीत गरिसकेका ऋणीहरूलाई २० दिन मात्रै लकडाउन हुँदा ब्याजमा छुट दिइहाल्नुपर्ने थिएन कि ? त्यस्तै, सोलोडोलो २ प्रतिशत ब्याजदरले छुट दिनुभन्दा असर पर्ने र नपर्ने वर्ग छुट्याई बढी प्रभावितलाई सहुलियत बढी दिने र कम प्रभावितलाई कम सहुलियत दिने गर्न सकिन्थ्यो । अप्रभावित वर्गले पनि यसबाट फाइदा उठाएकामा सन्देह नहोला ।

फ्याक्ट र फिगरका आधारमा अध्ययन–विश्लेषणपछि गरिएका निर्णयहरूले चाहिँ प्रभावकारिता ल्याउन सक्नेतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । तेस्रो त्रैमास तथा चैत दोस्रो सातादेखि सुरु भएको लकडाउनका कारण ब्याजमा १० प्रतिशत छुटको प्रावधान सुनेका ऋणीहरू अहिले चौथो त्रैमासमा आएर तेस्रो त्रैमासको छुटको सुविधा मागिरहेका छन् । अझ कुनै हर्जाना तथा शुल्क नलाग्ने भनिएकाले ऋणीहरूले ब्याज तिर्नुको सट्टा आफ्नो सीमामा रहेको कर्जा रकम झिकेर बचतमा राख्ने गरेको देखिएको छ । त्यस्तै भाडा, तलब, खाद्यान्न, औषधि–उपचार, व्यापार गर्ने ऋणीहरू आम्दानी नघटे पनि कर्जा तिर्न आनाकानी गर्दै छुट तथा सहुलियत कुरेर बसेका छन् । त्यसैले व्यवसाय सञ्चालन गर्न ऋणीलाई थप पुँजी आवश्यक पर्ने हुनाले चालु पुँजीमा १० प्रतिशतको सट्टा २० प्रतिशतसम्म प्रभावित क्षेत्रको विश्लेषण गरी दिनुपर्ने प्रावधान हुन आवश्यक छ ।

यो अवस्था अझ केही समय लम्बिए बैंक तथा वित्तीय संस्थाहरू लिक्विडेसनमा जानुको विकल्प रहँदैन । कतिपय निजी बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूलाई जागिरबाट निकालेका छन् । आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासबाट वित्तीय बजारमा एक किसिमको हलचल पैदा हुन सक्छ । कोरोनाकालमा आफूलाई उभ्याइराख्न बैंक तथा वित्तीय संस्थालाई हम्मे पर्ने छनक देखिँदै छ । सञ्चालन जोखिम, साइबर क्राइम, कर्जा जोखिम, जालसाजी, चोरी–डकैती लगायत बढ्ने प्रबल सम्भावना छ । यसतर्फ नियामक निकायले ध्यान पुर्‍याउनुपर्छ ।

मौद्रिक नीतिले समेट्नुपर्ने विषय

आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति जारी हुने समय नजिकिँदै छ । मौद्रिक नीतिले महामारीको असरबारे गम्भीर अध्ययन–विश्लेषण गरी भविष्यका सम्भावित समस्यालाई सम्बोधन गर्नुपर्छ । कोरोनाकाल सुरु भएयता वैदेशिक रोजगारीमा जान एक किसिमले बन्द भइसकेको छ र विदेशबाट फर्कने कामदारहरू पनि उल्लेख्य हुन सक्छन् । स्वदेशमै रोजीरोटी गरेर खानेहरू बिलखबन्दमा परेका छन् । व्यापार–व्यवसाय बन्द हुँदा बेरोजगारको संख्या प्रतिदिन बढिरहेको छ । कोरोनाबाट बढी प्रभावित होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्र ठप्पै छन् । यस्ता लाखौं बेरोजगारलाई कृषि पेसामा जोड्न सकिन्छ । तिनलाई यान्त्रिकीकरणसहितको आधुनिक कृषि प्रणालीमा आबद्ध गराउने विषयले मौद्रिक नीतिमा प्राथमिकता पाउनुपर्छ । कर्जाको ब्याजदर घटाई एक अंकमा ल्याउनुपर्छ ।

