२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

टेस्ट क्रिकेटलाई स्वागत

टेस्टको १ सय ४३ वर्षको इतिहासमा फरक टेस्ट हुनेछ । दुवै टिमलाई साउथह्याम्पटनको एजेस बाउलसँगै जोडिएको होटलमा बस्ने व्यवस्था छ । दोस्रो र तेस्रो टेस्ट म्यानचेस्टरमा हुनेछ ।
एएफपी

लन्डन — स्वागत छ टेस्ट क्रिकेटलाई । तर यो टेस्ट हुने छैन, जुन हामीले बुझेका छौं । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच बुधबार साउथह्याम्पटनमा पहिलो टेस्ट सुरु हुँदै छ । यो पूरा शृंखला नै हुनेछ जैविक रूपमा सुरक्षित ।

टेस्ट क्रिकेटलाई स्वागत

कोरोना भाइरस संक्रमणको महामारीले पूरा विश्व क्रिकेट नै रोकिएको स्थितिमा थियो मार्चदेखि । डर थियो, कतै यसै कारण तीन टेस्टको यो शृंखला नहुने त होइन ? तर वेस्ट इन्डिज लन्डन आएर खेल्न तयार भयो । इंग्ल्यान्ड त्यही देश हो, जहाँ संक्रमणले ४४ हजार मानिसको मृत्यु भयो ।

यो युरोपमै सबैभन्दा बढी हो । जतिबेला पहिलो टेस्ट सुरु हुनेछ, यसले जनाउ गर्नेछ, विश्व क्रिकेटको पुनरागमन । खेलका क्रममा भाइरसबाट बच्न सानो–सानो तथ्यमा पनि सावधानी अपनाइनेछ । त्यसैले यो टेस्टको १ सय ४३ वर्षको इतिहासमा फरक टेस्ट हुनेछ । दुवै टिमलाई साउथह्याम्पटनको एजेस बाउलसँगै जोडिएको होटलमा बस्ने व्यवस्था छ । दोस्रो र तेस्रो टेस्ट म्यानचेस्टरमा हुनेछ । त्यसका लागि पनि दुवै टिम ओल्ड ट्राफोर्डसँग जोडिएको होटलमै रहनेछ ।

इंग्लिस टिम एजेस बाउलमा रहन थालेको केही दिन भइसकेको छ । यसैक्रममा गत साता मात्र इंग्लिस टिमले आफू मिलेर तीन दिनको खेल खेलेको छ । वेस्ट इन्डिजले भने ओल्ड ट्राफोर्डमा रहेर अभ्यास गरेको थियो । इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क उडले अहिलेसम्म बटुलेको अनुभव हो, सबै घटनाक्रम कुनै वैज्ञानिक सिनेमा जत्तिकै छ । प्रत्येक अवसरमा सुरक्षा जाँच चलिरहेको हुन्छ । उनी भन्छन्, ‘जताततै ह्यान्ड सेनिटाइजर राखिएको छ । बाटोमा पनि कता जाने, कता नजाने त्यो रेखा कोरिएको छ ।’

अनि खाना ? उडकै शब्दमा यसले स्कुलका दिन सम्झाउँछ । खाने बेला पनि एउटाको ढाड अर्कोतर्फ फर्केको हुन्छ । यी सबैबीच ठूलो अन्तर त दर्शक नहुनु नै त हो । टेस्ट क्रिकेटका लागि दर्शन नहुनु ठ्याक्कै नयाँ त होइन, पाकिस्तानले घरेलु मैदानका रूपमा यूएईमा खेल्दा यस्तै त हुन्थ्यो, खेल बन्द रंगशालामा हुने गर्थ्यो । यसरी बन्द रंगशालामा खेल्दा पनि खेल भने टीभीबाट दर्शकले भने हेर्न पाउने गर्छन् पूरा विश्वमै । यो शृंखला नहुँदो हो त इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले केही नभए पनि २५ करोड पाउन्ड जति गुमाउने थियो । तर खेल हुने भएपछि स्थिति कस्तो बनेको छ भने त्यही बोर्डले समकक्षी वेस्ट इन्डिज बोर्डलाई यही शृंखलाका लागि भनेर ३० लाख डलर ऋण दिएको छ । ऋणका लागि सर्त थियो, वेस्ट इन्डिज टिम जसरी भए पनि इंग्ल्यान्ड आउनुपर्नेछ । इंग्लिस भूमिमा दर्शकबिनाको टेस्ट क्रिकेट कस्तो हुनेछ, त्यसबारे अहिलेसम्म कसैले सोच्न सकेका छैनन् ।

