कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘हामी लिभरपुल हौं’

त्यसैले भन्ने गरिन्छ, ‘वी आर लिभरपुल’ अर्थात् ‘हामी लिभरपुल हौं’ । विश्वका सबै समर्थक भावनात्मक रुपमा एउटै परिवार जस्तै । यही कारण क्लबका व्यवस्थापक योर्गन क्लोपले पनि लिग जित्नेबित्तिकै भनेका थिए, ‘लिभरपुलले लिग जितेपछिको खुसी सबैभन्दा पहिले आफ्नै समर्थकसँग साट्न चाहन्छु ।’
हिमेश

काठमाडौँ — बिहान–बिहानै म्यासेन्जरमा बजेको सन्देश एक प्रकारले ठीकै थियो । त्यसमा हरिवंश आचार्यको ‘१५ गते’ टेलिफिल्मको एउटा वाक्य कपी गरेर त्यही फोटोअनुसारको भाव यसरी पोखिएको थियो, ‘यसरी हारेपछि लिग जितेको त मतलब नै भएन नि ?’

‘हामी लिभरपुल हौं’

त्यस खेलअगाडि सबै लिभरपुल समर्थक एक प्रकारले मक्ख थिए, आफ्नो प्रिय क्लबलाई इंग्लिस प्रिमियर लिग जितेको सम्मानमा म्यानचेस्टर सिटीले ‘गार्ड अफ अनर’ दिने भनेपछि । पछिल्लो लिग विजेताको घरमा यस्तो आतिथ्यता कहाँ जहिल्यै पाइने हुन्छ र ?

तर इतिहादमा खेल सकिँदासम्म सबै लिभरपुल समर्थकको मन तीतो भइसकेको थियो । आखिरमा ४–० को हार कहाँ पचाउन सकिन्छ र ? धन्न, लिभरपुलले लिग जितिसकेको थियो, त्यसैले त्यो नतिजाको खासै मतलब भएन । विश्वास नहुन सक्छ, लिभरपुलले यसपल्ट लिग जितेको ३० वर्षपछिको पहिलो थियो । यसअघि सन् १९९० ताका लिग जित्दा त्यो इंग्लिस प्रिमियर लिग नै थिएन, पुरानो माथिल्लो डिभिजनको फुटबल थियो । त्यसयता एकपछि अर्काे वर्ष आयो, सिजनपछि अर्को सिजन पनि आयो । अहँ, लिग जित्नै सकेको होइन ।

प्रतिद्वन्द्वी क्लबका समर्थकलाई जिस्क्याउन पर्याप्त मसलाको कमी थिएन । भन्नेहरू भन्थे, लिभरपुल बलियो इतिहास बोकेको क्लब त हो तर यसको वर्तमान छैन । सुन्नै पर्‍यो, भाग्नुभएन । प्रत्येक सिजनको अन्त्यमा लिभरपुल समर्थक भन्ने गर्थे, ‘अब त अर्को सिजन ।’

लिभरपुल उपाधिको नजिक–नजिक नपुगेको पनि होइन, तर लिग उपाधि जति नजिक थियो, पछि उत्तिकै टाढा पनि साबित भयो । सामाजिक सञ्जालतिर धेरैले मन पराएको अर्को एउटा ग्राफिक्स क्लिप पनि छ । त्यसमा बुबाले सानो छोरालाई लिएर लिभरपुलको खेल हेर्न गइरहन्छ ।

एकपछि अर्को सिजन । त्यो सानो बच्चा हुर्कंदै जान्छ, बुबा बूढो हुँदै जान्छ । आखिरमा बुबाको मृत्यु नै हुन्छ, छोराको पनि छोरी हुन्छ । बल्लतल्ल यो सिजन आएर लिभरपुलले उपाधि जित्छ । खुसियाली छाउँछ । काल्पनिक नै सही, यो क्लिप खुबै मन छुने खाले छ । पछिल्लो तीन दशकमा लिभरपुल समर्थक हुनुको अर्थले यति धेरै पीडा बोक्नुपरेको छ, लिग नजित्दा । त्यसको अगाडि अहिले म्यानचेस्टर सिटीसँगको हार त के को पीडा र ? बानी पो परिसकेको थियो, कसैले उडाएको सुन्नु पनि ।

