कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीपीएलमा सन्दीप लामिछाने एक करोड बढी मूल्यमा अनुबन्धित

कान्तिपुर संवाददाता

काठमाडौँ — सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो ।

सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९० हजार अमेरिकी डलर(करिब एक करोड ८ लाख नेपाली रुपैयाँ) तोकेका थिए । ईएसपीएन क्रिक इन्फोका अनुसार सन्दीपसँग जमैका तलावाजले करिब एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको छ । सन्दीपसँगै अफगानी अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डंक पनि सोही मूल्यमा अनुबन्धित भएको ईएसपीएनले उल्लेख गरेको छ ।

सीपीएलमा सन्दीप अनुबन्धित भएको यो तेस्रो पटक हो । यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट सीपीएलमा आफ्नो प्रदर्शन देखाइसकेका छन् । गत वर्ष सन्दीपले राष्ट्रिय टिमबाट खेल्नुपर्ने भएकाले बीचमै सीपीएल छोडेका थिए । सीपीएलको पहिलो संस्करणमा सन्दीप ५ हजार अमेरिकी डलर तथा दोस्रो संस्करणमा ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

सन्दीप आबद्ध जमैका तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथ्वेट, ओशाने थोमस, ग्लेन फिलिप्सलगायतका चर्चित खेलाडी रहेका छन् ।

यस सिजनको सीपीएल ट्रिनिडाड एन्ड टोबागोमा आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुने तय भएको छ । कोरोना महामारीका कारण यो सिजनको सीपीएल बन्द रंगशालामा आयोजना हुने बताइएको छ ।

प्रकाशित : असार २२, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्

जापानमा बाढीले मृत्यु हुनेको संख्या ४४ पुग्याे

एजेन्सी

टोकियो — जापानमा केही दिनदेखिको लगातार वर्षासँगैको बाढीका कारण ज्यान गुमाउनेहरुको संख्या ४४ पुगेको छ ।

कुमा नदीमा आएको बाढीपछि जलमग्‍न जापानको कुमामोतो प्रिफेक्चरको हितोयोसी आवासीय क्षेत्र तस्बिर : रोयटर्स

जापानको दक्षिण–पश्चिमी क्युसु क्षेत्र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानको मौसमसम्बन्धी निकायका अनुसार अझै केही दिन वर्षा भइरहने जनाएको छ ।

अधिकारीका अनुसार बाढीका कारण १ लाख १७ हजार घरपरिवारका २ लाख ५४ हजार जना प्रभावित भएका छन् । तीमध्ये कतिपयलाई अन्यत्र सारिएको जनाइएको छ ।

प्रभावितमध्ये १ हजार ५ सय जनालाई अस्थायी शरणार्थी शिविरमा राखिएको छ । उनीहरुका लागि ८६ शिविरहरु बनाइएको अधिकारीहरुले जनाएका छन् । बाढी र डुबानका कारण कम्तीमा १० जना हराइरहेका समाचार संस्था एएफपीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत्, खानेपानी, सडकलगायतका सञ्जाल तोडिएको छ । घटनामा परेका अरू केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । उद्धारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झन्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीका कारण कुमा नदीवरिपरि रहेका दर्जनौं घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले डुबानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ । डुबानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित : असार २२, २०७७ २१:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×