राखेप सदस्य सचिव नियुक्ति नयाँ प्रक्रियामा हुने

कुशल तिमल्सिना

काठमाडौँ — खेलकुद विकास ऐन–२०७७ लागू भएसँगै नेपाली खेलकुदको नियमक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यकारी सदस्य सचिवसहित पदाधिकारी र सदस्यको नयाँ नियुक्तिको प्रक्रिया सुरु हुने भएको छ ।

राखेप सदस्य सचिव नियुक्ति नयाँ प्रक्रियामा हुने

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सदस्य सचिव नियुक्तिको प्रक्रिया चाँडै सुरु गरिने जानकारी दिएका छन् । नयाँ ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्य सचिवको नियुक्तिको प्रक्रिया केही लामो हुन सक्छ । ऐनमा सदस्य सचिवको योग्यता र नियुक्तिको प्रक्रियामा राजनीतिक दबाबमुक्त गरिने व्यवस्था भएको मन्त्रीले दाबी गरेका छन् ।

‘यसअघि खेलकुद बाहिरका व्यक्तिलाई पनि राजनीतिक दबाबका आधारमा सदस्य सचिव नियुक्ति गर्ने परम्परा थियो । अब ऐनमै समावेश गरी सदस्य सचिव नियुक्तिको प्रक्रिया लागू भएको छ,’ मन्त्री विश्वकर्माले भने, ‘मन्त्रालयका सचिव र दुई विज्ञसहितको स्वतन्त्र कमिटीले कम्तीमा एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ र मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेअनुसार एक जनाको नियुक्ति हुन्छ ।’

कमिटीले सिफारिस गरेको नाममा फेरबदल गर्ने अधिकार मन्त्रालयको नहुने मन्त्री विश्वकर्माले प्रस्ट पारे । यसले राजनीतिक हस्तक्षेप कम हुने उनको तर्क थियो । नयाँ ऐनमा व्यवस्था भएअनुसार सदस्य सचिवको योग्यता ३० वर्ष पूरा भएको, स्नातक तह उत्तीर्ण गरेको र खेलकुदमा कम्तीमा ५ वर्ष सेवा गरेको हुनुपर्नेछ । सदस्य सचिवको छनोट गर्ने विधि सिफारिस कमिटी आफैंले निर्धारण गर्ने पनि मन्त्रीले जानकारी दिए ।

मन्त्री विश्वकर्माले सदस्य सचिवपछि उपाध्यक्ष र राखेप बोर्डमा सदस्यको नियुक्ति प्रक्रिया सुरु गरिने जानकारी दिए । बोर्डमा पनि सबै क्षेत्रको प्रतिनिधित्व हुने उनको दाबी छ । राखेपको कार्यकारी पदमा सदस्य सचिवको एकाधिकार कम गर्न ७ सदस्यीय कार्यकारी समितिको अवधारणा ल्याइएको मन्त्रालयले बताएको छ । ३७ सदस्यीय बोर्डबाहेक राखेपको नियमित कार्यसम्पादनका लागि ७ सदस्यीय कार्यकारी समिति हुने व्यवस्था ऐनमा गरिएको छ । समितिको संयोजक सदस्य सचिव हुनेछन् । बोर्ड सदस्यमध्येबाट ४ जना, मन्त्रालयका खेलकुद महाशाखा प्रमुख र राखेपको प्रशासकीय प्रमुख समितिका सदस्य हुनेछन् ।

निमित्तमा सहसचिव ढकाल


ऐन लागू भएसँगै रिक्त रहेको राखेप सदस्य सचिवमा मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाललाई निमित्तको जिम्मेवारी दिइएको छ । नयाँ प्रक्रियाअनुसार सदस्य सचिवको नियुक्ति नहुन्जेलसम्म खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार ढकाललाई निमित्त तोकेका हुन् ।

संघीय संरचनाअनुरूप हुने गरी सांसदको दुवै सदनले करिब डेढ वर्ष लगाएर तयार पारेको ऐन असार ११ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । ऐन असार १७ देखि लागू भएको हो । ऐन लागू भएसँगै सदस्य सचिव रमेशकुमार सिलवाल नियुक्त भएको १ वर्ष नपुग्दै पदमुक्त भएका थिए ।

ऐनको दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेप सदस्य सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको खेलकुद मन्त्रालयले जनाएको छ । सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भई खेलकुद मन्त्रालयमा आएका थिए । जिम्मेवारी पाएपछि ढकालले खेलकुद परिषद्को नियमित प्रशासनिक कार्यसम्पादन गर्न राखेपका विभागीय प्रमुखहरूको सल्लाह लिने बताएका छन् ।

‘यो मन्त्रालयमा मैले जिम्मेवारी लिएको १ महिना मात्र भएको छ । यसबीचमा राखेपमा कार्यकारी पद रिक्त राख्न नहुने कारणले कार्यवाहकको जिम्मेवारी लिएको हुँ,’ ढकालले भने, ‘निमित्तको जिम्मेवारी भएकाले मैले सामान्य र नियमित प्रशासनिक काम गर्ने हो । राखेपमा विभागीय र शाखा प्रमुखसँगको सल्लाह सुझावअनुसार काम गर्नेछु ।’ आर्थिक वर्षको अन्तिमको समय रहेको र यसै आर्थिक वर्षमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को हिसाब फर्स्योट गर्नुपर्ने जिम्मेवारी निमित्त सदस्य सचिवको हुनेछ । ‘१७ गतेसम्म पुरानै सदस्य सचिवले काम गरिरहनुभएको थियो । अधिकांश कामहरू उहाँले सम्पन्न गरिसक्नुभएको होला । बाँकी काम पनि सल्लाह गरेर गरिन्छ,’ उनले थपे ।

प्रकाशित : असार २३, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?