इंग्ल्यान्डतिरका लिभरपुल समर्थकलाई यसबीच कस्तो भएको हुँदो हो, अनुमान गर्न सकिन्छ । त्यसको सात समुद्रपारि एउटा क्लबको समर्थक हुनुको नाताले प्राप्त हुने खुसी, दु:ख, पीडा र आक्रोशचाहिँ कम्तीको हुन्न ।

नेपालमा पनि इंग्लिस प्रिमियर लिगलाई एकोहोरो माया जस्तो गरेर फुटबल हेर्नेको कमी छैन । त्यसमध्ये बाक्लै संख्यामा लिभरपुल समर्थक छन्, सायद त्यो भन्दा बढी म्यानचेस्टर युनाइटेडका समर्थक होलान् । चेल्सी र आर्सनलका समर्थकको पनि कमी छैन ।

र, यसले देखाउँछ । नेपालमा फुटबल हेर्ने संस्कति कस्तो हुँदैछ र कसरी विकास भइरहेको छ भनेर । फेरि दोहोर्‍याएर कुरा गर्नु परे पनि अन्तर्राष्ट्रिय फुटबल हेर्ने संस्कृतिबारे बुझ्न केही वर्ष पछाडि फर्कनु नै पर्छ । नेपाल टेलिभिजनबाट देखाइएको पहिलो विश्वकप सन् १९८६ को हो । त्यतिबेला अर्जेन्टिनाले विश्वकप जित्यो, धेरैभन्दा धेरै नेपाली अर्जेन्टिनाकै समर्थक भए । डिएगो म्याराडोना भनेपछि उनी जत्तिको राम्रो फुटबल खेल्न सक्ने अरू कोही छैनन् भनेर विवाद गर्ने पनि भए ।

सन् १९९० को वरिपरि नेपाल टेलिभिजनले फुटबलसम्बन्धी केही कार्यक्रम चलाउने गथ्र्यो । जस्तो ‘रोड टु वेम्बली’ र ‘फुटबल मेड इन जर्मनी’ । इटालीको फुटबल देखाउने अलग्गै कार्यक्रम थियो । त्यो त्यही समय थियो, जति बेला लिभरपुल बलियो थियो र लिग जितेको थियो । भनिरहनुपर्दैन, त्यो जमानाका दर्शकमध्ये धेरै लिभरपुल समर्थक भए । इटालीतर एसी मिलानको जगजगी थियो, त्यसका पनि केही समर्थक भए । विशेषत: मिलानका तीन डच खेलाडीलाई मन पराउने भए । त्यसमा रुड गुलिट, मार्को भान भास्टन र फ्रान्क रायकार्ड रहे ।

त्यस बेलाको नेदरल्यान्ड्सको टिम पनि कम्तीको थिएन । पछि गएर इंग्लिस प्रिमियर लिगका अधिकांश खेल मज्जाले हेर्न पाइने भयो, जतिबेला म्यानचेस्टर युनाइटेड र सर एलेक्स फर्गुसनको प्रभुत्व चलेको थियो । त्यसै पनि पूरा विश्वमा म्यानचेस्टरका समर्थक धेरै छन् । यसकै छनक देखिने गरेर नेपालमा पनि धेरै भए । त्यसकै छेउछाउमा आर्सनल र चेल्सीले लिग जिते, उसका समर्थक पनि बन्दै गए । यसबीच लिभरपुलले लिग त जितेन तर समर्थक भने गुमाएन ।

बरू थपिँदै गयो र यसको एउटा ठूलो कारण लिभरपुलले युरोपेली च्याम्यिन्स लिग जित्नु थियो । त्यो सम्भव भएको थियो सन् २००५ मा इस्तानबुलको चामत्कारिक रातमा । तर यसले घरेलु लिग नजित्नुको पीडामा मल्हम लगाउने काम गरेन । म्यानचेस्टर युनाइटेडले भटाभट लिग जित्दा हाम्रै ती क्लबका समर्थकको खुट्टा भुइँमा थिएन । तिनलाई पनि लिभरपुल समर्थक भनेपछि जिस्क्याउँदाको मज्जा नै अर्कै । पछि त यस्तै काम आर्सनल र चेल्सी समर्थकले पनि गरे ।