कर्जासँगै निक्षेपमा ब्याजदर घटाउन सके कम ब्याजदरको निक्षेपका कारण न्यूनतम विन्दुमा झरेको सेयर बजारमा पुनः प्राण भर्न सहयोग पुग्न सक्छ । बैंक तथा वित्तीय संस्थालाई बिग मर्जरमा जाने अनुकूल वातावरण बनाई फोर्स मर्जरलाई समेत कडाइका साथ लागू गर्नुपर्छ । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको सेवा पेपरलेस तथा डिजिटाइजेसनमा लानुपर्ने प्रावधान समेट्नुपर्छ । सहुलियतपूर्ण कर्जा प्रवाहमा निजी बैंकहरूले देखाएको आलस्य हटाउन बाध्यकारी नीति लागू गर्नुपर्छ । कोरोना असर बढी परेका क्षेत्रहरूको किटान गरी तिनका लागि राहत प्याकेज ल्याउनुपर्छ । कर्जाको वर्गीकरणलाई २०७६ पुस मसान्तको कर्जाको स्तरमा राखिरहन कम्तीमा पनि २०७७ पुस मसान्तको समयसीमा तोक्नुपर्छ ।

चालु पुँजी कर्जालाई २० प्रतिशतसम्म थप गर्न सक्ने र ठूला आयोजनालाई पुनःसंरचना गर्न सकिने व्यवस्था हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूको स्थिति मजबुत बनाउन आर्थिक वर्ष २०७७/७८ मा सेयरहोल्डरहरूलाई डिभिडेन्ट वितरणमा रोक लगाउनुपर्छ । नेपालको परिप्रेक्ष्यमा नगदमा आधारित नाफा प्रभावकारी हुने हुनाले एमएफआरएस अनुसारको नाफाले केवल किताबी पानामा मात्र संस्था सबल भएको देखिने तर नगदको अभावमा दैनिक कारोबारमा समस्या नआउला भन्न सकिँदैन । अर्को अर्थमा, भोक लागिरहेका बेला बोराबन्द बासमती चामल हेरेर पेट भरिँदैन, पेट भर्न त भातै पाक्नुपर्छ । यसतर्फ मौद्रिक नीति चनाखो हुनुपर्छ ।

रोजगारीको क्षेत्र पहिचान गरी उत्पादनमूलक उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई सहज वातावरण हुने किसिमको प्याकेज ल्याउनुपर्छ । व्यक्तिगत कर्जाको सीमा आर्थिक वर्ष २०७७/७८ का लागि ग्राहक हेरी ७५ लाखसम्म पुर्‍याउनु आवश्यक छ । सुनलाई डिपोजिटका रूपमा राख्ने व्यवस्थाले वित्तीय संस्थामा समस्या आउन सक्ने भएकाले यसलाई स्वैच्छिक रूपमा रहन दिनुपर्छ । बढ्दो सञ्चालन खर्च र घट्दो आम्दानीका कारण पनि मर्जर अनिवार्य सर्त बनेको छ । नियामक निकायले सर्वप्रथम कर्जाको वर्गीकरण गरी बढी र कम प्रभावित क्षेत्रको पहिचान गर्दै त्यसका आधारमा ऋणीहरूलाई सहुलियत दिने कार्य अगाडि बढाउनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि बढी प्रभाव परेका ऋणीलाई केकसरी उकास्न सकिन्छ भन्नेतर्फ चासो देखाए कोरोना असरलाई न्यूनीकरण गर्न सकिन्छ ।

अन्त्यमा, बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ता र ऋणीहरूको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । तिनले अहिलेको अवस्थामा नाफालाई भन्दा पनि व्यावसायिक स्थिरतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । व्यावसायिक ऋणी भनेका लैना भैंसीजस्ता हुन् । लैनो भैंसी बिरामी परेका बेला समयमा उपचार हुन नसके थारो भई कसाईलाई दिनुको विकल्प रहँदैन, जसका कारण गोठ नै रित्तिने अवस्था आउन सक्छ । बिरामी भैंसीलाई बेलैमा सहुलियतरूपी उपचारले बचाउन सके भोलिका दिनमा निरन्तर लाभ लिन सकिन्छ । तसर्थ सहुलियतरूपी उपचारमा बैंक तथा वित्तीय संस्था पछि हट्नु हुँदैन । त्यसका लागि नियामक निकायले सहजीकरणको भूमिका खेल्न वित्तीय क्षेत्रका लागि आक्रामक मौद्रिक नीति ल्याउनुपर्छ ।

(कँडेल राष्ट्रिय वाणिज्य बैंक, विशालबजार शाखाकी मुख्य प्रबन्धक हुन् ।)

प्रकाशित : असार २८, २०७७ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×