कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना सचेतना दौड

काठमाडौँ — लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा शनिबार राजधानीमा कोरोना भाइरससम्बन्धी सचेतना दौड गरिएको थियो । वैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सहआयोजनामा भएको ५ किमि भेट्रान रोड रेसमा ३ महिलासहित २५ प्रतिस्पर्धी थिए ।

कोरोना सचेतना दौड

कोरोना भाइरस (कोभिड–१९) का कारण २५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको नियम पालना दौड गरिएको पूर्वधावक तथा दौड संयोजक बुद्धवीर लामाले बताए । कोरोना भाइरसको जोखिम मध्यनजर गरी उच्च सतर्कता अपनाउने सन्देशसहित दौड गरिएको संयोजक लामाले बताए ।

सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरूलाई पनि बचाऔं’, ‘दौडौं र स्वास्थ्य रहौं’ र ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौं’ भन्ने नारा लेखिएको सन्देशमूलक प्लेकार्ड चेस्ट नम्बरका रूपमा प्रयोग गरेका थिए ।

सहभागी सबैले निर्धारित दूरी तय गरे । सबैभन्दा पाका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, एभरेस्ट म्याराथनकी तीनपल्टकी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका कांस्य विजेता धर्म महर्जन, संयोजक बुद्धवीर लामालगायत थिए । लामा पनि पूर्वधावक हुन् ।

कोरोना सचेतना दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयको मूलगेट बाहिरबाट सुरु भएर विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो । दौडलाई तीन विधामा विभाजन गरी प्रतिस्पर्धा गराइयो । ६० वर्षमाथि शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोस्रो र मंगलदास तण्डुकार तेस्रो भए ।

महिला खुलामा याङ्दी लामा शेर्पा पहिलो, सीता रिमाल दोस्रो र राधा श्रेष्ठ तेस्रो तथा ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन, भीमबहादुर गुरुङ र दीपककुमार रञ्जित पहिलो तीन स्थान स्थानमा रहे । विजेतालाई डा. खगेन्द्रबहादुर श्रेष्ठले पुरस्कृत गरे ।

प्रकाशित : असार २१, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?