पुस्तान्तरका समर्थक

तीन दशकसम्म लिग नजित्दा मन सानो बनाउन बाध्य नेपाली समर्थक कस्ता–कस्ता छन् त ? तीन नाम कहलिएका समर्थकको कुरा गरौं न ।

पहिलो त भए, काठमाण्डू पोस्टका पूर्वसम्पादक अखिलेश उपाध्याय । उनी लिभरपुल भनेपछि हुरुक्कै हुने खालका थिए । लिभरपुलले जितेको दिन, उनको मन सानो फुच्चे समर्थक जत्तिकै हुन्थ्यो । न्युज रुममा भेट्दा पनि टाढैबाट मुस्कुराएर आउँथे र खेलको कुरा निकालिहाल्थे । आखिरमा सम्पादकको च्याम्बरमै लिभरपुलबारे कुरा गर्न पाउँदा त्यसको खुसी कसरी शब्दमा बयान गर्न सकिन्छ र ?

यी सम्पादक दाइ कसरी लिभरपुल समर्थक बने त ? यसका लागि टेलिभिजनको प्रसंगले मात्र पुग्दैन, रेडियाको जमानामा पुग्नुपर्छ । सन् ७० तिर पनि लिभरपुल नै इंग्ल्यान्डको नम्बर एक टिम थियो, त्यतिबेला पनि क्लबले एकपछि अर्को उपाधि जितेको थियो । उनी रेडियोमा कमेन्ट्री सुन्ने गर्थे । उनले राति भनेनन्, काम छ भनेनन्, रेडियोमा कमेन्ट्री सुनिरहे । र, बने लिभरपुलका जबरदस्त समर्थक । क्लबले भर्खर उपाधि जित्दा उनी कति खुसी थिए भनेर बुझ्ने हो भने उनका ट्वीटर पेजमा हेरे पुग्छ ।

उनी जत्तिकै लिभरपुल समर्थक त नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पनि हुन् । अनौपचारिक कुराकानीमै सही । उनी भन्थे, ‘लिभरपुलको समर्थक कसरी भयो, ठ्याक्कै थाहा भएन ।’ यो त एक जोडी प्रेमीलाई तिमीहरूबीच कसरी माया बस्यो भनेर सोध्यो भनेर आउने उत्तर जस्तै हो, ‘थाहै भएन, माया भएपछि मात्र चाल पाइयो ।’ तर एउटा तथ्य के निश्चित छ भने इस्तानबुलमा लिभरपुलले च्याम्पियन्स लिग जितेपछि उनी लिरभपुलका पक्का भक्त भए । उनी पनि लिभरपुलबारे आफ्ना भावना सामाजिक सञ्जालमा पोखिरहन्छन् । अनौपचारिक नै सही उनले पनि अन्य सबै लिभरपुल समर्थकले जस्तै भन्ने गरेका छन्, ‘मलाई त कहिलेकाहीं लिभरपुलले जित्दा भन्दा पनि म्यानचेस्टर युनाइटेडले हार्दा खुसी लाग्छ ।’

म्यानचेस्टर सिटीविरुद्ध खेल्दै लिभरपुलका खेलाडी । तस्बिर : एपी

जसरी पूरा विश्वलाई थाहा छ, लिभरपुल र म्यानचेस्टर युनाइटेड सबैभन्दा ठूला शत्रु हुन् । त्यसरी नै नेपालमा यी दुई क्लबका समर्थक पनि एकापसमा मिल्दैनन् । एकले अर्कोको खेदो खनेकै हुन्छन् । पारस पनि यसका अपवाद रहेनन् । एलेक्स फगुर्सनले पनि पहिलोपल्ट म्यानचेस्टर सम्हाल्दा भनेकै थिए, उनको एकमात्र लक्ष्य भनेको लिग उपाधि जित्नेक्रममा लिभरपुललाई उछिन्ने ।

