कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ को प्रभाव र नेपाली क्रिकेट

मनीषराज पाण्डे

विश्व क्रिकेटको ध्यान अहिले इंग्ल्यान्डको साउथह्याम्पटनमा असार २४ देखि हुने इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्धको टेस्टमा तानिएको छ । यसलाई कोभिड–१९ महामारीको चपेटामा परिरहेको वर्तमान विश्व क्रिकेट गतिविधिलाई पुनर्बहालीको पृष्ठभूमि तयार पार्ने अवसरका रूपमा हेरिएको छ ।

फाइल तस्बिर

यसको पूर्व तयारी हेर्‍यौं भने सबैभन्दा खराब स्थिति मध्यनजर राख्दै सबै किसिमका योजनाहरू बनाएर उक्त खेल आयोजना गर्न लागिएको छ । खेलाडी तथा संलग्न सबैको स्वास्थ्यलाई प्रमुखतासाथ हेरिएको छ । छुट्टै स्वास्थ्य प्रोटोकल तथा मापदण्डहरू तयार पारी तीन टेस्ट शृंखला जैविक रूपले सुरक्षित वातावरणमा खेलाइने छ । उच्च सतर्कता प्रणाली अपनाएर सबै खेल दर्शकविहीन बन्द रंगशालामा खेलिनेछन् । यसलगत्तै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको शृंखलाको पनि आतिथ्यता गर्ने तय छ ।

यिनै सेरोफेरोमा एकातिर अन्तर्राष्ट्रिय क्रिकेटमा कसरी क्रिकेटलाई पुनः गतिशीलता प्रदान गर्ने भनेर चर्चा परिचर्चा, योजनाहरू, परीक्षण र कार्यान्वयन तहसम्मका प्रयासहरू सुरु भइसकेका छन् भने अर्कोतिर नेपालले पनि अहिलेको विषम परिस्थिति र भविष्यमा कोभिड–१९ को प्रभावपछिको अवस्था मध्यनजर राख्दै कसरी कदम चाल्नुपर्ने हुन्छ त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । त्यसअघि सतही विश्लेषणभन्दा पनि मिहिन ढंगले केलाउनु आवश्यक छ । यो किन पनि आवश्यक छ भने कोरोना भाइरसको प्रभाव कुन हदसम्म परेको छ भन्ने कुराको गाम्भीर्यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले गरेको क्रिकेट खेलको नियम परिवर्तनबाट नै प्रस्ट भइसकेको छ ।

विद्यमान चुनौती

नेपालमा कोरोना भाइरसको सन्त्रास भित्रिएसँगै क्रिकेट खेल पनि स्वाभाविक रूपमा नराम्ररी प्रभावित हुन पुगेको छ । केही अन्तिम चरणमा पुगिसकेका स्तरीय खेल प्रतियोगिताहरू तत्कालै स्थगित भयो भने त्यसपछिका केही हुने भनिएका अन्य घरेलु प्रतियोगित पनि रोकियो । यतिमात्र होइन नेपालले नामिबिया र स्कटल्यान्डमा गएर खेल्ने भनिएको विश्वकप लिग २ का त्रिकोणात्मक खेल पनि स्थगित भयो । अनि सदैव चलायमान हुनुपर्ने यो क्षेत्र र खेलाडीको समय अहिलेको अवस्थामा अनुत्पादनशील भई समष्टिगत रूपमा नकारात्मक प्रभाव भोग्न बाध्य हुनु परिरहेको अवस्था छ ।

तत्कालै हेर्दा नेपालको अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुन लामो समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ र त्यसमा पनि सामान्य अवस्थामा फर्कने भनेको त अझै अस्पष्ट छ । यसअघिको प्रमुख आवश्यकता र चुनौती भनेको खेलाडीको स्तर खस्कन नदिई कसरी अक्षुण्ण बनाइराख्ने हो । यसमा शारीरिक तन्दुरुस्तीलाई कसरी कायमै राख्ने पनि पर्दछ । खेलाडीको खेलप्रतिको लगावमा कमी र विचलन हुनसक्ने सम्भावना कसरी व्यवस्थापन गर्ने अर्को चुनौती छँदै छ । अहिलेको अति नै संवेदनशील अवस्थामा शारीरिक पक्षका साथै अर्को महत्त्वपूर्ण पक्ष भनेको खेलाडीको मानसिक स्वास्थ्यलाई कसरी बलियो बनाउने र सन्तुलन कायम राख्ने तथा मनोबल उँचो बनाइराख्ने भन्ने नै हो । झन् महिला क्रिकेटको जटिलतालाई हामी सजिलै बुझ्न सक्छौं । यसै त पहिले पनि विभिन्न चुनौतीबाट गुज्रिइरहेको तर प्रसस्त सम्भावना बोकेको महिला क्रिकेटमा अहिलेको अवस्थाले चुनौती थपिदिएको छ । क्रिकेट खेललाई पूर्णता दिन प्रशिक्षक, अम्पायर, स्कोररलगायतका प्राविधिकको पनि महत्त्वपूर्ण भूमिका हुने हुँदा प्राविधिकका पनि आ–आफ्नै चुनौती र सरोकारका विषयवस्तु छन् ।

