कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेस्ट इन्डिज बलियो स्थितिमा

एजेन्सी

साउथह्याम्पटन — वेस्ट इन्डिज इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबारको समाप्तिमा बलियो स्थितिमा रहेको छ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स सुरु गरेर बिना विकेट क्षति १५ रन बनाएको छ र अझै ९९ रनले पछाडि छ ।


सुरुवाती दुई इनिङ्सको समाप्तिमा वेस्ट इन्डिज १ सय १४ रनले अगाडि रहेको थियो । पाहुना टिमले एक विकेटमा ५७ रनबाट अगाडि खेल्न सुरु गरेर ३ सय १८ रनको स्कोर खडा गरेको थियो ।

त्यसमा क्रेग ब्रेटवाइटले ६५ र सेन डोरिचले ६१ रन बनाए । इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४ रनमा समेटिएको थियो । अब शनिबार चौथो दिनको खेलमा इंग्ल्यान्डमाथि बलियो स्कोर बनाउने दबाब हुनेछ ।

प्रकाशित : असार २७, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

जनप्रतिनिधिको सुविधा विधेयक पारित

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवासुविधा बढाउने गरी ल्याएको विधेयक शुक्रबार प्रदेशसभाले पारित गरेको छ । छलफलपश्चात् विधेयकमा महानगरका प्रमुख/उपप्रमुख, नगर र गाउँपालिका प्रमुखले पाउने पीएको सुविधा घटाइएको छ भने इन्धन र दैनिक भ्रमण भत्ता कम गरिएको छ ।

अन्य जस्ताको तस्तै पारित भएको छ । विधेयक पारित भएसँगै नगर र गाउँपालिका प्रमुखले खरिदारसरहको पीएको सुविधा पाउने भएका छन् । यसरी नै महानगर प्रमुखले नासु र उपप्रमुखले खरिदारसरहको पीए राख्न पाउने भएका छन् । मेयरलाई १ सय २० लिटर मासिक तेल दिने भनिएकोमा संशोधन गरी ९० लिटरमा झारिएको छ । उपाध्यक्षको गाडी सुविधा कायम राखिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमानले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यसभन्दा पहिला ल्याएको ऐन कारणवश सर्वोच्च अदालतबाट खारेज भएकाले यस पटक धेरै विचार पुर्‍याएर विधेयक ल्याइएको बताए । स्थानीय जनप्रतिनिधिको कानुन प्रदेश सरकारले नै बनाइदिनुपर्ने कानुनी प्रावधान भएकाले र हालसम्म ऐन नहुँदा प्रदेशका ८५ वटै स्थानीय तहका जनप्रतिनिधि हालसम्म सेवासुविधाविहीन रहेकाले विधेयक ल्याइएको उनको भनाइ छ ।

प्रकाशित : असार २७, २०७७ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×