जतिबेला उनले पहिलोपल्ट बोलेका थिए, त्यसलाई सबैले हाँसेर उडाए । तर उनले काम भने गरेर नै देखाए । अब सायद लिभरपुलको पालो हो कि लिग बढी जितेको होडमा म्यानचेस्टरलाई उछिन्ने ? अब तेस्रो लिभरपुल समर्थकको पालो । उनी हुन् नेपाली कांग्रेसका नेता उदयशमशेर राणा । उनी कसरी लिभरपुल समर्थक भए, त्यसबारे सोध्ने अवसर पाइएको छैन । तर अनुमान छ उनी पनि सन् ७० तिरै फुटबल हेर्थे ।

आफ्ना साथीभाइबीच लिभरपुल समर्थक थुप्रै छन् । नेपाली राष्ट्रिय टिममै पनि लिभरपुल समर्थकको कमी छैन, खुलेर नै यो क्लब समर्थक हुँ भन्नेमा जगजित श्रेष्ठदेखि विशाल राई पर्छन् । उनीहरूसँगै हात्तीसारको एउटा रेस्टुरेन्टमा लिभरपुलको खेल हेरेको छु । लिभरपुलको खेलमात्र त्यो रेस्टुरेन्टमा देखाइन्छ । त्यहाँ पुगेपछि पहिलोपल्ट अनुभव भयो, लिभरपुलका समर्थक त हाम्रो काठमाडौंमै पनि धेरै रहेछन् । नेपाली फुटबल टोलीका प्रमुख रक्षक अनन्त तामाङ मैदानबाहिर विशालसँगै लिभरपुलको ट्युन मिलाइरहेका हुन्छन् ।

उनीहरूसहित पूर्वबैंकर सुधीर खत्री, गायक स्वप्निल शर्मा, पाइटलद्वय डीबी बस्नेत, भगवान थापा जस्ता सेलिब्रेटी लिभरपुलका समर्थक छन् । उनीहरूजस्ता धेरैलाई अफिसियल लिभरपुल स्पोर्ट्स क्लब नेपाल (ओएलएससी) ले एक स्थानमा उभ्याएको छ । बिस्तारै नेपालमा गठित लिभरपुल समर्थकको समूहमा आबद्ध भएयता धेरै जानकारी पाइयो । लिभरपुल फुटबल क्लबकै आधिकारिक मान्यता रहेको यस ओएलएससी पीयूष न्यौपाने, निश्चल अधिकारी, सुशोभन मल्ल, सौरभ नेपाल जस्ता युवाको काँधमा अगाडि बढिरहेको छ ।

सबैभन्दा बढी खुसी त त्यतिबेला लागेको थियो, जतिबेला पोहोर लिभरपुलले च्याम्पियन्स लिग जित्दा ठमेलको पर्पल हेजमा स्क्रिनिङ गरिएको खेल हेर्न पाइयो । लिभरपुलले टोटेनहमलाई हराएर च्याम्पियन्स लिग जितेको थियो । ठमेलमा एनफिल्ड जस्तै अनुभव भएको थियो । त्यस पबमा छिर्न पनि लिभरपुलको जर्सी अनिवार्य थियो । पहिलोपल्ट के भित्र पुगें । आश्चर्य नै लाग्यो, हजारौं लिभरपुल समर्थक थिए । ती कम्तीमा समर्थक थिएन, लिभरपुलसँग जोडिएका प्रत्येक गीत दुरुस्त गाउन सक्ने खालका थिए ।

कसैलाई लाग्न सक्छ, लिभरपुलले इंग्ल्यान्डमा लिग जितेको छ, हल्ला काठमाडौंमा बढी किन ? कसैले यस्तो प्रश्न सोध्छ भने बुझौं, त्यसलाई फुटबलबारे धेरैथोक थाहा छैन । अहिलेको विश्व फुटबल भन्नु नै यस्तै हो, यसको कुनै भौगोलिक सीमा छैन । तपाईं कुनै क्लबलाई मन पराउनुहुन्छ भने त्यसमा परिवर्तन हुने गर्दैन पूरा जीवन । मन परेको क्लबले जित्दा खुसी, हार्दा दु:ख । लिभरपुल समर्थक भएको नाताले हामीजस्ता धेरै खुसी छन्, चाहे त्यो काठमाडौंको होस् या अन्यत्रका ।