कप्तानद्वय इंग्ल्यान्डका बेन स्टोक्स र वेस्ट इन्डिजका जेसन होल्डर ।

वेस्ट इन्डिज कप्तान जेसन होल्डर पनि मान्छन्, अन्यथा इंल्यान्डमा टेस्ट खेल्नुका अर्थ भनेकै सबैभन्दा बढी चर्को स्वरमा कराउन सक्ने दर्शकको सामना गर्नु हो । ठीक यही बेला इंल्यान्डका ब्याट्सम्यान ओली पोप मान्छन्, क्रिकेटको स्तरमा कुनै कमी हुने छैन । दुवै टिमले अब्बल दर्जाको क्रिकेट पस्कने छन् । यसमा शंका नगरे हुन्छ । खेलाडीले बल चम्काउन थुक प्रयोग गर्न पाउने छैनन् । यसको अर्थ यो पनि हुने छैन, तीव्र गतिका बलरलाई घाटा होस् । पिच र परिस्थिति तिनै बलरलाई सहयोग गर्ने खालको छ ।

फेरि यो सिरिज त्यो पृष्ठभूमिमा हुन लागेको छ । जतिबेला पूरा विश्वमा चलिरहेको छ, रंगभेदी व्यवहारविरुद्धको विरोध । त्यसैले दुवै टिमले मैदानमा उत्रँदा उनीहरूको सर्टमा लेखिएको हुनेछ, ‘ब्ल्याक लाइभ्स म्याटर’ । फेरि यसपल्ट तटस्थ अम्पायर हुने छैनन्, जुन २००२ देखि अनिवार्य थियो । अन्तर्राष्ट्रिय हवाई उडान ठप्प जस्तै भएका बेला घरकै दुई अम्पायरलाई खेलाउनुबाहेक पनि विकल्प रहेन । यी सबैबीच सबैभन्दा ठूलो त टेस्ट क्रिकेटको पुनरागमन नै हो । साँच्चै स्वागत छ टेस्ट क्रिकेटलाई ।

आक्रमण चार तीव्र गतिका बलरको

इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजको सबैभन्दा ठूलो अस्त्र हुनेछ, चार तीव्र गतिका बलरको आक्रमण । साउथह्याम्पटनमा वेस्ट इन्डिजले कप्तान जेसन होल्डरसँगै सेसन ग्याब्रियल, केमर रोच र अलजारी जोसेप उतार्नेछ । अनुमान छ, यो तीव्र बलिङ आक्रमण टेस्टमा निर्णायक हुन सक्नेछ । र, यसले पुराना दिन सम्झाउने गरेको छ, जतिबेला वेस्ट इन्डिज क्रिकेटको पूरा विश्वमै एकछत्र राज थियो । अनि यो धेरै हदसम्म टिकेको यस्तै चार तीव्र बलर आक्रमणमा थियो ।

खासमा वेस्ट इन्डिज क्रिकेटको सबैभन्दा ठूलो विशेषता भन्नु नै एकपछि अर्को घातक तीव्र गतिका बलर जन्माउनु त हो । जस्तो इतिहासमा फर्कौ न, सन् १९८० मा वेस्ट इन्डिजसँग थियो, एन्डी रोबर्टस, माइकल होल्डिङ, जोए गार्नर र कोलिन क्रोफ्ट । उनीहरूलाई नै मानिन्छ, चार सुरुआती तीव्र बलिङ आक्रमणको अवधारण । यो सोच तयार पार्ने श्रेय भने त्यतिबेलाका कप्तान क्लाइभ लोयडलाई जान्छ । गार्नर त ६ फिट ८ इन्चका थिए, उनी योर्करमा माहिर थिए ।

सन् १९८० को वर्षमा यिनै चार बलर लिएर वेस्ट इन्डिज टिम इंग्ल्यान्ड पुगेको थियो । सन् १९८४ मा इंग्ल्यान्ड पुगेको वेस्ट इन्डिज टिममा चार यस्ता तीव्र गतिका बलर थिए । ती थिए, मार्सल, गार्नर र होल्डिङ अनि त्यसमा थपिए एलडिन बाप्टिस्टे । त्यसबेला टिमका प्रमुख बलर मार्सल थिए । उनलाई वेस्ट इन्डिजले पाएको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट तीव्र गतिका बलर मानिन्छ । सन् १९८८ मा इंग्ल्यान्ड पुगेको टिममा पनि मार्सल कायम थिए ।

त्यतिबेला उनलाई साथ दिने नयाँ दुई अनुहार थिए, कर्टली एम्ब्रोज र कर्टनी वाल्स । चौथो बलरका रूपमा कि विन्सटन बेन्जमिन या प्याट्रिक प्याटरसन प्रयोग गरियो । सन् १९९५ मा इंग्ल्यान्ड गएको टिममा प्रमुख बलरका रूपमा दुई छेउबाट एम्ब्रोज र वाल्स स्थापित भइसकेका थिए । उनीहरूको सहयोगीका रूपमा आए, केनी बेन्जमिन र इयान बिसोप । यसपल्ट होल्डर र उनका तीन साथी तीव्र बलिङमा कत्तिको सफल हुने हो, त्यो हेर्न बाँकी छ ।

प्रकाशित : असार २४, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?