कन्स्टाइनले बेहोरेको त्यो बेलाको रंगभेद

वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको क्रिकेट कहिल्यै पनि खाली खेलमै मात्र सीमित भएन । जुलाई ८ देखि यी दुई टिम फेरि टेस्ट क्रिकेटका लागि मैदानमा फर्कंदै छन् । तीन टेस्टको यो सिरिज पनि खेलमै मात्र सीमित हुन्न, यसका धेरै आयाम छन् । ठीक यही बेला ल्यारी निकोलस कन्स्टाइनबारे पनि केही लेख्नैपर्ने बेला आएको छ । भन्नुपरेको छ, सुरूआती दिनमा यी अश्वेत खेलाडीले के कस्तो रंगभेद बेहोर्नुपरेको थियो ।
द गार्डियन

लन्डन — सन् १९२९ मा ल्यारी कन्स्टाइन पहिलोपल्ट नेल्सन आइपुगेका थिए । त्यतिबेला उनी सहरमा रहेका एकमात्र अश्वेत थिए ।

कन्स्टाइनले बेहोरेको त्यो बेलाको रंगभेद

स्कुले केटाकेटीहरू उनलाई एकपल्ट हेर्न घरैसम्म पुग्थे । उनीहरूमा व्यापक कौतूहल थियो, आफ्नो सहरको स्थानीय क्लबमा खेल्न आएका यी खेलाडी कसरी पो यति साह्रो काला छन् त ? बाटोमा भेट्दा पनि ती केटाकेटीले सोध्ने गर्थे, ‘के तपाईं कोइला खानीमा काम गरेर आउनुभएको हो ?’

अनि यस्तो पनि प्रश्न हुन्थ्यो, ‘तपाईंको शरीरको कालो साबुनले धोएर जान्छ त ?’ यस्ता प्रश्नले कन्स्टाइन आफैं अप्ठ्यारोमा पर्थे र उनीसँग यसको उत्तर हुँदैनथ्यो । उनलाई के लागेको थियो भने आफूविरुद्ध भएका जति पनि रंगभेदी व्यवहार छन्, ती सबै अज्ञानताले भएका हुन् । आममान्छेलाई कालो मान्छे हुन्छ भनेर थाहा थिएन । तर उनको यो भ्रम धेरै लामो समय टिकेन । उनी आफ्नो विश्वास फेर्न बाध्य भए, जतिबेला उनले पहिलोपल्ट दक्षिण अफ्रिकी अलरान्डर जिम ब्ल्यान्कबर्गलाई भेटे ।

संयोग कस्तो भने कन्स्टाइन उनकै स्थानको क्लबमा आएका थिए । ब्ल्यान्कबर्गले नेल्सनको भन्दा इस्ट लंकासायरबाट राम्रो प्रस्ताव आएपछि नयाँ क्लब जानु नै ठीक माने । भनिन्छ, उनी हदकै रंगभेदी व्यवहार गर्थे । उनले एकपल्ट जमैकाका महान् ब्याट्सम्यान जर्ज हेड्लीसँग बसेर सँगै खान पनि अस्वीकार गरेका थिए । किनभने उनी गोरा थिए, हेड्ली अश्वेत । उनी भन्ने गर्थे, ‘म त्यस ठाउँबाट आएको हुँ, जहाँ अश्वेतसँग बसेर खानु राम्रो मानिन्न ।’

संयोग कस्ता नभने कन्स्टाइन आएयताको पहिलो खेल नै नेल्सन र इस्ट लंकासायरबीच थियो । यो खेललाई लिएर कति धेरै कौतूहलता जागेको थियो भने त्यसलाई प्रत्यक्ष हेर्न १० हजारभन्दा बढीको भीड लागेको थियो मैदानमा । खेल सुरु हुनुअगाडि कन्स्टाइनले ब्ल्यान्कबर्गसँग हात मिलाउन खोजे तर उनले मानेनन् । कन्स्टाइनले हात अगाडि बढाउँदा पनि ब्ल्यान्कबर्गले आफ्नो हात पछाडि लगेका थिए । स्वाभाविक थियो, कन्स्टाइनले खुबै नराम्रो माने ।

त्यसको बदला भने उनले मैदानमा लिने प्रयास गरे, उनलाई सुरुमै बलिङको अवसर दिइयो । ब्ल्यान्कबर्गविरुद्ध उनले लगातार शर्ट बल फाले र यो ठ्याक्कै ‘बडीलाइन’ को थियो । यो शब्दावली सिर्जना हुन अगाडि नै कन्स्टाइनले उस्तै घातक बलिङ गरे । ब्ल्यान्कबर्गले ७७ रन त बनाए, तर आफ्नो टिमलाई हारबाट बचाउन सकेनन् । पूरा इस्ट लंकासायर टिम १ सय २७ रन बनाएर अलआउट भएको थियो र नेल्सनले ४ विकेट हात पारे ।

खेलपछि ब्ल्यान्कबर्ग नेल्सनको ड्रेसिङ रुममै गएर कन्स्टाइनको बलिङले आफ्नो शरीरमा कति धेरै चोट लागेको थियो भनेर देखाउन गए । यसपल्ट बेवास्ता गर्ने पालो कन्स्टाइनको थियो । पूरा घटनाको कति धेरै वर्षपछि फेरि इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच टेस्ट सिरिज सुरु हुन लागेको छ । वेस्ट इन्डिज टिमले निर्णय गरिसकेको छ, खेलका क्रममा तिनका खेलाडीले लगाउने जर्सीमा लेखिनेछ, ‘ब्ल्याक लाइभ्स म्याटर’ । यस्तो बेला पुरानो दिनका कन्स्टाइनलाई सम्झनु त जायज नै हुनेछ ।

खासमा कन्स्टाइन गज्जबका असाधारण मान्छे थिए, उनले खेल्न छाडेपछि इंग्ल्यान्डमा खुबै नाम कमाए । ती पुराना दिनमै रंगभेदविरुद्ध जमेर लडे । होटल इम्पेरियलले आफूविरुद्ध रंगभेदी व्यवहार गरेपछि कानुनी उपचार खोजे र पछि त्यसमा जित निकाले । इंग्ल्यान्डमा रंगभेदी व्यवहारविरुद्धका कतिपय कानुन बनाउनमा उनको ठूलो हात रह्यो । इंग्ल्यान्ड र वेस्ट इन्डिजले खेल्ने त मैदानमै हो, विज्डन ट्रफीका लागि । तर कन्स्टाइनको सम्मानमा यसपल्ट नयाँ ट्रफी पनि बन्दै छ ।

प्रकाशित : असार २३, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?