कोरोना भाइरसले ल्याइदिएको समग्र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभूतपूर्व वित्तीय संकटको चपेटामा नेपाली क्रिकेट परिसकेको छ । जुन रूपमा नेपाली क्रिकेटले पनि पेसेवर हुने बाटो लिइरहेको थियो, विद्यमान संकटले खेलमा भित्रिने लगानी र खेलाडीको आयस्रोतमा ठूलो असर पार्ने प्रस्ट छ । उदाहरणका लागि खेलाडीको पारिश्रमिक र अन्य सुविधालाई लिन सकिन्छ जहाँ असर परिरहेको र अझै पर्ने देखिन्छ । भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिमा त बृहत् असर परिरहेको छ । यसरी नेपाली क्रिकेट क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको अवस्थामा एक्कासि आएको यो संकटले प्रत्यक्ष प्रभाव पारेको छ नै अलि समयसम्म पारिरहने सम्भावना छँदै छ । हामीलाई थाहा छ, नेपाल जस्तो राष्ट्रको आफ्नै विशिष्ट चुनौतीहरू छन् । यस्ता चुनौतीलाई तत्कालै सम्बोधन गर्न कठिन छ । तर यसका लागि प्रयासहरू के भइरहेका छन् भन्ने कुराले महत्त्व राख्छ नै ।

अब के गर्ने त?

अहिले वास्तविक वस्तुस्थिति यकिन गर्न र आकलन गरी छिट्टै निष्कर्षमा पुग्न त्यति सहज छैन । कतिपय कुराहरू भविष्यको गर्भमा नै लुकेका छन् । अहिले हामी विभिन्न सोध, अध्ययन अनुसन्धानबाट देखिएका प्रारम्भिक नतिजा र सुझाव तथा विभिन्न देशका अनुभव तथा सिकाइका आधारमा यथार्थ धरातलमा टेकेर योजनाबद्ध रूपमा अहिले देखिएको क्रिकेट खेलको शिथिलतालाई क्रमशः चलायमान बनाउन आवश्यक देखिन्छ । यसका लागि विशेष रणनीतिको खाँचो छ । घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटको पुनः प्राप्ति वा सुधारका लागि मार्ग पहिचान गरी रणनीतिक योजना तयार पार्नु आवश्यक देखिन्छ । कोरोना भाइरसबाट सिर्जित समस्याबाट खडा भएका चुनौतीलाई अवसरमा बदल्न जरुरी छ । सम्बन्धित सबै सरोकारवालाले सकारात्मक मनस्थिति बनाएर अन्योल वा जटिल परिस्थितिको सामना गर्नुपर्ने, सावधानी अपनाउनुपर्ने र समाधान उन्मुख हुनुपर्ने देखिन्छ ।

खेलाडीका हकमा अहिले आफ्नो र परिवारको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्छ नै तथापि आफ्नो खेलकौशलमा ह्रास हुन नदिन नियमित फिटनेसका लागि शारीरिक व्यायाम, खेल अभ्यास र निरन्तरता जरुरी छ । जुन सबै खेलाडीका लागि त्यति सहज देखिएको छैन । यस्तो असहज परिस्थितिमा नै संस्थागत रूपमा के कति सहजीकरणका प्रयासहरू भइरहेका छन् वा हुने अवस्थामा छन् भन्ने कुरा थाहा पाइन्छ ।

