१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

जसले वेस्ट इन्डिज क्रिकेटको बलियो जग बसाले

एएफपी

काठमाडौँ — ‘थ्री डब्लू’ का अन्तिम डब्लू पनि रहेनन् अब । सर एभरटन विक्स ती खेलाडीमध्ये एक थिए, जसले बलियो वेस्ट इन्डिज क्रिकेटको जग बसाले । उनको निधनसँगै विश्व क्रिकेटले एक महान् खेलाडी गुमाएको छ । उनीबारे एएफपीले तयार पारेको सामग्री :

जसले वेस्ट इन्डिज क्रिकेटको बलियो जग बसाले

सर एभरटन विक्सको बुधबार निधन भयो, उनी ९५ वर्षका थिए । यससँगै विश्व क्रिकेटले गुमाएको छ, एक महान् ब्याट्सम्यान । कुनै समय वेस्ट इन्डिज क्रिकेटमा ‘थ्री डब्लू’ को जगजगी थियो । यो तीन लिजेन्ड क्रिकेट खेलाडीलाई दिइएको नाम हो । त्यसमध्ये अन्तिम डब्लू पनि अब रहेनन् । दोस्रो विश्वयुद्धपछि उनीहरूले बलियो वेस्ट इन्डिज क्रिकेटको जग बसालेका थिए । यो क्रम लामो समयसम्म सुदृढ ढंगले कायम पनि रह्यो ।

उनको प्रदर्शनको आँकडा आफैंमा गज्जब छ । जस्तो, उनले सन् १९४८ देखि १९५८ बीच ४८ टेस्ट खेले । त्यसमा उनले ४ हजार ४ सय ५५ रन बनाए र औसत थियो ५८.६१ । उनले कुल १५ टेस्ट शतक बनाए । त्यसमध्ये ५ शतक त लगातार टेस्टमा थियो । यो त्यस्तो कीर्तिमान हो, जसलाई छुन कसैले सकेका छैनन् । सायद सक्दैनन् पनि । यो त भयो आँकडा मात्रै । उनले जसरी ती रन बनाए, त्यो आफैंमा ठूलो थियो, महान् थियो ।

पूर्व वेस्ट इन्डिज कप्तान जेफरी स्टोलमेयर भन्थे, विक्स ५ फिट ६ इन्चको मासुको डल्लो हो । उनको भनाइ थियो, ‘विक्स कुनै नराम्रो काम गर्ने खालका थिएनन् । न त उनलाई कुनै प्रकारको रमाइलो गर्नुमा रुचि थियो । उनी त रनमात्र बनाउन चाहन्थे, यो नै उनको एकमात्र काम थियो । उनको स्ट्रोक्स पनि हेरिरहुँ भन्ने खालको हुन्थ्यो । उनी क्रिकेटलाई खुबै माया पनि गर्थे ।’ विक्सको स्क्वायर कट जति राम्रो थियो, उत्तिकै कभर ड्राइभ पनि सुमधुर हुने गर्थ्यो ।

उनको हुक जति सानदार थियो, उनको अनड्राइभ पनि उत्तिकै लचकदार हुन्थ्यो । सन् १९२५ को फेब्रुअरी २६ मा बार्बाडोजमा एभरटन डे कोर्से विक्सको जन्म भएको थियो । जम्माजम्मी १८ महिनाको अन्तरमा एक माइलभन्दा कम दूरीमा तिनै डब्लूको जन्म भएको थियो । बाँकी दुई डब्लू थिए, फ्रान्क वारेल र क्लायेड वालकट । ‘यी तीन डब्लूमध्ये रन बनाउन सबैभन्दा माहिर त विक्स नै थिए, उनलाई जर्ज हेड्लीसँग तुलना गर्न मिल्छ,’ इंग्ल्यान्डका पूर्व सफल ब्याट्सम्यान डेनिस कम्पट मान्छन् ।

हेड्लीकै आंशिक कारणले पनि यी विक्सले वेस्ट इन्डिज टिममा जम्ने अवसर पाएको भन्दा पनि हुन्छ । गुबी एलेनको नेतृत्वमा सन् १९४८ मा वेस्ट इन्डिज पुगेको इंग्ल्यान्डविरुद्ध २३ वर्षीय विक्सले सुरुआती तीन टेस्ट त खेल्न पाए, राम्रो गर्न सकेनन् । उनको व्यक्तिगत उच्च स्कोर नै ३६ मात्र थियो, त्यसैले उनी चौथो टेस्ट खेल्ने टिमबाट फालिए । तर यही टेस्टअगाडि ३९ वर्षीय हेड्ली चोटग्रस्त भए । खेल्न असमर्थ भए । त्यसैले विक्सले फेरि मौका पाए ।

