१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लिन डानको संन्यासपछि...

एएफपी

सांघाई — दुईपल्टका ओलम्पिक च्याम्पियन ब्याडमिन्टन खेलाडी लिन डानले अन्ततः संन्यास लिएका छन् । उनी हुन् चीनले पाएका थोरै ठूला खेलाडी स्टारमध्ये एक ।

लिन डानको संन्यासपछि...

चिनियाँ मिडियाले डानको संन्यासलाई ठूलो महत्त्व दिन खोजेको छ । आखिरमा उनी पूरा विश्व ब्याडमिन्टनकै सबैभन्दा ठूला स्टार हुन् । यी ३६ वर्षीय डानले शनिबारमात्रै घोषणा गरेका थिए, आफ्नो संन्यासबारे । उनले आफ्नो खेलजीवनमा पाँचपल्ट विश्व उपाधि पनि जिते ।

एनबीए स्टार याओ मिङ, ओलम्पिक स्वर्ण विजेता हर्डल्स धावक लिउ सियाङ र दुईपल्टका ग्रान्ड स्लाम विजेता टेनिस खेलाडी ली ना सबैले गत दशकमै संन्यास लिइसकेका थिए । अब पालो डानको । त्यसलै सिन्ह्वाले लेखेको छ, ‘सुपर डानले पनि संन्यास लिएपछि अब चिनियाँ खेलकुद शून्य–शून्य जस्तै भएको छ । चिनियाँ खेलकुदसँग सम्बन्धित ठूला स्टारको युग अब एक प्रकारले सकिएको छ ।’ डानको संन्यासपछि धेरै प्रश्न उठेका छन् ।

अब अर्को लिन डान को त ? अर्का याओ मिङ, लिउ सियाङ र ली ना अहिले आउने हो त ? अझ अर्को पुस्ताको अन्तर्राष्ट्रिय रूपमै नाम चलेका खेलाडीको जन्म कहिले हुने हो त ? सिन्ह्वाको विश्लेषण हो, चिनियाँ खेलाडीले खाली खेल्ने मात्र होइन, देश आफैंको पनि अन्तर्राष्ट्रिय छवि तयार पार्ने गर्छन् । प्रभाव उत्तिकै छाड्ने गर्छन् । चीन वास्तवमै के हो त, कस्तो छ त ? यो बुझ्ने सबैभन्दा सजिलो माध्यम पनि खेल र खेलाडी नै हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार भलिबल खेलाडी झु टिङसँग ठूलो खेलाडी बन्ने क्षमता छ । प्रतिबन्धित शक्तिबर्द्धक औषधिको प्रकरणमा जोडिने गरे तापनि पौडीवाज सुन याङ लोकप्रिय छन् । तर उनी प्रतिबन्धबाट गुज्रिरहेका छन्, त्यो आठ वर्षको । त्यसो त उनले यसविरुद्ध अपिल त गरेका छन् तर यो प्रतिबन्ध कायम रहे, २८ वर्षीय याङको खेलजीवन सकिने निश्चित छ । त्यसो त ओलम्पिकमा चीनले प्रस्तुत गर्ने चुनौती कम्तीको हुन्न ।

सन् २०१६ को रियो ओलम्पिकमा पनि चीन पदक तालिकामा तेस्रो स्थानमा थियो, अमेरिका र रुसपछि । तर यी पदकधारी खेलाडी बाँकी विश्वमा त के चीनमै पनि खासै चिनिने अनुहार होइनन् । सम्भवतः डानबराबरकै खेलाडी हुन्, टेबलटेनिसका झाङ जिके । उनले पनि तीनपल्ट ओलम्पिकमा स्वर्ण जितेका छन् । तर उनी आफैं संन्यास लिने समयमा पुगिसके । यस्तोमा चिनियाँ सञ्चारमाध्यमको प्रश्न हो, अर्को डान जत्तिको खेलाडी कहिले आउनेछ त ? सिन्ह्वालाई डर छ, यसको उत्तर पनि चाँडै पाइनेछैन ।

प्रकाशित : असार २६, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?