कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेलेसको पूरा नभएको सपना

मोनिका सेलेसले कति नै समय खेल्न पाइन् र ? उनको खेलजीवन निकै छोटो रह्यो । सेलेसले आरामले खेलेको भनेकै जम्माजम्मी तीन वर्ष जति मात्र हो । जसरी उनको खेलजीवन चाँडै सकियो, त्यो निकै दुर्भाग्यपूर्ण छ । तर जति समय खेलिन्, गज्जब खेलिन् । द टेलिग्राफले विश्व टेनिसकी महान् महिला खेलाडीबारे तयार पारेको सामग्रीको शृंखलामा अहिले पालो, यिनै सेलेसको । उनी तुफानको वेगले जस्तै विश्व टेनिसमा आइन् र सबैलाई रूवाएर बाहिरिइन् ।

न्युयोर्क — टेड टिनलिङ महिला टेनिसबारे राम्रै जानकार थिए । त्यसो त उनी टेनिस फेसन डिजाइनर थिए । तर उनले विश्व महिला टेनिसलाई निकै नजिकबाट नियाल्ने अवसर पाए ।

सेलेसको पूरा नभएको सपना

सन् १९९० मै उनको मृत्यु भएको थियो । त्यसको ठीकअगाडि उनले एउटा भविष्यवाणी गरेका थिए । भन्थे, ‘मोनिका सेलेस जतिको तीव्र गतिमा टेनिस खेल्ने खेलाडी मैले अहिलेसम्म देखेको छैन । उनी कोर्टमा आगो लगाउन सक्षम छिन् । उनको जत्तिको कडा प्रहार मैले अन्य कोही खेलाडीबाट देखेको छैन ।’

सेलेस भर्खर १६ वर्षकी थिइन् । उनले कुनै ग्रान्ड स्लाम उपाधि पनि जितेकी थिइनन् । तर टिनलिङले भने जस्तै सेलेको दुई हाते फोरह्यान्ड र दुई हाते नै ब्याकह्यान्ड गज्जबको थियो । यसकै मद्दतले उनी महिला विश्व टेनिसमा शिखर चढ्दै थिइन् । सेलेसको पहिलो ठूलो सिकार भएकी थिइन्, मार्टिना नभ्रातिलोभा । सन् १९९० को इटालियन कप फाइनलमा सेलेसले नभ्रातिलोभालाई खुबै नमज्जासँग हराइन् । विश्वास नहुन सक्छ, स्कोर थियो, ६–१, ६–१ ।

नभ्रातिलोभाले खेल सकिएपछि आफ्नो अनुभव सुनाउँदै भनेकी थिइन्, ‘मलाई त ट्रकले धक्का दिएजस्तै भयो ।’ त्यतिबेला नै भनिएको थियो, सेलेसको टेनिस त हेभिमेटल छ है । नभ्रातिलोभाविरुद्धको जितमा सेलेसको खेल आँकडा थियो, ३७ विनर्स अनि ६ मात्र अनफोर्स इरर । त्यसको एक महिना पनि त इतिहास बनिहाल्यो, सेलेस बनिन्, फ्रेन्च ओपन इतिहासमै सबैभन्दा कान्छी विजेता । उनले स्टेफी ग्राफलाई हराएकी थिइन् । स्कोर थियो ७–६, ६–४ को ।

त्यसअगाडि जर्मन खेलाडी ग्राफले १० मध्ये ९ ग्रान्ड स्लाम फाइनलमा जित हात पारेकी थिइन् । ग्राफको सर्भिस आफैंमा कडा थियो, उनको फोरह्यान्ड पनि कम्तीको थिएन । त्यो समय स्पष्ट रूपमा भन्दा ग्राफको समय थियो, उनले जे चाहन्थिन्, कोर्टमा त्यही हुन्थ्यो । सेलेस पनि त हार खाने खेलाडी त थिइनन् । सेलेसले सुरुमा चार सेट प्वाइन्ट जोगाएर टाइब्रेकमा अगाडि रहिन् । पछि त आरामले दोस्रो सेट पनि आफ्नो नाममा लेखाइन् ।

सन् १९९० मा फ्रेन्च ओपनको उपाधिसहित मोनिका सेलेस

त्यसपछि त सेलेसलाई जित्ने बानी नै परेको थियो । सन् १९९१ देखि १९९३ बीच ८ ग्रान्ड स्लाम फाइनल खेलिन् र त्यसमध्ये सातमा विजयी रहिन् । खेलको तथ्यांक थियो ५५–१ । यसबीच उनले ३४ अन्य प्रतियोगिता पनि खेलिन् । त्यसमध्ये ३३ मा फाइनलको यात्रा गरिन् । तर त्यसलगत्तै त्यो घटना घट्यो, जसबारे कसैले सोचेका पनि थिएनन् । यसलाई पूरा विश्व खेलकुदकै सबैभन्दा दुर्भाग्यपूर्ण र स्तब्धपूर्ण घटना मानिन्छ, जुन नभएको भए के हुन्थ्यो ?

सन् १९९६ को निचिरेई महिलातर्फ उपाधिका साथ मोनिका सेलेस फाइल तस्बिर : एपी

सेलेसको बैंसले भर्खर १९ छोएको थियो । उनी ह्याम्बर्गमा खेलिरहेकी थिइन् । ग्राफका सन्काहा समर्थकले उनलाई कोर्टमै पछाडिबाट छुरा प्रहार गरेका थिए । त्यसपछि त उनी कहिल्यै त्यस्तो खेलाडी हुन सकिनन् । जस्तो उनी वास्तवमै थिइन् । घाइते भएयता उनको खेलजीवन लामो समय चल्न सकेन । भावुक हुँदै सेलेसले भनेकी थिइन्, ‘म टेनिस कोर्टमै हुर्कें, त्यसैलाई सबैभन्दा सुरक्षित स्थान मान्थें तर त्यही कोर्टमा मैले सबथोक गुमाएँ पनि ।’ सेलेसले गुमाएकी थिइन्– निर्दोषिता, वरीयता, आम्दानी र प्रायोजन सबै ।

सन् १९९३ मा छुरा प्रहार भएपछि मोनिका सेलेस तस्बिर : द वर्ल्ड अफ् टेनिसको युट्युबबाट स्क्रिनग्र्याब

त्यसपछि त सेलेस डिप्रेसनको सिकार पनि भइन् । त्यसमाथि उनको खेलजीवनको सबैभन्दा ठूलो पात्र बुबा क्यान्सरको सिकार बने । आफ्नो आत्मकथामा सेलेसले ती दिनलाई निकै दुःखदायी भनेर वर्णन गरेकी छन् । सन् १९९६ मा उनले अन्तिक पटक ग्रान्ड स्लाम जितेकी थिइन् । सन् २००० मा उनको नाममा एक ओलम्पिक कांस्य पदक पनि रह्यो । सेलेसको खेलजीवनको सुरुआत जस्तो रह्यो, अन्त्य त्यसको ठीक विपरीत थियो ।

प्रकाशित : असार २२, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?