त्यसैले भन्ने गरिन्छ, ‘वी आर लिभरपुल’ अर्थात् ‘हामी लिभरपुल हौं’ । विश्वका सबै समर्थक भावनात्मक रूपमा एउटै परिवार जस्तै । त्यसैले त क्लबका व्यवस्थापक योर्गन क्लोपले पनि लिग जित्नेबित्तिकै भनेका थिए, ‘लिभरपुलले लिग जितेपछिको खुसी सबैभन्दा पहिले आफ्नै समर्थकसँग साट्न चाहन्छु ।’ उनकै शब्दमा भन्दा लिभरपुल समर्थकले धेरै दु:ख बेहोर्नुपरेको छ, लिग जित्न नसक्नुको कारण । अब लिग जितेपछि खुसीको पहिलो हकदार पनि समर्थक नै हुन् ।

‘तिमी एक्लै हिँड्ने छैनौं’

लिभरपुलको एन्थम गीत हो, ‘यू विल नेभर वाक एलोन’ । त्यसको सार ‘तिमी एक्लै हिँड्ने छैनौं’ भन्ने हो । लिभरपुलको घर एनफिल्डमा खेल सुरु हुनुअगाडि यो गीत समर्थकले गाउनै पर्छ । यो त परम्पराजस्तै भइसकेको छ । यो गीत सुनेपछि एकातर्फ लिभरपुलका खेलाडीको हौसला नै अकासिन्छ भने विपक्षी खेलाडीको मनोबल नै गिर्ने गर्छ । यो कोही लिभरपुल समर्थकले भनेको पनि होइन, यस्तो अनुभव पोख्ने धेरै विपक्षी टिमका खेलाडी छन् ।

खासमा यो लिभरपुलका लागि लेखिएको गीत थिएन । खासमा यो त गीति नाटकको एउटा गीत न थियो । त्यसको दोस्रो भागमा यो खुबै हृदयविदारक क्षणमा बज्थ्यो । त्यस गीति नाटकका मुख्य महिला पात्रले आफ्नो प्रेमिकालाई गुमाएपछि बज्ने गर्छ, ‘तिमी एक्लै हिँड्ने छैनौं’ भनेर । पछि यसलाई लिभरपुलको एउटा ब्यान्ड ग्यारी एन्ड द पेसमेकर्सले गायो र यही गीतलाई लिभरपुल समर्थकले पनि एनफिल्डमा लय मिलाएर गाउन थाले ।

खासमा भएको के थियो भने लिभरपुल एनफिल्डमा आफ्नै डिजे भएको इंग्ल्यान्डकै पहिलो क्लब थियो । खेल सुरु हुन अगाडि उनी त्यसताका चार्टको शीर्षस्थानमा रहने गीत बजाउने गर्थे । सन् ७० तिर इंग्ल्यान्डमात्र के हो र पूरा विश्वमै द बिटल्सले तहल्का मच्चाइरहेको थियो । फेरि त्यसमाथि यो ब्यान्ड लिभरपुलकै थियो । एनफिल्डको दर्शकदीर्घामा बसेर क्लब समर्थकले धेरैपल्ट द बिटल्सका गीत गाए । यसैक्रममा धेरैको ‘यू विल नेभर वाक एलोन’ मनमा बस्यो । अब त यो लिभरपुलकै गीतभन्दा पनि हुन्छ वा हुन्न पनि ? कारण ? कोरोना भाइरस संक्रमणको महामारीले सबैभन्दा बढी पिरोलिएको देश त इंग्ल्यान्ड पनि हो । त्यहाँ बिरामीको उपचार गर्न चिकित्सकीय टोलीले खुबै मिहिनेत गरेको थियो, डाक्टरदेखि नर्ससम्म । तिनकै उत्साह बढाउन पनि यो गीत एकपछि अर्को अवसरमा बजाइयो । यही गीत सुनेर बिरामीमा पनि खुसी छाएको थियो । अब भनेपछि यो गीतलाई लिएर लिभरपुल समर्थकमा थप गर्व महसुस हुनेछ ।