केही खेलाडीले जटिल प्रकारका आफ्नो शारीरिक चोटबाट मुक्ति पाउन अहिलेको अवस्थामा राम्रैसँग विश्राम गर्ने अवसर पाएका छन्, जसबाट खेलाडीले स्वास्थ्यलाभ पनि लिइरहेका छन् । शारीरिक र मानसिक स्वास्थ्यले आत्मविश्वास वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दछ । आवश्यकताअनुसार मनोसामाजिक परामर्शको व्यवस्था पनि मिलाइराख्नुपर्छ । सन्त्रास फैलाउने खालको वातावरणबाट टाढै राख्ने प्रयास गर्नुपर्छ । भएका सुविधा र सरसामानहरूलाई सावधानीपूर्वक सदुपयोग गर्ने वातावरणको निर्माण सम्बन्धित पक्षबाट हुनुपर्छ ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको आर्थिक संकट सम्बोधन गर्ने पनि हो । विभिन्न बाधा, अड्चन वा अभावमा खेलाडी र प्राविधिकको आम्दानीका स्रोतलाई यथोचित सम्बोधन गरिदिनुपर्ने देखिएको छ । यसका लागि केही आर्थिक, प्रोत्साहन र राहत प्याकेजको आवश्यकता टड्कारो रूपमा परेको छ । संकट व्यवस्थापनका लागि यस्तो परिस्थितिमा नेपाल सरकारको अग्रसरता तत्काल देखिएको छ । समस्याको दीर्घकालीन निराकरणका लागि नेपाल क्रिकेट संघले आफ्नै पहलमा आईसीसीसँग यथासक्य चाँडो समन्वय गरी आवश्यक ठोस कदम चाल्नुपर्ने देखिन्छ । अहिलेको समय त क्रिकेट योजनाकारहरूका लागि उपयुक्त पनि छ । सम्भावित जोखिम र सम्भावनाको राम्ररी पहिचान गरी लेखाजोखा गर्ने र अनिश्चितता कम गर्नका लागि ती कुराहरू सम्बोधन हुने गरी प्राथमिकता तोक्दै विभिन्न विकल्पसहित विशिष्ट दिशा प्रदान गर्ने योजनाको खाँचो छ । यसरी क्रिकेटलाई नयाँ आयाम दिन सकिने प्राप्त अवसरलाई तथ्यपरक र वस्तुपरक रूपमा ‘स्मार्ट’ योजनामा परिणत गरी कार्यकुशलताको प्रदर्शन गर्नु आवश्यक देखिन्छ ।

संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्म देखिने गरेका क्रिकेट गतिविधिमा संस्थागत समन्वय, समझदारी र सहकार्यको ठूलो भूमिका हुन्छ । अहिलेको परिस्थितिमा त यसको आवश्यकता झन् बढी छ । यतिमात्र नभई अबका दिनहरूमा क्रिकेटसँग सम्बन्धित संघसंस्था र निजी क्षेत्रलाई पनि क्रिकेट पुनःस्थापनाका कार्यक्रमको तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि साथ सहयोग, साझेदारी तथा समन्वय गर्नुपर्ने देखिन्छ । एकअर्कामा परिरहेको अहिलेको गम्भीर अवस्था राम्ररी मनन गरौं र आ–आफ्नो तबरबाट सकारात्मक रूपमा प्राथमिकतामा आधारित रहेर क्रिकेटलाई पुनः जीवन्त तुल्याऔं ।

(पाण्डे पूर्वराष्ट्रिय खेलाडी एवं क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष हुन्) प्रकाशित : असार २४, २०७७ १०:२३

प्रतिक्रिया
पठाउनुहोस्

मानव स्वास्थ्यनिम्ति जोगाऔं लौठसल्ला

क्यान्सर उपचारमा आवश्यक कच्चा पदार्थ जुटाउन लौठसल्लाका हाँगा, पात, बोक्रा र जराको संकलन अवैध र अप्राकृतिक किसिमले हुँदै आएकाले यो बहुमूल्य वनस्पतिमाथि संकट छाएको छ ।
सावित्री राई

ट्याक्सोलले क्यान्सर कोषहरूको विभाजन रोकी शरीरमा क्यान्सर फैलिन दिँदैन । क्यान्सरको उपचारमा ट्याक्सोलको प्रयोग बढी सफल भएका उदाहरणहरू धेरै छन् । त्यसैले यसलाई क्यान्सर उपचारमा रामवाण मानिन्छ ।

यो रसायन सारतत्त्व प्रायः लौठसल्लाका पात, बोक्रा, जरा प्रशोधन गरी निकालिन्छ । यसै कारण ट्याक्सोलसँगै लौठसल्लाको नाम जोडिने गरेको छ ।

