१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्राफको गुनगान

द गार्डियन

लन्डन — फोरह्यान्ड । क्या, गज्जबको फोरह्यान्ड थियो त्यो । स्टेफी ग्राफ विश्व टेनिसकै सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धिबाट खाली एक अंकमात्र टाढा थिइन् । कोर्टको अर्को छेउमा थिइन्, ग्याब्रियल सबातिनी । उनी आफ्नो दोस्रो सर्भिस गर्ने क्रममा थिइन्, ग्राफले चलाखीपूर्ण केही पाइला चालिन् । उनको त्यो फुटवर्क सदाझैं हेर्दा आनन्द लाग्ने खालको थियो । त्यसैक्रममा उनले प्रहार गरेको शक्तिशाली फोरह्यान्डमा सबातिनी रन्थलिइन् र त्यसमा लागेको शट सोलको दर्शकदीर्घातर्फ उडेको थियो ।

ग्राफको गुनगान

यससँगै १९ वर्षीया ग्राफले सन् १९८८ को ओलम्पिकमा महिला एकलको स्वर्ण जितिन् । त्यो वर्ष उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन सबै जितिसकेकी थिइन् । त्यसमाथि ओलम्पिक स्वर्ण थपियो । यसलाई विश्व टेनिसमा प्राप्त गर्न सकिने दुर्लभभन्दा पनि दुर्लभ उपलब्धि मानिन्छ । पुरुष र महिला दुवै विधामा यस्तो उपलब्धि न अहिलेसम्म कसैले प्राप्त गर्न सकेको थियो, न त पछि कसैले प्राप्त गर्न सक्नेछन् ।

यो त धेरै बिरलै मात्र सुन्न पाइने उपलब्धि थियो, ‘गोल्डेन स्लाम’ । ग्राफ महिला टेनिसको त्यो निर्णायक विन्दुबाट उदय भएकी खेलाडी थिइन्, जसको क्रममा उनले सुरुमा मार्टिना नभ्रातिलोभा र क्रिस एभर्टको जगजगी तोडिन् अनि मोनिका सेलेस र विलियम्स दिदीबहिनी (भेनस र सेरेना) का लागि बाटो पनि खोलिन् । ग्राफपछि त हो महिला टेनिसमा पनि शक्तिशाली खेलाडीको आगमन सुरु भएको । त्यो त्यही समय थियो, जतिबेला पुरुषतर्फ यस्तै शक्तिशाली टेनिस खेल्ने अर्का जर्मन खेलाडी बोरिस बेकरको आगमन भएको थियो ।

जसरी बेकर शक्तिशाली सर्भिसका लागि माहिर थिए, त्यस्तै ग्राफको फोरह्यान्डको कुनै उत्तर थिएन । उनी जताबाट जस्तै स्थितिमा पनि फोरह्यान्ड प्रहार गर्न सक्षम थिइन् । त्यसैले त सन् १९८९ मा जिन ग्यारिसनले खुबै भनेकी थिइन्, ‘ग्राफको जत्तिको फोरह्यान्ड अहिलेसम्म कसैको देखिएको छैन । उनको यो एक प्रहारले अरू सबै विपक्षी खेलाडीलाई पन्छाउन पर्याप्त छ ।’ ग्राफसँग अर्को एउटा अस्त्र पनि थियो र त्यो थियो, ‘ब्याकह्यान्ड स्लाइस’ ।

यो प्रहार कस्तो थियो । यसले त विपक्षी खेलाडीलाई तहसनहस नै पाथ्र्यो । उनी उत्तिकै राम्री एथलेट थिइन् । उनमा सन्तुलन र फुटवर्कको उत्तिकै राम्रो सम्मिश्रण थियो । अविश्वसनीय रूपमा उनी छिटोछिटो खेल्न माहिर थिइन् । आन्द्रे आगासीले आफ्नो आत्मकथामा आफ्नी पत्नीबारे लेखेका छन्, ग्राफ कति धेरै तीव्र गतिमा खेल्न सक्षम थिइन् भने एकपल्ट उनका प्रशिक्षक पाभेल स्लाजिलले भनेका थिए, यी खेलाडी त टेनिसभन्दा पनि एथलेटिक्समा पो हुनुपर्ने हो कि ? ग्राफको खेलको एउटा अर्को ठूलो विशेषता थियो । उनी दायाँबायाँ धेरै कुरामा चासो राख्ने काम गर्दिन थिइन् । उनको एकमात्र उद्देश्य टेनिस खेल्नु हुन्थ्यो । सन् १९९९ को फ्रेन्च ओपन फाइनलमा ग्राफ उपाधिको निकै नजिक थिइन् तर विपक्षी खेलाडी मार्टिना हिंगिस भने त्यसमा सकेसम्म ढिलाइ गर्ने प्रयास गरिरहेकी थिइन् । ग्राफलाई त्यो असह्य भइरहेको थियो । उनले यसैक्रममा सामान्य प्रश्नमात्र गरिन् तर त्यो आफैंमा गहन थियो । प्रश्न थियो, ‘के हामी टेनिस खेल्न सक्छौं ?’