क्लोप, डगलिस र जेरार्ड

अन्त्यमा सबै लिभरपुल समर्थकले भन्ने गरे जस्तै कुरा कोट्याऔं न । यसपल्ट लिग जित्नुको सबैभन्दा बढी श्रेय कसलाई दिनुपर्छ त ? यसमा धेरैको उत्तर आउने गर्छ, व्यवस्थापक योर्गन क्लोपको । आखिरमा उनको हेभिमेटल शैलीको फुटबलले काम गरेको नै हो । त्यसो त क्लोपकै भाषामा लिभरपुलले लिग जित्नुको सबैभन्दा ठूलो श्रेय खेलाडीलाई नै जानुपर्छ । खेलाडीले खेलेर नै त लिग जितेको हो । तर यो टिम बनाउने काम भने क्लोपको नै हो ।

उनी आउनु अगाडिसम्म लिभरपुल बलियो टिम त थियो । तर त्यसमा त्यो विश्वास थिएन, जसले उसलाई जिताउन मद्दत गरोस् । क्लोपले यही काम गरेका थिए । अहिलेका लिभरपुल खेलाडी राम्रा त छन् नै । तिनमा लिग जित्न सक्ने आत्मविश्वास भर्ने काम क्लोपले गरे । खासमा यी जर्मन क्लोप आधुनिक फुटबलका जबरजस्त प्रशिक्षक हुन् । खेलाडी त उनी राम्रा थिएनन् तर प्रशिक्षक अब्बल दर्जाका भए । यो त खराब कवि राम्रा समालोचक भएजस्तै हो ।

लिभरपुल प्रशिक्षक योर्गन क्लोप तस्बिर : एपी

जतिबेला उनी पहिलोपल्ट लिभरपुल क्लबको प्रशिक्षक नियुक्त भए । उनले भनेका थिए, ‘४–५ वर्ष लाग्न सक्छ, यो क्लबले लिग जित्नेछ ।’ उनी आएपछि त लिभरपुललाई उपाधि जित्ने बानी नै परेको छ । चाहे त्यो च्याम्पियन्स लिग होस् वा क्लब वल्र्डकप । अझ भन्ने हो भने उनी आएपछि लिभरपुलमा सफलताका पुराना दिन फर्केका छन् । पूर्वकप्तान स्टेफन जेरार्डले भने जस्तै, क्लोपका सालिक त बनाउनुपर्छ नै एनफिल्डबाहिर ।

ठीक यहाँनिर दुईको नाम धेरैले छुटाउन चाहेनन्, केनी डगलिस र जेरार्डको । दुवै लिभरपुलका लिजेन्ड हुन् । खेलाडी छँदा त डगलिसले लिभरपुलका लागि खेलाडी भएर सबथोक नै जिते । प्रशिक्षक भएर भने लिग जिते । ब्ल्याकबर्नलाई व्यवस्थापक भएर प्रिमियर लिग नै जिताए । त्यो अर्कै कुरा भयो । क्लोप र ब्रेन्डन रोजर्स अगाडि पनि एक समय उनले दोस्रो कार्यकालका रूपमा क्लब सम्हालेका थिए । उनी लिभरपुलको स्वर्णिम दिनका पात्र हुन्, अहिलेको लिग जित्नुमा उनको कुनै न कुनै भूमिका छ ।

अनि जेरार्ड ? डगलिस लिभरपुल क्लब इतिहासका सर्वकालीन नम्बर एक खेलाडी हुन् भने जेरार्ड नम्बर दुई । लिभरपुल समर्थकमाझ उनी उत्तिकै लोकप्रिय छन्, सबैका प्रियपात्र हुन् । उनले पनि खेलाडीका रूपमा लिग जित्न नै सकेनन् । तर लिभरपुल समर्थकलाई एकसूत्रमा बाँधेर राख्ने काम यिनैले गरेका हुन् । त्यसैले त लिभरपुलले यसपल्ट लिग जितेपछि सबैले दोहोर्‍याएर तेहेर्‍याएर उनलाई सम्झिए । यसपल्टको लिग सफलताको सुरुआती जग कहींकतै उनैले त तयार पारेका हुन् ।

प्रकाशित : असार २०, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?