लौठसल्ला सदाबहार रूख हो । विश्वभर यसका आठ प्रजाति छन् । तीमध्ये नेपालमा तीन प्रजाति रहेको र ती ट्याक्सस बालिचियाना, ट्याक्सस कन्टोर्टा र ट्याक्सस माइरेई भएको विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ (हेर्नुस्— गंगादत्त भट्ट, रामचन्द्र पौडेल, तीर्थराज पाण्डेय र रमेश बस्नेत, ‘नेपालका लौठसल्ला’, सन् २०१७) । प्रायः विश्वभर ट्याक्सोलको कच्चा पदार्थका रूपमा लौठसल्लाका हाँगा, पात, बोक्रा साथै जराहरूको संकलन हुँदै आएको छ, तर अप्राकृतिक तरिकाले । यसरी गरिने संकलनले विश्वव्यापी रूपमै लौठसल्लाका सबै प्रजातिमा नकारात्मक प्रभाव पारेको छ । नेपालमा पाइने प्रजाति पनि यस्तो असरबाट अछुतो रहन सकेका छैनन् ।

ट्याक्सस माइरेई (माइरेई यु) विश्वपरिवेशमा ‘संवेदनशील’ र नेपालमा ‘अति संकटापन्न’ मानिन्छ । अरू दुई प्रजाति विश्व र नेपाल दुवै परिवेशमा ‘संकटापन्न’ मानिन्छन् । तर औषधीय गुणयुक्त यो वनस्पतिप्रति संकटापन्न कुनै जीवलाई झैं पर्याप्त ध्यान दिइएको छैन । त्यसमाथि यसको संरक्षणसम्बन्धी चासो खासै पाइँदैन । यद्यपि सन् २०१८ देखि ग्रिनहुड नेपालले माइरेई यु प्रजातिबारे अनुसन्धान गर्दै आएको छ । त्यसले सन् २०१९ मा गरेको अनुमान अनुसार, प्राकृतिक बासस्थानमा माइरेई यु प्रजातिका परिपक्व रूखहरूको संख्या ५०० भन्दा कम छ । यही परिदृश्य विश्वव्यापी रूपमा पनि देख्न सकिन्छ । माइरेई यु प्रजाति महाभारत क्षेत्रका मात्र तीन जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुली र मकवानपुरमा पाइन्छ । यसलाई तालिसपत्र, बर्मेसल्ला, पातेसल्ला, भीमसेनपाती जस्ता स्थानीय नामहरूले पनि चिनिन्छ ।

अनुसन्धानका क्रममा ग्रिनहुड नेपालले एकातिर लौठसल्लाको अप्राकृतिक संकलन हुने गरेको र अर्कातर्फ दिगो संकलन निर्देशिकाको अभाव रहेको अनुभव गर्‍यो । यी पक्षलाई ध्यानमा राखी यसले ‘लौठसल्लाको दिगो संकलन निर्देशिका’ तयार पार्‍यो, जसलाई आम मानिसमा पुर्‍याउन स्थानीय र राष्ट्रिय स्तरमा विभिन्न छलफल तथा जनचेतना अभिवृद्धि कार्यक्रम गरिँदै आएको छ । लौठसल्ला मानव स्वास्थ्यका लागि बहुमूल्य छ । यसबाट प्रशोधन गरी निकालिने ट्याक्सोलले क्यान्सरजस्तो प्राणघातक रोगलाई नियन्त्रण वा निर्मूल गर्न सक्ने भनी लोकप्रियता कमाएको छ । त्यसै कारण विश्वभर यसको उपयोग र माग उच्च छ । स्तन, पाठेघर, फोक्सो, प्रोस्टेट, अन्ननली, टाउको, छाला लगायतको क्यान्सर नियन्त्रण र उपचारमा ट्याक्सोलको प्रयोग निकै सफल भएको छ ।