यो लोकप्रिय निर्णय थिएन, सायद उनको स्थानमा जमैकाका जेके होल्टले अवसर पाउनुपर्ने थियो । विक्स त्यस टेस्टको पहिलो दिनको मध्यतिर मात्र उनी किंग्सटन पुगे, बार्बाडोजबाट । तर यही टेस्टमा उनले १ सय ४१ रनको सानदार इनिङ्स खेले । त्यस इंग्लिस टिमका बलर थिए, एलेन, माउरिस ट्रेम्लेटदेखि जिमी लेकरसम्म । त्यो टेस्टमा वेस्ट इन्डिज १० विकेटले विजयी रह्यो । त्यसपछि त विक्सले पछाडि फर्केर हेर्नुपरेन र लगातार खेलिरहे ।

त्यसको एक वर्षपछि वेस्ट इन्डिज टिम भारत भ्रमणमा निस्केको थियो । त्यस सिरिजमा उनले दिल्लीमा १ सय २८, बम्बेमा १ सय ९४ र कोलकातामा १ सय ६२ र १ सय १ रन बनाए । मद्रासमा भएको खेलमा पनि उनी शतक नजिक त पुगेका थिए, तर ९० रनमा रनआउट भए । वालकट मान्छन्, त्यो ठीक निर्णय थिएन । तर विक्स लगातार ६ शतक बनाउनबाट भने चुके । सन् १९५० मा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३–१ ले हराएको सिरिजमा पनि विक्स लयमा रहे ।

तर त्यो टेस्टको श्रेय भने स्पिनर जोडी सोनी रामदिन र अल्फा भ्यालेन्टाइनलाई दिनुपर्छ । त्यस सिरिजमा विक्सले सुरुमा तीन अर्धशतक बनाए । पछि ट्रेन्ट ब्रिजमा १ सय २९ रनको इनिङ्स खेले । उनको त्यो खेलमा सबैभन्दा प्रभावित रहेका थिए, नटिङ्घमसायरका इंग्लिस प्रारम्भिक ब्याट्सम्यान जर्ज गन । उनी भन्छन्, ‘मैले भिक्टर ट्रम्पको खेले हेरें, डन ब्रेडम्यानको पनि खेल हेरें । तर विक्ससँग शटका सबैभन्दा बढी प्रकार थियो । विक्सको प्रहार हेर्नमा निकै आनन्द लाग्ने खालको थियो ।’

गन त्यतिबेला ७१ वर्षका भइसकेका थिए । उनले १९०२ देखि १९३२ ताका इंग्ल्यान्डका लागि खेलेका थिए । सन् १९५७ मा उनी फेरि इंग्ल्यान्ड त आए, तर उनको प्रदर्शन पहिलो जत्तिको रहेन । खाली एक इनिङ्समात्र राम्रो खेले । त्यो लर्डसमा थियो र अवसर थियो दोस्रो इनिङ्सको । वेस्ट इन्डिज २ सय १७ रन पछाडि थियो । उनी क्रिजमा आउने बेला वेस्ट इन्डिज ८०–४ को स्थितिमा थियो र टिम ठूलो अन्तरको हारतर्फ अग्रसर थियो ।

इंग्लिस आक्रमणमा थिए, फ्रेड ट्रयुमन, ब्रायन स्टाथम र ट्रेभर बेली । नर्सरी एन्डबाट उनीहरूले खुबै घातक आक्रमण रचे । क्विक्स क्रिजमा आएका बेला अर्को छेउमा ग्यारी सोबर्स थिए । उनीहरूले ९५ मिनेटमा सय रन बनाए । विक्सको यसैक्रममा औंला पनि भाँचिएको थियो । तर उनले चोटकै बीचमा साढे तीन घण्टा बहादुरीपूर्वक ब्याटिङ गरे । उनले लर्ड्समा चारैतर्फ रन बटुले, १६ चौका प्रहार गरे । आखिरमा उनी ९० रन बनाएर आउट भए ।

कम्पटन थप्छन्, ‘यत्तिको बहादुरीपूर्ण इनिङ्स मैले बिरलै मात्र देखें । यो महान ब्याट्सम्यानको गुणले भरिएको प्रदर्शन थियो ।’ यो तिनै दिन थियो, जतिबेला वेस्ट इन्डिज एक सामान्य टिमबाट विश्वकै उत्कृष्ट टिम बनेको थियो । विक्स र उनका थ्री डब्लू साथीले नै अरू नाम चलेका खेलाडीका लागि स्थान निर्माण गरे । जस्तो कि ग्यारी सोबर्स, रोहन कन्हैया, क्लाइभ लोएड, भिभ रिभर्ड्स आदि आदि । सन् १९५८ मा उनले संन्यास लिए । सन् १९९५ मा उनको नाम अगाडि थपियो, ‘सर’ पनि ।

प्रकाशित : असार १९, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?