अझ ग्राफलाई सधैं हतारो हुन्थ्यो, सधैं कोर्टमा जान हतारिएकी हुन्थिन् र लाग्थ्यो, सायद त्यसको भोलिदेखि टेनिस नै हुने छैन । उनी दुई अंकबीचको अन्तरमा श्वास फेर्न पनि गाह्रो मान्थिन्, अहिलेको जस्तो ‘लाइन कल’ मा विवाद गर्न त उनीसँग समय नै हुँदैनथ्यो । खासमा उनको टेनिसमा घमण्ड अथवा मै हुँ भन्ने भावना पटक्कै थिएन । सन् १९८७ मा उनले जितेको फ्रेन्च ओपन पहिलो ग्रान्ड स्लाम थियो । त्यसमा उनले अन्तिम सेटमा ५–३ ले पछाडि परेर पनि ८–६ ले जितेकी थिइन् ।

त्यतिबेला उनको प्रतिद्वन्द्वी खेलाडी थिइन्, तिनै नभ्रातिलोभा । त्यसपछि त उनले लगातार १३ ग्रान्ड स्लाम फाइनल खेलिन् । त्यसमध्ये ९ मा उनी विजयी रहिन् । ग्राफ कीर्तिमान ३ सय ७७ साता नम्बर १ खेलाडी रहिन् । उनी सबैखाले कोर्टमा यस्तै खेल्थिन्, चाहे त्यो घाँसे होस् वा रातो माटोको या हार्ड कोर्ट । उनी त्यस्ता एक्ली खेलाडी हुन्, जसले ग्रान्ड स्लाममा कुनै पनि उपाधि कम्तीमा चार–चारपल्ट जितिन् । ग्राफलाई एउटा प्रश्नले कहिले पनि छोड्ने छैन । त्यो एक प्रकारले दुर्भाग्यपूर्ण नै थियो । प्रश्न हो, ग्राफले २२ ग्रान्ड स्लाम जितिन्, तर के मोनिका सेलेसलाई उनकै समर्थकले छुरा प्रहार नगरेको भए, के यो सम्भव हुने थियो त ? यसको उत्तर भने कोहीसँग हुने छैन । आखिरमा ग्राफले मोनिकामाथि यस्तो होस् भन्ने चाहेकी त थिइनन् नै । यसमा ग्राफको कुनै प्रकारको दोष थिएन । यस्तो भन्दा एक अर्थमा हामी भन्न सक्छौं, त्यो प्रश्न सोधिनु पनि ठीक थिएन ।

जेहोस्, ग्राफले संन्यास लिन हतारो नै गरिन् । उनी भर्खर ३० वर्षकी थिइन् तर उनलाई संन्यास लिन हतारो भइसकेको थियो । उनी भन्थिन्, ‘मलाई अब टेनिस खेल्दा त्यो मज्जा रहेन, जुन यसअघि हुने गथ्र्यो ।’ अहिले विश्लेषण गर्दा लाग्छ, त्यो निर्णय शतप्रतिशत सही थियो । यसले उनको ‘लिगेसी’ लाई अझ बलियो बनाएको छ । अझ भनौं, उनको संन्यास लिने निर्णय पनि उत्तिकै ‘परफेक्ट टाइमिङ’ थियो । उनी भन्ने गर्थिन्, ‘म पछाडि फर्केर हेर्ने काम कहिल्यै गर्दिनँ ।’

प्रकाशित : असार १७, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?