मानव स्वास्थ्यका लागि विविध किसिमका क्यान्सरको चुनौती बढेसँगै ट्याक्सोलको मागमा पनि अत्यधिक वृद्धि भइरहेको छ । बढ्दो माग परिपूर्ति गर्नर् लौठसल्लाको अवैध र अप्राकृतिक संकलन, ठूलो परिमाणमा ढुवानी र चोरी–निकासी बढिरहेको छ । धेरै कच्चा पदार्थबाट थोरै सारतत्त्व निस्किने हुँदा यसको सारतत्त्व एकदमै महँगो हुन्छ । केही अनुसन्धान अनुसार, लौठसल्लाको १०,००० किलो बोक्राबाट केवल १ किलो ट्याक्सोल उत्पादन गर्न सकिन्छ । यही कारण ठूलो परिमाणमा कच्चा पदार्थको माग हुने गर्छ । फलस्वरूप लौठसल्लाको रूखैलाई नांगो हुन्जेल लुछ्ने गरिएको छ । यसरी संकलन गर्दा धेरै असर पुगी रूखै सुक्दै गएर मर्ने सम्भावना बढी हुन्छ ।

अर्कातिर, वनबाट लौठसल्लाका हाँगाहरू ल्याई स्थानीय नर्सरीहरूमा सयौंको संख्यामा बेर्ना उत्पादन गर्ने गरिएको छ । माइरेई युको भाले र पोथी रूख भिन्नाभिन्नै हुने गर्छ । दुर्भाग्यवश, प्रजाति र लिंगको पहिचानबिनै बेर्नाको उत्पादन, बिक्री–वितरण र रोपण गर्ने गरिएको छ । स्थानीय स्तरमै पनि लौठसल्ला परम्परागत औषधिका रूपमा प्रयोग गरिने हुँदा वनबाट हाँगा काटेर ल्याई घरमै सुकाइएका दृश्यहरू प्रायः देख्न सकिन्छ । विशेष गरी लौठसल्लाको सुकेको पातको चिया खाँदा स्वास्थ्यलाई राम्रो हुने र क्यान्सर लाग्नबाट बचाउने जस्ता जनविश्वासका कारण स्थानीयवासीहरू केही आफैं खाने, केही इष्टमित्रलाई कोसेलीस्वरूप दिने र केही बेच्ने पनि गर्छन् । लौठसल्लाको काठ धेरै मजबुत हुने भएकाले घरका दलिन र चौकोस बनाउन पनि प्रयोग भइरहेको छ । हाँगाहरू सोत्तरका रूपमा प्रयोग हुने गरेको पाइन्छ । यस्ता अवैध गतिविधिका कारण लौठसल्लालाई धेरै हानि पुगिरहेको छ ।

माइरेई यु कम उचाइमा, मानव बस्तीको छेउछाउ बढी पाइन्छ, जसले गर्दा चरीचरन र वनडढेलोबाट समेत यसका बिरुवाहरूलाई निकै नोक्सानी पुग्ने गरेको छ । यस प्रजातिको बीउको पुनरुत्पादन क्षमता अति नै कम हुने भएकाले लोप हुने जोखिम बढिरहेको छ । यस्तै, स्थानीय स्तरमा पहिल्यैदेखि वनबाट यसका बिरुवा उखेलेर ल्याई निजी जग्गा, खेतबारीमा रोप्ने गरेको पाइएको छ । यस्ता क्रियाकलापका कारण प्राकृतिक बासस्थानमा माइरेई युको संख्या घट्दै गइरहेको छ, जुन संवेदनशील विषय हो ।

हामी नेपालीले यस्ता तौरतरिका यथाशीघ्र त्याग्न सकेनौं भने लौठसल्ला निकट भविष्यमा प्राकृतिक बासस्थानबाटै लोप हुने सम्भावना छ । त्यसैले लौठसल्लाको संरक्षणबारे जनचेतनालाई तीव्रता दिनु अत्यावश्यक छ । चोरी–निकासी रोक्न कडा कानुन अपरिहार्य छ । लौठसल्ला स्थानीयवासीहरूको जीविकोपार्जनको राम्रो स्रोत रहेकाले गर्दा पनि यसको संरक्षण अत्यावश्यक छ । यसको व्यावसायिक खेती गरी स्थानीयवासीको आर्थिक स्थिति कसरी सबल र दिगो बनाउन सकिन्छ भन्नेबारे ध्यान दिनु जरुरी छ । लौठसल्ला मानवस्वास्थ्यका लागि बहुमूल्य औषधि रहेकाले यसलाई जोगाउनु हाम्रो पनि परम कर्तव्य हो ।

(मेची क्याम्पसमा शिक्षण सहायकका रूपमा कार्यरत राई ‘ट्याक्सस माइरेई’ को अनुसन्धानमा संलग्न छिन् ।)

प्रकाशित : असार २४, २०७७ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×